+
+
भेपमार्फत सुन तस्करी :

कृष्णबहादुर महरालाई प्रतिवादी बनाइएन, राहुलसहित ४ विरुद्ध मुद्दा दर्ता

अनलाइनखबर अनलाइनखबर
२०८० असोज २४ गते १२:१५

२४ असोज, काठमाडौं । विद्युतीय सिगरेट (भेप) मा लुकाएर सुन तस्करी भएको प्रकरणमा जिल्ला अदालत, काठमाडौंमा मुद्दा दर्ता भएको छ । अपराधिक विश्वासघात, भन्सार चोरी पैठारी तथा संगठित अपराधको कसूरमा जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले मुद्दा दर्ता गराएको हो ।

मुद्दामा पूर्वसभामुख एवं माओवादी नेता कृष्णबहादुर महराका छोरा राहुल भनिने रेशम महरा, चिनियाँ नागरिक दाओजिन वाङका सवारी चालक लोकेन्द्र पौडेल, थुनामा रहेका बेल्जियन नागरिक दावा छिरिङ र फरार बौद्धकी निमा गुरुङलाई प्रतिवादी बनाइएको छ ।

पूर्वसभामुख महरा भने प्रतिवादी बनाइएका छैनन् । टेलिफोन सम्पर्कका आधारमा मात्र महरालाई मुद्दा चलाउने स्थिति नदेखिएको प्रहरी अधिकृतहरु बताउँछन् । मिसिलमा संलग्न महराको बयान कागजमा महराले तत्कालीन विमानस्थल भन्सारका प्रमुख प्रशासन अरुण पोखरेललाई पहिल्यैदेखि चिनेकाले ‘के भएको हो, कानून बमोजिम के गर्न मिल्छ हेरिदिनु होला’ भनेर फोन गरेको भनेका छन् ।

‘मेरो छोरा राहुल भन्ने रेशम महरा के कारणले उक्त भेप जफत भएको रहेछ, कानून बमोजिम मिल्ने भए सहयोग गरिदिनु होला भनेर भनेर अरुण पोखरेलको सम्पर्कमा गएका हुन्’, उनले भने, ‘दाओजिन वाङसँग मेरो पुरानो निजान हो, उनले मलाई आफू एउटा फलफूल व्यापारीको रुपमा नेपालमा व्यापार गर्ने भनेर चिनाएका थिए ।’

उनीसँग सामान्य विषयमा फोनमा कुराकानी हुने गरेपनि त्यसबाहेक अरु कुनै किसिमको सम्बन्ध नरहेको दाबी गरेका थिए । थप चिनियाँ नागरिकलाई विवरण खुले र पक्राउ परेका बेला फेरि प्रतिवादी बनाउन मिल्ने गरी अभियोग दर्ता गराइएको सरकारी वकिलको कार्यालयका अधिकारीहरु बताउँछन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा नियमित जाँचका क्रममा २९ माघ २०७९ मा दुई वटा सुटकेसभित्र ७३ बट्टामा रहेको ७३० थान ई–सिगरेट (भेप) बरामद भएको थियो । जाँच गर्दा त्यसमा सुन भएको थाहा पाएपछि भन्सारका नायब सुब्बाको मिलेमतोमा गोदाममा भएको भेप साटफेर गरेर ९ किलो सुन बिक्री गरेको खुलेको थियो । भेप साटफेर भएको थाहा पाएपछि खोजबिन गर्दा बरामद भएको भेपमा करिब ९ किलो सुन भेटिएको र त्यसलाई बिक्री गरेको खुलेको हो ।

यसबारे अनुसन्धान गरेको सीआईबीले बुझाएको रायसहितको प्रतिवेदनका आधारमा सुन बिक्री गर्ने र सुन किन्ने समूह विरुद्ध संगठित अपराध र आपराधिक विश्वासघात शीर्षकमा मुद्दा चल्यो । तर सीआईबीको ९० दिन लामो अनुसन्धान सुन तस्करी गर्ने मुख्य समूहसम्म पुगेको थिएन ।

आपराधिक विश्वाघातको कसूरमा अभियोग पत्र अदालतमा दर्ता हुँदा यसमा जोडिएका व्यक्तिहरुको कल डिटेल रेकर्ड (सीडीआर) को विश्लेषण चार्ट समेत समावेश भयो, जसले सुन ल्याउने समूहका चिनियाँ नागरिक लुई र डाओजिन वाङको कृष्णबहादुर महरा र उनका छोरा राहुल महरासँग सम्पर्क देखायो ।

सुन ल्याउने चिनियाँ नागरिक लुई र कृष्णबहादुर महरा (९८५१****८८) बीच ११ पटक सम्पर्क भएको देखाइएको छ । तर मुद्दा चलाउन ठोस आधार नदेखिएको भन्दै प्रहरीले उनीहरुलाई प्रतिवादी बनाउन सिफारिस नै गरेन । पछि महरा बाबुछोराविरुद्ध अनुसन्धान गर्न तीब्र दबाबपछि प्रहरीले मुद्दा चलाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?