+
+
अनुभूति :

विपश्यना : सुषुप्तिबाट जागृततर्फको यात्रा

भौतिक सुख-सुविधाको खोजीमा आफ्नो सम्पूर्ण जीवन नै व्यतीत गरिदिन्छौं तर आफ्नै जीवनको आधार आफैंभित्र चलिरहने श्वासका बारेमा भने अनभिज्ञ हुन्छौं ।

दिपककुमार बोहरा दिपककुमार बोहरा
२०८० माघ २२ गते ९:५४

राजधानी काठमाडौंको व्यस्त दैनिकी, सधैंको दौडधुप, पारिवारिक जिम्मेवारी, सामाजिक तथा पेशागत संघ-संस्थाका जिम्मेवारी, अध्ययन-अध्यापन अनि अलिकति समय मिल्यो कि सामाजिक सञ्जालको जञ्जालले मेरो जीवनलाई नै गञ्जागोल बनाइरहेको थियो । म यो भागदौडपूर्ण दैनिकीबाट बाहिर आउन चाहन्थें । जसका लागि विपश्यना उपयुक्त माध्यम बन्न सक्छ भन्ने कुरा सामान्यतः बुझेको थिएँ ।

विभिन्न ध्यानकेन्द्रमा छोटो समयका लागि सञ्चालित ध्यान शिविरमा सहभागी भएर आत्मिक शान्तिको अनुभूति गरेको पनि थिएँ । विपश्यनाबाट फर्केका साधकका अनुभवहरू धेरथोर रूपमा पढ्ने र सुन्ने अवसर पाएपछि ममा यसप्रति झनै कौतूहल बढेको थियो । म चाहन्थें, यो कौतूहलपूर्ण बेचैन मनलाई शान्त पार्ने कुनै चौतारो भेटियोस् ! जहाँ मेरा मनका सारा बोझलाई बिसाउन सकूँ ।

कहिलेकाहीं म यी सारा कुरालाई एकातिर पन्छाएर केवल प्रकृतिको काखमा आफूलाई बिसाउन चाहन्थें । अन्तरहृदयको यो प्यास मेट्ने एउटै माध्यम थियो विपश्यना । यसै क्रममा मैले काठमाडौंको बूढानीलकण्ठ अवस्थित धर्मशृङ्ग ध्यानकेन्द्रको वेबसाइट फेला पारें ।

त्यहाँ वर्षभरि सञ्चालन हुने ध्यान शिविरको तालिका नै प्रकाशित रहेछ । मैले मेरा लागि दशैंविशेष -कात्तिक ४ देखि १५ गतेसम्मको) समय उपयुक्त हुने ठहर गरें । यसपटक दशैं मनाउने कार्यक्रम पनि नभएकाले मेरा लागि यो निकै लामो प्रतीक्षाबाट जुरेको संयोग र अवसर दुवै थियो ।

मानसिक रूपमा ध्यानमा जान तयार भइसकेपछि ध्यानकेन्द्रको वेबसाइट खोलेर अनलाइन र्फम भरें । त्यसको लगभग दुई हप्तापछि मैले ध्यान केन्द्रबाट स्वीकृतिको मेल प्राप्त गरें । तत्पश्चात् मात्र मेरो विपश्यना योजनाबारे परिवारमा जानकारी गराएँ ।

चाडबाडका बेला घरपरिवार, आफन्तलाई छाडेर जंगलवासमा जाने कुरालाई सुरुमा त कसैले सकारात्मक रूपमा लिएनन् तर मेरो अठोटका अगाडि कसैको केही लागेन । फेरि यति उपयुक्त समय मिलाउन गाह्रै हुन्छ, चाडबाड यतिका वर्ष मनाएकै त हो । आखिर यसले हाम्रो जीवनमा तात्विक भिन्नता के नै ल्याएको छ र ? उही खाने, पिउने, घुमफिर गर्ने त हो ।

विपश्यना जानुअघिको पूर्व तयारीका बारेमा मैले मेल मार्फत पनि धेरै जानकारी पाइसकेकै थिएँ । त्यही अनुसार शिविर सुरु हुने दिन कात्तिक चार गते करिब ११ः३० बजे काठमाडौंको चन्द्रागिरिस्थित आफ्नो निवासबाट एउटा झोलामा आफूलाई चाहिने दैनिक प्रयोगका सामग्री मात्रै बोकेर बूढानीलकण्ठस्थित मुहानपोखरी विपश्यना ध्यान केन्द्रका लागि हिंहें ।

बूढानीलकण्ठ नारायणथान मन्दिरबाट करिब दश मिनेटको यात्राबाट ध्यानकेन्द्र पुग्न सकिने रहेछ । प्राप्त जानकारी अनुसार मैले दिउँसोको दुई बजेसम्ममा रजिष्ट्रेसन गरिसक्नुपथ्र्यो । सोही अनुरूप मैले ध्यानकेन्द्रबाट प्राप्त गरेको सुनिश्चितताको मेलको प्रतिलिपि देखाई आफ्नो सहभागिता दर्ता गराएँ । त्यसपछि मलाई परामर्श कक्षमा पठाइयो, जहाँ निकै अनुभवी आचार्यज्यूहरूले मेरो पूर्व तयारी, तत्परता, मनोवैज्ञानिक तयारी र जिज्ञासा केकस्तो छ भन्ने बारेमा प्रश्नहरू राख्नुभयो ।

म मेरो जीवनमा एउटा नयाँ प्रयोग गर्न र अनुभव सँगाल्न मात्रै नभएर आफैंलाई चिन्ने, बुझ्ने र खोज्ने गहिरो अभिलाषा लिएर त्यस तपोभूमिमा पुगेको थिएँ । त्यसैले उहाँहरूले हौसलापूर्वक मलाई ध्यानमा सरिक हुन उत्प्रेरित गर्नुभयो ।

के हो विपश्यना ?

विपश्यना के हो ? त्यहाँको माहोल कस्तो हुने रहेछ ? ध्यानका विधिहरू केकस्ता होलान् ? ध्यानका विधिहरू कसरी अगाडि बढ्लान् ? यसले जीवनमा के परिवर्तन ल्याइदिन्छ ? आदि प्रश्नहरू स्वाभाविक रूपमा विपश्यनाबारे जान्न-बुझ्न चाहने जो-कोहीमा पनि हुनसक्छ । यिनै जिज्ञासा मभित्र पनि थिए ।

यही जिज्ञासा मेटाउनका लागि पनि म विपश्यनाप्रति थप आकषिर्त थिएँ । वास्तवमा विपश्यना भगवान् गौतम बुद्धले आजभन्दा करिब २५/२६ सय वर्ष पहिले आफ्नै जीवनमा प्रयोग र विकास गरेको ध्यान विधि हो ।

ज्ञानतालाई छिचोल्न, जीवन र जगतबारे अलिकति भए पनि चिन्तन गर्न र बाहृय जगतबाट आफैंभित्रको ज्ञानको विराट महासागरमा डुब्नका लागि भने व्यक्ति अन्तर्यात्रामै जानुपर्दछ । जसले मानव जीवनलाई जीवन्त बनाउन अनि आफू हुनुको अर्थ खोज्न प्रेरित गर्दछ । यही अन्तर्यात्राको मार्ग हो विपश्यना

नेपाली बृहत् शब्दकोशले पनि विपश्यनालाई आहार, विहार र विचारमा संयम र सन्तुलन कायम गरी काया, वेदना, चित्त र धर्मको अवलोकन गर्दै मुक्ति प्राप्त गर्न विभिन्न चरणमा सम्पादन गरिने विशेष प्रकारको साधना ! आफ्नै अन्तरनिरीक्षण गरी आत्मबोध गर्ने बौद्ध विधिका रूपमा अर्थ्याएको छ ।

वास्तवमा विपश्यना कुनै तन्त्र-मन्त्र, जादु, चमत्कार बुद्धिविलासको माध्यम नभई जीवनको अस्तित्व अडिएको श्वास-प्रश्वासको बोध गर्ने माध्यम हो । जबसम्म हाम्रो श्वास-प्रश्वासमा सन्तुलन हुन्छ जीवन पनि सहज र स्वस्थ रहन्छ, जब यसमा गडबड सुरु हुन्छ तब चिन्ता, भय, त्रास एवम् असहज परिस्थिति सृजना हुँदै जान्छ ।

एउटा अमेरिकी र नेपालीले फेर्ने श्वास-प्रश्वास प्रक्रियामा केही भिन्नता हुँदैन । भूगोल फरक भए पनि मानिसका आवेग र संवेग समान किसिमका हुन्छन् । त्यसैले त मानिस रिसाउँदा, डराउँदा मुटुको धड्कन छिटोछिटो चल्छ अनि शान्त अवस्थामा सुस्तरी चल्ने गर्दछ । हो, विपश्यना त्यही विज्ञान हो, जसले आफैंभित्रको श्वास-प्रश्वासलाई नियाल्दै जाँदा शरीर र मनको विकारलाई शुद्धीकरण गरेर स्थायी शान्ति, खुसी र आनन्द प्रदान गर्दछ ।

कुनै व्याख्या-विश्लेषण वा तर्क-वितर्कभन्दा पनि प्राकृतिक रूपमा हाम्रो शरीरमा सृजना हुने विविध संवेदनाहरूलाई केवल साक्षी भाव वा द्रष्टा भावले जे-जस्तो छ त्यस्तै र त्यही रूपमा स्वीकार्न सक्ने तथा तटस्थ बन्न सक्ने उत्कृष्ट अनुभव हो, विपश्यना ।

आफ्ना परिवार तथा आफन्त सबैबाट भिन्न नितान्त आफैंभित्र डुबेर दश दिनसम्म आर्यमौनको पूर्ण पालना गरी बस्दाको त्यो क्षण अनि त्यसको सकारात्मक परिवर्तन स्वरूप शरीर र मनमा आउने ऊर्जा जो-कोहीका लागि जीवनको एउटा अविस्मरणीय प्राप्ति बन्दछ ।

विपश्यनाको सुरुका तीन दिनसम्म आना-पाना ध्यान गरिन्छ जहाँ पूरा ध्यान श्वास बाहिर निस्कने र भित्र जाने प्रक्रियालाई गहिरोसँग अनुभव गर्दागर्दै ध्यानको एउटा गहिराइमा पुग्न सकिन्छ । एउटा ढाँचा र शैलीबाट चल्न बानी परेको शरीर र मनलाई काबुमा राख्न सुरुका दिनहरू निकै कष्टकर हुन्छन् ।

बिहान चार बजेदेखि बेलुका नौ बजेसम्म खाना, खाजा र छोटा-छोटा विश्रामबाहेक निरन्तर ध्यानस्थ बस्नुपर्दा ढाड दुख्ने, घुँडा दुख्ने, खुट्टा निदाउने जस्ता शारीरिक कष्टलाई त बिस्तारै स्वीकार्न सकिन्छ तर सुरुका दिनमा मनभित्र हुने मौनताभित्रको कोलाहल भने झनै डरलाग्दो बनेर आउँछ ।

अतीत र भविष्यका कैयौं स्वैरकल्पनाका आँधीहुरीले मनलाई एक ठाउँमा अड्याउने काम निकै चुनौतीपूर्ण हुन्छ । यद्यपि जब तीन दिनको अवधि पार गरिन्छ तब बल्ल विपश्यनाको वास्तविक यात्रा सुरु हुन्छ । चौथो दिनबाट शरीर यात्रामा अगाडि बढ्छ । शरीरको शिरदेखि पाउसम्म र पाउदेखि शिरसम्म निरन्तर बाँकी दिनहरू अत्यन्तै सूक्ष्म रूपमा एक-एक गर्दै अवलोकन गर्दै गइन्छ ।

गहिरो ध्यानका अवस्थामा सुखका होस् या दुःखका संवेदना जे घट्छ त्यसलाई जस्ताको त्यस्तै ग्रहण गर्ने शक्ति प्राप्त हुन्छ जसलाई विना कुनै राग, विना कुनै द्वेष वा मोह ग्रहण गर्न सकिन्छ । ध्यानको अवस्थामा जे महसुस हुन्छ, साक्षी भावले स्वीकार्ने जुन अभ्यास बारम्बार गर्दै गइन्छ, यही प्रक्रियाबाट शरीर र मनको शुद्धीकरण हुँदै गई जब दशौं दिन पार गरिन्छ तब आफूभित्र एकप्रकारको गहिरो आनन्द, शान्ति, करुणा र दिव्य भावको आभा घटित हुन्छ ।

दुनियाँ चिन्दाचिन्दै र बुझ्दाबुझ्दै आफैंलाई चिन्न र बुझ्न नपाई जीवन सकिन्छ । अहिलेको व्यस्त समय र भागदौडको दिनचर्याबाट दश दिनको समय मात्रै विपश्यनामा लगाउन सक्यौं भने यसका माध्यमबाट आफूभित्र सुषुप्त अवस्थामा रहेको अन्तर्दृष्टिलाई जागृत गराई आफैंलाई चिन्न र बुझ्न सकिन्छ

दशौं दिनमा बिहान दश बजे जब आचार्यज्यूहरूले मैत्रेय ध्यान गराउनुहुन्छ, तब आर्यमौन भङ्ग हुन्छ । आर्यमौन भङ्गपछिको खुसी, आनन्द र आत्मिक शान्तिको अनुभूति कुनै शब्दमा व्यक्त गर्न सकिने विषय होइन । शरीरमा स्फूर्ति अनि मनमा शान्तिको त्यो क्षणलाई कर्ता स्वयम्ले मात्र अनुभव गर्न सक्छ ।

वास्तवमा जीवनलाई बुझ्ने प्रयास स्वरूप कैयौं किताब पढिन्छ, प्रवचन सुनिन्छ, फिल्म हेरिन्छ, बुद्धिविलासका लागि अनेकौं तर्क-वितर्क, विचार-विमर्श गरिन्छ । यी र यस्ता यावत् विषयबाट प्राप्त हुने ज्ञानभन्दा भिन्न आफ्नै अन्तरात्माबाट प्राप्त हुने अजम्बरी ज्ञान भने विपश्यनाबाट मात्र सम्भव हुन्छ ।

संसारमा आज हरेक मानिसले खुसी, शान्ति र आनन्द खोजेको छ । यिनै कुराको खोजीमा मानिसले कुनै कसर बाँकी राखेको छैन । मन्दिरमा घण्ट बजाएकै छ, मस्जिदमा नवाज पढेकै छ, चर्चमा प्राथना पनि गरेकै छ अनि गुम्बामा ॐ मणि पद्मे हूँ पनि जपेकै छ ! धन, पद, प्रतिष्ठा पनि कमाएकै छ ।

आखिर सारा कुरा प्राप्त गरेर पनि मानिस किन तनावमा छ ? किन बेचैन छ ? किन निराश छ ? म, मेरो र मलाई भन्दाभन्दै जीवनभर राग, द्वेष, मोह पालेर आफैं पनि दुःखित हुँदै अरूलाई पनि दुःखित तुल्याउँदै निकै बोझिलो र अत्यासलाग्दो जीवन जिउन विवश छ ।

मानिस अल्पज्ञानले कर्मकाण्ड र अध्यात्म उस्तै हो भन्ने भ्रममा फगत कुनै एउटा धर्म, दर्शन र सम्प्रदायको जगमा आफूलाई दास बनाएर जीवनप्रतिको सच्चाइ नबुझी भौंतारिइरहेको छ । जान-अन्जानमा साम्प्रदायिक भावना फैलाइरहेको छ । अतः बाहिरी संसारको यी र यस्ता यावत् विषय र वासनाबाट मुक्त भई आफ्नै अन्तर्दृष्टिले आफैंलाई हेर्ने र चिन्ने साधन हो विपश्यना ।

आजको मानिस बेहोशीबाट होशतर्फ फर्कने अर्थात् जे गर्दैछ सो होशपूर्वक गर्न सक्ने हो भने युगौंयुगदेखिको मानिस-मानिसबीचको वैरभाव, वैमनस्य र शक्तिको अहङ्कार अन्त्य गर्दै सादा र सुखी जीवनयापन गर्न सक्छ ।

विपश्यनाको प्राप्ति भन्नु नै मानव जीवनको सार्थकताको खोजी हो । मानवले आफूलाई संसारकै सर्वश्रेष्ठ प्राणी दाबी गर्छ । त्यसो हो भने मानिस र अन्य प्राणीका बीचमा के भिन्नता छ त ? जन्म र मृत्युका बीचमा प्राणीले जे फरक कर्म गर्छ, त्यसैले जीवनको अस्तित्व र पहिचान स्थापित गर्दछ । खाने, सुत्ने, सन्तान जन्माउने, हुर्काउने र एकदिन काल पर्खने मात्रै हो भने यति त जनावरले पनि गरेकै छ ।

यति कर्म गरेर मानव अन्य प्राणीभन्दा भिन्न कसरी भयो त ? मानिस चेतनशील प्राणी हो, ऊ सोच्न सक्दछ । म को हुँ, किन यस धर्तीमा आएको हुँ, मेरो अस्तित्व केमा छ ? भनेर खोज्नु तथा मानिस र सम्पूर्ण प्राणीका हितका बारेमा सोच्नु पनि मानिसको कर्म हो ।

धर्तीमा जन्मिएर हुर्कनु, बढ्नु, सम्पत्ति कमाउनु, घरघडेरी जोड्नु, सन्तान उत्पादन गर्नु मात्रै जीवनको सार्थकता होइन । यो सुन्दर धर्तीमा मानव रूप लिएर जन्मिएका हामी जीवनलाई नबुझी बेहोशीमै यो संसारबाट बिदा भएका त छैनौं ?

यही अज्ञानतालाई छिचोल्न, जीवन र जगतबारे अलिकति भए पनि चिन्तन गर्न र बाहृय जगतबाट आफैंभित्रको ज्ञानको विराट महासागरमा डुब्नका लागि भने व्यक्ति अन्तर्यात्रामै जानुपर्दछ । जसले मानव जीवनलाई जीवन्त बनाउन अनि आफू हुनुको अर्थ खोज्न प्रेरित गर्दछ । यही अन्तर्यात्राको मार्ग हो विपश्यना ।

हामी संसारलाई र सिङ्गो ब्रहृमाण्डलाई जान्ने, बुझ्ने प्रयासमा देश-विदेश भौंतारिन्छौं, अनेकौं ग्रह-उपग्रहका बारेमा सोधखोज, अध्ययन, अनुसन्धान गर्छौं । भौतिक सुख-सुविधाको खोजीमा आफ्नो सम्पूर्ण जीवन नै व्यतीत गरिदिन्छौं तर आफ्नै जीवनको आधार आफैंभित्र चलिरहने श्वासका बारेमा भने अनभिज्ञ हुन्छौं ।

दुनियाँ चिन्दाचिन्दै र बुझ्दाबुझ्दै आफैंलाई चिन्न र बुझ्न नपाई जीवन सकिन्छ । अहिलेको व्यस्त समय र भागदौडको दिनचर्याबाट दश दिनको समय मात्रै विपश्यनामा लगाउन सक्यौं भने यसका माध्यमबाट आफूभित्र सुषुप्त अवस्थामा रहेको अन्तर्दृष्टिलाई जागृत गराई आफैंलाई चिन्न र बुझ्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?