+
+

समाजवादको विपक्षमा सीके राउत

एकातिर समाजवादीलाई ‘भाग्यवादी’ भनेर आलोचना गरेका सीके राउतले अर्कोतिर यसले ‘धर्म र पहिचानलाई स्वीकार’ नगर्ने भन्दै गलत देखाउने कोसिस गरेका छन् ।

दिपेश शाही दिपेश शाही
२०८० माघ २३ गते ९:४१

२३ माघ, काठमाडौं । सीके राउत नेतृत्वको जनमत पार्टी समाजवादी व्यवस्थाको विपक्षमा स्पष्ट खुलेको छ । पार्टीका अध्यक्ष राउतले २१ माघमा बसेको सचिवालय बैठकमा छलफलका लागि पेस गरेको राजनीतिक प्रस्तावमा समाजवादलाई भ्रमको संज्ञा दिएका छन् ।

राउतले विद्यमान समस्यालाई समाजवादले हल गर्न नसक्ने भन्दै पुँजीवादी क्रान्तिपछि मात्रै समाजवाद ल्याउन सकिने उल्लेख गरेका छन् ।

वृहत शान्ति सम्झौता, नेकपा (माओवादी) ले नेकपा (एमाले) सँग गरेको पार्टी एकता र नेपालको संविधान २०७२ ले समेत समाजवाद उन्मुख अर्थतन्त्रको लक्ष्य लिएपछि समाजवादप्रति बनेको स्वतः धारणालाई पुनर्विचार गर्नुपर्ने देखिएको राउतले अगाडि सारेको राजनीतिक प्रस्तावको निष्कर्ष छ ।

राउतले नेपालमा पुँजीको आकांक्षा राख्ने, तर पुँजीवादको विरोध गर्ने मानसिकता रहेको भन्दै यसले राष्ट्रिय अर्थतन्त्र निर्माण हुन नसकेको तर्क गरेका छन् । जनमतको प्रस्तावमा अगाडि उल्लेख छ, ‘यदि नेपाललाई धनी र समृद्ध बनाउनु छ भने सबभन्दा पहिला नेपाली समाजको अन्तस्करणमा रहेको पुँजी, पुँजीवाद र पुँजीपति प्रतिको घृणा हटाउनु पर्दछ । विशाल पुँजीको अपेक्षा गर्ने अनि पुँजीवाद र पुँजीपतिसँग शत्रुता गर्ने कुरा हुन सक्दैन ।’

राउत पुँजीपतिमाथि प्रश्न गरेर धनी हुन नसकिने तर्क गर्दै समाजवादी पक्षधरमाथि चर्को रूपमा खनिएका छन् ।

समाजवादमा नागरिकको जिम्मेवारी राज्यले लिँदा प्रतिस्पर्धा गर्ने प्रेरणा प्राप्त नहुने र त्यसले विकास सम्भव नहुने विश्लेषण राउतले गरेका छन् ।

राउतले समाजवादलाई भाग्यवादी भएको भन्दै यसलाई नेपालको विकासको बाधकका रूपमा प्रस्तुत गरेका छन् । उनले लेखेका छन्, ‘समाजवाद धनी बनाउने वा समृद्ध बनाउने राजनीतिक दर्शन नै होइन, यो सबैलाई गरीब बनाउने दर्शन हो ।’

एकातिर समाजवादीलाई ‘भाग्यवादी’ भनेर आलोचना गरेका राउतले अर्कोतिर यसले ‘धर्म र पहिचानलाई स्वीकार’ नगर्ने भन्दै गलत देखाउने कोसिस गरेका छन् ।

‘समाजवादमा धर्मको कुनै अस्तित्व रहँदैन । समाजवाद भनेकै भौतिकवादी व्यवस्था हो, जसले मानवलाई पदार्थभन्दा बढी केही भन्दैन’, राउतको विश्लेषण छ, ‘भावना, आस्था र धर्म उसको परको विषय हो । समाजवादी व्यवस्थाले पुँजीपतिहरूलाई मेटाउने कुरा गर्ने हुनाले त्यसभन्दा अगाडि धर्म व्यवस्थालाई मेटाउनु पर्ने अपरिहार्य हुन जान्छ । जसले गर्दा समाजवादले पहिला धर्मलाई अस्वीकार गर्दछ ।’

समाजवादले हिंसा र तानाशाहीलाई प्रोत्साहन गर्ने भन्दै सत्ताको उलटफेरका लागि समाजवादीहरू हत्या गर्न समेत पछि नपर्ने आरोप राउतले लगाएका छन् । ‘समाजवाद भनेकै दुई वर्गहरू बीचको द्वन्द्व र त्यसमध्ये एउटा वर्गका विनाश हो । समाजवादले वर्गविहीन समाज निर्माण हुँदैन । शासक र शोषित वर्ग झन् निस्किन्छ । अहिले सरकारमा भएका पार्टीका कार्यकर्ता र आमजनता बीचको द्वन्द्वलाई हेर्न सकिन्छ’, राउतको राजनीतिक प्रस्तावमा उल्लेख गरिएको छ ।

राज्यसँगै यसै पनि राजनीतिक अधिकार हुने र त्यसैमा आर्थिक अधिकार पनि हुँदा सर्वसत्तावाद जन्मिने तर्क गर्दै यसले निरंकुशतालाई प्रोत्साहन गर्ने राउतको भनाइ छ ।

यस्तै समाजवादमा नागरिकको जिम्मेवारी राज्यले लिँदा प्रतिस्पर्धा गर्ने प्रेरणा प्राप्त नहुने र त्यसले विकास सम्भव नहुने विश्लेषण राउतले गरेका छन् । राज्यले अहिलेसम्म जुन क्षेत्रको जिम्मेवारी लियो त्यही क्षेत्रमा असफल भएको भन्दै निजीकरण गर्नुपर्ने मान्यता जनमत पार्टीको छ । राज्यले कुनै समय सञ्चालन गरेका विभिन्न उद्योग धन्दाहरू असफल भएको चर्चा गर्दै त्यसलाई निजी क्षेत्रले सञ्चालन गर्नुपर्ने आशय उनको छ ।

‘नेपालल मिश्रित अर्थप्रणाली अपाउनेभन्दा पनि आर्थिक उत्पादन प्रणाली निजी क्षेत्रलाई दिने र सोही उत्पादनको प्रणाली राज्यले प्रयोग गरेर उपलब्धिलाई समन्यायिक वितरण गर्ने दिशातिर अग्रसर हुनु पर्दछ’, राउतले प्रस्तुत गरेको राजनीतिक प्रस्तावमा उल्लेख छ ।

त्यसका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी चाहिने, अन्यथा विदेशी दबाब र प्रभावमा राष्ट्रिय उद्योगहरू बन्द गर्ने र अर्थतन्त्रलाई पूर्ण रूपमा आयातमुखी बनाउने प्रवल सम्भावना जनमतले औंल्याएको छ ।

लेखकको बारेमा
दिपेश शाही

शाही अनलाइनखबरका लागि कूटनीति, राष्ट्रिय राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?