+
+
सहकारी संकट-३० :

लालीगुराँसमा जनताको ६ अर्ब बचत : नेताका आफन्त र निजी व्यवसायमा लगानी

सहकारी विभागले स्वेतपत्र जारी गरी बचत फिर्ताको स्पष्ट कार्ययोजना पेस गर्न निर्देशन दिए पनि लालीगुराँसले अटेर गरिरहेको छ ।

विजय पराजुली विजय पराजुली
२०८० फागुन १ गते १९:१४

१ फागुन, काठमाडौं । ललितपुर पुल्चोकस्थित श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था सञ्चालकहरूले जनताको ६ अर्ब रूपैयाँ बचतबाट निजी कम्पनीमा लगानी गर्नुका साथै राजनीतिक दलका नेताका आफन्तलाई ऋण दिई दुरूपयोग गरेको खुलेको छ ।

सहकारी विभागले गरेको स्वतन्त्र अनुगमनमा जनताको बचत दुरूपयोग गरी सञ्चालकहरूको नाममा खुलेका विभिन्न निजी कम्पनीमा लगानी गरेको र निक्षेप फिर्ता नगरेको पाइएपछि सहकारीलाई समस्याग्रस्त घोषणा तयारी गरिएको छ ।

विभागले लालीगुराँस सहकारी संस्थालाई किन समस्याग्रस्त घोषणा नगर्ने भनेर १५ माघमा स्पष्टीकरण सोधेको छ ।

सहकारीमा धेरै किसिमका कमजोरी पाइएको र बचत फिर्ता गर्ने स्पष्ट खाकासमेत पेस नगरेपछि १५ दिनभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिएको विभागका रजिस्ट्रार पिताम्बर घिमिरेले जानकारी दिए ।

सहकारीमा बचतकर्ताको उजुरी बढ्दै गएपछि विभागले दीपकराज पोखरेलको संयोजकत्वमा स्वतन्त्र अनुगमन गरेको थियो । अनुगमन टोलीले ३० असोजमा प्रतिवेदन पेस गर्दै संस्थामा सेयर सदस्यलाई हानि पुग्ने विभिन्न गतिविधि भइरहेका कैफियत फेला पारेको उल्लेख गरेको थियो ।

‘सहकारीमा संस्थागत सुशासनमा कमजोरी भएको देखिन्छ । संस्थाको लगानीमा रहेका चितवनको गाई फार्म र ललितपुरको डेरी उद्योग स्थापनादेखि नै निरन्तर घाटामा रहेको देखिन्छ,’ रजिस्ट्रार घिमिरेले भने, ‘संस्थाका विषयमा बचतकर्ताको गुनासो समेत धेरै आएका छन् ।’

सहकारीले सञ्चालन गरेका गाई फार्म र डेरी उद्योगमा अस्वाभाविक रूपमा सञ्चालन खर्च देखाउने र त्यसबाट सञ्चालक तथा व्यवस्थापकले लाभ लिने गरेको देखिएको विभागका अधिकारीहरू बताउँछन् ।

सहकारी विभागले संस्थालाई स्वेतपत्र जारी गरी बचत फिर्ताको स्पष्ट कार्ययोजना पेस गर्न भनेको थियो । तर, त्यसो गर्न पनि सहकारीले अटेर गरिरहेको छ ।

अनुगमन प्रतिवेदनमा कैफियत देखिएको तथा विभागको नियमनकारी व्यवस्था कार्यान्वयन गर्न पनि अटेर गरेपछि विभागले स्पष्टीकरण सोधेको हो ।

सहकारी ऐनअनुसार अन्तर सहकारी सहयोग, सहकारी बैंकबाहेक अन्यत्र लगानी गर्न, सेयर तथा ऋणपत्रमा लगानी गर्न पाइँदैन ।

‘सहकारी ऐन र नियमअनुसार सहकारी संस्थाले अन्य कम्पनीहरूमा संस्थागत लगानी गर्न पाइँदैन,’ रजिस्ट्रार घिमिरेले भने, ‘तर, स्थलगत अनुगमन क्रममा ठूलो मात्रामा संस्थागत लगानी गरेको देखिन्छ ।’

करिब डेढ वर्षयता संस्थाका बचतकर्ताले बचत फिर्ता नपाएको भन्दै विभागमा गुनासो लिएर पुगिरहेका छन् । तर, विभागमा उजुरी दिए बचत फिर्ता नदिने भन्दै सहकारीका सञ्चालकहरूले धम्की दिएको एक बचतकर्ताले बताए ।

पछिल्लो समय भने केही बचतकर्ताले विभागमा उजुरी दिएपछि विभागले पनि संस्थालाई स्वेतपत्र जारी गर्न र बचत फिर्ताको कार्ययोजना पेस गर्न निर्देशन दिएको थियो ।

बचत फिर्ता गर्नुको सट्टा लालिगुराँसले सहकारी विभागमा उजुरी दिने बचतकर्ताको विवरण उपलब्ध गराउन विभागलाई पत्र लेखेको थियो ।

‘स्वेतपत्र जारी गर्न अटेर गर्ने अनि उल्टै उजुरी दिनेको विवरण विभागसँगै माग गरेपछि त्यो पत्र दर्ता नगरी स्पष्टीकरण सोधिएको हो,’ घिमिरेले भने ।

सहकारी संस्थाले आफ्नो वेबसाइटमा राखेको २१औं वार्षिक प्रतिवेदनमा विभिन्न प्राइभेट कम्पनीमा सेयर लगानी रहेको उल्लेख गरेको छ ।

संस्थाले २१औं वार्षिक प्रतिवेदनमा लालीगुराँस हस्पिटल प्रालि, श्री लालीगुराँस एजुकेसन फाउन्डेसन प्रालि, जय लालीगुराँस इन्भेस्टमेन्ट एन्ड ट्रेडिङ कम्पनी प्रालि, भैरवकुण्ड हाइड्रोपावर लिमिटेड र वेब प्रोडक्सन प्रालिमा सेयर लगानी रहेको उल्लेख गरेको छ ।

तर, संस्थाले विभागलाई पेस गरेको कागजातमा भने निजी कम्पनीको सेयरमा लगानी गरेको उल्लेख छैन । सहकारीबाट ठूलो परिमाणमा वाह्य संस्थागत लगानी गरेको देखिन्छ ।

लालीगुराँस सहकारीले विभिन्न कम्पनीमा लगानी गरेको भनेर आफ्नो वेबसाइटमा नै उल्लेख गरेको थियो । लालीगुराँस हस्पिटल प्रालि, श्री लालीगुराँस राष्ट्रिय उच्च मावि तथा कलेज प्रालि, जय लालीगुराँस इन्भेस्टमेन्ट एन्ड ट्रेडिङ कम्पनी प्रालि, भैरवकुन्ड हाइड्रोपावर प्रालि, श्री लालीगुराँस डेरी फार्म एन्ड रिसर्च सेन्टर, श्री लालीगुराँस डेरी प्रोसेसिङ उद्योग, श्री लालीगुराँस एजुकेसन फाउन्डेसन प्रालि, श्री लालीगुराँस जनस्वास्थ्य कोअपरेटिभ लिमिटेडलाई संस्थाले साझेदार कम्पनीका रूपमा राखेको थियो ।

सबै सेवा केन्द्र बन्द, करोडौं बचत भएका निक्षेपकर्तालाई ५ हजार र २ हजारका चेक

सहकारीका सबै सेवा केन्द्र हाल बन्द रहेको बचतकर्ताहरू बताउँछन् । अहिले सहकारीको पुल्चोक कार्यालयबाट बचतकर्तालाई २ हजार र ५ हजारको चेक भन्दै दिएर पठाउँदै गरेको एक बचतकर्ताले बताए ।

‘परिवारमा समस्या भएर पैसा लिन जाँदा पनि आफ्नो बचत फिर्ता पाइँदैन,’ ती बचतकर्ताले दुःखेसो पोखे, ‘विभाग वा प्रहरीमा उजुरी गरे बचत नै फिर्ता नगर्ने भनेर धक्की दिन्छन् ।’

उनका अनुसार दुई/तीन वर्ष अगाडिसम्म पनि स्कुल र हस्पिटल सहकारीले नै सञ्चालन गरेको भन्दै बचकर्तालाई उपचार गर्दा अस्पतालमा २५ प्रतिशत छुट दिने भनेर कार्ड नै बनाइदिएको थियो ।

अहिले स्कुल, हस्पिटल कतै पनि सहकारीको संलग्नता नरहेको भन्दै सञ्चालकहरूले सम्पत्ति कब्जा गर्न खोजेको ती बचतकर्ताले बताए ।

२०८० कात्तिक मसान्तसम्म संस्थाको सेयर पूँजी ५७ करोड ५३ लाख ५७ हजार छ । यस्तै निक्षेप दायित्व ५ अर्ब ९१ करोड ३७ लाख ७१ हजार रूपैयाँ छ ।

संस्थाको कुल कारोबार ८ अर्ब ७७ करोड ३ लाख १९ हजार रहेको उसले सहकारी विभागमा बुझाएको विवरणमा उल्लेख छ ।

तर, संस्थाले ३ अर्ब ४२ करोड ३४ लाख ६९ हजार मात्रै सदस्यहरूलाई लगानी गरेको देखिन्छ ।

यस्तै ४० करोड रुपैयाँ सहकारी संघ र बैंकको सेयरमा लगानी गरेको जनाएको छ । ५० करोड ४६ लाख रुपैयाँको जग्गा तथा भवन, ११ करोड १६ लाखको परियोजना तथा व्यवसायमा लगानी रहेको जनाएको छ । यसबाहेक १ अर्ब २७ करोड २० लाख २७ हजार संस्थागत लगानी भएको उल्लेख गरेको छ ।

सहकारी ऐनले संस्थागत लगानी गर्न नपाउने व्यवस्था गरेको छ । संस्थागत लगानी भनेको भए पनि कुन संस्थामा लगानी भएको भनेर सहकारीले विभागलाई जानकारी गराएको छैन ।

सहकारीका सेयर सदस्यले सूचना माग गर्दासमेत यो विवरण उपलब्ध नगराएको बचतकर्ताहरू बताउँछन् ।

१ अर्ब ३२ करोड रुपैयाँ उठ्न बाँकी ब्याज र अन्य सम्पत्ति १ अर्ब ५४ करोड ६५ लाख रुपैयाँको रहेको सहकारीले उल्लेख गरेको छ ।

अन्य सम्पत्तिका रूपमा देखाएको रकम र संस्थागत लगानी शंकास्पद देखिएको विभाग स्रोतको दाबी छ । संस्थामा कुल २० हजार ७ सय ८४ बचतकर्ता छन् । यस्तै ६ सय ३६ संस्थागत बचतकर्ता छन् ।

लालीगुराँस सहकारीका ऋणी ‘हाइ प्रोफाइल’

लालिगुराँस सहकारी संस्थाले २१औं वार्षिक प्रतिवदेनमा सेयर लगानी रहेको महेन्द्रनारायाण निधि स्वास्थ्य सहकारी संस्थाले कर्जा नतिरेको भन्दै सूचना प्रकाशित गरेको छ ।

लालीगुराँस सहकारीले कर्जा चुक्ता गर्ने सम्बन्धमा पटक–पटक ताकेता गर्दा पनि बेवास्ता गरेको उल्लेख गर्दै सहकारी सञ्चालकहरूको फोटोसहित सूचना प्रकाशित गरेको थियो ।

त्यसबेला महेन्द्रनारायण निधि सहकारीका अध्यक्ष हाल नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन) का अध्यक्ष चन्द्रप्रसाद ढकाल थिए । उनीसहित सञ्चालक समितिको फोटो टाँसेर लालीगुराँसले कर्जा तिर्ने सूचना जारी गरेको थियो ।

आफू महेन्द्रनारायण निधि सहकारीको अध्यक्ष हुनुअगाडि संस्थाले ऋण लिएका हुँदा त्यसबारे आफूलाई जानकारी नरहेको ढकालले बताए । नेफ्स्कुनको अध्यक्ष भएसँगै संस्थाबाट राजीनामा समेत गरिसकेको उनले बताए ।

‘ऋण नलिएको भए ऋण तिर्ने सूचना नै प्रकाशित हुँदैन । ऋण तिर्न दबाब दिन भनेर सूचना प्रकाशित भएको होला,’ ढकालले भने, ‘संस्थाले ऋण लिएपछि तिर्नुपर्छ । संस्थाको अध्यक्ष भएकाले मात्रै सूचनामा मेरो फोटो छापिएको हो । उक्त ऋण पुरानो हो, त्यसको बारेमा जानकारी छैन ।’

लालीगुराँस सहकारीले अन्य ‘हाइ प्रोफाइल’ हरूलाई पनि कर्जा तिर्न सूचना प्रकाशित गरेको थियो । राष्ट्रिय सहकारी विकास बोर्ड सदस्य समेत भइसकेका नेपाली कांग्रेस नेता दक्ष पौडेलले कर्जा नतिरेको भन्दै उनको नाममा पनि लालीगुराँसले २१ दिने सूचना प्रकाशित गरेको थियो ।

तर, पौडेलले आफूले सहकारीबाट लिएको २० लाख कर्जा भुक्तानी गरिसकेको बताए । गत २० असारमा उनले ऋण चुक्ता गरेको भनेर सहकारीले पत्र समेत दिएको छ ।

नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका केन्द्रीय उपाध्यक्ष केशव रावलले पनि कर्जा नतिरेको भन्दै लालीगुराँस सहकारीले २१ दिने सूचना प्रकाशित गरेको थियो । रावलले लिएको कर्जाको जमानी पूर्वसभामुख ओनसरी घर्ती बसेकी थिइन् । अनलाइनखबरको सम्पर्कमा आएका रावलले सहकारीको कर्जा आफूले तिरिसकेको दाबी गरे ।

यस्तै माओवादी केन्द्र काभ्रेकी नेतृ रुकु चौलागाईं जमानी बसेर गोरखा अजिरकोट गाउँपालिका अध्यक्ष दीपक देवकोटाले लिएको कर्जा नतिरेको भन्दै सहकारीले कर्जा तिर्न २१ दिने सूचना प्रकाशित गरेको थियो । चौलागाईं बागमती प्रदेशसभा सदस्य पनि हुन् ।

यस्तै ऋण नतिरेको भन्दै पूर्वगभर्नर तीलक रावलकी बुहारी सृष्टि राणा रावललाई पनि सहकारीले ऋण तिर्न २१ दिने अल्टिमेटम सहित ऋण तिर्न सूचना प्रकाशित गरेको थियो । उनको नाममा २४ भदौ २०७९ मा सूचना प्रकाशित गरिएको थियो । उनले लिएको कर्जाको जमानत उनका पति विनय रावल बसेका थिए ।

लालीगुराँसमा हालिमुहाली गर्ने को हुन् ?

हाइ प्रोफाइलहरूलाई ऋण दिने तथा उनीहरूकै संरक्षणमा सर्वसाधारणको बचतमाथि हालिमुहाली गर्दै आएका व्यक्ति हुन्– सुरेन्द्र भण्डारी ।

भण्डारी लालीगुराँस सहकारीका सचिव तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन् । उनी कांग्रेसको सहकारी विभाग सचिव थिए ।

लामो समय लालीगुराँसको सीईओ रहेका भण्डारीले १४ पुस २०७९ मा राजीनामा दिएका थिए । उनका राजीनामा स्वीकृत भएपछि २४ पुसदेखि कामु सीईओका रूपमा अनुजा कार्कीलाई नियुक्त गरिएको छ ।

तर, कार्कीले जिम्मेवारी बहन गर्न नसकेको भन्दै लिखितपत्र बुझाएपछि ३० वैशाख २०८० मा कार्कीको पनि राजीनामा स्वीकृति भएको थियो । पुनः १ असार २०८० देखि भण्डारी नै संस्थाको सचिवका साथै सीईओको भूमिकामा फर्केका छन् । संस्थाको अध्यक्ष भने अमरदास श्रेष्ठ हुन् ।

लालीगुराँस सहकारीमा विद्यमान समस्या तथा उनीमाथि लागेका आरोपबारे बुझ्न यसका सचिव तथा सीईओ भण्डारीलाई बारम्बार मोबाइल फोन कल र एसएमएस गर्दा उनी सम्पर्कमा आउन चाहेनन् ।

सहकारी संकट-१

सहकारी संकट-२

सहकारी संकट-३

सहकारी संकट-४

सहकारी संकट-५

सहकारी संकट-६

सहकारी संकट-७

सहकारी संकट-८

सहकारी संकट-९

सहकारी संकट-१०

सहकारी संकट-११

सहकारी संकट-१२

सहकारी संकट-१३

सहकारी संकट-१४

सहकारी संकट-१५

सहकारी संकट-१६

सहकारी संकट-१७

सहकारी संकट-१८

सहकारी संकट-१९

सहकारी संकट-२०

सहकारी संकट-२१

सहकारी संकट-२२

सहकारी संकट-२३

सहकारी संकट-२४

सहकारी संकट-२५

सहकारी संकट-२६

सहकारी संकट-२७

सहकारी संकट-२८

सहकारी संकट-२९

लेखकको बारेमा
विजय पराजुली

आर्थिक ब्युरोमा  कार्यरत पराजुली बैंक तथा वित्त विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?