+

भोक लाग्ने प्रक्रिया के हुन्छ ?

२०८० फागुन  १ गते १८:०५ २०८० फागुन १ गते १८:०५
भोक लाग्ने प्रक्रिया के हुन्छ ?

भोक लाग्नु प्राकृतिक प्रक्रिया हो । भोक लाग्नु भनेको शरीरले खाना माग गर्नु हो । यो स्वस्थ रहेको सूचक पनि हो । भोक लाग्दा पेट खाली भएको महसुस हुने, टाउको दुख्ने, झर्को लाग्ने, ध्यान केन्द्रित गर्न नसक्ने हुन्छ ।

शरीर सञ्चालनका लागि विभिन्न हार्मोनको भूमिका भए जस्तै भोक लगाउने पनि विभिन्न हार्मोनहरू हुन्छन्, जसले शरीरमा खानाको माग गर्ने भूमिका निर्वाह गर्छन् ।

ग्रेह्लीन हर्मोन : यो भोक लगाउने हार्मोन हो । यसले मानिसलाई भोक लागेको सूचना मस्तिष्कमा पठाई भोक जगाइदिन्छ र खानाको माग गर्छ । खाना खानुअघि यो हार्मोनको उत्पादन बढी हुन्छ भने खाना खाइसकेपछि यो हार्मोनको मात्रा घट्दै गई अर्को भोक दबाउने लेप्टिन हार्मोनको मात्रा बढ्छ । ग्रेह्लीन हार्मोन आमाशयबाट उत्पादन हुन्छ र खाना खाएर नअघाउँदासम्म उत्पादन भइरहन्छ । त्यसपछि भने बन्द हुन्छ ।

नियमित समयमा खाना खाने अभ्यास भएमा उक्त समयमा खाना प्राप्त हुने पूर्वानुमान गरी प्याङ्क्रियाजले इन्सुलिन हार्मोनको उत्पादन बढाउँछ र रगतमा यसको मात्रा बढ्दछ । तर उक्त समयमा खाना प्राप्त भएन भने इन्सुलिनको मात्रा घट्न थाल्छ अनि भोक लाग्छ ।

भोक लगाउनमा मुख्य भूमिका ग्रेह्लीन हार्मोनको हुने भए पनि अन्य कारणमा कलेजोको भूमिका र शरीरमा ग्लुकोजको तह घट्नु पनि मुख्य कारण हुन्छ ।

जस्तै, कलेजोमा हुने ग्लाइकोजिनको तह घटेमा भोक लाग्छ ।

मांसपेशीमा ग्लाइकोजिनको मात्रा कम भएमा पनि भोक लाग्छ ।

रगतमा सुगरको मात्रा कम हुँदा पनि भोक लाग्छ ।

लेप्टिन हर्मोन : यो भोकलाई दबाउने त्यस्तो हार्मोन हो, जुन बोसोका कोषहरूबाट उत्पादन हुन्छ । शरीरमा पर्याप्त मात्रामा लेप्टिन उत्पादन हुँदा व्यक्तिको भोक हराई ऊ सन्तुष्ट हुन्छ । यसरी हामीले खाना खाएपछि हामी अघाएको सूचना मस्तिष्कमा पुर्‍याउने लेप्टिन हार्मोनले सूचना दिएपछि मात्र अघाएको वा सन्तुष्ट भएको सूचना प्राप्त हुन्छ र हामी खाना खान बन्द गर्छौं वा खान सक्दैनौं । यसरी लेप्टिन भोक दबाउने वा खानाको सन्तुष्टि दिने हार्मोन हो, जुन खाना खाएपछि बढ्दै जान्छ । तर शरीरमा खाना कम हुँदा यो हfर्मोन कम हुन्छ र भोक लागेको महसुस हुन्छ ।

कोर्टिसोल हर्मोन : तनावका कारण शरीरमा एड्रिनल ग्रन्थीले कोर्टिसोल हार्मोनको बढी मात्रामा उत्पादन गराउँछ, जसले नकारात्मक प्रभाव देखाउँछ । बढी कोर्टिसोलले भोक लगाउने वा बढी खाना खान उत्तेजित गर्छ ।

Man having a table full of organic food,juices and smoothie. Cheerful young man eating healthy salad and fruits,dieting

भोक लाग्नुका जीवनशैलीसम्बन्धी कारण

भोक लगाउने हार्मोनलाई नियमित र नियन्त्रित गर्ने मुख्य भूमिका प्रोटिनले गर्छ । तर खानामा प्रोटिन तत्त्वको अभाव भएमा बढी भोक लाग्छ ।

खाना खाँदा खानामै ध्यान नदिई अन्यत्र ध्यान दिएमा कस्तो खाइयो, कति खाइयो पत्तो नहुने र शरीरले पनि अघाएको अनुभव नगर्ने हुँदा भोक लाग्छ । बढी तनावमा भएमा शरीरमा कोर्टिसोल हार्मोनको मात्रा बढ्छ, जसले पटक-पटक भोक लगाउने काम गर्छ । केही औषधिको सेवन गर्दा त्यसका प्रति असरका कारण भोक लाग्ने गर्छ ।

खाना खाँदा हतारमा निकै छिटो खाने बानी भएमा शरीरले खानाबाट पूर्ण सन्तुष्टि भएको वा अघाएको महसुस गर्ने समय पाउँदैन । फलस्वरुप खाना खाएर उठ्ने बित्तिकै पनि भोक लागेको अनुभव हुन्छ ।

बढी भोक लाग्नु पनि कुनै पनि रोगको लक्षण हुनसक्छ । जस्तै- सुगर रोग, थाइराइडको समस्या, रगतमा सुगरको मात्रा कम हुनु, डिप्रेसन रोग, चिन्ता रोग, महिनावारी हुनुपूर्वको अवस्था आदिका कारण पनि भोक बढी मात्रामा लाग्न सक्छ ।

सुताइमा अवरोध आएमा भोक लगाउने हार्मोनमा असन्तुलन पैदा हुन्छ, जसकारण बढी भोक लागेको अनुभव हुन्छ ।

मीठो खानेकुराको कल्पना गरेपछि किन भोक लागेको जस्तो हुन्छ ?

भोक लागेर खाना खाँदा सन्तुष्ट भएमा शरीरमा ग्रेह्लीन हार्मोनको उत्पादन घट्छ र लेप्टिन हार्मोन बढ्छ । त्यसले भोक मेटिन्छ । तर केही समयमा नै मीठो खानेकुराको कल्पना गरियो वा देखियो भने भोक लाग्छ त्यो भनेको मनोवैज्ञानिक प्रभाव हो ।

मनपर्ने खाना देखेपछि हाम्रो मनले त्यसलाई खान पाए हुन्थ्यो भनेर सोच्छ । जसले गर्दा पनि मीठो खानेकुराको कल्पना गरेपछि वा देखेपछि भोक लागेको जस्तो हुन्छ ।

बढी भोक लाग्ने समस्याबाट बच्ने उपाय

अस्वस्थकर वा मीठो लाग्ने खाना आँखाले देखिने ठाउँभन्दा टाढा राख्नुपर्छ । किनकि यस्ता खाना देखिरहँदा खान मन लाग्छ र पटक-पटक खाँदा बढी खाना खाइन्छ ।

खाना खाँदा टिभी वा कुनै पनि स्क्रिन नहेर्ने, यसो गर्दा खाना राम्ररी खाइन्छ र पऔक पटक भोक लाग्ने समस्याबाट बच्न सकिन्छ ।

खाना खाँदा सानो गाँस बनाई राम्ररी चपाएर ढिला गरी खाने र खाना खाएको बेला पानीसहित खाने गर्दा कम मात्र खाना खाँदा पनि उच्च सन्तुष्टि मिल्छ । यसले धेरै भोक लाग्ने समस्या हुँदैन ।

कुनै पनि खालका फलफूल, तरकारी र काँचै खाइने नट्स आदिमा फाइबर तथा स्वस्थकर चिल्लो हुने हुँदा यस्ता खाद्यपदार्थको सेवनले पनि भोक दबाउँछ ।

जीवनशैलीमा परिवर्तन गरी अनावश्यक भोक कम गराउन पनि सकिन्छ । खाना सकेसम्म कम खानु र पौष्टिक खाना खानु सबै दृष्टिकोणले उत्तम हुन्छ ।

खानेकुरा डा. नरनाथ पाण्डे भोक भोक लाग्यो
डा. नरनाथ पाण्डे
लेखक
डा. नरनाथ पाण्डे
जनस्वास्थ्यविद्

डा. पाण्डे नवलपुरको कावासोतीस्थित मध्यबिन्दु बहुमुखी क्याम्पसका प्राध्यापक हुन् । सेवानिवृत्त जनस्वास्थ्य निरीक्षकसमेत रहेका उनले जीवनशैली व्यवस्थापनमा विद्यावारिधि गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

गर्भावस्थामा के-के गर्नुहुँदैन ? (भिडियो)

गर्भावस्थामा के-के गर्नुहुँदैन ? (भिडियो)

थाइराइडमा मोटोपनसँगै निम्तिन सक्ने ८ समस्या

थाइराइडमा मोटोपनसँगै निम्तिन सक्ने ८ समस्या

भिटामिन ईको कमी हुँदा शरीरमा के हुन्छ ?

भिटामिन ईको कमी हुँदा शरीरमा के हुन्छ ?

धुम्रपान सुरु गर्ने ‘गेट वे’ बन्दैछ ई-सिगरेट

धुम्रपान सुरु गर्ने ‘गेट वे’ बन्दैछ ई-सिगरेट

गर्मीसँगै सक्रिय हुँदैछ कोभिड, कारण के हो ?

गर्मीसँगै सक्रिय हुँदैछ कोभिड, कारण के हो ?

आईभीएफबाट जन्माइएका शिशु कति स्वस्थ हुन्छन् ?

आईभीएफबाट जन्माइएका शिशु कति स्वस्थ हुन्छन् ?