+
+

यस्तो थियो मस्कले ट्वीटर खरिद गर्नुको भित्री कथा

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ३ गते ११:३२

टेस्लाका सीईओ एलन मस्कले जब सोसल मिडियाको दिग्गज कम्पनी ट्वीटर (हालको एक्स) खरिद गरे त्यो ठुलै चर्चाको विषय बनेको थियो ।

उनले ट्वीटर अधिग्रहण गर्नुका कारणलाई लिएर विभिनन अनुमान गरिए । तर वास्तविक रुपमा उनले ट्वीटर खरिद गर्नुको खास कारणको खुलासा हालै एउटा पुस्तकमा गरिएको छ ।

सो पुस्तकमा उल्लेख गरिए अनुसार एलन मस्कले एउटा ट्वीटर अकाउन्टमाथि प्रतिबन्ध लागोस् भन्ने चाहन्थे । त्यसका लागि उनले ट्वीटरका तत्कालीन सीईओ पराग अग्रवालसँग अनुरोध पनि गरे । तर, परागले मस्कको अनुरोध अस्वीकार गरेसँगै झोंक्की स्वभावका एलन मस्कले ट्वीटर कम्पनी नै खरिद गरेर आफ्नो मनमौजी गर्ने निधो गरेका थिए ।

ब्याटल फर द बर्ड नामक पुस्तकमा गरिएको दाबी अनुसार अमेरिकी प्रोग्रामर ज्याकी स्विनीको ट्वीटरमा एलनजेट नामक एउटा अकाउन्ट थियो ।

उक्त अकाउन्टले मस्कको निजी जेटका यात्राहरुको बारेमा जानकारी शेयर गर्दथ्यो । आफ्नो निजत्व तथा गोपनीयता भंग गरेको भन्दै मस्क उक्त अकाउन्टसँग खुसी थिएनन् र त्यसमाथि गोपनीयता नियम उल्लंघनको आरोपमा प्रतिबन्ध लगाइयोस् भन्ने चाहन्थे ।

यस विषयमा उनले ट्वीटरका तत्कालीन सीईओ पराग अग्रवालसँग पनि कुराकानी गरेका थिए । तर, पराग अग्रवालले सो ट्वीटर अकाउन्टमा प्रतिबन्ध लगाउन नसकिने जवाफ मस्कलाई दिए ।

पुस्तकमा दाबी गरिए अनुसार एलन मस्कले आफ्ना यात्राहरुको जानकारी नदिने सर्तमा ज्याक स्विनीलाई ५००० डलर पैसा दिने प्रस्ताव पनि गरेका थिए । तर, स्विनीले ५० हजार डलर मागिन् । त्यसपछि चाहिं मस्कले उनको ट्वीटर अकाउन्टमाथि नै प्रतिबन्ध लगाउने कोसिस गरेका थिए । तर त्यसमा पनि सफल नभए पनि मस्कले ट्वीटर कम्पनी नै खरिद गर्ने निर्णय लिएका थिए ।

मस्कले सुरुमा ठूलो परिमाणमा ट्वीटर कम्पनीको शेयर खरिद गरे र त्यसको बोर्ड सदस्य बने । त्यसपछि सन् २०२२ को अक्टोबरमा उनले कम्पनीको सबै शेयर आफ्नो नाउँमा बनाउन ४४ अर्ब डलरको सम्झौता गरे ।

ट्वीटर कम्पनी आफ्नो स्वामित्वमा ल्याएसँग मस्कले पराग अग्रवाल लगायतका विभिन्न उच्च पदस्थ कर्मचारीहरुलाई बर्खास्त गरेका थिए । त्यसपछि उनले ट्वीटर कम्पनीको नाम तथा ब्राण्ड नै परिवर्तन गरी एक्स बनाए ।

तर, अनौठो त के भने मस्कले ट्वीटर खरिद गरेपछि पनि उनका निजी जेट यात्राहरुको खुलासा गर्ने ज्याक स्विनीको ट्वीटर अकाउन्ट बन्द भएन ।

एलनजेट नामक एक्स अकाउन्टले अहिले पनि एलन मस्कले आफ्नो प्राइभेट जेटमा गर्ने हवाई सयरका विषयमा जानकारीहरु शेयर गर्ने गर्दछ ।

ब्लुम्बर्गका पत्रकार कुर्त वाग्नरले लेखेको ब्याटल फर द बर्ड पुस्तक यही फेब्रुअरी २० देखि बजारमा आउनेछ । यसमा ट्वीटरको गडबडपूर्ण कर्पोरेट इतिहास, एलन मस्कको अधिग्रहण, यसको भीमकाय सांस्कृतिक प्रभाव तथा दुनियाँले खबर थाहा पाउने कुरालाई एक्सले कसरी बदल्यो भन्ने लगायतका विषयमा अनुसन्धानात्मक विवरणहरु प्रस्तुत गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?