+
+

प्रावि शिक्षकमा माग भन्दा ६८३ कम परीक्षार्थी पास

कमजोर ग्रेड ल्याउनेहरुले पनि प्रतिस्पर्धा गर्न पाउने व्यवस्थाले परीक्षामा सहभागीको संख्या बढी देखिए पनि अपेक्षा गरे अनुरुप शिक्षक नपाउने अवस्था रहेको शिक्षाविद् मीनाक्षी दाहाल बताउँछिन् ।

नुनुता राई नुनुता राई
२०८० फागुन ८ गते २१:१२

८ फागुन, काठमाडौं । शिक्षक सेवा आयोगले यसवर्ष प्राथमिक तहमा माग गरे अनुसार शिक्षक पदपूर्ति नहुने भएको छ ।

आयोगले २०७९ चैतमा काठमाडौंबाहेक ७६ जिल्लामा सात हजार ९५४ शिक्षक माग गरेको थियो ।

त्यस अनुसार गत २० जेठमा सामान्य र १३ असोजमा विषयगत परीक्षा सञ्चालन गरेको थियो । १३ असोजमा लिएको विषयगत परीक्षाको नतिजा सार्वजनिक गर्दा माग गरेभन्दा ६८३ जना परीक्षार्थी कम उतीर्ण भएका छन् ।

७६ मध्ये ४३ जिल्लामा मात्र माग गरेअनुसार परीक्षार्थी उतीर्ण भएका छन् । उतीर्ण भएकाहरुको अन्तर्वार्ता २० फागुनदेखि जिल्ला शिक्षा समन्वय इकाइमा हुनेछ ।

कोशीमा इलाम र धनकुटामा मात्र माग संख्या अनुसार परीक्षार्थी उतीर्ण भएका छन् । बाँकी १२ जिल्लामा कम प्ररीक्षार्थी उतीर्ण भएका छन् । त्यसमध्ये सबैभन्दा बढी सोलुखुम्बुमा ७०, ओखलढुंगामा ५४, मोरङमा ३७ जना कम परीक्षार्थी उतीर्ण भएका छन् ।

मधेशमा सर्लाही, बारा, पर्सा र सप्तरीमा मात्र मागअनुसार शिक्षक उतीर्ण भएका छन् । लिखित परीक्षामा माग गरेभन्दा धनुषामा ४०, सिरहामा १५, महोत्तरीमा २५ र रौतहटको १३ जना कम परीक्षार्थी उतीर्ण भएका छन् ।

बागमतीका काठमाडौंबाहेकका जिल्लामा कुल एक हजार ३३२ शिक्षक माग गरेकामा १५३ जना कम परीक्षार्थीले मात्र लिखित परीक्षामा नाम निकालेका छन् ।

दोलखामा १८, नुवाकोटमा ११, काभ्रेपलाञ्चोकमा ४०, चितवनमा ३ जना कम परीक्षार्थी अन्तर्वार्ताका लागि छनोट भएका छन् । सिन्धुली, धादिङ, सिन्धुपाल्चोक, रामेछाप, भक्तपुर, ललितपुरमा मात्र माग अनुसार परीक्षार्थी उतीर्ण भएका छन् ।

गण्डकीमा बाग्लुङ, तनहुँ, गोरखा, नवलपरासी, लमजुङ र मुस्ताङमा माग अनुसार परीक्षार्थी पास भएका छन् । कास्कीमा २५ र पर्वतमा १८ जना कम परीक्षार्थी अन्तर्वार्ताका लागि छनोट भएका छन् ।

लुम्बिनीमा अर्घाखाँचीमा ११, पाल्पामा ४, रुकुमपूर्वमा १७ जना कम परीक्षार्थी उत्तीर्ण भएका छन् ।

कर्णालीमा सुर्खेतबाहेक अन्य जिल्लाले माग अनुसार शिक्षक पाउने देखिएको छ । सुर्खेतमा ६९ जना माग भएकामा ६३ जना उतीर्ण भएका छन् ।

सुदूरपश्चिमको बाजुरामा १८ र डडेलधुरामा १ जना कम परीक्षार्थी उतीर्ण भएका छन् । अरु जिल्लामा भने माग अनुसार परीक्षार्थी उतीर्ण भएका छन् ।

किन भयो यस्तो ?

शिक्षक सेवा आयोगको परीक्षार्थीहरुको तयारी कमजोर भएको यस क्षेत्रका जानकारहरु बताउँछन् । शिक्षा शास्त्र केन्द्रीय विभागका शिक्षण सहायक बाबुराम राईका अनुसार प्रावि तहको शिक्षक उतीर्ण हुन अंग्रेजी, गणित, नेपाली, सामाजिक विषय पढाउन सक्ने गरी तयारी गर्नुपर्छ ।

परीक्षार्थीहरु स्वअध्ययन भन्दा ट्युसन पढेर परीक्षा दिने तयारी गर्दा कमजोर देखिएको राईको बुझाइ छ । ट्युसन सेन्टरहरुले नयाँ विचार दिने, तर्क गर्ने, व्यवहारिक ज्ञान दिने भन्दा पनि प्रश्नको उत्तर घोकाउने काम गर्ने हुनाले त्यत्तिको भरले शिक्षकको परीक्षा उतीर्ण गर्न कठिन हुने शिक्षक सहायक राईले बताए ।

शिक्षाविद् मिनाक्षी दाहाल परीक्षार्थीको तयारी र परीक्षा तथा परीक्षण मापदण्डबीच तालमेल नहुँदा माग गरिए अनुसार परीक्षार्थी उतीर्ण नभएको बताउँछिन् । कमजोर ग्रेड ल्याउनेहरुले पनि प्रतिस्पर्धा गर्न पाउने व्यवस्थाले परीक्षामा सहभागीको संख्या बढी देखिए पनि अपेक्षा गरे अनुरुप शिक्षक नपाउने अवस्था रहेको उनको बुझाइ छ ।

शिक्षक सेवा आयोगका सूचना अधिकारी कृष्णप्रसाद अधिकारीले यस वर्षको परीक्षाको नतिजा विश्लेषण नगरेकाले के कारणले कम परीक्षार्थी उतीर्ण भए पत्ता लगाउन नसकिएको बताए ।

‘अहिलेसम्मको नतिजा सार्वजनिक गर्नमा केन्द्रित थियौं । रिक्त दरबन्दी अनुसार स्थायी शिक्षक नपाउनुको कारण र विश्लेषण गर्ने तयारीमा छौं’, उनले भने ।

कोशी प्रदेशको शिक्षा विकास निर्देशनालयको निमित्त निर्देशक कृष्णप्रदास पोखरेल यसको कारण पत्ता लगाउन आयोगको पाठ्यक्रम र विश्वविद्यालयको शिक्षाको गुणस्तरलाई विश्लेषण गरेर हेर्नुपर्ने बताउँछन् । ‘यी दुई पक्षबाट हेर्नुपर्छ तर यसैको नजिक रहेर विश्लेषण चाहिँ गरेका छैनौं’, उनले भने ।

लेखकको बारेमा
नुनुता राई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?