+
+

फिल्म स्टुडियो बनाउन बनेपाको साढे २ हेक्टर जग्गाको स्वामित्व बोर्डलाई

अनलाइनखबर अनलाइनखबर
२०८० चैत ८ गते १७:१२

काठमाडौं । काभ्रेको बनेपामा अत्याधुनिक फिल्म छायांकन स्टुडियो निर्माणका लागि चलचित्र विकास बोर्डले बिहीबार साढे दुई हेक्टर वन क्षेत्रको जग्गाको स्वामित्व प्राप्त गरेको छ ।

आयोजित समारोहमा वन तथा भूसरंक्षण विभागका महानिर्देशक शिवकुमार वाग्लेले बोर्ड अध्यक्ष भुवन केसीलाई उक्त जग्गा हस्तान्तरण गरे । जग्गा प्राप्त हुनेबित्तिकै अब टेन्डर प्रक्रिया अघि बढ्ने अध्यक्ष केसीले जानकारी दिए ।

चालु आर्थिक वर्षबाटै निर्माण कार्य सुरु हुने र असारअघि नै टेन्डर आह्वान गर्ने बोर्डको तयारी छ । अनुदानको बजेटबाट दुई करोड र आन्तरिक बजेटबाट ५० लाख रुपैयाँ बजेटबाट टेन्डर आह्वान गर्न लागिएको बोर्डले जनाएको छ ।

प्रस्तावित स्टुडियोको डीपीआर तयार भइसकेको छ । २७ करोड रुपैयाँ लागत अनुमान छ । थ्रीडी एनिमेसन मोडल पनि तयार छ । जग्गाको स्वामित्व बुझ्दै अध्यक्ष केसीले आजको दिन फिल्म क्षेत्रका लागि खुसीको दिन भएको बताए ।

‘अहिले एउटा फिल्म सुटिङका लागि पनि ठाउँ मागी–मागी खिच्नुपरेको छ । यो स्टुडियो बनेमा अन्तर्राष्ट्रिय फिल्म छायांकनका लागि पनि सजिलो हुने र हजारौं प्राविधिकले काम पाउन सक्छन्,’ अध्यक्ष केसीले अनलाइनखबरसँग भने, ‘यसबाट सरकारलाई पनि राजस्व फाइदा हुनेछ ।’

तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले बनेपामा सुटिङ स्टुडियो बनाउन प्रक्रिया अघि बढाएका थिए । गत असार २८ गतेको मन्त्रिपरिषद् बैठकले बनेपा नगरपालिकाको वडा नम्बर १० र १३ मा रहेको बाहुनडाँडा सामुदायिक वनको जग्गालाई प्रयोगका लागि स्वीकृति दिने निर्णय गरेको थियो ।

दोलखाको डाङ्डुङे डाँडामा निर्माणाधीन अर्को स्टुडियोका लागि खर्च जुटाउन सरकारले आगामी लगानी सम्मेलनमा उक्त परियोजना पिचिङ गर्ने समेत बोर्डले जनाएको छ । सरकारले पीपीए मोडलमा उक्त स्टुडियो बनाउने योजना यसअघि सार्वजनिक गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?