+
+

सुत्केरीको मानसिक स्वास्थ्य

बच्चा भएपछि हुनसक्ने नैराश्यताले महिलासँगै पुरुषलाई पनि आक्रान्त बनाउँदो रहेछ। हेर्दा सामान्य लाग्ने यस्तो रोगबाट समाजमा कुनै भयंकर घटना हुन नदिन समयमै सचेत हुनुपर्छ।  

अमृता लम्साल अमृता लम्साल
२०८० चैत २० गते ६:२९

गत माघको तेस्रो हप्ता काठमाडौंको नारायणटारबाट एक महिला घरबाट ब्युटीपार्लरमा बेचिएको घिउको पैसा उठाउँछु भनेर हिंडेकी तर नभेटिएकी भनेर फेसबुकमा खोजी गरिदिन आग्रह गर्दै महिलाको फोटो सहित पोस्ट गरिएको थियो। मंगलबारदेखि घर छाडेर हिंडेकी महिला बिहीबार शालीनदी क्षेत्रमा भेटिएको समाचार छापियो। 

त्यो समाचारले कस-कसमा के प्रभाव पर्‍यो थाहा भएन; यो पंक्तिकारलाई चाहिं एकैपटक सन् २००१ जून २० को दृश्यमा पुर्‍यायो। त्यसको कारण थियो, उनी ३ महिनाको सुत्केरी थिइन् र बच्चा छाडेर हिंडेकी थिइन्।

सन् २००१ को जून २० तारिखको दिन अमेरिकाको टेक्सास राज्यस्थित क्लियरलेक शहरमा बस्ने एन्ड्रिया एट्सले आफ्ना पाँच जना नाबालिग बच्चाहरू, जो सात वर्षदेखि मुस्किलले सात महिना पुगेका थिए, आफ्नै घरको बाथटबमा पालैपालो डुबाएर मारिन्। त्यो दिन नासामा काम गर्ने उनका श्रीमान् रसेल एट्स बिहान नौ बजे काममा हिंडेपछि उनले तीन जना छोराहरू, ल्युक, पौल र जोनलाई पहिले डुबाइन्। 

उनीहरू मरिसकेपछि उनीहरूको मृत शरीरलाई निकालेर ओछ्यानमा लागेर लहरै सुताइन्। त्यो दुर्घटनालाई स्थानीय टेलिभिजनका च्यानलहरूले लाइभ प्रसारण गरिरहेका थिए। त्यो हेरेपछि उनलाई गाली गर्न कसले बाँकी राखेको थियो होला र!

त्यति गर्दासम्म उनले सबैभन्दा सानी छोरी मेरीलाई बच्चा राख्ने बास्केटमा नै राखेर डुबाएकी थिइन्। तर, मेरी रोएको सुनेर उनको जेठो छोरो नोहा बहिनीलाई के भयो भनेर सोध्दै त्यहाँ आइपुग्यो। त्यहाँको स्थिति देखेर भाग्न लागेको नोहालाई पनि समातेर उनले मेरीसँगै टबमा डुबाइन्। 

त्यसपछि, त्यतिबेलासम्म प्राण त्यागिसकेकी मेरीलाई टबबाट झिकेर लगी अरू बच्चाहरूसँगै सुताइन् भनेर न्युज च्यानलहरूले भनिरहेका थिए। नोहालाई टबमै छाडेर अरू सबै बच्चाहरूको शवलाई तन्नाले छोपेर प्रहरीलाई फोन गर्न गइन् र, आफ्ना पतिलाई छिटो घर आउन भनिन्। उनले आफ्नो पतिलाई त्यो घटनाबारे सुनाइन्।

प्रहरी घरमा आएपछि उनले आफूले आफ्ना सबै छोराछोरीलाई डुबाएर मारेको जानकारी दिएर उनीहरूको शव भएको कोठामा लिएर गइन्। त्यसपछि, उनलाई प्रहरीले गिरफ्तार गर्‍यो। ज्यान मारेको अभियोग पनि लगाइयो। उनलाई ४० वर्षपछि मात्र प्यारोलमा छुट्ने गरी सन् २००२ मा आजीवन काराबासको सजाय सुनाइयो। 

तर, उनको सुनुवाइमा अपील गरियो र सन् २००६ जुलाई २६ का दिन जुरीले उनलाई मानसिक सन्तुलन ठिक नभएको कारण देखाएर सजायमुक्त गर्‍यो। अर्थात्, उनको त्यो डरलाग्दो अपराध उनले जानाजान गरेको नभई बच्चा भएपछि महिलामा हुनसक्ने तीव्र नैराश्यताको कारणले गरेको हुँदा उनी सजायको भागी नठहर्ने निष्कर्षका साथ उनको पहिलाको मुद्दा उल्टियो। 

एन्ड्रिया एट्सको इतिहास हेर्दा तीनवटा बच्चा जन्माइसकेपछि र एउटा गर्भपतन भइसकेपछि उनले जीवनदेखि थाक्न थालेको अनुभूति देखाउन थालिसकेको कुरा उनका नजिक रहेका व्यक्तिहरूले मुद्दाको बहसको समयमा व्यक्त गरेका थिए। तर, ‘भगवानले दिए जति बच्चा जन्माउनुपर्नेरोमन क्याथोलिक विश्वास अनुसार एट्स दम्पतीले बच्चा जन्माउन रोकेनन्। यसको सट्टा उनीहरूलाई आफ्नो धर्मगुरुबाट धार्मिक सिद्धान्तमा विचलन हुन नहुने दबाबका साथ पत्र प्राप्त भयो।

त्यो दिन, सामान्यतया, जनावरको संसारमा समेत आफ्नो अस्तित्व मेटाएरै भए पनि आफूले जन्माएको बच्चाको हेरचाह गर्ने, चाटीचाटी बच्चा हुर्काउने संस्कार बोकेकी आमाको पर्यायको सोच्नै नसकिने पाटोबारे जानकारी पाएँ। 

हुनसक्छ, नारायणटारकी ती महिलाले बच्चा छाडेर हिंड्दा जुन कामको लागि गएकी थिइन् त्यही नै थियो; वा, उनी पूर्ण रूपमा मानसिक तथा शारीरिक रूपले पूर्ण स्वस्थ थिइन्/छन्। तर, बच्चा छाडेर हिंडेको भन्ने बित्तिकै, त्यो घटना पोस्टपार्टम डिप्रेसनसँग जोडिएको त थिएन ? भन्ने प्रश्नले सताइरह्यो। 

एन्ड्रिया एट्सको त्यो अवस्था नदेखेको बेलासम्म पोस्टपार्टम डिप्रेसनभनेको के हो ? र यसले कतिसम्म अपराध गराउँदोरहेछ भन्ने जानकारी आफूलाई पनि थिएन। 

एकातिर तीव्र शहरीकरणले बढाउँदै लगेको एक्लोपन, अनि बच्चा भएको लगत्तै थपिने शारीरिक र मानसिक जिम्मेवारी, निद्राको कमि, शरीरमा हुने हर्मोनको परिवर्तन आदित्यादि कारणहरूले त्यस्ता कल्पना नै गर्न नसकिने खालका भयानक घटना या अपराधहरू घट्ने पुष्टि समाजशास्त्रीहरू गर्दछन्।

त्यो दिन पश्चात् आफ्नो सुत्केरी अवस्था सम्झँदा, पहिलो बच्चा जन्मिएपछि, ओहो, मेरो जीवन त यही तेलमै डुबेर सक्किनेभो; कतै जाउँ भने पनि बच्चा छाडेर हिंड्न नपाइनेभो भन्ने सोचले नैराश्यता नआएको पनि होइन। तर, यस्ता कुराहरू नयाँ आमाहरूलाई हुनसक्ने मानसिक स्वास्थ्यको कुरा हो भन्ने थाहा थिएन। त्यो घटनाले जीवनभर नबिर्सने गरी पाठ सिकायो। 

पोस्टपार्टम डिप्रेसनको बारेमा हामी कति चेतनशील छौँ ? सुत्केरी महिलाको शारीरिक मात्रै होइन, मानसिक स्वास्थ्यको बारेमा हामीले कति ध्यान दिन्छौं ?

यो समाजमा महिला गर्भवती वा सुत्केरी भएपछि उनीहरूको जरुरतबारे कति ध्यान दिइन्छ ? लौ मानौं, शहरमा त अलिअलि चेतना छ भन्ठानौं, गाउँघरमा नयाँ आमा बन्न लागेकाहरूको जरुरत कसले थाहा पाउला ? यो इस्युको बारेमा विज्ञहरूका अनुसार पोस्टपार्टम डिप्रेसन बच्चा जन्माएको एक–दुई दिनदेखि केही हप्ता वा महिनामा पनि देखिन सक्छ।

अमेरिकामै पनि एन्ड्रिया एट्सको दुर्घटना पश्चात् पोस्टपार्टम डिप्रेसनबारे व्यापक चर्चा भयो र मानसिक समस्याबारे ध्यान दिन थालियो। उनको मुद्दामा बहस हुँदा सञ्चारमाध्यमद्वारा आम जनमानसले त्यसबारे धेरै कुरा थाहा पाए। यति हुँदाहुँदै सन् १९९९ मा मानसिक तनावले तीव्र रूपमा ग्रस्त भएर एन्ड्रियाले दुईपटक आत्महत्या गर्ने कोसिस गर्नुका साथै अन्य मानसिक समस्याले गर्दा पटक–पटक अस्पताल भर्ना भइसकेकी रहिछन्।

त्यसैबेला उनलाई सुत्केरी भएपछि हुनसक्ने नैराश्यताले ग्रस्तबनाएको निष्कर्ष डाक्टरहरूले दिइसकेका थिए। तर, परिवार र धर्मको अधीनमा परेको उनको जीवनमा उनको कुरा बुझ्ने चासो र सामर्थ्य सम्बन्धित पक्षले देखाएन, जसको फलस्वरूप उपरोक्त जघन्य घटनाको सामना व्यक्ति, परिवार र समाजले नै गर्नुपर्‍यो।

अमेरिकामा मानसिक रोगले ग्रसित भएर आमाहरूले बच्चाहरूको ज्यान लिएको यो मात्र घटना होइन। जतिले आफ्ना बच्चाहरू मारेका छन्, उनीहरूमध्ये धेरैले उनीहरूको भगवान वा शैतानले बच्चा मार्न आदेश दिएको वा शैतानबाट बच्चाहरूलाई जोगाउन मारेको साबिती दिएका छन्। 

एन्ड्रिया एट्सको घटनापछि पनि प्लानो भन्ने ठाउँमा लिसा दियास नामक महिलाले आफ्ना तीन र पाँच वर्षका छोराछोरीहरू मारेर आफूले असफल आत्महत्याको कोसिस गरेकी थिइन्। त्यसैगरी, टाइलर टेक्ससकी डिएना लेनीले आफ्ना दुई छोराहरूलाई ढुङ्गाले हानेर मारी तेस्रो छोरालाई सिकिस्त घाइते बनाएकी थिइन्। 

प्लानोकै अर्की महिला डेना सोल्स्करले आफ्नो दश महिनाको छोराको ज्यान लिएकी थिइन्। यो क्रममा इरानबाट बसाइँ सरेर आएको परिवारकी २८ वर्षीया आमाले आफ्नो दुई महिनाको शिशुलाई रुखैरुखले घेरिएको स्थानमा लगेर जिउँदै गाडेर मारेको तथ्य प्रकाशमा आएको थियो। समाचारमा आए अनुसार उनलाई पनि आफ्नो पहिलो बच्चाको जन्मपछि डिप्रेसनको कारण दुई महिनासम्म औषधि उपचार गर्नुपरेको थियो। 

उपरोक्त उदाहरणहरू यहाँ प्रस्तुत गर्नुको कारण महिलाहरूमा बच्चा जन्माए लगत्तै केही महिनासम्म हुनसक्ने नैराश्यताले यति नराम्रोसँग जरा गाड्ने रहेछ कि, त्यस्तो बेलामा उनीहरूले जस्तोसुकै कृत्य पनि गर्न सक्दारहेछन् भन्ने तथ्य अगाडि राख्नु नै हो। 

हुनत, नेपालमा बहुमत महिलाहरूको शारीरिक स्वास्थ्यको त कसैले ख्याल गर्दैन भने मानसिक स्वास्थ्यको कुरा उठाउँदा त हाँसोकै पात्र बनिन पनि बेर लाग्दैन। अझ त्यसमा पनि मानसिक स्वास्थ्यको कुरा आउने बित्तिकै पागलकै ठप्पा पनि लाग्न सक्दछ। 

तर, सुत्केरीपछि हुने डिप्रेसनविकसित समाजमा मात्र नभएर नेपाली समाजमा पनि व्याप्त छैन होला भनेर भन्न सकिन्न। फरक के छ भने, विकसित समाजमा कुनै घटना भयो भने सम्बन्धित पक्षले तत्कालको परिवेशलाई मात्र नहेरेर त्यो व्यक्तिको बालककालदेखिको सबै इतिहास केलाएर मात्र निष्कर्षमा पुग्छ। नेपालमा जस्तो त्यो महिला या पुरुष बौलाएछभन्ने सोचले हेरिंदैन र सजाय पनि तय गरिंदैन।

यसै प्रसंगमा, काठमाडौं मोडेल हस्पिटलको डिपार्टमेन्ट अफ अब्सटेट्रिक्स एन्ड गाइनोकोलोजिस्ट विभागीय प्रमुख सिनियर कन्सल्ट्यान्ट डाक्टर अरुणा कार्कीसँग केही प्रश्नहरू राखेकी थिएँ। उहाँका अनुसार, उहाँको ३६ वर्षीय पेशागत जीवनमा उहाँले प्रसूति गृहमा ६ वर्ष कार्यरत रहँदा थुप्रै पोस्टपार्टम डिप्रेसनका बिरामीहरू भेट्नुभएको रहेछ। 

त्यो अनुपातमा मोडेल हस्पिटलमा कम भेटिने रहेछ। उहाँ भन्नुहुन्छ, ‘हामीले आफूले भेटेका माइल्ड साइकोसिसका बिरामीहरूलाई आफैंले उपचार गर्ने र अलि धेरै नै बिरामी भएमा सम्बन्धित विशेषज्ञहरूकहाँ पठाउने गर्छौं।

कागजमा मात्रै हेर्ने हो भने, नेपालमा सरकारले नै सुरक्षित मातृत्वको नाराका साथ गर्भावस्थामा ८ पटक र सुत्केरीलाई चारपटक स्वास्थ्य जाँच गराउनुपर्ने नीति पनि बनाएको छ। तर, त्यस्ता कुराहरू कति पालना हुन्छ भनेर हेर्नलाई गर्भवती महिलाहरू बर्थिंग सेन्टर वा अस्पताल जान नसकेर बाटाबाटैमा बच्चा जन्माएको दृश्यहरू हेरे पुग्छ। त्यसको लागि सामाजिक सञ्जाल नै पनि काफी छ। यस्तो स्थितिमा, गर्भवती तथा सुत्केरीको मानसिक स्वास्थ्यबारे सम्बन्धित पक्षलाई कति चासो होला र ! 

सरकारले आमा तथा नवजात शिशुको स्वास्थ्य अवस्था सुधार्न दिगो विकास लक्ष्य अनुरूप २०३० को रोडम्याप पनि तयार गरेको छ। जसअनुसार, सन् २०३० सम्ममा मातृ मृत्युदर घटाउन, आमा र बच्चाको स्वास्थ्यमा सुधार ल्याउने कुरा पनि छ। तर, त्यहाँनिर खट्किने विषय भनेको सामाजिक सञ्जाल वा पत्रपत्रिकामा ह्यासट्याग राखेर मेन्टल हेल्थ म्याटर्सलेखेर जिम्मेवारी मुक्त हुनु मात्रै होइन। खासमा भन्ने हो भने, मानसिक स्वास्थ्यलाई शारीरिक स्वास्थ्यभन्दा बढी ध्यान दिनुपर्दछ।

एकातिर तीव्र शहरीकरणले बढाउँदै लगेको एक्लोपन, अनि बच्चा भएको लगत्तै थपिने शारीरिक र मानसिक जिम्मेवारी, निद्राको कमि, शरीरमा हुने हर्मोनको परिवर्तन आदित्यादि कारणहरूले त्यस्ता कल्पना नै गर्न नसकिने खालका भयानक घटना या अपराधहरू घट्ने पुष्टि समाजशास्त्रीहरू गर्दछन्। 

उक्त रोगले गाँजेपछि रोगी विना कारण नै रोइरहने, झिजिने, झर्किने, ज्यादै उदास हुने, भविष्यप्रति आशावादी नहुने, आफ्नो जीवन नै सिद्धियो जस्तो ठान्ने, केही गर्न पनि जाँगर नदेखाउने, अरूसँग रिसाउने आदि–आदि हुन्छ भनेर विशेषज्ञहरू भन्दछन्। त्यसैले नेपालमा पनि यस्ता कुरामा जनमानसमा चेतना ल्याउने खालका कार्यक्रमहरू ल्याउन जरूरी भइसकेको छ।

नेपालको सन्दर्भ उल्लेख गर्दा अलिकति कोसिस त भएको रहेछ। यो लेख तयार पार्ने सामग्री खोज्दा थाहा भयो, सन् २००२ मा त्रिभुवन विश्वविद्यालयको मेन्टल हेल्थ रिसोर्स सेन्टरले र सन् २००१ को अक्टोबरदेखि २००३ को जनवरीसम्म नर्वेको युनिभर्सिटी अफ वर्जनले सीमित संख्यामा सुत्केरी आमाहरूको सर्वेक्षण गरेको रहेछ। त्यो बहुल धर्म, संस्कृति र सोच बोकेको नेपालको समाजका लागि पर्याप्त छैन। 

यहाँ अर्को तथ्य पनि उल्लेख गर्न आवश्यक छ कि, बच्चा भएपछि हुनसक्ने नैराश्यताले महिलालाई मात्र होइन, पुरुषलाई पनि आक्रान्त बनाउँदो रहेछ। त्यसैले हेर्दा सामान्य लाग्ने यस्तो रोगबाट समाजमा कुनै भयंकर घटना हुन नदिन समयमै सचेत हुनेतर्फ पाइला चाल्नु नै बुद्धिमानी हुनेमा दुईमत हुन सक्तैन होला।

यो लेख्दै गर्दा ती दिनहरू आँखा अगाडि आइरहेछन्, जुन दिनमा काठमाडौं खाल्डो भित्रै पनि सुत्केरी महिलालाई सुत्केरी भएपछि, दश दिनसम्म पराल ओछ्याएर सुताइन्थ्यो। खाटमा सुत्न, पिर्कामा बस्न वर्जित गरिन्थ्यो। छुन हुन्न भनेर खानाहरू पनि परैबाट सारिदिइन्थ्यो। यस्ता दिनहरू आजकल देख्नुपर्दैन तर चाहिने जति सहयोग पनि विरलै पाइन्छ।

लेखकको बारेमा
अमृता लम्साल

लेखक सामाजिक अभियन्ता, लेखक एवं पत्रकार हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?