+
+

माओवादी सांसदको प्रस्ताव : १५ प्रतिशत सचिव खुला प्रतिस्पर्धाबाट ल्याऔं

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २५ गते १९:४६

२५ चैत, काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद सूर्यमान तामाङ दोङले निजामती सेवामा १५ प्रतिशत सचिव खुला प्रतिस्पर्धाबाट ल्याउने कानुनी प्रावधानको प्रस्ताव गरेका छन् ।

संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० माथि संशोधन प्रस्ताव दर्ता गर्दै उनले यस्तो प्रस्ताव गरेका हुन् ।

‘राजपत्राङ्कित विशिष्ट श्रेणीको सचिव १४ तहमा खुलाबाट १५ प्रतिशत हुने व्यवस्था गर्नुपर्ने’ सांसद तामाङको संशोधन प्रस्ताव छ ।

प्रस्तावित विधेयकको दफा १८ मा निजामती कर्मचारीको तहवृद्धि सम्बन्धी व्यवस्था छ । यसमा संशोधन हाल्दै सांसद तामाङले सचिवमा खुलाबाट १५ प्रतिशत ल्याउनुपर्ने प्रस्ताव गरेका हुन् ।

खुला प्रतियोगिताद्धारा सचिव पदमा उम्मेदवार हुन सम्बन्धित विषयमा स्नातकोत्तर उपाधि हासिल गरेको हुनुपर्ने, संघीय निजामती सेवा, प्रदेश निजामती सेवा, स्थानीय सेवा वा अन्य कुनै सरकारी सेवा वा संगठित संस्था वा अन्तर्राष्ट्रिय अन्तरसरकारी संस्थामा राजपत्राङ्कित प्रथम श्रेणीको पदमा पाँच वर्ष काम गरेको हुनुपर्ने, राजपत्राङ्कित द्धितीय श्रेणीको पदमा सात वर्ष र अधिकृत स्तरको पदमा १० वर्ष काम गरेको अनुभव हुनुपर्ने प्रावधान राख्न सकिने उनको प्रस्ताव छ ।

यो सहित सांसद तामाङले निजामती विधेयकमाथि ११ बुँदामा संशोधन प्रस्ताव दर्ता गरेका छन् ।

प्रतिनिधि सभाको विधेयक शाखाका अनुसार निजामती विधेयकमा १२२ वटा भन्दा बढी संशोधन प्रस्ताव दर्ता भएको छ । यो विधेयक फागुन २१ गते प्रतिनिधि सभामा दर्ता भएको थियो । यो विधेयकमाथि प्रतिनिधि सभामा सैद्धान्तिक छलफल सकिएको छ ।

सैद्धान्तिक छलफल सकिएपछि सांसदहरुका लागि संशोधन प्रस्ताव दर्ता गर्ने समय ७२ घण्टा खुला भएको थियो । उक्त समय आइतबार सकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?