+

गर्भावस्थामा छाला चिलाउने, डाबर आउने समस्या भए के गर्ने ?

२०८१ वैशाख  ५ गते १३:२४ २०८१ वैशाख ५ गते १३:२४
गर्भावस्थामा छाला चिलाउने, डाबर आउने समस्या भए के गर्ने ?

गर्भावस्थाकै कारण महिलाको छालामा विभिन्न प्रकारको परिवर्तन देखा पर्छ । गर्भावस्थामा छाला सुख्खा र संवेदनशील हुन्छ, जसले गर्दा पनि छाला सम्बन्धी विभिन्न समस्या देखा पर्छ ।

छाला सुख्खा हुने, छाला चिलाउने, चाया पोतो आउने र डाबर आउने जस्ता छालाको समस्या गर्भावस्थामा देखापर्नु सामान्य हो । गर्भावस्थामा छालाको सामान्य देखि जटिल समस्या समेत देखिन सक्छ । यी समस्याहरू गर्भावस्थाको कुनै पनि चरणमा देखा पर्न सक्छन्, तर पनि अधिकतर समस्याहरू भने दोस्रो र  तेस्रो त्रैमासिकमा देखिन्छन् ।

छाला चिलाउने समस्या ‘कोलेस्टेसिस’

गर्भावस्थामा प्रोजेस्टोन हर्मोनको मात्रा बढि हुन्छ । प्रोजेस्टोनको मात्रा बढि हुँदा त्यसले पित्तथैलीबाट आउने पित्तको प्रवाहमा असर गर्छ जसले गर्दा गर्भवती महिलाहरूमा शरीर चिलाउने समस्या देखा पर्छ  । विशेष गरी हत्केला र पैताला धेरै चिलाउने समस्या हुन्छ । यो समस्या गर्भावस्थाको तेस्रो चरणमा देखा पर्छ ।

पेटको बच्चा ठुलो छ, पेटमा एक भन्दा बढी बच्चा हुर्किरहेको छ र पहिलो बच्चा जन्मने महिलाहरूमा यो समस्या देखा पर्ने जोखिम बढि हुन्छ ।

गर्भावस्थामा देखापर्ने अन्य छाला सम्बन्धी समस्याहरु

‘एक्जिमा’ एलर्जी

गर्भावस्थामा विभिन्न प्रकारका हर्मोनको गडबडी हुन्छ । साथै गर्भवतीको रोग प्रतिरोधात्मक क्षमता निकै कमजोर भएमा एक्जिमाको जोखिम बढ्न सक्छ । यो बेला छाला सुख्खा हुने हुँदा छालाको सङ्क्रमणको जोखिम बढ्छ, यसकै कारण महिलाहरू एक्जिमाको सिकार हुन सक्छन् ।

चाया पोतो

गर्भावस्थामा अनुहारको छालामा चाया पोतो देखिने समस्या पनि धेरैमा देखा पर्ने गर्छ । चाया पोतो गर्भावस्थाको दोस्रो तीन महिनाबाट देखिन थाल्छ ।  यो बढ्दै जान सक्छ । गर्भावस्थामा छाला संवेदनशील त्यसमाथि उच्च मात्राको ईस्ट्रोजेनको कारण अनुहारमा चाया पोतो  आउने सम्भावना बढ्छ ।

स्ट्रेच मार्क

गर्भधारणको क्रममा वजन बढ्नु, स्तनको आकारमा परिवर्तन हुनु, गर्भाशय बढ्नु जस्ता कारणले गर्भवती महिलालाई स्ट्रेच मार्क हुन्छ । जब छालामा अचानक बढी परिवर्तन हुन्छ, तब छालामा समावेश कोलाजन र इलास्टिन, जसले छालालाई टाइट राख्छ, त्यो स्ट्रेच भएर टुक्रिन्छ । यही कारण गर्भावस्थामा स्ट्रेच मार्कको समस्या देखा पर्छ ।

डन्डीफोर

गर्भावस्थामा डन्डीफोरको समस्या पनि सामान्य रूपमा देखा पर्छ । यो बेलामा हुने हर्मोनको मात्रामा आउने परिवर्तनको कारण डन्डिफोरको समस्या निम्तिन्छ । गर्भावस्थामा छाला संवेदनशील हुने र एन्ड्रोजन हर्मोनको स्तर बढ्ने कारणले डन्डिफोरको समस्या देखा पर्छ ।

छाला कालो हुने

गर्भावस्थामा नाइटोदेखि तल कम्मरको हड्डीसम्म कालो धर्को  देखापर्ने पनि हुन्छ । अनुहार, स्तनमा पनि कालो देखापर्ने र बिस्तारै सम्पूर्ण शरीर नै कालो हुने हुन्छ । यस्तोमा शरीरको छालामा भएको परिवर्तन कुनै रोग पो हो कि भन्ने पनि लाग्न सक्छ । तर, यो पनि गर्भावस्थामा हुने छालाको सामान्य समस्या हो यसबाट खासै आत्तिनु पर्दैन ।

डाबर आउने

गर्भावस्थामा आगोले पोले जस्तो हुने, फोका उठ्ने समस्या  पनि देखिने सम्भावना हुन्छ । यस्तो समस्या देखिएको खण्डमा छाला रोग विशेषज्ञको परामर्श लिनुपर्छ । साथै  केही गर्भवती महिलाहरूमा पेट तथा तिर्घामा सानो सानो बिमिरा आउने समस्या पनि हुन सक्छ ।

गर्भावस्थामा छालको समस्या देखिए के गर्ने ?

गर्भावस्थामा सामान्य देखि जटिल किसिमका छालाको समस्या देखा पर्छन् । यो अवस्थामा छालामा देखिने समस्याका लागि कडा प्रकारको उपचार वा औषधिको प्रयोग गर्न नहुने भएकाले छालाको स्याहारमा विशेष नै ध्यान दिनुपर्छ ।

गर्भावस्थामा सामान्य खाले छालाको समस्या देखियो भने छालालाई सुख्खा हुन नदिन नियमित मोस्चराइजरको प्रयोग गर्नुपर्छ ।

गर्भवती हुनु भन्दा पहिले नै छाला सम्बन्धी केही समस्या छ भने त्यसको उपचार गरेर मात्र गर्भवती भयो भने छालाको जटिल समस्या निम्तिने जोखिम कम हुन्छ ।

गर्भावस्थामा महिलाले एलर्जी हुने कुरा याद गरेर एलर्जीहरूबाट जोगिएर पनि छालाको समस्याबाट बच्न सक्छन् ।

छाला सम्बन्धी सामान्य समस्या देखिएमा जटिल हुन नदिन घाममा धेरै समय नबस्ने, सनस्क्रिनको प्रयोग गर्ने, पुरा बाहुला कपडा लगाउने ।

कतिपय अवस्थामा गर्भवती महिलाको अवस्था हेरेर यसको उपचार गर्नुपर्छ । गर्भावस्थामा जटिल प्रकारको  छाला सम्बन्धी समस्या देखा पर्यो भने गर्भवती महिलाले जुन पायो त्यही औषधि सेवन गर्न मिल्दैन । त्यसैले अस्पताल गएर चिकित्सकको सल्लाहमा गर्भावस्थामा असर नगर्ने किसिमको औषधिको सेवन गर्नुपर्छ ।

गर्भावस्था छाला चिलाउनु छालारोग डा. विकास पौडेल
डा. विकास पौडेल
लेखक
डा. विकास पौडेल
छाला, यौन तथा सौन्दर्य विशेषज्ञ

नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर :९१११ एमबीबीएस, एमडी, फेलोसिप इन क्लिनिकल डर्माटोलोजी (दक्षिण कोरिया) ललितपुर लगनखेलस्थित पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सहायक प्राध्यापक, पाटन अस्पताल, नेसनल मेडिकल कलेज वीरगञ्ज, शंखमूल हेल्थकेयरर इलिट हेल्थ क्लिनिकमा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

चिनीमात्र होइन, धेरै नुन खाँदा पनि बढ्छ रगतमा सुगर  

चिनीमात्र होइन, धेरै नुन खाँदा पनि बढ्छ रगतमा सुगर  

गर्भावस्थामा के-के गर्नुहुँदैन ? (भिडियो)

गर्भावस्थामा के-के गर्नुहुँदैन ? (भिडियो)

थाइराइडमा मोटोपनसँगै निम्तिन सक्ने ८ समस्या

थाइराइडमा मोटोपनसँगै निम्तिन सक्ने ८ समस्या

भिटामिन ईको कमी हुँदा शरीरमा के हुन्छ ?

भिटामिन ईको कमी हुँदा शरीरमा के हुन्छ ?

धुम्रपान सुरु गर्ने ‘गेट वे’ बन्दैछ ई-सिगरेट

धुम्रपान सुरु गर्ने ‘गेट वे’ बन्दैछ ई-सिगरेट

गर्मीसँगै सक्रिय हुँदैछ कोभिड, कारण के हो ?

गर्मीसँगै सक्रिय हुँदैछ कोभिड, कारण के हो ?