+

बाल्यकालको नकारात्मक अनुभवले हुनसक्छ दीर्घकालीन मानसिक समस्या

२०८१ जेठ  १८ गते १९:४७ २०८१ जेठ १८ गते १९:४७
बाल्यकालको नकारात्मक अनुभवले हुनसक्छ दीर्घकालीन मानसिक समस्या

कान्ति बाल अस्पतालका मनोचिकित्सकको टोलीले करिब दुई वर्षअघि देशभरका बाल सुधारगृहमा रहेका ६७० जनामा अध्ययन गरेको थियो । जसमध्ये ३० प्रतिशतमा मानसिक समस्या देखियो । जसमा ७० प्रतिशतमा चारभन्दा बढी बाल्यकालको नकारात्मक अनुभवले ग्रसित बालबालिका थिए ।

No description available.

यो समस्या बाल सुधारगृहमा मात्र होइन, हाम्रो घरवरपर नातेदार, छरछिमेकमा पनि बाल्यकालमा पु्गेको आघातले बच्चाको मानसिक स्वास्थ्यलाई प्रभाव पारिरहेको हुनसक्छ । धेरैलाई लाग्न सक्छ बच्चालाई घरपरिवार र सम्बन्धको जिम्मेवारी हुँदैन । उनीहरुलाई कसरी हुनसक्छ मानसिक तनाव ।

तर त्यस्तो होइन, बालबालिकाले आफ्नो समस्या व्यक्त गर्न सक्दैनन् । उनीहरुले व्यक्त नगर्ने तर मानसपटलमा रहिरहने बाल्यकालका नकरात्मक घटना बिस्तारै मनोरोगको कारण बन्नसक्छ । विश्व स्वास्थ्य संगठनका अनुसार ४० देखि ६० प्रतिशत वयस्कलाई देखिने मानसिक समस्या १४ वर्षअघि नै सुरु हुन्छ ।

के कस्ता हुनसक्छन् नकरात्मक अनुभव ?

बाल्यकालमा घट्ने अप्रिय घटना मानसपटलमा जरा गाढेर बसी वर्तमान र भविष्यमा पार्न सक्ने प्रभावलाई बाल्यकालमा पर्ने नकरात्मक प्रभावको अनुभव भनिएको छ । जसलाई मनोचिकित्सकीय भाषामा ‘एडर्भस चाइलहुड एक्सपेरियन्स’ भनिन्छ ।

बच्चाको मस्तिष्क साधा कागज जस्तो हुन्छ । उनीहरुले आफ्नो आँखा वरपर जे देख्छन्, त्यही सिक्छन् र अनुभव गर्छन् । जस्तै- एउटा बच्चाले पहिलोपटक साइकल चलाउन अभ्यास गर्दा सन्तुलन बिग्रिएर लड्यो भने उनीहरु त्यो अनुभवबाट सिक्छन् । र, होस् गरेर ध्यानपूर्वक बिस्तारै चलाउन खोज्छन् । त्यस्तै, दिमागले थेग्नै नसक्ने कच्चा उमेरमा बच्चाले नकारात्मक अनुभवहरु भोगेका छन् भने दिमागले सामना गर्न नसक्ने हुनसक्छ । उनीहरुले मनमा चलेको त्यो गतिलाई साइकल बिस्तारै चलाउने सिकाइ जस्तोगरी लैजान सक्दैनन् । बिस्तारै ती भावनाले मनोसमस्या ल्याउँछ ।

ती नकरात्मक अनुभव जे पनि हुनसक्छन् । जस्तै- आमाबाबुले सन्तानको क्षमता भन्दा बढी अपेक्षा राख्नु, अरूको बच्चासँग तुलना गर्ने अभ्यास, विद्यालयमा साथीहरूले हेप्ने, होच्याउने, गिज्याउने, साथीहरू र परिवारका सदस्यसँग झगडा, बाबुआमाको सम्बन्धविच्छेद, शारीरिक र भावनात्मक दुर्व्यवहार जस्ता कारणले बच्चामा मनोसामाजिक समस्या देखिनसक्छ । परिवारमा कसैको मृत्यु, यौन दुर्व्यवहार जस्ता परिस्थितिले बच्चालाई आघातमा पुर्‍याउन सक्छ ।

बच्चालाई यी कुराले सबैलाई उत्तिकै आघात नपुर्‍याउन सक्छ । यसमा बच्चाको मनोविज्ञान कस्तो छ भन्नेमा भर पर्छ । चाहे छ वर्षको होस् वा १२ वर्षको बच्चा, नकारात्मक परिस्थितिलाई कसरी दिमागले लिन्छ ? कसरी बुझ्छ ? कसरी दिमागले त्यसको सामना गर्छ त्यसमा निर्भर हुन्छ ।

जस्तै- भावनात्मकरुपमा बलियो छन् भने उनीहरुको दिमागले त्यसलाई नियन्त्रण गरेर घटनालाई चुनौतीका साथ सामना गरेर अघि बढ्न सक्छन् । तर जो दिमागबाट यस्तो कुरा निकाल्न सक्दैनन् उनीहरुमा यसले गहिरो प्रभाव पार्छ । यसबाहेक कोही बालबालिकामा विना कुनै शोषण पनि मानसिक आघात पुग्न सक्छ ।

जस्तै- परिवारमा कसैलाई पहिला नै डिप्रेसन थियो भने बच्चाको जीनमा पनि रहन सक्छ । र, उसमा स्वभाविक परिस्थितिमा झर्किने, उदास हुने, आत्तिने जस्ता व्यवहार देख्न सकिन्छ ।

डिप्रेसनको सिकार  

बाल्यकालमा गम्भीर आघात वा अनुभवबाट गुज्रिएका बालबालिका धेरै जस्तो एन्जाइटी र डिप्रेसनबाट ग्रस्रित हुनसक्छन् । बालबालिका अबोध हुन्छन् । कतिपय अवस्थामा उनीहरुलाई अत्याचार, शोषण वा यौन दुर्व्यवहार भइरहेको हुनसक्छ । तर त्यो समस्या हो र त्यसबारे कसैलाई भन्नुपर्छ भन्ने थाहा नहुनसक्छ ।

यसरी मनमै गुम्साएर राख्दा दिमागले अनावश्यक सोच्ने, रातमा निद्रा नपर्ने, वर्षौं बित्दा पनि सो घटना सपनामा देख्ने, एक्लै बस्न मन लाग्ने, स्कुल तथा कलेज जान मन नगर्ने, रिसाउने, आक्रामक हुने, कहिले मौन रहने, मनमा नकरात्मक सोच आइराख्ने, सबैलाई शंकाको नजरले हेर्ने, कुनै काममा मन नलाग्ने, पढाइमा ध्यान दिन नसक्ने, घुलमिल हुन कठिन हुने जस्ता समस्या बढ्दै गई डिप्रेसन हुनसक्छ ।

कलिलो उमेरमै यौन दुर्व्यवहारको सामना गर्नुपरेको छ भने भविष्यमा विपरीत लिङ्गसँग आकर्षित भएपनि सम्बन्ध गाँस्न समेत आत्मबल नआउने हुनसक्छ ।

यस्ता विविध कारणले डिप्रेसनमै पुग्ने बालबालिका राति एक्कासी ब्युँझिने, झस्किने, हातखुट्टा काम्ने, मुटु ढुकढुक हुने समस्या हुनसक्छ । यो क्रम लामो समयसम्म रहयो भने र झेल्न नसकेर आत्महत्या समेत गर्न सक्ने सम्भावना रहन्छ ।

कतिपयले बारम्बार नकारात्मक विचार आएर त्यसबाट क्षणिक आनन्द पाउन कुलतमा समेत फस्ने गर्छन् ।

बाबुआमाले सन्तानमा मनोसमस्याको लक्षण कसरी थाहा पाउने ?

– नातेदारसँग घुलमिल हुन नसक्नु र साथी नबनाउनु

– कसैलाई विश्वास नगर्नु

– बन्दकोठामा बस्ने वा मोबाइलमा मात्र ध्यान दिने

– बालबालिकाले प्रायः आफ्नो भावनालाई नियन्त्रण गर्न सक्दैनन् । मुड एकै किसिमको नहुनु र सामान्य कुरामा आवेगमा आएर आक्रामक भइहाल्नु

– एकपटकमा कुरा बुझ्न नसक्नु, अनकनाएर कम बोल्नु

– व्यवहार क्रोधमा परिणत हुन थाल्नु

– हाउभाउ पहिलेजस्तो नहु्नु, कुनै कुरामा लगाव नदेखाउनु

– कहिलेकाहीं उदासीनताको कुरा व्यक्त गर्ने (जस्तै- मर्न पाए हुने, म अरुभन्दा कमजोर छु) ।

यस्ता लक्षण देखिएमा दैनिकीमा असर गर्छ । त्यसैले सदा झैं बच्चाको हाउभाउ रहेन र यस्ता लक्षण देखिए एकपटक मनोविज्ञलाई देखाउनुपर्छ ।

उपचार

मनोचिकित्सकले पहिला पारिवारिक इतिहासबारे अभिभावकसँग जानकारी लिन्छन् । बच्चासँग अन्तरक्रिया गरेर उसलाई सहज हुने तरिकाले समस्या सोध्ने र बुझ्ने प्रयास गरिन्छ । केही प्रश्नावली तयार पारी त्यसको जवाफको आधारमा समस्या र लक्षणको जडमा पुगिन्छ । जसबाट एन्जाइटी, डिप्रेसन, पोस्ट ट्रमाटिक डिसअर्डर हो कि होइन पहिचान गरी उपचार प्रकिया अघि बढाइन्छ । यस्तो उपचारमा महिनौंदेखि वर्षौं लाग्न सक्छ । तर समयमै पहिचान भए उपचारपछि निको हुने सम्भावना प्रबल रहन्छ ।

त्यस्तै, मनोसमस्याबाट जोगाउन अभिभावकले पनि घरमा सन्तानको समस्या वा भावना व्यक्त गर्न सक्ने वातावरण सिर्जना गर्नुपर्छ ।

हाम्रो परिवार, समाज, सम्बन्ध, आर्थिक अवस्था, मनोविज्ञान र भावनाले एकअर्कालाई प्रभाव पारिरहेको हुन्छ । यी प्रभावलाई नियन्त्रण गर्न नसकेपनि बच्चालाई जगबाटै गुणस्तरीय व्यवहार दिएर हुर्काउनुपर्छ ।

डा. उत्कर्ष कार्की बालबालिका बाल्यकाल मानसिक स्वास्थ्य
डा. उत्कर्ष कार्की
लेखक
डा. उत्कर्ष कार्की
बालबालिका तथा किशोरकिशोरी मनोचिकित्सक

नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर : ८८१५ अध्ययन : एमबीबीएस, एमडी (मनोचिकित्सा), डीएम (बालबालिका तथा किशोरकिशोरी मनोचिकित्सा) हाल काठमाडौंको महाराजगञ्जस्थित कान्ति बाल अस्पतालमा बालबालिका तथा किशोरकिशोरी मनोचिकित्सकको रुपमा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय