+
+

‘गैंडा स्थानान्तरणले सुधार्छ पारिस्थितिक प्रणाली’

अनलाइनखबर अनलाइनखबर
२०८१ असार ४ गते ९:१३

४ असार, काठमाडौं । एकसिंगे गैंडा स्थानान्तरणले पारिस्थितिक प्रणालीलाई सघाइरहेको एक अनुसन्धानबाट पत्ता लागेको छ । डा. बलराम अवस्थी नेतृत्वको टोलीले सन् २०२० देखि २०२२ सम्मको अवधिमा गरेको अध्ययनबाट यो पत्ता लागेको हो ।

यो अध्ययन चितवन राष्ट्रिय निकुञ्ज र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा गरिएको थियो । चितवन राष्ट्रिय निकुञ्जबाट शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा एकसिंगे गैंडा स्थानान्तरण गरिएको थियो । त्यहाँ गैंडाको बासस्थानमा क्यामेरा ट्यापिङलगायतका विधिबाट अध्ययन गरिएको थियो । सो क्रममा अरु स्तनधारी जनावर र पन्छीहरूले गैंडाको गोबर र यसमा उम्रिएका वनस्पतिलाई आहारा बनाउने गरेको पाइएको छ ।

यो अध्ययन प्रतिवेदन यही वर्ष बायोलोजिकल कन्जर्भेसन नामको जर्नलमा प्रकाशित छ । त्यसमा गैंडा पुनःस्थापनाले गैंडाको संख्या बढाउन सहयोग पुग्ने मात्र होइन, अन्य जनावरको आहारा र पारिस्थितिक प्रणालीमा पनि लाभ पुर्‍याउने प्रमाणित भएको उल्लेख छ । त्यसमा गैंडाको गोबरको योगदान महत्वपूर्ण रहेको भनिएको छ ।

त्रिभुवन विश्वविद्यालय अन्तर्गतको सिद्धनाथ क्याम्पस कञ्चनपुरका उपप्राध्यापक अवस्थी भन्छन्, ‘यसमा नयाँ र चाखलाग्दो कुरा के हो भने गैंडाको गोबर अरु स्तनधारी जनावरले खान्छन् भन्ने अहिलेसम्म पत्ता लागेको थिएन । मेरो अध्ययनले चाहिँ अरु जंगली जनावरले सीधै गैंडाको गोबर खान्छन् भन्ने पत्ता लागेको छ ।’

कसरी गरियो अध्ययन ?

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अनुसार गैंडाको वैकल्पिक संख्या तयार गर्ने उद्देश्यले सन् १९८६ देखि २०२३ सम्म चितवन राष्ट्रिय निकुञ्जबाट बर्दिया राष्ट्रिय निकुञ्ज, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र कोशीटप्पु वन्यजन्तु आरक्षमा जम्मा १०२ वटा गैंडाहरु स्थानान्तरण गरिएको थियो । यो अध्ययन भने चितवन राष्ट्रिय निकुञ्ज र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा केन्द्रित थियो ।

गैंडाहरुले प्रायः एकै ठाउँमा शौच गर्ने भएकाले त्यस्ता क्षेत्र पहिचान गरी अध्ययनका लागि क्यामेरा जडान गरिएको थियो । सन् २०२० र २०२१ मा चितवनमा तथा शुक्लाफाँटामा गैंडाको गोबरको थुप्रो भएको ठाउँ नजिकै रहेका रूखहरूमा ६६९ दिनसम्म क्यामेरा ट्यापिङ जडान गरेर निगरानी गरिएको थियो ।

गैंडाका शौचालयहरूले पोषक तत्वहरूको हटस्पटको रूपमा काम गर्दै अन्य जनावरहरूका लागि भोजनको स्रोत उपलब्ध गराएको पत्ता लागेको अवस्थीको भनाइ छ । उनका अनुसार गैंडाका शौचालयमा रहेका पोषक तत्व, किरा, च्याउ र अन्य खाद्य स्रोतहरूको उपलब्धताले १० प्रजातिका स्तनधारी र चराचुरुंगीहरूलाई आकर्षित गरेको थियो ।

त्यसमा चित्तल, रतुवा मृग, बाँदर र बँदेलसहितका चार प्रकारका स्तनधारी जनावरले गैंडाको गोबर र त्यसमाथि उम्रिएका च्याउ, किरा र घाँसपात खाएको देखिएको थियो । मयूर लगायतका चराका चार प्रजाति पनि गोबरमा आकर्षित भएका थिए । जनावर झुम्मिएको देख्दा उनीहरुको आहाराको स्रोत गैंडाको गोबर पनि भएको पत्ता लागेको अवस्थीका निष्कर्ष छ ।

उनका अनुसार गैंडाले खाएका कतिपय खानेकुरा राम्रोसँग पच्दैनन् । र, धेरै पोषक तत्वहरू मलसँगै बाहिर निस्कन्छन् । यसकारण, गैंडाको गोबर अन्य जनावरहरूले सेवन गर्ने गरेका छन् ।

‘जनावरहरूले गैंडाको गोबरमा पाइने फस्फोरस, नाइट्रोजन र फाइबर जस्ता महत्वपूर्ण पोषक तत्वहरू प्राप्त गर्छन्,’ अवस्थी भन्छन्, ‘चित्तल, रतुवा मृग जस्ता शाकाहारी जनावरहरूको शरीरमा फाइबर आवश्यक पर्ने हुँदा, उनीहरूको आहारामा गैंडाको गोबर महत्वपूर्ण हुनसक्छ । यद्यपि यसमा थप अध्ययन आवश्यक देखिन्छ ।’

गैंडाको गोबरमा झुम्मिएका मृग

गैंडाले दिसा गर्ने स्थानको माटोमा उर्बराशक्ति पनि बढी हुन्छ । त्यहाँ उम्रिएका विभिन्न बोटबिरुवा र घाँसपात जनावरका लागि आहारा बन्छन् । यसरी गैंडाको गोबरबाट अन्य जीवजन्तुले घाँस र रुखबिरुवाले मल पनि पाउँछन् ।

‘गैंडाको गोबरमा रुखबिरुवा र झारपात सप्रिएको पाइयो,’ अवस्थीले भने, ‘त्यसैले गैंडा स्थानान्तरणले अरु जीवजन्तुलाई आहारासँगै पारिस्थितिक प्रणालीमा समेत सकारात्मक योगदान पुगेको छ भन्ने अनुसन्धानको निष्कर्ष हो ।

भेल्लरको जंगलको उदाहरण

अर्का अनुसन्धानकर्ता डा. बाबुराम लामिछाने पनि बोट बिरुवाहरूको विकास र विस्तारमा गैंडाको महत्वपूर्ण भूमिका भएको बताउँछन् । गैंडाले खाने विभिन्न प्रजातिका फलहरुको बीउ गोबरसँगै छिटो उम्रिने र हुर्किने गरेको अनुसन्धानले देखाएको लामिछानेको भनाइ छ । त्यसको उदाहरण चितवनको पटिहानी क्षेत्रमा राप्ती नदीको बगरमा हुर्किरहेको भेल्लरको जंगल पनि हो ।

राप्ती नदीको बगरमा हुर्किरहेको भेल्लरको जंगल

‘राइनो एप्पल’ पनि भनिने भेल्लर थारु भाषामा राखिएको नाम हो । यसको घाँस गैंडाले अति मन पराउने गरेको अनुसन्धानकर्ताहरु बताउँछन् । भेल्लर अरु जनावरहरुले पनि खाने गरे पनि सबैभन्दा बढी गैंडाले नै खाने गरेको पाइएको अनुसन्धानकर्ताहरु बताउँछन् ।

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारी पनि गैंडा लगायतका जीवजन्तुले गोबरबाट बिउ विभिन्न ठाउँमा फैलाउन र नयाँ जंगलको विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउँछन् ।

अंकुरण क्षमता बढी

अनुसन्धानबाट गैंडाको गोबरमा मिसिएका भेल्लरका दानाहरुमा अंकुरण क्षमता पनि बढी पाइएको छ । ‘भेलबाढीमा बगेर एक ठाउँबाट अर्को ठाउँमा पुगेको वा मृगले उग्राउँदा भुइँमा झरेका भेल्लरका दानामा भन्दा बढी गैंडाको गोबरमा मिसिएका बिउको अंकुरण राम्रो देखियो । धेरै पनि उम्रियो र छिटो पनि हुर्कियो,’ डा. अवस्थीले भने ।

अध्ययनले गैंडा सहितका ठूला स्तनधारी जनावरहरूको पुनरुत्थानले महत्वपूर्ण पारिस्थितिक अन्तरक्रियाहरू पुनर्स्थापित गर्न र पारिस्थितिक प्रणाली बिग्रन कम गर्न सक्ने निष्कर्ष निकालिएको अवस्थीको छ । ‘मेरो अध्ययनले गैंडाको पुनःस्थापनाले अन्य प्रजातिहरूको लागि पोषण र पारिस्थितिक लाभ पुर्याउने प्रमाणित गरेको छ । यसले नेपालका राष्ट्रिय निकुञ्जहरूमा गैंडाको पुनरुत्थान महत्वपूर्ण छ र स्थानान्तरणका प्रयासहरूलाई जारी राख्नुपर्छ भन्ने देखाएको छ ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अनुसार भारतीय महाद्वीपको उत्तरी क्षेत्र अन्तर्गत ब्रह्मपुत्र, इन्दुस र गंगा नदीको बहाव क्षेत्रमा विचरण गर्ने ठूलो एकसिंगे गैंडा हाल नेपालको तराई भूपरिधि क्षेत्र तथा भारतको संरक्षित क्षेत्रमा सीमित हुन पुगेको छ ।

विश्वमा करिब ४ हजारको संख्यामा रहेको अनुमान गरिएको गैंडा नेपालमा ७५२ वटा पाइएको सन् २०२२ को राष्ट्रिय गैंडा गणनाको नतिजामा उल्लेख छ ।

राष्ट्रिय गैंडा गणना २०२२ अनुसार चितवन राष्ट्रिय निकुञ्जमा सबैभन्दा धेरै ६९४, बर्दिया राष्ट्रिय निकुञ्जमा ३८, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा १७ र पर्सा राष्ट्रिय निकुञ्जमा ३ वटा पाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?