+
+
कविता :

कविता : म बुढो पीपल

विष्णुप्रसाद आचार्य विष्णुप्रसाद आचार्य
२०८१ असार ५ गते ११:०२

म बुढो पीपल

सदियौंदेखि

चोकमा एक्लै ठिंग उभिएको छु

 

हेरिरहेको छु चुपचाप, चुपचाप

व्यस्त मान्छे, व्यस्त समाज

र व्यस्त संसारको भागदौड

 

मलाई

मेरै अगाडिको लल्लुरामले रोपे

घेराबार गरे, संरक्षण गरे

मेरो जरामा हरेक दिन,

रामनाम भन्दै,

हरेकृष्ण जप्दै,

शिव शिव भन्दै

उनले, उनका परिवार

र छिमेकीले समेत

जलसिञ्चन गरे

पूजा गरे,

आफ्ना ग्रहदशा कटेको विश्वास गरे

मेरा पातहरूले अभिषेक गरे

मेरै विश्वासको सहारा लिंदै मेरै अगाडि इहलीला त्याग गरे

सायद त्यही विश्वासले गए कि कतै स्वर्ग

म तङ्ग्रिएँ, हुर्किएँ, पखेटा फिंजाउँदै गएँ

गाउँलेहरू आए, सल्लाह गरे, श्रमदान गरे

मेरै फेदमा चौतारी बनाए।

 

मेरै फेदमा भद्रभलाद्मी बसे, न्याय अन्यायको फैसला गरे

म बुढो पीपल न्यायालय बनें

हजारौं बटुवा आए, खुइए गरे, थकाइ मारे, टोपीको फेरोले पसिना पुछे

त्यही कुनामा खाना पकाए, क्षुधा शान्त गरे,

मेरै काखमा रात बिताए

म बुढो पीपल पाकशाला एवं धर्मशाला बनें।

 

बिहानै उठी मलाई जल चढाए

तीन पटक प्रदक्षिणा गरी

यात्रा प्रारम्भ गरे

म बुढो पीपल सगुन बनें

शुभसाइत बनें।

कैयौं हूल केटाकेटी आए

मलाई नै घुमेर मायाप्रीतिका कसम खाए

भाकेर बर–पीपलुको गीत बनाए

म बुढो पीपल प्रेमको प्रतीक बनें ।

 

केटाकेटी आए

मेरा हाँगामा खेले, कुदे

बुढापाकाले बाघचाल खेले

म समय कटाउने मेलो बनें

उनका सुख–दु:खका सुस्केरा सुनें

म बुढो पीपल त्यसको एक पक्का साक्षी बनें

म बुढो पीपल रंगशाला बनें

चेलीबेटी आए, नाचे गाए, रमाइलो गरे

म बुढो पीपल रंगमंच बनें।

 

मेरै फेदमा कैयौं भेला भए

क्रान्तिका उद्घोष भए

म क्रान्तिको सन्देशवाहक बनें

हजारौं चराहरूले बच्चा कोरले

म अस्पताल, सुँडिनीगृह बनें

म बुढो पीपल

एक होइन अनेक बिम्ब बनें … अनेक बनें, बनिरहें

 

तर, आज एकाथरी मान्छे

मलाई बाटो छेक्यो भन्दैछन्

निमिट्यान्न पार्दैछन् मेरा सन्तति

मेरा पनि जनप्रतिनिधि

मलाई नै बाटो छेक्यो भन्दै

मेरै बोटमुनि बसेर, मेरै शीतलता ताप्दै

मैले दिएको प्राणवायु फोक्सोमा पूरा भरेर

ठूलो स्वरले कुर्लिरहन्छन्

अब त यसलाई ढाल्नुपर्छ

इँटा भट्टावाला मलाई नै हेरेर घुटुक्क थुक् निल्छ

र अन्दाज गर्छ मेरा हाँगा, मेरा जरा अनि मेरा काठ

कति काठ दाउरा निस्कने हो भनेर

घरै अगाडिको डोजरवाला साहु हरेक दिन

मलाई हेर्छ र मुसुक्क हाँस्छ

वनका मान्छे

मलाई देखे नदेखे झैं गरी आफ्नो बाटो नापिरहेछन्

जलवायु परिवर्तनका कथा पढाइरहेछन्

भन्दैनन् मेरा समाचार संचारकर्मी

छाप्दैन प्रिन्ट मिडिया मेरा दु:खका कथा

हिट नै छैनन् यिनका कथा किन लेख्ने, भन्छन्

अनि एक होइन अनेक यही भन्छन्

म हेरिरहेछु … सुनिरहेछु, चुपचाप चुपचाप

 

तर मनुवा होस् गर

म ढलेर, मलाई मासेर, मेरा सन्तान मासेर

मलाई त केही फरक नपर्ला

म त एकछिनमा ढलौंला

हारालुछ होलान् मेरा हाँगाबिंगा अनि मेरो शरीर

म घरघरमा, गोठगोठमा, इँटाभत्तामा पुगेर पनि तिम्रो सेवा नै गरुँला

 

यस्तै हो भने

तिमीले पाउनेछैनौ प्रेमको प्रतीक,

तिमीले पाउनेछैनौ शीतलता

भेट्नेछैनौ धर्मशाला अनि न्यायशाला

सुन्ने छैनौ चराको चिरबिर

झ्याउँकिरीको किरकिर

सम्झ त के दिन्छौ तिमी भावी पुस्तालाई !

होस् गर

मलाई ढालेर, मलाई मासेर

तिमी पछुताउनेछौ एकदिन ।

 (सालककुटी, धादिङ)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?