+
+
विचार :

मुकुलले खुस्काएको राजनीतिको चुकुल

सचेतता र सावधानीपूर्वक आन्दोलनको बलमा नयाँ राजनीतिक जग बनाउन नसक्ने हो भने नेपाली राजनीतिको संक्रमणकालीन यात्रा अझै लामो मात्र हुने छैन, झनै कष्टकर समेत हुनेछ ।

कृष्णप्रसाद पौडेल कृष्णप्रसाद पौडेल
२०८१ असार २४ गते १२:२८
रास्वपा केन्द्रीय समिति बैठकमा टेप बाँधेर सहभागी भएका मुकुल ढकाल ।

समाजको अगुवाइ गर्ने सबै नीतिको मूल मानिएको राजनीतिले अहिले समाजका बहुसंख्यक सदस्यहरूको उत्पीडन, शोषण र हिंसाको अगुवाइ गरिरहेको छ । नेपालको सत्ता–राजनीति यही कुशासनको धर्म निभाउँदै लुटपाट, ठगी र भ्रष्टाचारमा लिप्त छ ।

राजनीति यस्तो विकृत भने अन्याय, अत्याचार र शोषणबाट मुक्त समाज बनाउने कथित लोकतान्त्रिक तथा जनवादी समाजवादको रटान लगाउँदै दलाल पूँजीवादको पालनपोषणसँगै झनै झागिंदै गएको छ । अहिलेका जग्गा दलाली, नागरिक बेच्ने र सहकारी ठगी यसका केही उदाहरण मात्र हुन् ।

सभ्य मानव समाज निर्माणमा सामूहिक मूल्यमान्यताको अगुवाइ गर्न अगुवाको विशेष स्थान बनाउने विधिको जराबाटै ऐंजेरु झैं पलाएकोे सत्ता सञ्चालनको अहंकार नै शासक र शासित वर्ग उत्पादन गर्ने काइते नीति र दम्भी, अहंकारी, निकम्मा र दलाल नेता पुनः उत्पादन गर्ने दोहोरो धार भएको हतियार बनेको छ ।

यसले समाजका सबै अंग विषाक्त बनाउँदै समाजलाई नै भयभित र आतंकित बनाएको छ । यो अहिले लोकतन्त्र, समावेशिता, सामाजिक न्यायको माला जप्दै सम्पूर्ण मानव जातिमाथि पुरुष शासन लाद्ने निकृष्ट सामाजिक सत्ताको दाबेदार बनेको छ । यही सत्ताको दादागिरीमा कुरुप शासकीय व्यवस्था टिकेको छ ।

सामन्त राजा–रजौटा हुँदै नेपालको सत्ताकेन्द्रित राजनीति यसैको निरन्तरताको जगमा टिकेको छ । यो कुरा गर्न धेरै पछाडिको इतिहासका गर्तमा डुबुल्की मार्नै पर्दैन किनकि यो देशको शासन यसैको जगमा टिकेको घाम जत्तिकै छर्लंग छ ।

अहिले राजनीतिको मर्म र विवेकलाई नयाँ पुराना सबै मिलेर भुत्ते हतियार बनाइरहेका छन् र आम मानिसका गला रेट्न उद्यत छन् । राजनैतिक नैतिकताबाट च्युत भएका अहिलेका सबै पार्टीका नेता र तिनका रैती सबै दलाली, भ्रष्टाचार र ठगीमा हात्ती र हात्ती छाप चप्पल भने जस्तै उस्तै–उस्तै छन् ।

बेला–बेला सत्ता स्वार्थका आडमा एकअर्कालाई घुर्क्याउन फाइल खोल्ने धम्की दिने र चुकुल लगाएका बन्द कोठामा राजनीतिक संवादका नाममा राजनीतिक वेश्यावृत्तिमा निरन्तर लागिरहने यिनको दिनचर्या बनेको छ ।

अहिले राजनीतिको मर्म र विवेकलाई नयाँ पुराना सबै मिलेर भुत्ते हतियार बनाइरहेका छन् र आम मानिसका गला रेट्न उद्यत छन् ।

बितेको दशकमा मात्र दर्जन भन्दा बढी सत्ता साँठगाँठ गरेका यिनले, १९ महिनामा पाँच पटक विश्वास अविश्वासको खेल खेलेर आम मतदाता र निर्वाचित प्रतिनिधिको अपमान मात्र गरेका छैनन्, लोकतान्त्रिक संविधान र जनभावनामा खेलबाड गरेका छन् । निकम्मा नेताको अहंकारपूर्ण स्वज्ञानको बखानले राजनीति पूरै थलिएको छ ।

आशीर्वादले सत्तासीन हुने अन्धभक्त लालचीको जमातले यिनैको स्तुतिगानमै आफ्नो जीवनको सफलता देखेका छन् । आम नागरिक भने सत्ता राजनीतिको यो कुरुप दृश्यबाट आजित भएका छन् । उनीहरूमा राजनीति प्रतिको भरोसा नै टुटिसकेको छ ।

त्यसो त समग्र मानव समाज निर्माणमा सामूहिक विवेक र मूल्यमान्यताका पहाडहरूमा निरन्तर क्षयीकरण भइरहेको छ । प्रकृति र मानव समाजको अन्तरसम्बन्धबाट निःसृत ज्ञान र यसको विवेकले ऊर्जाशील हुने सहकार्य, लोकतन्त्र र सामाजिक न्याय बबुरो भएको छ । राजनीति गर्न दलाली, ठगी, लुट, छल र कपटको परीक्षामा अब्बल हुनुपर्ने भाष्य स्थापित भएको छ ।

कपट गर्न वा यस्तो कपटलाई अन्धभक्त समर्थन गर्न नसक्नेले राजनीति गर्न नसक्ने सामाजिक मनोविज्ञान जब्बर बनेको छ । अहिले तथ्यमा आधारित तर्क, सामाजिक मूल्यमान्यता र मानवीय विवेक हैन पुरुष पौरखी विघटनकारी ज्ञानले (कु)तर्क गर्न सक्ने वैश्विक दलाल मात्र सत्ता राजनीतिको सिंढी चढ्न सक्ने नत्र केही नजान्ने अराजक स्वाँठको आरोप खेप्नुपर्ने भएको छ ।

सबैतिर मानवीय विवेकको खडेरी छ । राजनीतिमा मुर्कट्टा संस्कार हुर्किरहेको छ । यसले टाउको मात्र हल्लाउने रैती र हाँगा हल्लाएर पात झारेकोमा गर्व गर्ने चामत्कारिक राजनीतिक नेतृत्वको पुनरुत्पादन गरिरहेको छ । अहिले सत्ताकेन्द्रित राजनीतिका सबै नेता र रैतीको राजनीतिक नियत, नियति र औकात यत्ति हो । अहिले सत्ता राजनीतिको वरिपरि रहेका जो–कसैलाई अपवाद छु भन्ने लाग्छ भने यो लघुताभाष मात्र हो ।

हुनत यी कुनै भर्खरै भएका नयाँ र आकस्मिक कुरा हैनन् । यी सबै नेपालको राजनीतिका दशकौंदेखि प्रमाणित तथ्य हुन् । अहिलेसम्मका कुनै पनि पार्टी यी कुराबाट मुक्त छैनन् भन्दा अतिशयोक्ति हुँदैन । यो कुराको सटिक सन्दर्भ भने रास्वपाका महामन्त्री रहेका र हालै निलम्बनमा परेका मुकुल ढकालले ३२ पेजको प्रतिवेदनमा राम्रैसँग उजागर गरेका छन् ।

यो उनको समीक्षा रास्वपाको महासचिवको हैसियतमा गरेका हुन् । तर जे लेखे यसले नयाँ भनिएको पार्टीको मात्र हैन समकालीन राजनीतिको औकात देखाएको छ । ३८ जिल्ला घुमेर २००० भन्दा बढी कार्यकर्ता र आम मानिस भेटेर यो लेख्नुको पछाडि उनको के आशय थियो ? यो उनको कुण्ठा पत्र हो या प्रतिशोधको पुलिन्दा, मनगढन्ते कथा हो या वास्तविक खोजका आधारमा तयार भएको समीक्षा, यो उनैले जानुन् ।

यो पंक्तिकारको चासो नेपालको राजनीतिमा फरक धारको प्रतिनिधित्व गर्ने दाबी गरेको पार्टीको त यो हालत छ भने अरू दशकाैंदेखि पटक–पटक निकम्मा र अक्षम प्रमाणित भइसकेका नेता र तिनका पार्टीहरूको हालत के होला ?

यो भलै मनगढन्ते कथाको सँगालो नै किन नहोस्, समसामयिक राजनीतिमा यसले सार्वजनिक रूपमा उठाएका यक्ष प्रश्न हुन् । यो सत्ता राजनीतिमा रहेका नेता तथा कार्यकर्ताको औकात देखाउने ऐना हो ।

राजनीतिलाई समाज परिवर्तनको बाहक बनाउने दृढता सहित सामेल भएका केही अपवाद राजनीतिकर्मी बाहेकका, अधिकांश सबै, परम्परागत राजनीतिको दाउपेचमा असफल भएर यसमा टाँसिन पुगेका अवसरवादीहरू हुन् ।

नीति कथाका दस्तावेजमा बाहेक, छोटै समयमा जनमतको सहाराले राष्ट्रिय पार्टी बनेको नयाँ भनिएको पार्टीको एउटा जिम्मेवार नेताले यति कठोरता र सावधानीका साथ उठाएका कुरालाई कपटी नेता र रैतीले बेवास्ता गर्लान् तर नयाँ राजनीतिक शक्तिलाई भरोसा गरेर यो सपार्न सकिन्छ भनेर आश गर्ने विवेकशील र सचेत नागरिकले यसलाई बेवास्ता गर्न सक्दैनन् ।

हुनत, राजनीतिको यो कुरूपताको चर्चा गर्न नयाँ शक्तिको नाममा उदाएको तर यसमाथि प्रश्न उठ्दा तिल्मिलाएर एकस्वरमा प्रतिवादमा उत्रिएको यसको केन्द्रीय नेतृत्वको खैलाबैला पर्खिनुपर्ने केही थिएन ।

राजनीतिलाई समाज परिवर्तनको बाहक बनाउने दृढता सहित सामेल भएका केही अपवाद राजनीतिकर्मी बाहेकका, अधिकांश सबै, परम्परागत राजनीतिको दाउपेचमा असफल भएर यसमा टाँसिन पुगेका अवसरवादीहरू हुन् । यो समीक्षाबाट तिनै सबैभन्दा उद्वेलित भएका छन् ।

यसको नेतृत्वको सामूहिक एकमत अभिव्यक्तिबाट यो कुरा आफैं पुष्टि हुन्छ । मुखमा चुकुल लगाएका यसका नेता–कार्यकर्ता यसलाई मुकुलको निजी विचार भनेर टक्टकिएका छन् । अरू चलनचल्तीका पार्टीका अवसरवादी नेता र तिनका कार्यकर्ताहरू यो आन्तरिक विवाद भन्दै कुम हल्लाउँदै छन् । अन्य बुझक्कड सनातनी राजनीतिक अन्धभक्त कुतर्कको फेरो समाउँदै बाझाबाझमा उत्रिएर समयको नाश मात्र गरिरहेका छन् ।

राजनीतिलाई विकृत बनाउँदै समाजलाई नै अधोगतितर्फ धकेल्न उद्यत जमात यस्तो प्रलयकारी यात्रामा अन्धभक्त भएर दगुरिरहेको छ । यसले सनातनी राजनीतिको मुर्कट्टा मतिमा प्रश्न गर्नुको साटो यसैमा लय मिलाउने बिचौलिया जमातमा दज्र्यानी फुली थपेको थपेकै छ ।

यसको जमात बढेसँगै हाम्रो उन्नतिको आश र भरोसा समेत तुषारापात भएको छ । यो कुरालाई मुकुलले उदांगो पारिदिएका छन् । उनले उठाएका वर्तमान राजनीतिका सरल र सपाट सवालले राजनीतिको नाममा भए–गरेका दलाली, कपट, जालझेल र ठगीको मुखुण्डो उतारेको छ ।

भलै उनी यो राजा नांगै छ भन्ने निर्भीक आँटमा टिक्न सक्छन् वा सक्दैनन्, या उनको निहित उद्देश्य र अन्तर्य के हो ? उनैले जानुन् तर यो अरू माथि गरिने प्रश्न मात्र हैन आफैंमाथि प्रश्न गर्ने साहसिक कदम हो भन्न हिच्किचाउनु पर्दैन ।

किनकि यो प्रश्न सार्वजनिक भएसँगै अब यो उनको मात्र प्रश्न रहेन । यो नेपाली राजनीतिमा मौलाएको विकृतिको बहसको यक्ष प्रश्न बनेको छ । यो प्रश्न उनैलाई र अरू हामी कसैलाई पनि सोध्न सकिने प्रश्न हो ।

हामी सबैलाई थाहा छ, अहिले सामाजिक तथा वातावरणीय संकट चुलिंदै गएका छन् । चाहे जे सुकै नामधारी होउन्, परम्परा धान्ने वाद, प्रतिवादको राजनीतिले यी संकट थप गिजोलिएका छन् । त्यसो त यिनको सम्बोधनका आवाजहरू उठ्न थालेका छन् । यी संकटलाई फर्केर हेर्ने र फेर्ने अठोट र आन्दोलन पनि जागृत हुँदैछन् । यो जागरणमा ऊर्जा नथपी हाम्रो भविष्य सप्रिंदैन ।

अहिलेको राजनीतिका बेथितिलाई समयमै फर्केर हेर्न र सच्याउन नलाग्ने हो भने प्रकृतिसँगै मानवीय सभ्यता र संस्कृति निरन्तर क्षयीकरण भैरहनेछ । तसर्थ अबको राजनीतिक आन्दोलनले समग्रमा यी प्रवृत्तिलाई जगैदेखि बढार्ने हैसियत भएको संक्रमणकालीन नेतृत्व जन्माउनुपर्नेछ ।

हाम्रा भावी सन्ततिलाई उन्नत प्रकृति र मानव समाज जिम्मा लगाउन अहिलेको राजनीतिक दृष्टिकोण, संयन्त्र र अभ्यासबाट सम्भव छैन ।

सचेतता र सावधानीपूर्वक यस्तो नेतृत्व र आन्दोलनको बलमा नयाँ राजनीतिको जग बनाउन नसक्ने हो भने नेपाली राजनीतिको संक्रमणकालीन यात्रा अझै लामो मात्र हुनेछैन झनै कष्टकर समेत हुनेछ ।

यस्तो अवस्थामा सनातनी राजनीतिका धर्मभीरुबाट फेरि नयाँ केही भइहाल्छ कि भन्ने मृगतृष्णाको कुनै अर्थ छैन । यस अर्थमा समयको गति र लय समाउन जुर्मुराएका वैकल्पिक राजनीतिका अगुवालाई साथ दिनुको विकल्प छैन । यिनलाई सघाएर मात्र हाम्रो भविष्य राम्रो बनाउन सकिन्छ ।

मक्किएका पार्टी, मुर्कट्टा रजौटा र तिनैको सिको गर्ने रैतीबाट उन्नतिको बाटो समाउन सकिंदैन । त्यसैले जति नै ढिलो भए पनि अहिलेको राजनीतिको मूल ढाँचा र मूल्यमान्यता फेर्ने अठोट विना नेपाली समाजको उन्नतितर्फको यात्रा सम्भव छैन भन्ने बुझ्नु र बुझाउनु अहिलेको पहिलो आवश्यकता हो ।

समग्रमा, यो सबैको सन्देश के हो भने हाम्रा भावी सन्ततिलाई उन्नत प्रकृति र मानव समाज जिम्मा लगाउन अहिलेको राजनीतिक दृष्टिकोण, संयन्त्र र अभ्यासबाट सम्भव छैन । त्यसैले राजनीतिका यी मूल आयाममा गम्भीर राजनीतिक संवादको खाँचो छ । यसले मात्र भविष्य सम्हाल्न सक्ने राजनीतिको दिशाबोध गर्छ ।

यस्तो राजनीतिक पुनर्जागरणको दृष्टिकोण, संयन्त्र र अभ्यास कस्तो होला ? यसलाई के भनेर बुझ्ने–बुझाउने होला ? यस्तो यात्राको संक्रमण कसरी होला ? सबैको कौतूहल स्वाभाविक छ । सँगै, अब हामी कसैलाई पनि पुरानै गल्ती दोहोर्‍याउने र अलमल गर्ने छुट छैन भन्ने सन्देश नै यसको मूल मर्म हो ।

लेखकको बारेमा
कृष्णप्रसाद पौडेल

कृषिविज्ञ पौडेल खानाका लागि खेतीपातीका अभियन्ता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?