+

शरीरको बोसो हटाउने लाइपोसक्सन सर्जरी के हो ?

२०८१ साउन  २७ गते १७:३५ २०८१ साउन २७ गते १७:३५
Shares
शरीरको बोसो हटाउने लाइपोसक्सन सर्जरी के हो ?

शरीरको कुनै भागमा अतिरिक्त बोसो जम्मा हुँदा त्यो भाग भद्दा देखिन्छ । जसकारण शरीरको आकार बिग्रिन्छ । यो समस्याबाट छुटकारा पाउन धेरैले व्यायाम र योग गर्छन्, विभिन्न औषधि समेत सेवन गर्छन् । तैपनि, समस्याको समाधान नभएर निराश हुन्छन् ।

पछिल्लो समय शरीरको अतिरिक्त बोसो हटाउन नयाँ प्रविधि भित्रिएको छ लाइपोसक्सन सर्जरी । लाइपोसक्सन कस्मेटिक सर्जिकल प्रक्रिया हो । यस शल्यक्रियाको सहायताले पेट, ढाड, कम्मर, छाती, तिघ्रा, पाखुरा, घाँटी वा कम्मर जस्ता शरीरका विभिन्न भागबाट अतिरिक्त अर्थात् अनावश्यक बोसो हटाइन्छ । यो शल्यक्रिया अनुभवी र दक्ष प्लास्टिक सर्जनको निरीक्षणमा गरिन्छ । शरीरको जुन भागमा बोसो जम्मा भएको छ त्यो भागमा एउटा सानो पाइप छिराएर त्यो पाइपको माध्यमबाट नै बोसो निकालिन्छ ।

लाइपोसक्सन सर्जरीका पनि विभिन्न विधि छन् । एउटा परम्परागत लाइपोसक्सन जसमा ‘ट्युमसेन्ट’ भन्ने एनेस्थेसिया दिएर एउटा पाइप छिराएर बोसो निकालिन्छ । अहिले लाइपोसक्सनको नयाँ प्रविधि भित्रिएको छ जसलाई ‘स्मार्ट लाइपोसक्सन’ पनि भनिन्छ । स्मार्ट लाइपोसक्सनमा लेजरले पहिले बोसोलाई पगालेर त्यसपछि मात्र तान्ने गर्छ ।

स्मार्ट लाइपोसक्सनबाट मुख्यतया दुईवटा फाइदा हुन्छन् । एउटा यसले सबै ठाउँबाट सामान रुपमा बोसो तान्ने भएकाले त्यो भागको आकार बिग्रिंदैन । साथै जुन ठाउँबाट बोसो तानिन्छ यो भागको छाला पनि कसिलो बनाउने भएकाले सर्जरीपछि छाला झोल्लिने, चाउरी पर्ने समस्या हुँदैन ।

अर्को स्मार्ट लाइपोसक्सनबाट शरीरको सानो सानो भाग (जस्तो चिउँडो, आइलिड), आँखाको वरिपरिको भागबाट पनि बोसो निकाल्न र छाला तन्काउन सकिन्छ ।

अन्तर्राष्ट्रिय निर्देशिका अनुसार लाइपोसक्सनबाट एक पटकमा चारदेखि पाँच लिटर बोसो मात्र निकाल्न मिल्छ ।

तौल नियन्त्रणमा पनि उपयोगी हुन्छ ?

कुनै पनि प्रकारको लाइपोसक्सन तौल नियन्त्रणका लागि उपयोगी हुँदैन । यसले निश्चित भागको बोसो हटाउन मात्र उपयोगी हुन्छ । तर शरीरको एउटा भागको बोसो घटेर सुन्दर देखिएपछि त्यसको प्रेरणाले मानिसहरूले डाइट र व्यायाममा ध्यान दिएर तौल नियन्त्रण गरेको भने पाइएको छ ।

कसलाई उपयोगी ?

कसैको जति व्यायाम गरे पनि, जति डाइट प्लान गरे पनि शरीरको केही भागको बोसो घट्दै घट्दैन भने उनीहरूका लागि यो बढी उपयोगी हुन्छ ।

सामान्यतया सबै उमेर समूहले यो सर्जरी गर्न मिल्छ । कसैलाई मधुमेह र थाइराइड समस्या छ भने उनीहरूले पनि यो सर्जरी गर्न मिल्छ । तर उनीहरूले मधुमेह र थाइराइडको उपचार गरेको हुनुपर्छ, रोग नियन्त्रणमा हुनुपर्छ ।

मोटोपनको कारण विभिन्न दीर्घकालीन समस्या निम्तिन्छ भन्ने कुरा विभिन्न अध्ययनले पत्ता लगाएका छन् । दीर्घकालीन रोगको जोखिम बढाउन मोटोपनमा पनि पेटमा जमेको बोसो बढी जिम्मेवार हुन्छ भन्ने कुरा केही अध्ययनले देखाएको छ । यस्तोमा लाइपोसक्सन गरेर पेटको बोसो हटाउँदा विभिन्न रोगको जोखिमबाट बच्न सकिन्छ ।

लाइप्रोसक्सनका अन्य फाइदा

सामान्यतया यो शल्यक्रियाको क्रममा शरीरको त्यो भागमा धेरै सानो भागबाट पाइप छिराइने भएकाले घाउ दागको जोखिम हुँदैन ।

शल्यक्रियाको सम्पूर्ण प्रक्रियामा बिरामीलाई कुनै पनि दुखाइ वा अन्य कुनै पनि समस्याको सामना गर्नु पर्दैन । लाइपोसक्सन सर्जरीपछि बिरामीलाई निको हुन धेरै समय लाग्दैन । एक दिनमा नै शल्यक्रिया सकिन्छ । अस्पताल भर्ना भएर बस्नु पर्दैन ।

सर्जरीको मद्दतले शरीरलाई सुन्दर र आकर्षक बनाउन सकिन्छ ।

कुनै साइडइफेक्ट ?

स्मार्ट लाइपोसक्सनको दीर्घकालीन साइड-इफेक्ट छैन । तर लेजरबाट गरिने लाइपोसक्सनमा छालाको कुनै ठाउँमा पोलेर सानोतिनो घाउ हुनसक्छ । यस्तो साइड-इफेक्टबाट बच्न विशेषज्ञसँग यो सर्जरी गर्नु उपयुक्त हुन्छ ।

कति लाग्छ खर्च ?

स्मार्ट लाइपोसक्सन शरीरको कुन-कुन भागमा गर्न लागेको हो त्यसैअनुसार खर्च निर्धारण हुन्छ । सामान्यतया सर्जरीको खर्च ८० हजारदेखि सुरु हुन्छ ।

डा. सुयोग मैनाली लाइपोक्सन सर्जरी शरीरको बोसो
डा. सुयोग मैनाली
लेखक
डा. सुयोग मैनाली
वरिष्ठ प्लास्टिक कस्मेटिक तथा लेजर सर्जन

मेडिकल काउन्सिल दर्ता नम्बर : ७६८० अध्ययन : एमबीबीएस,एमएस (प्लास्टिक सर्जरी) काठमाडौंस्थित सुयोग काठमाण्डु क्लिनिक अफ कस्मेटिक सर्जरीका संस्थापक, हाल सोही संस्थामा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

एस्पिरिनले क्यान्सरको जोखिम कम गराउँछ, कसरी ?

एस्पिरिनले क्यान्सरको जोखिम कम गराउँछ, कसरी ?

स्वास्थ्यसँग जोडिएका १२ मिथकहरू, जसलाई तोड्नु आवश्यक छ

स्वास्थ्यसँग जोडिएका १२ मिथकहरू, जसलाई तोड्नु आवश्यक छ

विदेशी नागरिकता लिने १७ डाक्टरको नाम दर्ता किताबबाट हटाइयो

विदेशी नागरिकता लिने १७ डाक्टरको नाम दर्ता किताबबाट हटाइयो

एक वर्षदेखि सञ्चालनमा एनआईपीटी सेवा, अब नेपालमै परीक्षण सम्भव

एक वर्षदेखि सञ्चालनमा एनआईपीटी सेवा, अब नेपालमै परीक्षण सम्भव

गर्दन दुख्ने समस्या किन बढ्दै छ यति धेरै ?(भिडियो)

गर्दन दुख्ने समस्या किन बढ्दै छ यति धेरै ?(भिडियो)

गर्भपतन : सुरक्षित भनिएको देशमा किन भइरहेका छन् असुरक्षित मृत्यु ?

गर्भपतन : सुरक्षित भनिएको देशमा किन भइरहेका छन् असुरक्षित मृत्यु ?