भदौ ७, काठमाडौं । किष्ट मेडिकल कलेजको ब्लक–बी अगाडि दुई युवाले समातेको ब्यानरमा लेखिएको छ–‘मृतक खुशी मगरलाई न्याय दे, उपचारमा लापरबाही गर्ने डाक्टरलाई कारबाही गर ।’
यी दुई युवाहरू साउन २७ देखि नै अस्पताल प्रशासन अगाडि यसरी नै निरन्तर धर्नामा छन् । उनीहरूको माग स्पष्ट छः न्याय र जवाफदेहिता ।
सामान्य पत्थरीको उपचार गर्न अस्पताल भर्ना भएका उनीहरुले जीवनबाट खुसीलाई त गुमाए नै, न्याय पनि पाएका छैनन् ।
बर्दियाको ठाकुर बाबा नगरपालिका–८ की २७ वर्षीया खुशी मगर पित्तथैलीमा पत्थरी देखिएपछि २१ साउनमा किष्ट मेडिकल कलेजमा भर्ना भएकी थिइन् । भोलिपल्ट चिकित्सकले शल्यक्रिया गरे, तर साउन २६ गते मृत घोषणा गरियो ।
खुशीको स्वास्थ्य समस्या ७ महिना अगाडि सुरु भएको थियो । त्यतिबेला स्वास्थ्य जाँच्न उनी किष्ट मेडिकल कलेज आएकी थिइन् । चिकित्सकले उनको पत्थरी ७ ‘एमएम’को भएको बताएका थिए । दुई महिनापछि फेरि अस्पताल पुग्दा चिकित्सकले पत्थरी बढ्दै गएको र तुरुन्तै अप्रेसन गर्नुपर्ने सल्लाह दिए ।
खुशीका देवर महेशले त्यसबेला चिकित्सकले भनेको सम्झिए, ‘पित्तथैली फुटेमा मानिसको ज्यान तलमाथि हुनसक्छ । तुरुन्तै शल्यक्रियाका लागि चाजोपाँजो मिलाउनुहोस् ।’
तर आर्थिक अवस्था कमजोर भएकाले उनीहरुले तुरुन्तै पैसा जुटाउन सकेनन् ।
शल्यक्रियाका लागि केही आर्थिक जोहो भएपछि खुशी गत साउन २१ मा किष्ट मेडिकल कलेज भर्ना भइन् । चिकित्सकले आवश्यक परीक्षण गरे र साउन २२ मा अप्रेसनको समय निश्चित गरे । दिउँसो १ बजे शल्यक्रिया सकिएपछि उनलाई सर्जिकल वार्डमा सारियो ।
‘त्यसबेला राम्रोसँग बोलिराख्नुभएको थियो । अल्लि अल्लि दुखिरहेको बताउनुभएको थियो’, देवर महेशले त्यस दिनको घटना सम्झिँदै भने । सर्जिकल वार्डमा सारिसकेपछि खुसीको दुखाइमा कमी आएन । उनका श्रीमानका अनुसार उनले डियुटीमा रहेका नर्स र चिकित्सकलाई जानकारी गराए, तर खासै वास्ता गरेनन् ।
दुखाइ बढ्दै गएर त्यही दिन राति १० बजेतिर खुसीको अवस्था बिग्रियो । चिकित्सकले शरीरबाट धेरै रगत बगिरहेको र पुनः अप्रेसन गर्नुपर्ने जानकारी दिए । आफन्तले जसोतसो २० पाउण्ड रगत जम्मा गरे र दोस्रो शल्यक्रिया सफल भयो ।
२४ घण्टाकै फरकमा दुई पटक अप्रेसन गर्नुपरेपछि उनीहरुले कारण नसोधेका पनि होइनन् । तर, जवाफ फरकफरक पाए । ‘एक डाक्टरले नसा काटिएर रगत बगेको भने, अर्काले कलेजोबाट रगत बगेको सुनाउनु भएको थियो,’ महेश भन्छन् ।
दोस्रो अपरेसन गरेपछि खुशीको स्वास्थ्यमा उतारचढाव आउन थाल्यो । ‘भाउजूले भोक लाग्यो केही खानेकुरा दिनुहोस् भन्नुभएको थियो । दिँउसोसम्म होसमा हुनहुन्थ्यो । तर साँझमा हेर्न जाँदा बेहोसजस्तो हुनुभएको थियो,’ देवरले त्यस दिनको घटना सुनाए ।
साउन २५ गते उनी निकै गम्भीर भइसकेकी थिइन् । खुसीका श्रीमानका अनुसार त्यसदिन चिकित्सकहरूले धेरै रगत बगेका कारण उनको मिर्गौला र कलेजोले काम गर्न छाडिसकेको जानकारी दिएका थिए ।
महेशका अनुसार २४ घन्टामा दुई पटक डायलाइसिस भयो । चिकित्सकले थप २० पाउण्ड रगतको जोहो आफन्तलाई अनुरोध गरे । ‘त्यस दिन खुशीको आँखामा पट्टी लगाइएको थियो ।हामीले किन यस्तो गरिएको भनेर सोध्दा चिकित्सकले आँखा सफा गर्नका लागि मलम लगाइएको हो भन्ने जवाफ दिए,’ देवर महेशले भने, ‘त्यतिबेलासम्म चिकित्सकहरूले स्वास्थ्य सुधार हुँदै गएको बताइरहेका थिए ।’
तर साउन २६ गते परिस्थिति झनै बिग्रियो । चिकित्सकहरूले खुशीको मस्तिष्कले पनि काम गर्न छोडेको जानकारी दिए । त्यसै दिन साँझ चिकित्सकहरूले परिवारलाई बोलाएर भने, ‘बिरामीको मुटुको धड्कन नै बन्द भयो । छातीलाई २० मिनेटसम्म प्रेस गरियो, तर उहाँ रहनुभएन । अब कागजपत्र मिलाएर लासलाई लैजानुहोस् ।’
कोटेश्वरको एक बुटिकमा काम गर्दै आएकी खुशीलाई एक सामान्य स्वास्थ्य समस्या पत्थरीले उनको जीवनमा अप्रत्याशित मोड दियो ।
चिकित्सकको त्यो खबरले खुशीको परिवारलाई स्तब्ध बनायो । उनीहरूले बाहिर निस्किएर हेर्दा अस्पताल प्रशासनले पहिले नै सुरक्षाकर्मी खटाइसकेको देखेको उनीहरुको दाबी छ । उनीहरुले मृत्युको कारण र बिरामीको फाइल मागे, तर सन्तोषजनक जवाफ नपाएको उनीहरु बताउँछन् ।
महेशले आक्रोशपूर्वक भने, ‘हिँड्डुल गर्दै आएको मानिसलाई डर देखाइयो । हामीले पनि रोग किन पालेर राख्ने भन्दै शल्यक्रिया गर्न तयार भयौं, तर अस्पतालले हाम्रो परिवारको खुशी लुट्यो ।’
उनका अनुसार खुशीको मेडिकल फाइल लुकाइएको छ र उपचारमा संलग्न चिकित्सकहरूसँग कुरा गर्न दिइएको छैन ।
खुशीको मृत्युपछि अस्पतालमा आफन्तहरूको भीड जम्मा भयो । स्थिति नियन्त्रण गर्न प्रहरीले लाठी चार्ज समेत गरेको थियो । केही व्यक्तिलाई पक्राउ गरेर पछि छाडियो ।
महेशका अनुसार सामान्य उपचार गर्न पनि आर्थिक अभावले लामो समय पर्खिएका उनीहरुको ६ लाख रुपैयाँभन्दा बढी खर्च भइसकेको छ । अहिले खुशीको परिवार न्यायको खोजीमा छ ।
‘हाम्रो हातमा मेडिकल फाइल छैन । फाइल माग्दा प्रहरी लगाएर लखेटिन्छ,’ महेशले आरोप लगाए, ‘कहाँ गएर उजुरी दिने ? प्रहरी प्रशासन पनि अस्पताल प्रशासनको हातमा छ ।’
परिवारले अस्पताल प्रशासनसँग तीन पटक छलफल गरेको छ, तर कुनै ठोस परिणाम निस्केको छैन । ‘जो मुख्य जिम्मेवार व्यक्ति हुन्, उनीहरू छलफलमा बस्नुभएको छैन । केही पनि दिन सक्दैनौं भन्ने जवाफ दिन्छन्’, महेशले निराशा व्यक्त गर्दै भने, ‘गल्ती भएको कुरा स्वीकार गर्दैनन् । कहिलेकाहीं त तरकारी काट्ने बेलामा हात पनि काटिन्छ भन्नेजस्ता हावादारी जवाफ दिन्छन् ।’
खुशीको मृत्युपछि उनको परिवार न्यायको खोजीमा छ । उनीहरू चिकित्सकहरूको लापरवाहीले गर्दा खुशीको मृत्यु भएको आरोप लगाउँछन् ।
अस्पताल प्रशासन भन्छ : चिकित्सकमाथि छानबिन हुनुपर्छ
किष्ट मेडिकल कलेजको प्रशासनले यस विषयमा कुनै औपचारिक बयान दिएको छैन । तर अस्पतालका एक उच्च कर्मचारीका अनुसार अप्रेसन भएपछि शरीरबाट रगत धेरै बग्न थालेको थियो ।
साउन २२ राति नै चिकित्सकले रगत रोक्ने काम गरेको थिए । ‘तर शरीरबाट एकदमै धेरै रगत बगिसकेको थियो । त्यसकारण थप रगत दिन पर्ने अवस्था आयो,’ ती कर्मचारीले भने ।
धेरै रगत शरीरबाट बगेका कारण मिर्गौला र कलेजले फेल भयो । चिकित्सकको अनेक प्रयासको बीच खुसीको मृत्यु भयो । २६ गते नै राति आफन्त र अस्पताल प्रशसान, सर्जरीका प्रमुख छलफल क्रममा भीडभाडमा धकेलाधकेल भयो । ती कर्मचारीका अनुसार चिकित्सकमाथि हातपात पनि भएको थियो ।
त्यसपछि ललितपुर प्रहरीको समन्वयमा आफन्त र अस्पताल प्रशासनबीच दुई पटक छलफल भयो । ‘उहाँहरुलाई कानुनी प्रक्रियामा जानुहोस् भनेका छौं । हामीले पैसा दिन सक्दैनौं । निष्पक्ष छानबिनमा जानुहोस् भनेका हौं । तर मान्न तयार हुनुहुन्न्,’ ती कर्मचारी भन्छन् ।
ती कर्मचारीले अगाडि भने, ‘डाक्टरले लापरबाही गरेको छ भन्ने कारबाही हुनुपर्यो नि ! पैसा दिँदा नराम्रो नजर बस्छ । निष्पक्ष छानबिन गर्नुपर्छ । छानबिन नगरी डाक्टरलाई छोडियो भने अरु बिरामीले न्याय पाउने अवस्था हुँदैन ।’
प्रतिक्रिया 4