+
+
Shares

राजावादी आन्दोलन सेलायो, सवाल बाँकी छन्

केही महिनाको चहलपहलका बावजुद राजावादी आन्दोलन गन्तव्यमा पुग्न नसक्नुको पछाडि सशक्त नेतृत्वको अभाव र त्यसभित्रका राजनीतिक र अराजनीतिक शक्तिहरूको स्वार्थ बेमेल प्रमुख कारक हो।

जीवन क्षेत्री जीवन क्षेत्री
२०८२ जेठ २७ गते १०:१९

केही महिना अगाडि धुमधामका साथ शुरू भएको राजावादी आन्दोलन अहिले सेलाएको जस्तो देखिएको छ। हुन त बर्खाको मौसम आएसँगै नेपालमा अरू आन्दोलनहरू पनि यो समयमा सुस्ताउने गर्छन् तर पछिल्लो समयका समाचारहरू सुन्दै गर्दाखेरि यो शिथिलता मौसमी मात्रै नहुन पनि सक्ने देखिन्छ।

झट्ट हेर्दाखेरि केही महिनाको चहलपहलका बावजुद राजावादी आन्दोलन गन्तव्यमा पुग्न नसक्नुको पछाडि त्यसको सशक्त नेतृत्व नहुनु र त्यसमा संलग्न विभिन्न खाले राजनीतिक र अराजनीतिक शक्तिहरूको फरक–फरक स्वार्थ हुनु हो जस्तो देखिन्छ। त्यसैले त्यो आन्दोलनमा सक्रिय हुने केही मानिसहरूले अब आन्दोलनलाई ‘स्ट्रिमलाइन’ गरेर अगाडि बढाउन खोजेको जस्तो पनि देखिन्छ तर मेरो विचारमा भने राजावादी आन्दोलन अहिले जुन द्विविधामा छ त्यसको पछाडि एउटा असाध्यै महत्वपूर्ण संरचनागत कारण छ। र त्यसलाई समाधान नगरेसम्म यो आन्दोलन टाढा पुग्न कठिन छ।

कुनै पनि आन्दोलन वा अभियान अघि बढाउनको लागि कुशल नेतृत्व त चाहिन्छ नै। त्यो नेपालका धेरै आन्दोलनकारी पक्षहरूले बुझेका पनि छन् र राजावादीहरूले पनि महसुस गरेको देखिन्छ। तर त्यसभन्दा पनि आधारभूत तहमा सफल आन्दोलनको लागि एउटा बलियो वैचारिक धरातल चाहिन्छ भन्ने कुरा उनीहरूले बुझ्न भने बाँकी नै देखिन्छ।

राजावादी आन्दोलन धर्मराउनुको संरचनागत कारणमा जानुभन्दा अघि एउटा कुरा भने स्पष्ट पारिहालौं। नेपालमा राजावादी आन्दोलन धर्मराइरहेको छ भन्नुको अर्थ गणतन्त्र मजबुत छ वा यसको भविष्य सुरक्षित छ भन्नु कदापि हैन। खासगरी गणतन्त्रको रक्षा गर्नुपर्नेहरूको अक्षमता, नालायकी र भ्रष्ट प्रवृत्तिका कारणले गणतन्त्रमाथिको खतरा कुनै पनि बेला आकासिएर जाने र त्यो दुर्घटनाको फाइदा राजावादीहरूले पाउन सक्ने कुरालाई नकार्न सकिंदैन।

यो स्पष्टीकरणपछि अब लागौं राजावादीहरूले अहिलेसम्म सफलतापूर्वक लुकाएको उनीहरूको वैचारिक द्विविधातिर।

नेपालमा राजा फर्काउन संघर्ष गरिरहेका ४५ विभिन्न संघ–संस्थामध्ये एउटा छ हिन्दू सम्राट सेना। राजा फर्काउने अभियानका हरेक जसो सडक आन्दोलनमा उक्त संस्थाका ब्यानर र उत्तेजित गेरुवाधारी कार्यकर्ताहरू स्पष्टसँग देखिन्छन्।

 त्यसका उपाध्यक्ष कृष्ण यादवले यही वर्ष वैशाख महिनाको शुरूतिर काठमाडौंमा एउटा उत्तेजक भाषण दिंदै भने: म्यानमारमा पाँच लाख मारियो, नेपालमा एक जना पनि बच्दैन। अथवा जसरी बर्मामा लाखौं रोहिङ्ग्या मुस्लिमहरू विस्थापित भए र हजारौंको नरसंहार भयो त्यसैगरी नेपालमा पनि अल्पसंख्यक मुस्लिम समुदायहरूको आम नरसंहार गर्नेछौं।

अब एउटा महत्वपूर्ण र संवेदनशील प्रश्न आउँछ। कृष्ण यादवले त्यस दिन जुन नरसंहारको आह्वान गरे, त्यो राजावादी आन्दोलनको आधिकारिक परियोजना हो कि हैन ?

अभियानका सबैलाई सोध्नै पर्ने भएको छ: तपाईंहरूको भविष्यको योजना के हो ? के आम नरसंहार तपाईंहरूको भावी योजना र आधिकारिक रणनीति हो ? अहिलेसम्म जे भए पनि अब भने उनीहरू यो प्रश्नबाट जवाफविहीन बन्न पाउने छैनन्

 राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सर्वधर्म समभाव सहितको हिन्दू अधिराज्य फर्काउने भनेर अन्तर्वार्ता दिइरहँदाखेरि समग्रमा राजावादी आन्दोलनको वैचारिक दर्शन त्यो हो अथवा कृष्ण यादवको जस्तो नरसंहारकारी विचार आधिकारिक हो? यो प्रश्नको जवाफ अहिलेसम्म राजावादी आन्दोलनमा संलग्न कसैले दिएको छैन। न त उनीहरूमध्ये कसैले कृष्ण यादवले जे भने त्यो हाम्रो आधिकारिक नीति हैन भनेर सार्वजनिक रूपमा भन्ने आँट नै गरेका छन्।

मलाई त्यो कुनै प्राविधिक त्रुटि जस्तो पनि लाग्दैन बरु अहिलेको वैचारिक असमञ्जस्यलाई उनीहरूले रणनैतिक रूपमा प्रयोग गर्न खोजेको जस्तो देखिन्छ। ताकि शान्तिपूर्ण हिन्दू अधिराज्य चाहने मान्छेहरू पनि आन्दोलनमा अटुन् अनि तराई–मधेशमा तीव्र रूपमा साम्प्रदायिक दंगा र विद्वेष फैलाएर नरसंहारको पृष्ठभूमि तयार गर्दै गरेका उग्रवादी मिलिसियाहरू पनि आन्दोलनको छाताभित्र अटाइरहुन्।

त्यसका साथै राजावादी आन्दोलनमा सक्रिय हुने दुई फरक समूहहरू बीचको भावी योजना बीच रहेको अन्तरका कारणले पनि यो द्विविधा सुल्झाउन उनीहरूलाई गाह्रो हुन सक्छ।

नेपालमा महेन्द्रको पञ्चायत जस्तो हिन्दू अधिराज्यलाई आदर्श मान्नेहरूको भिजन अनुसार नेपाल ‘एक धर्म एक भेष र एक भाषा’ को सर्वोच्चता सहित चल्नुपर्छ। मूलतः पहाडका कथित उच्च जातका पुरुषहरूको वर्चस्व रहेको आफूलाई राष्ट्रवादी भन्न रुचाउने यो समूहले देखेको भविष्यमा नेपालमा अल्पसंख्यकहरू बहुसंख्यकको वर्चस्व र आधिपत्यलाई सहेर बस्नेछन्। त्यसका लागि आम नरसंहार आवश्यक पर्ने छैन।

अर्कोतिर भारतमा सत्ता संस्थापन भन्दा पनि अतिवादी उग्र दक्षिणपन्थीहरूबाट प्रशिक्षित हिन्दू सम्राट सेना लगायतका मूलतः तराई मधेशमा सक्रिय हिन्दूवादी संगठनहरूको भिजन अनुसार भविष्यमा वर्चस्वको लडाईं अस्तित्वको लडाईंमा बदलिनेछ। र त्यसक्रममा जातीय सफाया अनिवार्य जस्तै बन्नेछ।

 भारतमा पछिल्ला वर्षहरूमा तथाकथित धर्म संसद्हरूमा विभिन्न हिन्दूत्ववादी अतिवादीहरूले यो कुरा बारम्बार भन्दै आएका छन्। उनीहरूको बुझाइ अनुसार धार्मिक सम्प्रदायहरू मानिसले खास कालखण्डमा विकसित गरेका सतही सामाजिक संरचना हैनन् बरु फरक प्रजातिहरू जस्तै एकअर्कासित निरन्तर अस्तित्वको लडाईंमा रहने समूहहरू हुन्।

 तपाईं हामी भविष्यमा हुनसक्ने कुनै पनि खालको रक्तपातको सम्भावनाबाट जति त्रस्त र भयभित हुन्छौं उनीहरू त्यसबाट उति नै उत्साहित हुन्छन्। उनीहरूको विश्व दृष्टिअनुसार मानिस या त सिकारी हुन्छ या सिकार। त्यसैले सिकार नबन्ने हो भने सिकारी बन्नुपर्छ भन्ने उनीहरू ठान्छन्।

 यही विश्व दृष्टिले नै एडल्फ हिटलरलाई मात्रै नभएर जर्मनीका करोडौं मानिसलाई ६० लाख यहुदीहरूको आम नरसंहार गर्ने बिन्दुमा पुर्‍याएको थियो। अनि यही विश्व दृष्टि आजको अमेरिका र भारत जस्ता लोकतान्त्रिक देश र समाजमा समेत फैलँदो छ।

 त्यसैले त्यस दिन सार्वजनिक समारोहमा कृष्ण यादवले जे भने त्यो कुरा अपवाद वा उनले आवेशमा आएका कारण बोलेको कुरा मात्र नभई उनीहरूले नियमित रूपमा आफ्नो संगठनभित्र प्रशिक्षण दिंदै आएको कुरा हो। अथवा उनीहरूको विचार प्रणाली र वैचारिक धरातलको केन्द्र हो।

राजावादी आन्दोलनको दिशा र चहलपहलबारे कुनै बेला रवीन्द्र मिश्र धाराप्रवाह रूपमा बोल्थे, लेख्थे। अर्कोतिर दुर्गा प्रसाईले पनि  खासगरी श्रव्य-दृश्य माध्यममा निरन्तर आफ्ना कुराहरू राखिरहन्थे र ती कुरा करोडौं मानिससम्म पुग्थे। रवीन्द्र मिश्रले शालीन भाषामा सत्तापलट गर्ने र हिंसा मच्चाउने घुर्की दिन्थे भने दुर्गा प्रसाईंले खुलेआम नश्लभेदी कुराहरू गर्थे र खास समुदायका मान्छेहरूलाई देशबाट लखेट्ने धम्की दिन्थे।

पछिल्लो समय प्रसाईं जेलमा छन् भने रवीन्द्र मिश्र जेलबाट निस्केपछि पनि सामाजिक सञ्जालमा मौन देखिएका छन्। यो अवस्थामा कृष्ण यादवहरूले के भन्छन् भन्ने कुरा थप महत्वपूर्ण भएको छ।

त्यसैले अहिले वयोवृद्ध पञ्च नवराज सुवेदीलाई विस्थापित गरेर युवाहरूले राजावादी आन्दोलनको नेतृत्व लिने चर्चा चलिरहँदा हामीले त्यो अभियानका सबैलाई सोध्नै पर्ने भएको छ: तपाईंहरूको भविष्यको योजना के हो ? के आम नरसंहार तपाईंहरूको भावी योजना र आधिकारिक रणनीति हो ? अहिलेसम्म जे भए पनि अब भने उनीहरू यो प्रश्नबाट जवाफविहीन बन्न पाउने छैनन्।

लेखक
जीवन क्षेत्री

लेखक तथा विश्लेषक जीवन क्षेत्री भरतपुरमा रहेर स्वास्थ्य सेवा गर्छन् । लेखकले साप्ताहिक रूपमा सिफारिस गर्ने सामग्रीहरू द हिमालयन गेज मा हेर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?