
News Summary
Generated by OK AI. Editorially reviewed.- डा. बाबुराम भट्टराईले सिन्धुलीका लोपोन्मुख हायू जातिका मानिस थातथलो छाडेर भौंतारिनु गम्भीर मानवीय संकट भएको बताएका छन्।
- उर्मिला हायूको १६ जनाको परिवार थातथलो छाडेर सम्पर्कविहीन भएपछि प्रहरीले खोजी गर्दै जाँदा सोमबार पोखरामा भेटिएको थियो।
- डा. भट्टराईले लोपोन्मुख जातिहरूको संरक्षणका लागि कानून बन्नुपर्ने र कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन्।
१३ साउन, काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सिन्धुलीका लोपोन्मुख हायू जातिका मानिस थातथलो छाडेर भौंतारिनु गम्भीर मानवीय संकट भएको बताएका छन् ।
सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ का उर्मिला हायूको १६ जनाको परिवार आफ्नो थातथलो छाडेर केही सम्पर्कविहीनभएपछि सञ्चारमाध्यममा समाचार प्रकाशन भएको थियो ।
प्रहरीले खोजी गर्दै जाँदा उनीहरु सोमबार पोखरामा भेटिएका थिए ।
सोही सन्दर्भमा डा. भट्टराईले लोपोन्मुख हायू समुदायले थातथलो छाडेर अन्यत्र गएको विषयलाई मानवीय संकटका रुपमा लिएर राज्य, राजनीतिक दल र सचेत नागरिकहरुले आवश्यक कदम चाल्नुपर्ने बताएका छन् ।
मंगलबार साँझ सामाजिक सञ्जालमा पोस्ट गर्दै डा. भट्टराईले लोपोन्मुख, संविधानमा अति सीमान्तकृत, सीमान्तकृत जातिहरुलाई विशेष संरक्षित वा स्वायत्त क्षेत्रको व्यवस्था गर्ने उल्लेख भएपनि कानून बन्न नसकेको गुनासो गरेका छन् ।
पटकपटक सरकारमा बसेर पनि त्यस सम्बन्धमा कानून नबनाउने र बनेको कानून पनि कार्यान्वयन नगर्नेहरुप्रति उनले आक्रोश पोखेका छन् ।
सदियौंदेखि नेपालभित्र बस्दै आएका र लोपोन्मुख बन्दै गएका हायू जातिले ठुला दल र नेतृत्वको गैरजिम्मेवारपूर्ण विभेदकारी रवैयाले दु:खद नियति व्यहोर्नु परेको डा. भट्टराईले उल्लेख गरेका छन् ।
राज्यले लोपोन्मुख जाति र समुदायको संरक्षण र सम्वर्द्धनमा ठोस कदम नचाले अरुले पनि यस्तै अवस्था व्यहोर्नुपर्ने उनको विश्लेषण छ ।
‘राज्यमा हालीमुहाली गर्दै आएकाहरूको यस्तै अपराधिक उपेक्षा कायम रहने हो भने अरु लोपोन्मुख जाति कुसुन्डा, राउटे, किसान, मेचे, वनकरिया, सुरेल, राजी, लेप्चा, कुसवाडियाहरूले पनि यस्तै दुरावस्था खेप्नुपर्नेछ । त्यसरी नै राज्य स्वयंले वर्गीकरण गरेको अति सीमान्तकृत जाति चेपांग, थामी, सतार, माझी, बरामो, दनुवार, झागडहरू र सीमान्तकृत जाति सुनुवार, राजवंशी, थारू, दुरा, कुमाल, दराई लगायतको भविष्य पनि यस्तै दर्दनाक हुनसक्छ’, डा. भट्टराईले लेखेका छन् ।
राज्यको नेतृत्व गर्ने र पालो कुर्नेहरुले उनीहरुको संवैधानिक र कानूनी दायित्व पूरा गर्न उनको आग्रह छ । ‘ अत: राज्यको नेतृत्व गर्ने र पालो कुर्नेहरूले क्षमायाचना सहित तुरून्त यी भूमिपुत्र/पुत्रीहरूप्रतिको संवैधानिक र कानूनी दायित्व पूरा गरून्, नत्र इतिहासले कसैलाई क्षमा गर्नेछैन’, उनले भनेका छन् ।
प्रतिक्रिया 4