News Summary
Generated by OK AI. Editorially reviewed.- किरण मानन्धर नेपाली समकालीन अमूर्त चित्रकलाका प्रखर प्रतिनिधि हुन् जसले सामाजिक चेतना र आत्मिक सन्तुष्टिलाई क्यानभासमा प्रतिबिम्बित गर्छन्।
- उनले बनारसमा इन्जिनियरिङ पढ्ने बहानामा ललितकला अध्ययन गरी नेपालमा दोस्रो पटक स्नातकोत्तर गरेका थिए र पेरिसमा फेलोसिप पाए।
- उनको कलामा बोल्ड स्ट्रोक, विशेष रङहरूको प्रयोग र महिला आकृतिहरू प्रायः देखिन्छन् र उनी आफ्नो चित्रकलालाई निरन्तर प्रक्रिया मान्छन्।
एउटा केटो, जो पढ्न मान्दैन । जिद्दी छ । आफ्नै तालको छ । आफ्नै सुरको छ । उसलाई बुबाले एउटा बाटो देखाएका हुन्छन् । ऊ त्यो बाटोमा हिँड्दैन । अटेर गर्छ । आफ्नो मनको कुरा सुन्छ ।
आफैं आफ्नो बाटो बनाउन तम्सिन्छ । जब्बर उसले त्यो बाटो बनाइ छाड्छ । कालान्तरमा आफ्नो छोरो (सागर मानन्धर पनि अमूर्त चित्रकार हुन्) सहित थुप्रैलाई उसले त्यही बाटोमा हिडाउँछ । र, एउटा इतिहास बनाउँछ ।
यी साधक हुन्, किरण मानन्धर ।
उनी नेपाली समकालीन चित्रकलाका एक प्रखर प्रतिनिधि हुन् । सङ्घर्ष, समर्पण र निरन्तर सिर्जनामार्फत नेपाली कला जगतमा आफूलाई स्थापित गरेका एक उदाहरण हुन् ।
आफ्नो भोगाइ, सामाजिक चेतना र आत्मिक सन्तुष्टिलाई क्यानभासमा प्रतिविम्बित गर्ने कलाकार हुन् । आफ्नो जीवनका मोडहरूमा आउने द्वन्द्व र त्यसबाट प्राप्त ऊर्जालाई कलामा रूपान्तरण गर्ने जादुगर हुन्।
यिनै कारण आज उनी अमूर्त नेपाली कलाको शिखरमा छन् ।
दैनिक जीवनमा नै कला
७५ वर्षमा हिँडिरहेका उनी हरेक दिन सबेरै उठ्छन् । नियमित व्यायाम गर्छन् । नित्यकर्मपछि धुप बाल्छन् । धुपको सुगन्ध उनको उत्प्रेरणाको स्रोत हो ।
पहिले उनी साढे चार बजे उठेर स्वयम्भू जान्थे । तर आजभोलि शरीरले साथ दिँदैन । फ्रान्समा बस्दा त्यहाँको चिसो मौसमले उनको शरीर कुँजिएको थियो । नेपाल फिर्ता भएर उपचार गरेपछि ठिक त भयो । तर, पहिलेको जस्तो भएन । त्यसको असर आज पर्यन्त छ ।
जेहोस, घरमै धुप बालेर त्यसको सुगन्धबाट उनी मक्ख हुन्छन् । र, आफ्नो अर्चनामा लाग्छन् । उनको अर्चना क्यानभाससँग भलाकुसारी गर्नु हो । उनको धर्म क्यानभासमा आफूलाई पोख्नु हो ।
नास्ता खाएर उनी आफ्नो स्टुडियो (ठमेल) पुग्छन् । जसै स्टुडियो प्रवेश गर्छन्, त्यहाँको वातावरणका कारण उनी अर्कै ‘अवस्था’मा पुग्छन् । कारण रङ र ब्रसहरू देख्दा उनलाई एक प्रकारको पागलपन चढ्छ । अभ्यस्त नभएकाहरूका लागि यो कुरा नराम्रो सुनिन सक्छ । तर उनका लागि चित्र बनाउनु त्यही पागलपन नै प्रेरणा हो ।
भनौं न, रङ र ब्रसहरू उनका साथी हुन् । जसले उनलाई हरेक बिहान केही न केही सिर्जना गर्न बाध्य पार्छन् । उनमा कलाप्रति यत्तिको अपार प्रेम र साहस छ कि, यदि पेन्टिङका लागि कसैले पाँच तल्लाबाट हामफाल् भने पनि आफू तयार रहेको उनी सुनाउँछन् ।
आफ्नो स्टुडियोमा उनले धेरै क्यानभासहरू राखेका छन् । जसमा समानान्तर काम हुन सक्छ । यसको कारण-कुन मुडमा कतिखेर उनलाई काम गर्न मन लाग्छ, त्यो ठेगान छैन । धेरै क्यानभास हुँदा जुनबेला पनि काम गर्न पाइन्छ । यो बाहेक स्रोतसाधन अभावको बहानामा काम रोक्न नपरोस् भन्ने उनको चाहना हो ।
यसरी उनी हरेक दिन काम गर्छन् । उनका लागि छुट्टि छैन । अनि कुनै पनि चित्रकला ‘पूर्ण’ नहुने उनको विश्वास छ । उनका लागि चित्रकला एउटा निरन्तर प्रक्रिया हो, जसको अन्त्य कहिल्यै हुँदैन । बरु यो एक ‘कन्टिन्युटीको पोइन्ट’ हो । अक्षरहरू निरन्तर लेखे जस्तै ।
बाध्यताले मात्र कुनै पनि चित्रमा आफ्नो नाम लेख्नु परेको उनी सुनाउँछन् । अर्थात् जबरजस्ती कुनै पनि चित्र पूर्ण भयो भनेर उनले भन्ने गरेका छन् ।
इन्जिनियरिङबाट कलातर्फको मोड
किरण मानन्धरका बुबा सरकारी इन्जिनियर थिए । उनले छोरोलाई आफूजस्तै बनाउन चाहन्थे । तर पढाइमा किरणलाई फिटिक्कै रुचि थिएन । उनमा कलाको रस जो पसिसकेको थियो ।
त्यसपछि इन्जिनियरिङ पढ्ने बहानामा उनी बनारस पुगे । उनले बुबालाई झुक्काएका थिए । किनकि घरमा इन्जिनियरिङ पढेको भन्दै उनी पत्र लेख्थे । तर उनले ललितकला अध्ययन गर्न लागेका थिए । यता उनको बास रेलवे स्टेशनमा थियो ।
त्यहाँ उनी छ महिनासम्म बसे । खान नपाएर भोकै बसे । मानिसले दयाले दिने रोटी खाएर गुजारा गरे । यसले उनको ललितकलाप्रतिको भोकलाई मारेन । बरू आफ्नो भोकलाई मारेर उनी दत्तचित्त भएर लागि परिरहे ।
भनेको विषय अध्ययन नगरेपछि बुबाले पैसा पठाउन बन्द गरिसकेका थिए । तर आफ्नो लगन र क्षमताका कारण उनले आफ्नो पढाइमा छात्रवृत्ति पाए । त्यसो हुँदा उनको पढाइमा कुनै असर परेन ।
समय आफ्नो लयमा आउन थालेपछि उनले आफूजस्तै त्यहाँ अध्ययन गर्न गएका विद्यार्थीहरूको हकअधिकारका लागि काम गरे । सहयोग गरे । यही सिससिला चल्दै जाँदा उनले आफ्नो औपचारिक अध्ययन पनि सके ।
उनी नेपालबाट ललितकलामा स्नातकोत्तर गर्ने दोस्रो व्यक्ति हुन् ।
पेरिस यात्रा
किरण मानन्धरको कला यात्रामा पेरिसको भ्रमण एउटा महत्त्वपूर्ण मोड थियो । नेपालका तत्कालीन प्रधानमन्त्री वीपी कोइरालाले प्रेरणा दिएपछि उनी पेरिस जान पाएका थिए । कोइरालाले उनलाई बनारसमा पढ्दाको समयमा भेटेका थिए ।
त्यो समयमा हरेक आयामबाट पेरिस जानु चुनौतीपूर्ण थियो । अनि उनले बिस्तारै आएको पैसाहरू जम्मा गर्न थाले । त्यसमाथि उनले सिते देजार्डमा फेलोसिप पनि पाए ।
उनले तत्कालीन फ्रान्सका राजदूत मिस्टर लुमोको सहयोगमा त्यो फेलोसिप पाएका थिए । त्यहाँ उनलाई फ्रान्सको गृह मन्त्रालयले खाने/पिउने खर्च, परराष्ट्र मन्त्रालयले घुम्ने खर्च र संस्कृति मन्त्रालयले घरभाडा बेहोरेको थियो ।
त्यहाँ उनलाई भाषाको समस्या पर्यो । उनलाई फ्रेन्च त परै जाओस्, अंग्रेजी पनि राम्ररी आउँदैनथ्यो । तर बिस्तारै उनले भाषा सिक्दै गए । त्यही समयमा उनले स्पेननजिक एउटा हलका लागि गाईजात्राको विषयमा तीन हप्ता लगाएर विशाल म्युरल (भित्ते चित्र) बनाए । जसलाई धेरैले मन पराए । यसले गर्दा उनलाई अन्य धेरै कामहरू पनि मिलेको थियो ।
तर एक पटक पेरिसमा उनलाई देश र शरीरको बनोटलाई लिएर टिप्पणी गरियो । युरोपियन कलाकारलाई पनि नदिइएको ठूलो हल मानन्धरलाई किन दिइएको भन्ने प्रश्न पनि गरियो ।
जुन कुरालाई उनले प्रतिवाद गरे । रङहरू उपलब्ध गराएर एक हप्ताभित्र पूरा सडक रङ्ग्याउने उनले बताइदिए । उनको त्यो दृढता र कलाप्रतिको आत्मविश्वास देखेर अपनमान गर्ने व्यक्ति पछि लज्जित भएका थिए ।
अमूर्ततामा यात्रा
किरण मानन्धरको कलायात्रामा पोर्ट्रेटबाट अमूर्त कलातर्फको सङ्क्रमण एउटा महत्त्वपूर्ण पक्ष हो । उनी स्वयं ललितकला पढ्नेबेलासम्म अमूर्त कला बुझ्दैनथे ।
कुरा उनी विद्यालय पढ्दाकै हो । नेपाल-भारत सांस्कृतिक केन्द्रमा भारतीय प्रोफेसर तथा चित्रकार रामचन्द्र शुक्लको कला प्रदर्शनी भइरहेको थियो । फुटबल खेल्न गएका मानन्धर चित्रहरू हेर्न छिरे ।
चित्रहरू त उनले हेरे । तर केही बुझेनन् । त्यसपछि एउटा चित्रलाई उनले उल्ट्याइदिए । उनको त्यो गतिविधिलाई चित्रकार शुक्लाले नजिकबाट हेरिरहेका थिए । त्यसपछि उनलाई कस्तो लाग्यो भनेर सोधे ।
मानन्धरले बुझिनँ भनेर उत्तर दिए । त्यसपछि चित्र बनाउँछौ ? भनेर शुक्लले सोधे। जवाफमा मानन्धरले ‘बनाउँछु, पोर्ट्रेट बनाइदिम्’ भनेर प्रश्न गरे । उत्तरमा शुक्लाले ‘पर्दैन, म तिम्रो घर आउँछु’ भनेर भने । मानन्धरले मेरो घरमा नआउनू भने । अनि शुक्लले ‘स्कुल सकेपछि बनारस आऊ’ भनेर सानो चिर्कटोमा लोकेसन लेखिदिए ।
त्यस्तै सानो उमेरमै बालाजुको जंगलमा बसेर उनले घर र रुखको चित्र बनाइरहेका थिए । छेवैमा वरिष्ठ साहित्यकार बालकृष्ण सम पनि थिए । समले ‘कस्तो राम्रो चित्र’ भनेर प्रशंसा गरिरहेका थिए ।
त्यस्तैमा बालाजुको जंगलमा तुवाँलो आयो । अनि उनले त्यही कुरालाई चित्रमा पनि बनाए । नजिकबाट हेरिरेका समले उनलाई त्यस चित्रलाई देखेर ‘अमूर्त कला भनेको यो रहेछ, आज बुझेँ’ भनेर बताए ।
उक्त घटनाले मानन्धरलाई एब्स्ट्र्याक्ट कलाको सार बुझ्न मद्दत गर्यो । त्यसपछिका समयमा उनले यो कलाको इतिहास पनि अध्ययन गरे । आज त उनी यसमै जमेका छन् ।
अमूर्ततामा दर्शन
अमूर्त कला सामाजिक समस्या तथा विद्रोहबाट जन्मिएको विधा हो । किरण मानन्धरको जीवनमा पनि बुबाले कला पढ्न नदिनु, बनारसमा दुःखदायी जीवन भोग्नु, देशमा परिस्थिति प्रतिकूल हुनु-एक प्रकारको विद्रोह हो । जुन उनको कलाको आधार बन्यो ।
उनका लागि अमूर्त कला आफैंमा अमूर्त हो । यसलाई थप विस्तार गरेर भन्दा उनी एउटा भावना गाँसिने माध्यम भएको बताउँछन् । किनकि स्टुडियोमा रङ र ब्रससँग उनी प्रत्यक्ष संवाद गर्छन् । त्यसमा कहिलेकाहीँ रङ वा ब्रस खसेर क्यानभासमा लाग्छ, उनी त्यसैबाट चित्र बनाउन थाल्छन् ।
उनका लागि चित्रकला भनेको ‘लेयर’ (तह) को खेल हो, जसरी हाम्रो शरीरमा नसा, हड्डी र रगतका धेरै तहहरू हुन्छन्, त्यसरी नै चित्रकलामा पनि धेरै तहहरू हुन्छन् । अनि क्यानभास र कलाकारबीचको संवादले चित्र सिर्जना हुने उनी सुनाउँछन् ।
त्यस्तै अमूर्त चित्रकला बुझ्न उनी एउटा उपाय सुझाउँछन् । जसअनुसार चित्रकलालाई अलिकति अध्ययन गर्नुपर्छ । ‘अध्ययन भनेको चित्रसँग साथी बन्नु हो । जब कुनै चित्रलाई मनैदेखि हेरिन्छ, त्यसलाई बुझ्ने प्रयास गरिन्छ, तब त्यो चित्रले आफैं बोल्छ’ उनी सुनाउँछन्, ‘चित्रकला कुनै होर्डिङ बोर्ड जस्तो हेर्नेबित्तिकै बुझ्ने चीज होइन । बरू निरन्तर हेरिरहनुपर्ने र समय लाग्ने कुरा हो । म स्वयम् पनि आफ्ना चित्रहरू पूर्णरूपमा बुझ्दिनँ । केवल बुझ्ने प्रयासमा हुन्छु’
कलात्मक शैली
मानन्धरको कलाको विशेषता बोल्ड स्ट्रोक, विशेष रङहरूको प्रयोग र प्रायः महिला आकृतिहरूको उपस्थिति हो । उनले प्राय: हरियो, पहेंलो र कालो रङहरूलाई आफ्नो चिनारी रङका रूपमा प्रयोग गर्ने गरेका छन् ।
त्यसमा पनि उनलाई कालो रङ विशेष मनपर्छ । उनका लागि यो रङ शक्तिको प्रतीक हो । जुन उनले आफ्नो नेवारी मिथकबाट विश्वास गरेका हुन् । आफ्नो चित्रमा महिला पात्रहरू बढी देखिनुमा पनि उनी रोचक कारण सुनाउँछन् । ‘मलाई पुरुषको चित्र नै बनाउन आउँदैन । बनाउनै परे कि गणेशको कि कृष्णको मात्र बनाउँछु’ उनी भन्छन् ।
त्यस्तै उनका चित्रहरूमा प्रायः चरा र फूलका पातहरू पनि देखिन्छन् । जुन उनको प्रकृति प्रतिको प्रेमको झलक हो ।
यसैगरी उनको लुगा लगाउने शैली पनि कलासँग नै सम्बन्धित छ । प्राय: उनी लामो कमिज र इस्टकोटमा देखिन्छन् । अनि जुन रङलाई लिएर आज काम गर्ने, सोही रङको लुगा लगाउँछन् । त्यसो गर्दा आफैं पनि त्यस रङसँग बाँधिने उनी सुनाउँछन् ।
अब ज्येष्ठ कलाकारहरूले युवा पुस्तालाई माथि उठाउन दायित्व निभाउनु पर्ने उनलाई लाग्छ । करियर के हुन्छ त भन्ने जिज्ञासामा उनी आफैंलाई हेरे पुग्ने बताउँछन् ।
‘मैले वर्षौंदेखि चित्रकला बेचेरै गाडी चढ्ने, राम्रो खाने-बस्ने भएँ । कलाकारले पनि राम्रो जीवनयापन गर्न सक्छ भन्ने कुराको प्रमाण म आफू नि छु,’ उनी भन्छन् ।
हो त, उनी कलाका लागि मात्र हेरिनु पर्ने कलाकार होइनन् । कलाले जीवनलाई के बनाउन सक्छ भनेर हेर्नु पर्ने कलाकार हुन् ।
प्रतिक्रिया 4