
News Summary
Generated by OK AI. Editorially reviewed.- लेखकले मृत्युको चिसोपन र जीवनको तापक्रमबारे आफ्ना अनुभव र भावनात्मक प्रश्नहरू व्यक्त गरेका छन् ।
- आफ्नो मृत्युलाई शान्तिपूर्ण र कसैलाई दुःख नदिने तरिकाले हुन चाहने इच्छा व्यक्त गरेका छन् ।
- लेखमा फ्रिगोफोबिया नामक चिसोबाट डर लाग्ने रोगको चर्चा गरिएको छ, जुन रोगले प्रभावितलाई जाडो मौसममा कठिनाइ हुन्छ।
मलाई थाहा छ, आँसु जम्नुभन्दा अघि आँखा होइन, हृदय जम्नुपर्छ । सास जम्नुभन्दा अघि रगत होइन, मुटुको ढुकढुकी जम्नुपर्छ । तर, मलाई थाहा छैन, हृदय जम्न आफूभित्र अथवा आफूबाहिर कत्तिको चिसोपनको बतास बहनुपर्छ ? म अनभिज्ञ छु, मान्छेको मुटुको ढुकढुकी कति तापक्रममा पुगेर जम्छ ?
म मृत्युलाई प्रश्न गर्न सक्छु, तर त्यसको कल्पना भने गर्न सक्दिनँ । किनभने म मृत्युलाई महसुस गर्न चाहन्न । यसको आषय यो होइन, मलाई जीवनप्रति कुनै प्रकारको गहिरो मोह छ । मलाई लाग्छ, जीवन माया हो, तर यसले सबैका निमित्त माया बोकेर आएको हुँदैन, आएको छैन पनि । मलाई थाहा छ, यो माया प्रेम होइन, भ्रम हो ।
म चाहन्छु, मलाई मेरो मृत्युको बोध हुनु अगावै बाटोमा अल्पकालिन आयुको भाग्य बोकेर घिस्रिरहेका किराहरूलाई हिँडिरहेका पैतालाहरूले किचेजसरी मलाई पनि कालले किचोस्, पिचिक्क । अथवा जसरी जीवन चुस्न भुन्भुनाइरहेका लामखुट्टेहरू दुई हत्केलाबीचमा एक्कासि किचिन्छ, म पनि त्यसरी नै थाहा नपाइकनै समाप्त हुन चाहन्छु । मलाई मृत्युको अनुहार हेर्नु छैन; मृत्यु आओस् चुपचाप-चुपचाप बिरालो चालमा अद्दश्य भएर र मेरो अस्तित्वलाई चुँडाएर लिएर जाओस्, कसैको पत्तो बिनै ।
म मृत्युलाई महसुस नगरिकनै शून्यमा समाहित हुन चाहन्छु । कस्तो हुन्छ होला त्यस्तो मृत्यु, अदभूत कि अविस्मरणीय ?
मलाई मृत्यु यस्तो कठ्याङ्ग्रिदो चिसो लाग्छ, जसको ठुङ्गाइले सबैलाई कहिल्यै नपग्लिने गरेर जमाइदिन सक्छ; कम्तीमा मलाई जीवन मनतातो लाग्छ अथवा जीवनलाई एउटा परिभाषाको सिमित परिधिभित्र बाँधेर आफूलाई सम्झाउने, बुझाउने प्रयत्न गरिरहेकी छु ।
मलाई चिसो मन पर्दैन; यसको अर्थ यो होइन, मलाई मृत्यु मन पर्दैन । यत्ति हो, मलाई मृत्युले बोकेको चिसोपन मन पर्दैन ।
आफ्नो जीवनलाई भनेजस्तै, सोचेजस्तै योजनाबद्ध रूपमा जन्माउन वा हुर्काउन नसकेपनि मृत्युलाई म आफ्नै तरिकाले अँगाल्न चाहन्छु । कम्तीमा त्यो अधिकार मसँग छ या हुनुपर्छ ।
म चाहन्न, मेरो मृत्यु सुन्दर होस् । म चाहन्छु, मेरो मृत्यु वियोग होइन, विनोद बनोस् । मेरो मृत्युमा कसैका आँखाहरू नपग्लियोस् । कसैका ओठहरू नखुम्चियोस् । म यत्ति चाहन्छु, मेरो मृत्युले कुनै प्रकारको रिक्ततालाई नजन्माओस् । मैले छाडेको स्थान तुरुन्तै कसैले ओगटोस् अथवा त्यो स्थानको आयतन कहिल्यै नबढोओस् । मेरो मृत्युले कतै चिसोपन नफैलियोस् ।
मलाई सम्झना छैन, मैले पहिलोपल्ट कहिले देखेकी थिएँ मरेको मान्छेलाई ? त्यो बेलाको मेरो अबोधताले प्रश्न गर्थ्यो, मरेको मान्छे कस्तो हुन्छ अथवा कस्तो देखिन्छ होला ? के मरेको मान्छेले आफ्नो शरीरको रङ्ग पनि सर्पले काँचुली फेरेजस्तै फेर्छ ? के उसको देहलाई अन्तिम बिदाई गरेर उडिरहेको आत्मालाई हामी देख्न सक्छौँ ? कि उसको शरीर कुनै अर्को जन्म लिन फरक अवतारमा रूपान्तरित भइरहेको देख्छौँ ? म कल्पनाको तराजुमा मृत मान्छे र जीवित मान्छेलाई राखेर जोख्थेँ ।
मैले सुरूमा मृत मान्छेलाई देख्दा के-के देखेँ, कस्तो महसुस गरेँ, म बताउन सक्दिनँ । किनभने त्यो बेलाको मेरो मन-मस्तिष्कले सायद त्यो कठ्याङ्ग्रिदो चिसोपनलाई राम्रोसँग अनुभूत गर्न पाएन अथवा सकेन । मैले मात्रै देखेँ, एउटा शरीर दीर्घ-निन्द्रामा सायद कुनै सुन्दर सपनाको दहमा बगिरहेको छ । उसलाई कसैसँग कुनै प्रकारको माया, घृणा छैन । मलाई त्यो बेला लाग्यो, उसले आफूसँग त्यो लिएर गएको छ, जुन उसले छाड्न चाहेको थिएन । उसले त्यो दिएर गएको छ, जुन ऊ बाँडन् चाहन्थ्यो । लाग्थ्यो, ऊ तृप्त भएर बिश्रामको ओछ्यानमा पल्टिरहेको छ ।
मलाई सम्झना छ, मैले पहिलोपल्ट कहिले मृत मान्छेलाई छोएकी थिएँ । त्यो बेलासम्म जीवनले मलाई मृत्युको बारेमा थुप्रै व्याख्या गरिसकेको थियो । यस्तो लाग्यो, मैले मृतलाई होइन, मृत्युलाई स्पर्श गरिरहेकी छु, जसको चिसोपन मेरो शरीरमा कुनै संक्रमण रोगजसरी बिस्तारै सर्दै गइरहेको छ । यस्तो भान भयो, मभित्र आ-आफ्नै रफ्तारमा हिंडिरहेका पसिना, आँसु र रगत बिस्तारै जम्दै छन् । बेला-कुबेला झर्ने मुस्कान, मलाई जोडेका जोर्नीहरू, त्यसमा परजीवीझैं टाँसिएका मांसपेशीहरू, आफ्नो चाल परिवर्तन गरिरहने धड्कन, मलाई सचेत गराइरहने चेतना, आभास गराइरहने संवेदना पनि एकएक गर्दै जम्दै छन् । मलाई जीवित राखिरहेका मभित्र बगिरहेका तरलताहरू जमेर ठोस हुँदै छन् ।
मलाई एकदमै जाडो भएको थियो । म ठिहिर्याएकी थिएँ । के मृत्यु वास्तवमै त्यस्तो चिसो हुन्छ ?
म चाहन्छु, मेरो मृत्यु हुँदा मेरो शरीरले मात्रै होइन, आत्माले पनि त्यस्तो किसिमको चिसोपनलाई अनुभव गर्न नपरोस् ।
म कहिलेकाहीँ सोच्छु, चिसा रगत भएकाहरू चाहिँ मर्दा जम्छन् कि पग्लिन्छन् ?
म अन्जान छु, म यो बन्द कोठामा कहिलेदेखि बन्द छु ? म यहाँ हुनु अरूको लागि बाध्यता हुन सक्छ, तर मेरो लागि आवश्यकता हो । किनभने बाहिर चिसो छ र यहाँ भित्र तातो ।
मेरो मानसिकताले स्वीकार गरिसकेको छ, मृत्युमात्रै चिसो हुँदैन, चिसोभित्र पनि मृत्युले कुनै-न-कुनै प्रकारको पासो थापेको हुन्छ ।
कहिलेकाहीँ कतैबाट हावामा चिसोले आफ्नो रूप परिवर्तन गरेर आफूलाई लुकाएर आउँथ्यो र मलाई डस्थ्यो । मलाई त्यो चिसोले गर्मी भएर आउँथ्यो, म पसिना-पसिना हुन्थेँ । मेरो मुटुको धड्कन हावामा फर्फराइरहेको पातझैं हुन्थ्यो । छातीमा कसैले कुनै तीखो सुइरोले रोपिदिएको झैं भान हुन्थ्यो । मलाई सास लिन गाह्रो हुन्थ्यो । मेरा शरीरका अंगहरू लाटो हुँदै जान्थे । पानी जमेर बरफको ढिक्का भएझैं म पनि त्यसरी नै जम्थेँ । सोच्थेँ, मलाई कसैले केहीले हिर्कायो भने म फुट्नेछु र मेरा टुक्राहरू जताततै छरिनेछन् । बिस्तारै मेरा ती अस्तित्वका अंशहरू पग्लिनेछन् र म विलुप्त हुनेछु ।
मृत्युलाई छक्याएर जब म ब्युँझिन्थेँ, आफूलाई कपडाको अझै अरू पत्रहरूमा बेरेर ढाक्थेँ । आगो सल्काउँथेँ र ताप्थेँ ।
बेला-बेला चिसा देखिने मान्छेहरूले मलाई सम्झाउने हरसम्भव प्रयास गर्थे । मलाई उनीहरूका आवाज चिसा लाग्थे । म पुन: चिसिएर बटारिन थाल्थेँ र अचेत हुन्थेँ । मलाई ती चिसा मान्छेहरूले कहिले आगोको अघि लिएर जान्थे, त कहिले न्यानो ओछ्यानमा पल्टाइदिन्थे । अनि मात्रै मेरो फोक्सोमा जमिरहेको हावा पग्लिन थाल्थ्यो र मेरा आँखाहरू उघ्रिन्थेँ ।
न मलाई कसैको काखले उष्णता दिलायो, न त कसैको अँगालोले । मलाई चाहिएको न्यानोपन न मैले कसैको सामीप्यतामा फेला पारेँ, न त आफ्नै ओछ्यानमा । मान्छेहरू मात्रै होइन मलाई सम्बन्धहरू पनि हिम-पहिरोझैं चिसा लाग्न थाले ।
कहिलेकाहीँ मेरा पैतालाहरू अकारण चिसा हुन्थे । तिनीहरूलाई म हत्तपत्त हातको पन्जाले घर्षण गरेर तताउने प्रयत्न गर्थेँ । भयका लामा-लामा हत्केलाहरूले मेरो गलालाई न्याँक्न थाल्थे । लाग्थ्यो, म पैतालाबाट बिस्तारै मर्दैछु । पैतालामा रहेको चिसोपनको लहरा बिस्तारै उक्लिदै-उक्लिदै मेरो मुटुसम्म आउँदैछ । आफूलाई बचाउन मलाई त्यो बेला मेरा खुट्टाहरू काट्न मन लाग्थ्यो, चटक्क ।
मलाई लाग्थ्यो, आत्माले छाडेर गएको शरीरमात्रै चिसो हुन्छ । चिसो मरेको मान्छेमात्रै हुन्छ । बिस्तारै लाग्दै गयो, संवेदना हराएको मान्छेको शरीर पनि चिसो हुँदोरहेछ । आफ्नो अस्तित्वलाई खोजिरहेको मान्छेको शरीर पनि चिसो हुँदोरहेछ । कोही कसैको नभएको मान्छे अथवा कसैले पनि नस्वीकारेको एक्लो, अधुरो मान्छे पनि चिसो हुँदो रहेछ ।
मैले जताततै झन्झन् धेरै चिसो देख्न र महसुस गर्न थालेकी थिएँ ।
जाडोयाम मेरो लागि वास्तवमै काल भएर आउँथ्यो । म कामना गर्थेँ, जाडो मौसम मेरो वायुमण्डलमा कहिल्यै नआओस् । त्यो बेला शीत तुसारोमा परिणत हुन्थ्यो । हावा हुस्सुमा बद्लिन्थ्यो । झरी हिउँ भएर झर्थ्यो । म आफूलाई दिनभरि आगोको समीप राख्थेँ । मेरो शरीर रन्किएर आउँथ्यो । छाला तापले रगत चुहिएलाझैं रातो हुन्थ्यो । यस्तो लाग्थ्यो, म मैनझैं तातोपनले बिस्तारै पग्लिदै गइरहेकी छु ।
बेलाबेला म हिउँमा दौडिरहेको सपना देख्थेँ । मलाई मृत मान्छेहरूले लखेटिरहेका हुन्थे । चिसो हावाका लहराहरूले मलाई बेर्न खोज्थे । जब ब्युँझिन्थेँ, शरीरका सबै अंगहरू जमिसकेको आभास हुन्थ्यो । तिनीहरूमा रक्तसंचार हुन छाडेका हुन्थे । चल्मलाइरहेका मेरा आँखाबाहेक सबै मरिसकेका झैं लाग्थे ।
म खङ्ग्रङ्ग हुन्थेँ । चिसोले मेरो शरीरमा काँडा उम्रिन थाल्थ्यो ।
मलाई यस्तो भय थियो, शीतको एउटा सानो थोपाले पनि मेरो शरीरलाई जमाएर मार्न सक्छ ।
कहिलेकाहीँ म आफूलाई दर्पणअघि उभ्याएर आफूमा भएको न्यानोपनलाई नियाल्थेँ; म रुग्णताले च्याँपेको एउटा कायालाई देख्थेँ, जो एकदमै चिसो देखिन्थ्यो । मैले थाहा पाएँ, चिसोबाट भागिरहेको मान्छेको शरीर पनि चिसो देखिंदो रहेछ । म त्रास र क्रोधको मुङ्ग्रोले दर्पणलाई हिर्काउँथेँ र आफ्नै चिसोको काँचले बनेको आकृतिलाई नष्ट पार्ने कोसिस गर्थेँ । सायद चिसो शरीरमा होइन, मेरो मस्तिष्कमा थियो ।
मलाई यहीँ सोच्दै चिसो हुन्थ्यो, बाहिरको चिसोले जतिबेला पनि मेरो ढोका ढक्ढकाउन सक्छ र मेरो मुटुको ढुकढुकीलाई जमाउन सक्छ । मलाई जमाउन सक्छ । म चिसो मृत्यु मर्न सक्छु ।
***
“के भ’को थियो र उसलाई ? किन याँ यति टाढा होम केयरमा राखिएको ?”
“तपैँलाई था छैन र ?”
“अहँ !”
“अनौठो रोगले ग्रस्त थिई, फ्रिगोफोबिया ।”
“फ्रिगोफोबिया ?”
“यो रोगभन्दा पनि एक किसिमको डर हो । चिसोदेखि लाग्ने डर ।”
“चिसोदेखि डराउने मान्छेको शरीर हिउँमा गाँड्दै हुनुहुन्छ ?”
“हामीसँग अरू विकल्प पनि त छैन, यो बर्फिलो मौसममा । शरीरलाई जलाउन हाम्रो धर्मले दिदैन… गाड्नैपर्छ ।”
प्रतिक्रिया 4