+
+
Shares

नसीरुद्दीन शाह : सिनेमा, समाज र राजनीति

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ३१ गते ६:३०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नसीरुद्दीन शाहले आफ्नो ५० वर्ष लामो अभिनय करियरमा मन्थन, मासूम लगायतका फिल्महरूमा उत्कृष्ट अभिनय गरेका छन्।
  • उनले आफ्नो आत्मकथा 'एन्ड देन वन डे' मा बुबासँगको खराब सम्बन्ध र आमाप्रतिको गहिरो माया उल्लेख गरेका छन्।
  • नसीरुद्दीन शाहले १९६९ मा पाकिस्तानकी परवीन मोरादसँग विवाह गरेका थिए र छोरी हिबाको जन्मपछि सम्बन्धमा समस्या आएको लेखेका छन्।

भारतीय चलचित्र क्षेत्रमा नसीरुद्दीन शाह परिपक्व र अनुभवी कलाकारको रूपमा चिनिन्छन् । अभिनयको अलावा उनी समाज, राजनीति र सिनेमामा आफ्नो स्पष्ट भनाइहरूको कारणले पनि चर्चामा रहन्छन् ।

जहाँ मानिसहरू चलचित्र क्षेत्रमा होसियारीका साथ बोल्छन् वा मौन बस्छन्, त्यहाँ स्पष्टताका साथ आफ्नो कुरा राख्ने नसीरुद्दीन शाह हाल ७५ वर्ष पुगेका छन् । उनले आफ्नो जीवनको ५० वर्ष त सिनेमालाई दिएका छन् ।

उत्तर प्रदेशको बाराबन्कीमा जन्मिएका नसीरुद्दीन शाहको आफ्नो बुबासँग कहिल्यै राम्रो सम्बन्ध भएन । अन्य बुबाहरूले जस्तै उनका बुबाले पनि नसीरले एउटा राम्रो करियर अपनाएको चाहन्थे ।

तर उनी बुबाले भनेको करियर तिर गएनन् । बुबाबारे उनले आफ्नो आत्मकथा  ‘एन्ड देन वन डे’ मा लेखेका छन्, ‘मेरा बुबा अङ्ग्रेजहरू जस्तै बस्थे । सरधना जस्तो सानो सहरमा पनि उनी टोपी नलगाई बाहिर निस्कँदैनथे । उनी हामीलाई पैसाले किन्न सकिने सबैभन्दा राम्रो शिक्षा दिन चाहन्थे । उनी फारसीका साथै राम्रो अङ्ग्रेजी पनि बोल्थे । तर उनले हामीलाई कहिल्यै पश्तो वा फारसी सिकाउन आवश्यक ठानेनन् ।’

आमाप्रतिको स्नेह

आफ्नो बुबाको तुलनामा नसीर आफ्नी आमालाई बढी मान्थे । माया गर्थे । तर उनको रिस निकै कडा थियो । यतिसम्म कि उनका बुबाले पनि त्यो रिस अघि टिक्न सक्दैनथे । नसीरले आफ्नी आमाको बारेमा लेखेका छन्, ‘बुबासँग मेरो कुराकानी ठप्प हुँदा आमाले मलाई साथ दिनुहुन्थ्यो ।’

आमासँगको आफ्नो सम्बन्धबारे उनले थप लेखेका छन्, ‘जब मलाई पद्म पुरस्कारले सम्मानित गरिएको थियो, म आमासँगै राष्ट्रपति भवन गएको थिएँ । मेरो दराजमा अझै पनि उहाँको एउटा सल छ, जसमा उहाँको सुगन्ध ताजै छ । सलको एउटा कुनालाई आफ्नो सासले न्यानो बनाएर मेरो आँखामा राख्दिनु हुँदा त्यो मेरो जीवनको सबैभन्दा शान्त क्षण हुन्थ्यो ।’

परवीन मोरादसँग विवाह

अलीगढ विश्वविद्यालयमा पढ्दा उनको भेट डाक्टरीको पढाइ गरिरहेकी पाकिस्तानकी नागरिक परवीन मोरादसँग भयो ।

त्यतिबेला उनी १९ वर्षका थिए । तर पनि उनले आफूभन्दा करिब १५ वर्ष जेठी परवीनलाई विवाहको प्रस्ताव राखे । र, दुवैले विवाह पनि गरे ।

नसीर लेख्छन्, ‘उनी हेर्नमा त्यति सुन्दर थिइनन् । तर उनले लगाउने लुगाले मलाई आकर्षित गर्थ्यो । उनी धेरै हाँस्थिन् । हामीले एक(अर्काको हात समातेर हिड्दा देख्ने मान्छेहरू खुसुखुसु कुरा गर्थे । अनि नोभेम्बर १, १९६९ मा हामीले गुपचुप रूपमै विवाह गर्यौँ। धेरै दिनपछि मैले बुबालाई थाहा दिए । उहाँले पत्र लेखेर मलाई ‘बेककूप’ भन्नु भएको थियो ।’

तर सन्तान भएपछि उनीहरूको सम्बन्ध बिग्रियो । नसीरले छोरी हिबाको जन्मपछि छोरीसँग नै इर्ष्या हुन थालेको आफ्नो जीवनीमा उल्लेख गरेका छन् । उनका अनुसार छोरीको जन्मपछि परवीनको जीवनमा सबैभन्दा महत्त्वपूर्ण व्यक्ति उनी रहेनन् । यसले परवीनप्रतिको उनको आकर्षण कम हुँदै गयो ।

त्यसपछि दिल्लीबाट अलीगढको उनको साप्ताहिक यात्रा मासिक यात्रामा बदलियो । र, पछि त बिस्तारै बन्द नै भयो । यता परवीन सुरुमा इङ्गल्यान्ड र त्यसपछि इरानमा बस्न थालिन् ।

अध्ययन र पहिलो फिल्म

नसीरुद्दीन शाहले दिल्लीको नेसनल स्कूल अफ ड्रामामा भर्ना भए । त्यहाँ उनी स्कूलका निर्देशक अलकाजीको सम्पर्कमा आए । अलकाजीलाई नसीरले अभिनयको पढाइ गरेको मन परेको थिएन । नसीर निर्देशनतर्फ लागेको उनको चाह थियो ।

यता अलकाजीको व्यक्तित्वका धेरै पक्षले नसीरलाई प्रभाव पारिरहेको थियो । ‘सानाभन्दा साना कुरामा पनि अलकाजीको नजर रहन्थ्यो । निर्देशक भएर पनि उनले शौचालयको सफाइमा ध्यान दिन्थे । अक्सर उनी आफैं पनि शौचालय सफा गरिरहेका हुन्थे,’ उनले अलकाजीबारे लेखेका छन् ।

त्यहाँपछि उनले पुणेको फिल्म इन्स्टिच्युटमा अभिनयको पढाइ जारी राख्ने निर्णय गरे।

त्यसका लागि उनका दाइहरू जहीर र जमीरले पढाइका लागि पैसा पठाइदिन्थे  । यद्यपि उनीहरू दुवैले हरेक महिना मात्र ६०० रुपैयाँ कमाउँथे । र विवाहित भए पनि १०० रुपैयाँ नसीरलाई पठाउँथे ।

र त्यही पुणे फिल्म इन्स्टिच्युटमा पढिरहँदा उनलाई फिल्मको मौका आयो ।  सो कलेजका निर्देशक गिरीश कर्नाडले उनलाई सुझाएका थिए । त्यसपछि नै उनी श्याम बेनेगलको फिल्म ‘निशान्त’मा जोडिएका थिए । नसीरुद्दीनले आफ्नो आत्मकथामा बताए अनुसरा यो फिल्मका लागि उनलाई १० हजार भारु दिइएको थियो ।

उक्त फिल्म रिलिज भइसकेको थियो । मसूरीमा मल्ल नजिक उनका बुबा घुमिरहेका थिए । त्यहाँ उनले छोराको नाम भएको फिल्मको पोस्टर देखे । उनी सिधै रियल्टो टकीजमा उनको फिल्म हेर्न गए । घर फर्केर उनकी आमालाई पनि उनको अभिनयको बारेमा बताए । यता एक्लै किन फिल्म हेरेर आएको भनी आमा रिसाइन् । फलस्वरूप आमालाई लगेर फेरि उनका बुबा छोरा खेलेको फिल्म हेर्न गए ।

मन्थन र मासूममा जबरदस्त अभिनय

त्यसपछि नसीरका एकपछि अर्को फिल्महरूले समीक्षकहरूबाट प्रशंसा पाउन थाल्यो । सबैभन्दा पहिले ‘मन्थन’ आयो। यस फिल्म बनाउन गुजरात सहकारी दुग्ध महासङ्घका पाँच लाख सदस्यहरूले दुई–दुई रुपैयाँ दिएर १० लाख रुपैयाँ जम्मा गरेका थिए ।

यो फिल्म दश हप्तासम्म बम्बईका सिनेमाघरहरूमा हाउसफुल भएर चल्यो । त्यसपछि भूमिका, कथा, स्पर्शु, अल्बर्ट पिन्टोको गुस्सा क्यों आता है, मण्डी, जुनून,  उमराव जान, पार जस्ता धेरै फिल्महरूमा नसीरले आफ्नो अभिनयको क्षमता प्रमाणित गरे ।

सन् १९८३ मा आएको ‘मासूम’ उनका लागि फेरि उत्कृष्ट भयो । त्यहाँ उनले गरेको जबरदस्त अभिनयलाई धेरैले प्रशंसा गरेका थिए । जसलाई लिएर त फिल्मका निर्देशक शेखर कपुरले एक अन्तर्वार्तामा भनेका छन्, ‘फिल्म निर्माताको रूपमा मेरो जीवनको सबैभन्दा ठूलो दुःख यो रह्यो कि मैले नसीरसँग ‘मासूम’ पछि कहिल्यै काम गरिनँ । यो फिल्ममा उनको अभिनय यति ताजा छ कि लाग्छ फिल्म हिजो मात्रै बनाइएको हो । यसमा कुनै शङ्का छैन कि उनी भारतका महान् कलाकारहरूमध्ये एक हुन्’

स्पेन्सर ट्रेसीबाट प्रभावित

करियरको सुरुमै नसीरुद्दीन शाहले आफूसँग फिल्म स्टारको जस्तो अनुहार नभएको र ठेठ हिन्दी फिल्मका कलाकारजस्तै नाच्ने क्षमता नभएको बताएका थिए । यस्तो भन्ने उनले सुरुमा शम्मी कपूरको नक्कल गर्दै बस्थे ।

तर जब उनले हेमिङ्वेको उपन्यासमा आधारित अङ्ग्रेजी फिल्म ‘ओल्ड म्यान एन्ड द सी’ हेरे, त्यसपछि ‍उनको पुरानो सोच भत्कियो । उक्त फिल्म हेरेपछि नै हो, उनलाई लाग्यो जब साधारण अनुहार भएको कलाकार स्पेन्सर ट्रेसीले गजबको स्क्रिन प्रेजेन्स देखाउन सक्छन्, तब मैले किन नसक्ने ?

यसरी उनी अभिनेताको कठित क्षमता नहुँदाहुँदै पनि  स्पेन्सर ट्रेसीबाट प्रभावित भए । र अभिनय क्षेत्रमा रहिरहे । तर लामो करियर यात्रामा उनले कलात्मक फिल्महरूमा त काम गरे, गरे । सँगै व्यावसायिक फिल्महरूमा पनि उनी सफल भए । सन् १९८९ मा आएको ुत्रिदेवु, सन् २०११ मा आएको फिल्म डर्टी पिक्चर, चमत्का, मोहरा, चाइना गेट र जिन्दगी न मिलेगी दोबारा जस्ता कमर्सियल फिल्महरूमा उनले काम गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?