
News Summary
Generated by OK AI. Editorially reviewed.- चीनका राष्ट्रपति सी चिनफिङले एससीओ प्लस बैठकमा नयाँ ग्लोबल गभर्नेन्स इनिसिएटिभ (जीजीआई) प्रस्ताव राखेका छन्।
- सीले जीजीआईका पाँच सिद्धान्तहरू सार्वभौमिक समानता, अन्तर्राष्ट्रिय कानूनी शासन, बहुपक्षीयता, जनमुखी दृष्टिकोण र वास्तविक काममा केन्द्रित हुने बताए।
- रूसी राष्ट्रपति पुटिनले एससीओले युरेशियामा नयाँ सुरक्षा प्रणालीको आधार तयार गरेको र पुरानो मोडेल विस्थापित गर्ने बताए।
१६ भदौ काठमाडौं । चीनका राष्ट्रपति सी चिनफिङले सोमबार तियानजिन शहरमा आयोजित शाङ्घाई सहयोग संगठन प्लस (एससीओ प्लस) को बैठकमा ‘ग्लोबल गभर्नेन्स इनिसिएटिभ’ (जीजीआई) को प्रस्ताव राखेका छन् ।
चीनले सीको नेतृत्वमा यसअघि नै तीन वटा पहल ‘ग्लोबल डेभलपमेन्ट इनिसिएटिभ’ (जीडीआई), ‘ग्लोबल सेक्युरिटी इनिसिएटिभ (जीएसआई) र ‘ग्लोबल सिभिलाइजेसन इनिसिएटिभ’ (जीसीआई) अघि बढाइरहेको छ । एससीओ प्लसको बैठकमा सोमबार उनले अर्को नयाँ पहल ‘जीजीआई’ अघि बढाउने घोषणा गरेका हुन् ।
सोमबारको बैठकमा सम्बोधन गर्दै सीले जीजीआईको बारेमा भने,’म सबै देशहरूसँग मिलेर अझ न्यायपूर्ण र समान विश्व शासन प्रणाली निर्माण गर्न तथा मानवताका लागि साझा भविष्य भएको समुदायतर्फ अगाडि बढ्न इच्छुक छु ।’
ग्लोबल टाइम्सका अनुसार सीले जीजीआईका पाँच प्रमुख सिद्धान्तहरू हुने उल्लेख गरे । ती पाँच सिद्धान्तमा सार्वभौमिक समानतामा अडिग रहनुपर्ने, अन्तर्राष्ट्रिय कानुनी शासनको पालना गर्नुपर्ने ,बहुपक्षीयताको अभ्यास गर्नुपर्ने, जनमुखी दृष्टिकोणको वकालत गर्नुपर्ने र वास्तविक कामहरूमा केन्द्रित हुनुपर्ने भन्ने छ । ‘ग्लोबल गभर्नेन्स इनिसियटिभ’ सुरक्षा, विकास र सभ्यतासम्बन्धी उनका पुराना तीन इनिसिएटिभकै निरन्तरता हो ।
‘म सबै देशहरूसँग मिलेर अझ न्यायसंगत र समान विश्व शासन प्रणाली निर्माण गर्न चाहन्छु’ सीले भनेका छन् । उनले विकासशील देशहरूको आवाज र प्रतिनिधित्व बढाउने, बहुपक्षीयताको अभ्यास गर्ने प्रतिबद्धता व्यक्त गरे । ‘हामीले पर्खालहरू बनाउने होइन भत्काउनुपर्छ । एकता खोज्नुपर्छ, टुक्र्याउने प्रयास होइन,’ उनले भने ।
सीले अमेरिकी प्रभुत्वको घुमाउरो तरिकाले विरोध गरे । ‘केही थोरै देशका नियमहरू सबैमाथि थोपरिनु हुन्न,’ उनले भने,’हामी एकाधिकारवाद, शीतयुद्धकालीन सोच र धम्कीपूर्ण अभ्यासहरुको विरोध गर्छौं ।’
रूसी राष्ट्रपति भ्लादिमिर पुटिन, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगान जस्ता प्रमुख नेताहरू सहभागी बैठकमा उनले एससीओ सदस्य राष्ट्रहरूलाई २ अर्ब युआन अनुदान दिने घोषणा गरे ।
साथै भविष्यका ३ वर्षभित्र एससीओ बैंकिङ कन्सोर्टियमलाई १० अर्ब युआन ऋण दिने बताए । उद्घाटन भाषणमा उनले भने,’हामीले हाम्रो विशाल बजारको क्षमताको उपयोग गर्दै, सदस्य राष्ट्रहरूबीचको आर्थिक परिपूरकताबाट फाइदा उठाउनु पर्छ, र व्यापार तथा लगानी प्रक्रियालाई सजिलो बनाउनुपर्छ।’
उनले हामीले समान र व्यवस्थित बहु-ध्रुवीय विश्व, समावेशी र लाभदायक आर्थिक विश्वव्यवस्था प्रवर्द्धन गर्नुपर्ने बताए । विश्व शासन प्रणालीलाई अझ न्यायपूर्ण र समान बनाउनुपर्ने उनको धारणा थियो ।
सीको विचारमा पुटिनको समर्थन
सीको टिप्पणीको समर्थन गर्दै रूसी राष्ट्रपति पुटिनले एससीओले युरेशियामा सुरक्षा सम्बन्धी नयाँ प्रणालीको आधार तयार गर्दै गएको बताए । यो नयाँ प्रणालीले ‘पुरानो युरोप-केन्द्रित र युरो-एटलान्टिक मोडेललाई विस्थापित गर्नेछ । ‘यसले सबै देशहरूको चासोलाई ध्यानमा राख्नेछ, सन्तुलित हुनेछ, र केही देशहरूको आफ्नै सुरक्षाको नाममा अरूको सुरक्षा संकटमा पार्ने प्रयासलाई रोक्नेछ’ पुटिनले भने ।
चीनका तीन पहल
१.’ग्लोबल डेभलपमेन्ट इनिसिएटिभ’ (जीडीआई) : यो चीनको वैश्विक विकास पहल हो । यसको उद्देश्य समावेशी र दिगो विकास प्रवर्द्धन गर्नु, गरिबी न्यूनीकरण, शिक्षा, हरित ऊर्जा, डिजिटल पहुँच, र नवप्रवर्तनमा जोड दिने छ । विकासशील देशहरूलाई प्राविधिक र वित्तीय सहयोग प्रदान गर्नु पनि यसको अर्को लक्ष्य हो ।
२. ‘ग्लोबल सेक्यूरिटी इनिसिएटिभ (जीएसआई) : यसको मुख्य उद्देश्य साझा, समावेशी, सहयोगी र दिगो सुरक्षा अवधारणालाई अघि बढाउनु हो ।
त्यस्तै सबै राष्ट्रहरूको सार्वभौमिकता र क्षेत्रीय अखण्डताको सम्मान गर्ने पनि यसको उद्देश्य रहेको चीनले बताउने गरेको छ ।
संवाद र वार्तामार्फत द्वन्द्व समाधान गर्ने जोड, शीतयुद्धकालीन मानसिकताबाट उन्मुक्ति र सैन्य गठबन्धनहरूको विरोध यसको अर्को उद्देश्य हो । चीनको सुरक्षा सम्बन्धी पहल जीएसआईमा नेपालले सहयोग गरेको भन्ने चीनको वक्तव्यले अहिले नेपालमा तरंग आइरहेको छ ।
३. ‘ग्लोबल सिभिलाइजेसन इनिसिएटिभ’ (जीसीआई) : यो सभ्यता केन्द्रित छ । यसको उद्देश्य संस्कृति र सभ्यताको विविधताको सम्मान गर्ने र सभ्यताहरूबीच संवाद र सहकार्य आदान प्रदान गर्ने उल्लेख छ ।
एक सभ्यता वा प्रणाली थोपर्ने कुराको विरोध गर्ने यसको लक्ष्य छ । यसले विश्व धारणा भन्दै पश्चिमाहरुले थोपर्ने विचारहरुको आलोचना गर्छ ।
प्रतिक्रिया 4