News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालको बाघ भैरव डोजोले १८औं इन्डो–नेपाल खुला कराते प्रतियोगिताको उपाधि जितेको छ ।
- प्रतियोगितामा कुल ७ स्वर्ण, ३ रजत र २ कांस्य जित्दै बाघ भैरव टोली च्याम्पियन बनेको हो ।
- यस प्रतियोगितामा पुरुषतर्फ रोशन खत्री र महिलातर्फ अयुष्मा मगर उत्कृष्ट खेलाडी घोषित भएका छन् ।
२३ जेठ, काठमाडौं । नेपालको बाघ भैरव डोजोले १८औं इन्डो–नेपाल खुला कराते प्रतियोगिताको उपाधि शनिबार जितेको छ । बाघ भैरवले समग्रमा ७ स्वर्ण, ३ रजत र २ कांस्यसहित टिम च्याम्पियन बन्यो ।
मित्रपार्कस्थित आयोजक टेक्सास इन्टरनेसनल कलेजमा भएको प्रतियोगितामा ६ स्वर्ण, ७ रजत र २३ कांस्यसहित भारत दोश्रो भयो । नेपालको ठैब डोजो ४ स्वर्ण र १ कांस्य सहित तेश्रो स्थानमा रह्यो ।
नेपाल गोजुकाइ कराते डो संघको प्राविधिक सहयोगमा भएको प्रतियोगिताको पुरुषमा अरनिको डोजोका रोशन खत्री तथा महिलामा चिल्ड्रेन मोडेल माविकी अयुष्मा मगर उत्कृष्ट खेलाडी घोषित भए ।

विजेतालाई काठमाडौं महानगरपालिका प्रवक्ता समेत रहेका वडा १७ का अध्यक्ष नवीन मानन्धर, आयोजक टेक्सासका कार्यकारी अध्यक्ष भेषराज पोखरेललगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । सो अवसरमा काठमाडौं महानगरपालिका वडा ७ का अध्यक्ष विमलकुमार होडा र समाजसेवी सुनिल शाहीलाई सम्मान गरिएको थियो ।

दुईदिने प्रतियोगितामा नेपालबाट २ सय ३२ र भारतबाट २२ गरी जम्मा २ सय ५४ खेलाडीले २२ स्पर्धामा प्रतिस्पर्धा गरेको गोजुकाइ कराते डो संघका महासचिव समेत रहेका प्रतियोगिता संयोजक इन्द्रबहादुर शाही खड्गेले जनाएका छन् ।

प्रतिक्रिया 4