News Summary
Generated by OK AI. Editorially reviewed.- सिरहाको गोलबजारमा मधेश प्रदेशकै पहिलो अत्याधुनिक ट्रमा सेन्टर निर्माण गर्ने प्रक्रिया औपचारिक रूपमा अघि बढेको छ।
- २० करोड ३३ लाखभन्दा बढी लागतमा निर्माण हुने यो आयोजना २०८५ जेठ २२ गतेभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
- ट्रमा सेन्टरको निर्माणमा मधेश प्रदेश सरकारको ४० प्रतिशत र संघीय सरकारको ६० प्रतिशत लगानी रहने भएको छ।
१७ असार, सिरहा ।सिरहाको गोलबजारमा मधेश प्रदेशकै पहिलो अत्यधुनिक ट्रमा सेन्टर निर्माण गर्ने प्रक्रिया औपचारिक रूपमा अघि बढेको छ ।
मधेश प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पहलमा गोलबजार नगरपालिका–४ र ८ को सिमानामा, पूर्व–पश्चिम राजमार्ग छेउस्थित कोभिड अस्पतालको परिसरमा ट्रमा सेन्टर निर्माण हुन लागेको हो ।
मन्त्रालयले यसका लागि ठेकेदार कम्पनीसँग सम्झौता पनि गरिसकेको छ ।
२० करोड ३३ लाख ५० हजार ५०८ रुपैयाँ लागतमा निर्माण हुने उक्त आयोजना २०८५ जेठ २२ गतेभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
नापजाँच प्रतिवेदनका आधारमा बाँकी कानुनी तथा प्राविधिक प्रक्रिया पूरा गरी निर्माण कार्यलाई तीव्र रूपमा अघि बढाइने मन्त्रालयले जनाएको छ ।
मधेश प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका इन्जिनियर शेखर सिंहका अनुसार, ट्रमा सेन्टरको भवन साढे २ तलाको हुनेछ । भवनको लम्बाइ ७१ मिटर र चौडाइ ३५ मिटर रहने जनाइएको छ ।
गोलबजार नगरपालिका–४ का वडा अध्यक्ष सकलदेव यादवले ट्रमा सेन्टर निर्माण गोलबजार र समग्र मधेश प्रदेशका लागि ऐतिहासिक उपलब्धि भएको बताए ।
‘नेपालकै महत्वपूर्ण स्वास्थ्य पूर्वाधारमध्ये एक बन्ने यो ट्रमा सेन्टर सञ्चालनमा आएपछि सिरहा, सप्तरी, धनुषा, महोत्तरीलगायत मधेश प्रदेशका आठै जिल्लाका नागरिकले गुणस्तरीय आकस्मिक उपचार सेवा पाउनेछन्,’ उनले भने ।
मधेश प्रदेशका पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री शत्रुधन प्रसाद सिंहले मधेश प्रदेशमा बढ्दो जनसंख्या, पूर्व–पश्चिम राजमार्गको विस्तार तथा बढ्दो सडक दुर्घटनालाई मध्यनजर गर्दै ट्रमा सेन्टर आवश्यक रहेको बताए ।
सिरहा, सप्तरी, धनुषा, महोत्तरी, सर्लाहीलगायत जिल्लामा दुर्घटनापछि समयमै उपचार नपाएर धेरैले ज्यान गुमाउनुपरेको अवस्था छ ।
ट्रमा सेन्टर निर्माणमा मधेश प्रदेश सरकारको ४० प्रतिशत र संघीय सरकारको ६० प्रतिशत लगानी रहने बताइएको छ ।
प्रतिक्रिया 4