
News Summary
Generated by OK AI. Editorially reviewed.- जनकपुरधाम उपमहानगरपालिकाले करोडौं खर्च गरेर पोखरीको सौन्दर्यकरण गरेको भए तापनि हालसम्म त्यो कुरुप देखिन्छ र फोहोरले भरिएको छ।
- सौन्दर्यकरणको काममा भ्रष्टाचारको आशंका र संरचनाको तोडफोड भएको कारणले पोखरीको पर्यटकिय उपयोग अझै सम्भव भएको छैन।
- स्थानीय र सरकारी प्रयासहरू भए तापनि पोखरीको संरक्षण र प्रयोगमा ल्याउन अझै थप खर्च र सुधार आवश्यक छ।
४ जेठ, जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका कार्यालय पछाडि दिर्घीका सर पोखरी छ । यो पोखरी सौन्दर्यकरणमा जनकपुरधाम उपमहानगरपालिका कार्यालयले झण्डै साढे ६ करोड रुपैयाँ खर्च गरिसकेको छ । तर, पोखरी भने घाँस र झाडीले ढाकिएको फोहोर बिसर्जनस्थल जस्तो देखिन्छ ।
उपमहानगरपालिका कार्यालयले उपलब्ध गराएको विवरण अनुसार पोखरीलाई सौन्दर्यकरण गर्दै पर्यटकीय स्थलको रुपमा विकास गर्न २०७७÷७८ मा ठेक्का आह्वान भएको थियो । कन्टिजेन्सी बाहेक ४ करोड ८७ लाख २१ हजार १०२.७० रुपैयाँ रहेकोमा लागत इस्टिमेट तयार गरी २० चैत २०७७ मा टेण्डरको लागि सूचना प्रकाशित गरेको थियो ।
सौन्दर्यकरणको ठेक्का बोलपत्रमार्फत गौरी पार्वती महतो जे.भी. जनकपुर–८ ले पाएको थियो । उसले भ्याटसहित ४ करोड ७४ लाख ६६ हजार ६६२.७६ रुपैयाँमा ठेक्का पाएको थियो । १३ साउन २०७८ मा भएको सम्झौताअनुसार १५ माघ २०७९ भित्र सौन्दर्यकरणको काम सम्पन्न गर्नुपर्ने थियो ।
सम्झौताअनुसार नै पोखरीको तीन तिर पर्खाल निर्माण गरिएको छ । चारै किनारमा इन्टरलक ब्लक ओछ्याइएको छ । पोखरीमा तीनतर्फबाट रिटेनिङ वाल लगाइएको छ भने ठाउँठाउँमा घाट निर्माण, रेलिङ्को काम भएको छ । किनारका विभिन्न स्थानमा बस्नका लागि पक्की बेन्च बनाइएको छ ।
उत्तर पश्चिम पोखरीको कुनामा आकर्षक पिलर बनाएर शिवको मूर्ती राखिएको छ । त्यो पानीको फोहोरा आउने गरी निर्माण गरिएको छ । त्यही छेउमा पिलरमाथि तीनवटा माटोका भाँडा बनाइएको छ । पोखरी तिर प्रवेश गर्ने पश्चिमउत्तर कुनामा टिकट काउन्टर घर बनाइएको छ । पूर्व किनारमा शौचालय निर्माण गरिएको छ ।
तर साढे ६ करोड खर्चेर सौन्दर्यकरण गरेको भनिएको पोखरी कुरुप छ । ठाउँठाउँमा जडान गरिएका बत्ती फुटाइएको छ । पोखरीको किनारामा बिछ्याइएको इन्टरलक ब्लक पनि फुटेका छन् । त्यहीँ फोहोर फाल्नाले पोखरी डम्पिङ्साइट जस्तो देखिन्छ । छेउका केही घरकाले र उपमहानगरपालिकाले समेत त्यहीँ फोहोर फाल्ने गरेको प्रत्यक्षदर्शी बताउँछन् ।
लामो समयदेखि सौन्दर्यकरणको काम हुँदा पनि अहिलेसम्म प्रयोगमा नआउनुमा उपमहानगरपालिका कार्यालय जिम्मेबार रहेको स्थानीयको गुनासो छ ।
स्थानीय धर्मराज मण्डल सात वर्षदेखि निरन्तर उपमहानगरपालिकाले पोखरीमा केही न केही खर्च गर्दै आएको छ, तर उपलब्धि शून्य छ । ‘यो पोखरी सौन्दर्यकरणको लागि ७ वर्षदेखि बजेट राख्ने, खर्च गर्ने गरेको छ । तर अहिलेसम्म पोखरी घाँसे मैदान छ । बत्तीहरु तोडफोड भइसकेको छ । करोडौं खर्चेर पनि प्रतिफल केही छैन’ उनले भने ।
जग्गा विवादको कारण पश्चिम दक्षिण कुनामा भने पर्खाल बनेको छैन । पर्खाल लगाउन खोज्दा त्यहाँका एक स्थानीय अदालत पुगेका थिए । त्यसको कारण काममा अवरोध भएको थियो ।
पोखरी सौन्दर्यकरणका लागि पछिल्लो समय थपेको १० असार २०८१ सम्मको म्याद ठेकेदारले गुजारीसकेको छ । ४ करोड ७४ लाखमा पछि भेरियेसन गरी रकम थप गरिएको थियो । भेरिएसन तथा मूल्य अभिवृद्धि कर समेत जोडेर निर्माण कम्पनीलाई ६ करोड ३५ लाख ८० हजार ६५४. ३९ पैसा भुक्तानी गरेको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार ६ पटकमा ठेकदारलाई पूर्णभुक्तानी गरिएको थियो ।
२० असार २०८१मा अन्तिम भुक्तानी भएको छ । कार्यालयका एक कर्मचारीका अनुसार अन्तिम भुक्तानीमा करिब साढे ४ लाख रुपैयाँ बढी भुक्तानी दिइएको छ ।
सौन्दर्यकरणमा भ्रष्टाचार भएको भन्दै अख्तियारमा उजुरी समेत परेको छ । त्यसमा अख्तियारले विस्तृत अनुसन्धान अघि बढाइसकेको ती कर्मचारीको भनाइ छ ।
पोखरीको पश्चिततर्फ उपमहानगरपालिका कार्यालय छ । अन्य तीन तिर स्थानीयको घर छ । रिंगरोड र सडकबाट पनि पोखरी देखिँदैन ।
त्यही पोखरी सिंगारेर पर्यटकीय स्थल बनाउने भन्दै पूर्वमेयर लालकिशोर साहले अभियान सुरु गरेका थिए । सौन्दर्यकरण सम्पन्न भएको भनिए पनि पोखरी वरिपरि झाडी, फोहोर र कुरुप भएकाले स्थानीय जाँदैनन् । पोखरीमा तोडफोड भएको संरचना निर्माणमा थप २० लाख रुपैयाँ थप खर्च हुने अनुमान छ ।
‘सौन्दर्यकरणको काम सकियो । तर संरक्षण हुन सकेन । कतिपय घरबेटीहरुले किनारमा फोहोर फाल्छन् । कतिपयले शौचालयको पाइप पनि त्यतैतर्फ मोडेको पनि सुनिएको छ । बत्ती, घाट लगायतको संरचना तोडफोड भएको छ । यो सबैलाई पुरानै अवस्थामा ल्याउन २० लाख रुपैयाँभन्दा बढी नै खर्च हुन सक्छ’ नगरपालिकाका एक कर्मचारी भन्छन् ।
जनकपुरधामका मेयर मनोजकुमार साह पोखरी सौन्दर्यकरणको योजनाको काम एक वर्षअघि मात्र सम्पन्न भएपनि प्रयोगमा ल्याउन केही काम बाँकी रहेको बताउँछन् । ‘यो काम पूर्वमेयर लालकिशोर साहकै पालामा सुरु भएको थियो । गत वर्ष मात्र काम सकिएको छ । अब त्यसलाई प्रयोगमा ल्याउन सरसफाइसँगै तीन फिट माटो हटाउनु पर्छ । त्यो काम सुरु भएको छ’ उनले भने ।
उपमहानगरपालिकाले घाँससँगै माटो काटेर हटाउन ३० लाख रुपैयाँमा टेण्डर लगाइसकेको उनले बताए ।
प्रतिक्रिया 4