+
+
Shares
अपडेट :

विमान दुर्घटनाको दोस्रो दिन अहमदाबादमा के भइरहेको छ ?

अहमदाबाद गुजरात राज्यको एक प्रमुख सहर हो । त्यहाँ करिब ८० लाख जनसंख्या रहेको छ र त्यहाँको व्यस्त विमानस्थल घना आवासीय क्षेत्रले घेरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ३० गते १२:५०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एयर इण्डियाले दुर्घटनामा बाँच्न सफल एक मात्र व्यक्ति विश्वासकुमार रमेशले भने - मलाई थाहा छैन म कसरी विमानबाट बाहिर निस्कें ।
  • भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनास्थल भ्रमण गरी जानकारी लिए र मृतकको अन्तिम संख्या डीएनए परीक्षणपछि मात्र सार्वजनिक गरिने बताइयो ।
  • बेलायत र अमेरिकाका वायु दुर्घटना अनुसन्धान टोलीहरूले भारतीय निकायलाई सहयोग गर्ने घोषणा गरेका छन्।

३० जेठ, काठमाडौं । एयर इण्डियाको बोइङ ७८७–८ विमान दुर्घटनाग्रस्त भएको दोस्रो दिन पनि भारतीय सुरक्षा अधिकारीहरुले तालिम प्राप्त ट्याकर डगहरुको सहयोगमा खोजी कार्य जारी राखेका छन् ।

दुर्घटनामा विमानमा रहेका र जमिनमा रहेका गरी कम्तीमा २६५ जनाको मृत्यु भएको थियो । तीमध्ये कतिपयको शव निकालिसकिएको छ, अझै कतिपयको अवशेष फेला परिरहेको छ । विमानमा चालक दलका सदस्यसहित २४२ यात्रु थिए । उनीहरुमध्ये एक जना मात्र बाँच्न सफल भएका छन् ।

बीबीसीका अनुसार, घटनास्थलमा विमानसँग सम्बन्धित प्राविधिक सामग्रीहरुको समेत खोजी भइरहेको छ । अझै शवको टुक्राहरु भेटिने क्रम समेत जारी रहेको भनिएको छ ।

विमान दुर्घटनाको अनुसन्धानका लागि तालिम प्राप्त अनुसन्धान अधिकारीहरुसमेत खटिएका छन् । बेलायतले समेत अनुसन्धानका लागि विज्ञको टोली पठाउने बिहीबार सार्वजनिक गरेको थियो ।

भारतीय प्रधानमन्त्री घटनास्थलमा

शुक्रबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी २४१ जना यात्रुको मृत्यु भएको विमान दुर्घटनास्थलमा पुगेका छन् ।

दुर्घटनास्थलमा पुगेर करिब २० मिनेट विताएका उनले भग्नावशेषको अवलोकनसँगै स्थानीय अधिकारीहरुबाट त्यसबारे जानकारी लिएको बेलायती समाचार संस्था बीबीसीले जनाएको छ ।

घटनास्थलमा पुगेर उनले सञ्चारकर्मीहरुसँग बोलेनन् । तर, घटनास्थल वरिपरि हिँडेको र ब्रिफिङ लिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएका छन् । उनीसँग नागरिक उड्डयन मन्त्री किन्जारापु राम मोहन नायडुसहित अन्य वरिष्ठ अधिकारीहरु पनि त्यहाँ पुगेका थिए ।

प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जालमा भने यो घटनालाई ‘शब्दले बयान गर्न नसकिने पीडादायी घटना’ भनेका छन् ।

शवको टुक्रा भेटिने क्रम जारी

दुर्घटनग्रस्त विमानको पुच्छर नजिकैको अस्पतालको मेडिकल स्टाफ बस्ने होस्टलको दोस्रो तल्लाबाट बाहिर निस्किएको थियो ।

प्रत्यक्षदर्शीहरुका अनुसार, विमानको अगाडिको भाग र अगाडिको पांग्रा एक क्यान्टिन भवनमा खसेको थियो, जहाँ विद्यार्थीहरू लञ्च गर्दै थिए । त्यसक्रममा त्यहाँ बसेकाहरुको समेत ज्यान गएको थियो ।

अहमदाबादका उच्च प्रहरी अधिकारी कनन देसाईले अहिलेसम्म २६५ वटा शव गनिएको बताएका बेलायती पत्रिका द गार्डियनले जनाएको छ । ‘यो संख्यामा जमिनमा मर्नेहरू पनि समावेश छन्’, समाचारमा भनिएको छ, ‘तर अझै शवका टुक्रा भेटिन सक्ने भएकाले संख्या बढ्न सक्ने उनले बताएका छन् ।’

डीएनए संकलन जारी

गृहमन्त्री अमित शाहले बिहीबार राति वक्तव्य जारी गर्दै मृतकको अन्तिम संख्या डीएनए परीक्षणपछि मात्र सार्वजनिक गरिने बताएका थिए । उनले भनेका छन्, ‘विदेशमा रहेका आफन्त भएका परिवारलाई पहिले नै जानकारी गराइएको छ र उनीहरूको डीएनए नमुना संकलन गरिनेछ ।’

बेलायती अखबार द गार्डियनका अनुसार, अहमदाबादमा यात्रुका आफन्तहरू शुक्रबार आपतकालीन केन्द्रमा भेला भएर डीएनए नमुना दिइरहेका थिए ताकि आफन्तको पहिचान गर्न सकियोस् ।

विमानमा सवार २४२ जनाको यात्रु सूचीमा २ जना पाइलट र १० जना ‘केबिन क्रू’ थिए । समाचार संस्था रोयटर्सका अनुसार, तीमध्ये २१७ जना वयस्क, ११ जना बालबालिका र २ शिशु थिए । एयर इन्डियाका अनुसार तीमध्ये १६९ जना भारतीय, ५३ जना बेलायती, ७ जना पोर्चुगिज र १ जना क्यानाडेली नागरिक थिए ।

‘विमानबाट कसरी बाहिर निस्केँ थाहा छैन’

एयर इण्डियाले दुर्घटनामा बाँच्न सफल एक मात्र व्यक्ति विश्वासकुमार रमेशको उपचार भइरहेको जनाएको छ । दुर्घटनापछि खिचिएको भिडियोमा रमेश घाइते र रगताम्य अवस्थामा एम्बुलेन्सतर्फ हिँड्दै गरेको देखिएको थियो ।

प्रहरीले उनले आपतकालीन निकास सिटमा बसेका कारण बाहिर निस्कन सफल भएको जनाएको छ । उनका भाइ नयन कुमार रमेश (२७) ले समाचार संस्था एपीलाई भनेका छन्, ‘उहाँले भन्नुभयो – मलाई थाहा छैन म कसरी विमानबाट बाहिर निस्कें ।’

विश्वासकुमार रमेश

जमिनबाट झन्डै १०० मिटर माथि उडेको करिब एक मिनेटमै विमान दुर्घटनाग्रस्त भएको थियो । लगत्तै विमानले आपतकालीन अवस्थाको संकेत ‘मेडे’ दिएको थियो । लगत्तै विमान खसेको नागरिक उड्डयन महानिर्देशनालयले जनाएको छ ।

अहमदाबाद गुजरात राज्यको एक प्रमुख सहर हो । त्यहाँ करिब ८० लाख जनसंख्या रहेको छ र त्यहाँको व्यस्त विमानस्थल घना आवासीय क्षेत्रले घेरेको छ ।

क्षतिपूर्ति र राहत

बोइङ कम्पनीले एयर इन्डियासँग सम्पर्कमा रहेको र यस दुर्घटनामा सहायता गर्न तयार रहेको जनाएको छ । विमान सुरक्षा नेटवर्कको डेटाबेसअनुसार, बोइङ ७८७ को यो पहिलो दुर्घटना हो ।

बेलायत र अमेरिकाका वायु दुर्घटना अनुसन्धान एजेन्सीहरूले भारतीय निकायलाई सहयोग गर्न टोली पठाउने घोषणा गरेका छन् ।

एयर इन्डियाको मातृ कम्पनी टाटा ग्रुपले दुर्घटनामा मारिएकाहरूका परिवारलाई १ करोड रुपैयाँ सहयोग गर्ने जनाएको छ । कम्पनीले घाइतेको उपचार खर्च पनि बेहोर्ने र विमानले क्षति पुर्याएको मेडिकल कलेजको पुनर्निर्माणमा सहयोग गर्ने जनाएको छ ।

भारतमा यसअघि पनि धेरै घातक विमान दुर्घटनाहरू भइसकेका छन्, जसमध्ये सन् १९९६ मा दुई विमान नयाँ दिल्लीको आकाशमा ठोक्किँदा करिब ३५० जनाको मृत्यु भएको थियो ।

सन् २०१० मा एयर इन्डिया एक्सप्रेसको विमान मंगलौर विमानस्थलमा दुर्घटना हुँदा १६६ मध्ये १५८ जनाको मृत्यु भएको थियो ।

अहमदाबाद विमान दुर्घटना
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?