+
+
Shares
बड्डाको समाजशास्त्र :

बहुरङ्गी बड्डा

नवीन विभास नवीन विभास
२०८२ असार २१ गते १९:२६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ‘बड्डा’ शब्दको प्रयोग विभिन्न भेग र सन्दर्भमा फरक अर्थ राख्दछ, जस्तै साथी, पति, यार, र वृद्धको रुपमा।
  • सामाजिक सञ्जाल, गीत, साहित्य र बोलचालमा ‘बड्डा’ को प्रयोग रंगीन र बहुरंगी छ।
  • मूलधार र परम्परागत भाषामा ‘बड्डा’ मजाक, सम्मान र उमेरको संकेत हो, जसको अर्थ सन्दर्भ अनुसार फरक हुन्छ।

‘बड्डालाई कस्तो छ हँ ?’

सामाजिक सञ्जाल र भेटमा बड्डाहरूले ‘बड्डा’ भनी बोलाउन थाले । साथीहरूलाई बड्डा भनी बोलाउने र ‘भातकारिता’क्रममा पनि कहिलेकसो बड्डा लेखेकाले होला, बड्डाहरूले सन्चोबिसन्चो समेत मिसाएर बड्डा भनी बोलाएको । ‘बड्डा’ले बड्डा भनी बोलाए मात्रै पनि फुल्ने यो ज्यान, सन्चोबिसन्चो नै सोधेपछि फुलेको मनको के कुरा गरौं र ! तपाईंलाई भन्नुपर्दा बाझोमन त घुरिनभीरको पहरामा फुलेको सिर्पाइला फूल भयो ।

‘बड्डा’ शब्द प्रयोग नहुने रापती पूर्वका ‘बड्डा’हरूले पनि बड्डा भनी बोलाउन थाले । साबिकको मध्य तथा सुदूरपश्चिममा प्रचलित बड्डा पूर्व पनि पुगेछ है भन्ने सिर्पाइला फूल त्यसबेला ओइलायो जब नबोलाउनुपर्नेले नि बड्डा भनी बोलाए । बड्डा खुशीको सिर्पाइला फूलमा त चिर्को बजाङ्ङो नै पर्‍यो । हुन पनि नबोलाउनुपर्नेले बोलाउने ती कतिका घरमै बड्डा थिए, कतिले बड्डा बनाएकै थिएनन् ।

(कसरी ? थाहा पाउन तपार्ईं बड्डाशास्त्र पुग्नुपर्नेछ । त्यसको लागि एकछिन पख्नुस् है !)

शब्दले दिने अर्थ सन्दर्भ र लिंग अनुसार फरक–फरक हुन्छ है भनी नसुझाउँदा सिर्पाइला फूलमा चिर्को बजाङ्ङो परेको हो । हुन पनि बड्डाको निजो खबर र असली अनुहार कस्तो हुन्छ भनेर नदेखाउँदा सिर्जिएको समस्या थियो । बड्डाको यस्तो–यस्तो अनुहार छ है भनेर नदेखाइकन बड्डा मात्र भनेर कसरी थाहा हुनु र बड्डाको असली रूप ?

ओक्खो ! बड्डा बात नबताए त बड्डा खड्डामै खस्ने खतरा खट्क्यो । बड्डा तपाईंसँग बड्डा विमर्शका लागि यो चौपारीमा आउन पर्‍यो।

पोइल जान जाम्, दाङमा रातमा घाम

बड्डा विमर्श गर्नुअघि एकघरी कुनै भेगका कुनै शब्द कसरी तथाकथित मूलधारको मजाक, खिसी र हियाइको सिकार भए ? यसबारे अलिकति सम्झौं है !

दाङ टिकरीकी कोमल वलीले पाँच वर्षअघि तीजमा ‘पोइल जान पाम्’ गाइन् (पोइल जान पाम्, तीज गीत, म्युजिक नेपाल, २०७७) ।

अहिलेसम्म पनि मूलधारेले वलीलाई उक्त तीज गीतको ‘पोइल’ले पोल्ने क्रम जारी छ ।

महिला(अ)मैत्री हिन्दू–सामन्तवादले थिलथिलो नेपाली समाजमा छोरीले बिहे गर्न पाम् भन्न समेत नसक्ने बेला वलीले गीतमा पोइल जाने गाएको कसरी पचाउनु ? तर वलीले पोइल जाने भनेर त्यति साह्रो ‘क्रान्तिकारी’ गाएकी होइनन् ।

उनले पोइल भनेर बिहे गर्न पाम् नै भनेकी हुन् । पश्चिमतिर पोइल जाने भनेको बिहे गर्ने हो । भलै अहिले तथाकथित मूलधारे हेजेमोनीले वलीको भेगमा पनि पोइललाई बिहे (न)बुझ्न थालेका छन्, त्यो अलग कुरा हो ।

रापतीको विशेषगरी रोल्पा, रुकुम र दाङतिरका लोकजन भन्छन्, ‘घाम भयो । घाम लाग्यो ।’ रातमा होस् कि बादल लागेको दिनमा होस्, बड्डाहरूले भन्छन्, ‘बड्डा आज त भष्मे घाम भयो ।’ तिनले घाम भयो भनेको गर्मी भयो भनेका हुन् । त्यसैले रापतीतिर रातमा पनि घाम लाग्न सक्छ, दिनमा पनि । घाम लाग्यो भनेको सूर्य उदायो भनेको होइन, गर्मी भयो भनेको हो ।
‘एक्कैघरी पख है, म झट्टै गादा पारेर आन्छु ।’

गादा पार्ने भनेको मगर महिला पहिरन गादा लगाउने हो, गादा ओढ्ने हो ।

सामाजिक सञ्जालमा बड्डा

बड्डा सुदूरपश्चिम, मध्यपश्चिमबाट पूर्व लागेछ भन्ने कुरा सामाजिक सञ्जाले छलफलले पनि देखाएको छ ।

आरएन पोखरेल (आईपोखरेल ट्वीटर ह्याण्डिल) १० वर्षअघि ट्वीट गरेका छन्, ‘यो ‘बड्डा’को अर्थ के हो भन्या, एउटाले खालि बड्डा–बड्डा भन्छ । जिस्काको हो कि सम्मान गर्‍या, बुझ्नै गाह्रो !’ (२९ मे २०१५)
ट्वीटमा ट्वीटरकर्मी बड्डा विमर्श नै चलेको छ ।

आर्यन (बिइङ अ नेपाली ट्वीटर ह्याण्डिल)ले ट्वीटेका छन्, ‘हाँ बड्डा हाँ यो पश्चिमतिरको शब्द हो रे मैले सुन्या ।’
त्यसपछि रोशन भट्टराई (सर अण्डरस्कोर रोशन ट्वीटर ह्याण्डिल) ट्वीटन्छन्, ‘दाङको भाषामा साथी भनेको रे त !’
पिके (आइएम हिअर फर यु १४३ ट्वीटर ह्याण्डिल)को ट्वीट छ, ‘दाङतिर साथीसँग बोल्दा प्रयोग गरिने शब्द हो दाजुहरू !’
सन्जोग (आईएम स्यापीएन्स ट्वीटर ह्याण्डिल)को ट्वीट गरेका छन्, ‘ए बूढा भन्या के !’

सुरेश गौतम गोठालो (जीटीएमसुरेश ट्वीटर ह्याण्डिल)ले ‘दंगाली हो’ भनेर सोधेका छन् । रोल्पाली भनेपछि त्यतैको पर्‍यो भनेर ट्वीटेका छन् ।

गौतम लेख्छन्, ‘त्यसो भए साथी भनेको हो बड्डा । हो, ए बूढा भन्या, दाङतिर साथीसँग बोल्दा प्रयोग गरिने शब्द, भन्ने रोल्पाली भनेपछि ।’

ट्वीटवाला नै कतिले आफ्नो नाउँ बड्डा राखेका छन् ।

जस्तोः बड्डा भैया, डोटेली बड्डा, दंगाली बड्डा, मिस्टर बड्डा, सुदामा द बड्डा, जबलपुरिया बड्डा ।

समाचार र साहित्यमा बड्डा

एउटा अनलाइनले त समाचार शीर्षक नै बड्डा बनाएको छ ।

‘भीडलाई छिचोलेर यात्रा गड्डाचौकीबाट घरतिर, यस्तै छ बड्डा हाम्रा सुदूरपश्चिमतिर’ (चैत ८, २०७६ को अर्थ सरोकार)

यो शीर्षक कोभिड–१९ को चकचकी चर्केर कोरोनाले कोर्दा नेपाल फर्कने नेपालीबारे लेखिएको थियो ।

यसैगरी, एउटा अनलाइनमा आएको संस्मरण शीर्षक पनि बड्डा छ, ‘झण्डै मरिया थ्यो, तैपनि जान्जी–आउन्जी रमाइलै भो बड्डा ।’ जुम्ला सिंजा गाउँपालिका– ६, जोडुका १८ वर्षे खम्मा बुढाले यार्सा संकलनको यात्रा संस्मरणमा बड्डा बोलेका थिए । उनी यार्सा बेच्न काठमाडौं आएकै तीन महिना भयो (नवराज कुँवर, झण्डै मरिया थ्यो, तैपनि जान्जी–आउन्जी रमाइलै भो बड्डा, शिलापत्र, २०७८ माघ २८) ।

बड्डा सम्बोधन गरिने भेग पुगेका सर्जकले आफ्ना सिर्जनामा बड्डालाई बड्डा बनाएका छन् ।

२०५२ देखि २०६३ सम्म नेपालमा चलेको माओवादी युद्धकालमा रोल्पा–रुकुमदेखि पश्चिम पुगेका डा. ऋषिराज बरालले आफ्ना सिर्जनामा बड्डा शब्द प्रयोग गरेका छन् ।

नियात्राकार युवराज नयाँघरेले पनि आफ्नो नियात्रामा बड्डा प्रयोग गरेका छन् ।

फेरि भयानक उकालो शुरू भयो ।

त्यही बीचमा भेटिई– राम्री । नाम मात्रै राम्री नि ! भीर र सातो लैजाने छाँगाछुर भिरालीमा आँखा थिग्रिन सकेन । कस्तो बिब्ल्याँटो नाम ! ‘बड्डा, केही खाने होइन ?’

मैले निकै अघिदेखि नै भनिरहेको थिएँ  (युवराज नयाँघरे, सिम्रुतुको साँझ, २०७५ चैत २५, नागरिक दैनिक) ।

बड्डा चलन भएकै भेगकाले त बड्डा लेख्ने नै भए ।

मस्तबहादुर : बड्डा, पैसा नभए’नि अरबको मरुभूमिमा कामचाहिं कर्रो छ ।

म : भने अनुसार तलब दिएन कि क्या हो ?

अफलाइन नामक कथामा मपात्र र मस्तबहादुर बीचको संवाद हो, यो । वैदेशिक रोजगारमा गएका पूर्व छापामारसँगको संवाद (२०७२ भदौ १९, कान्तिपुर, अफलाइनमा कमरेड, नवीन विभास) ।

दाङका खिम केसीले अमेरिकाबाट बेलाबेला बड्डा बोलाएका छन् । जो उनका सिर्जनामा देखिन्छ ।

पुरुषोत्तमले मलेसियाबाट बिहानै फोन गर्‍यो, ‘के छ बड्डा ! हालखबर, के गर्दैछस् ?’ उसको बड्डा सहितको प्रश्नले स्वाठ्ठै दाङ पुर्‍यायो । …मलाई ‘बड्डा’ भन्ने शब्द बडो मायालु लाग्छ । ‘बड्डा’ शब्दसँग म अनि मसँग ‘बड्डा’ शब्दको अलिक बढी नै समीप नाता छ । कोही कसैसँग अनि कहींकतै बोल्दा ‘बड्डा’ शब्द प्रयोगमा नआए केही छुट्यो या केही भन्न बिर्सिएँ कि जस्तो लाग्छ …।

दाङको अलि चल्तीको शब्द हो, ‘बड्डा’ । म अपवाद हुने कुरै भएन । किनकि म पनि दंगाली नै हुँ । त्यही भएर होला ‘बड्डा’ दंगालीको पर्यायवाची जस्तै लाग्छ (खिम केसी, २१ नम्बरको हरियो लाउँदा (संस्मरण), साहित्यपोष्ट, २०७९ असोज ३०) ।

गीतमा बड्डा

पश्चिम नेपालको जनबोलीको बड्डा गीतमा पनि गुञ्जिएको छ । आधुनिक, लोक र र्‍याप गीतमा बड्डा । सबभन्दा बढी बड्डा त देउडा गीतमा आएको छ । मध्य तथा सुदूरपश्चिममा गाइने देउडामा बढ्ता बड्डा हुनु स्वाभाविक हो । सबभन्दा बढी प्रयोग भएका सुदूरपश्चिमका गीतमा छ ।
बड्डा बम्बै गैगया
मेरो परान लैगया
सुइना छिया मनभरी
साइबौ, बांजाई रैगया
(गीतः हर्क साउद, स्वरः रेश्मा पुन र एसडी योगी)

यो गीतमा बड्डा भनेर श्रीमान्लाई भनिएको छ । उनै बड्डा रोजीरोटीको खोजमा बम्बई जाँदा गाउँमा रहेकी पत्नीको प्राण पनि बम्बई बाइगएको छ । चानस पुनमगर निर्देशित उक्त गीतको भिडियोमा देशमा रोजगार नहुँदा विदेशिने संस्कृतिले पति–पत्नी छुट्टिनुका पीडा पोखिएको छ ।

रुकुमैमा कुहिरो लाग्यो दाङमा लाइग्यो ढुँडी
हे बड्डा,
मायालुलाई सम्झे बखत, जाउँ कि लाग्छ उडी
सल्यानैको शितलपाटी बसले लायो सिटी
हे बड्डा
नपठायौ बाडुल्की नपठायौ चिठी
(जय देवकोटाको सिङारु गीतको बड्डा नामक अल्बम)
कति बाडु गडबडेला कति छोपू नयाँ
छैन उसो त खटमखट बड्डाका दिन गया
नाना साहुका गडा ताउला ठूला साहुका धन
जिन्दगी यस्तै हो बड्डाउ, नदुखाया मन
(अछामी बड्डो (लालबहादुर धामी)को बड्डाका दिन गया)

देउडा गायक लालबहादुर धामीले त आफ्नो नाम नै अछामी बड्डो राखेका छन् । जसको गीत नै छ, बड्डाका दिन गया ।

यी बड्डा सौराया भनी आउनै छु म पनि छ
(देउडा म्युजिक नेपाल, युट्युब)
कुरा मिले ठ्याम्म दुई बड्डाबड्डीका जन
(न्यु नेपाली देउडा, युट्युब)
बड्डा बड्डा रन्कुटो उठाउँदै सुर्खेतमा
(हाम्रो अनलाइन, युट्युब)
म पनि अभर परें, तम्रा भर पड्डा
जहाँ जानु अगाडि लाग्दा यी फुल्या बड्डा
(न्यु नेपाली देउडा, युट्युब)

यो गीतमा कपाल फुलेको बूढो आफ्नो पछि लागेको भन्न बड्डा शब्द प्रयोग भएको छ ।

र्‍याप गीतमा पनि बड्डा बगेको छ– पूर्वमा अड्डा पश्चिममा मेरा बड्डा (महाराज बाबूसाहेब अफिसियल र्‍याप सङ, न्यू नेपाली र्‍याप सङ २०२४) ।

बड्डा मरिग्या ढड्डा जलिग्या

कहावतमा पनि बड्डा बनेको छ ।

माओवादीले २०५९ कात्तिक २८ गते कर्णाली सदरमुकाम जुम्ला हमला गर्‍यो । जो माओवादीले आक्रमण गरेको पहिलो र अन्तिम अञ्चल सदरमुकाम थियो । हमलाक्रममा भएको आगजनीले सरकारी कार्यालयका कागजात, अभिलेख, स्रेस्ता, रेकर्ड, नागरिकताको रेकर्ड र लालपुर्जाका पोकापुन्तुराका ढड्डा जले ।

जिल्लाका मूली प्रमुख जिल्ला अधिकारी पनि ढले । जुम्ली बड्डा उनै त घरमुली थिए । घरका मुक्खे मानिस ।

माओवादी जुम्ला हमलापछि जुम्ली जनजिब्रोमा उखान उब्जियो– बड्डा मरिग्या ढड्डा जलिग्या (बालकराम देवकोटा, २०८१ चैत २२, सेतोपाटी डटकम) ।

देवकोटाले जुम्ला तथा कर्णाली प्रदेशतिर जिल्लाको मुख्य मानिस, टोलको मुख्य मानिस अथवा घरको मुख्य मानिसलाई माया, सम्मान, आदरले बोलिने शब्द ‘बड्डा’ हो भनेका छन् ।

सरकारी कार्यालयका पुराना तथा नयाँ रेकर्ड, स्रेस्ता, अभिलेख, दस्तावेजहरूलाई जनाउने शब्दलाई ‘ढड्डा’ भनेका छन् । उखानमा बड्डा भनेको मुली अर्थात् प्रमुख जिल्ला अधिकारी र ढड्डा भनेका सरकारी कागजात थिए । किस्साले कहन्छ, माओवादी जुम्ला हमलामा बड्डा मरे, ढड्डा जले ।

भाषाशास्त्र आँखामा बड्डा

एक घरी भाषाशास्त्रका दुई आँखाले गर्ने बड्डा बयान चियाम् है त ।

भाषाशास्त्रका आँखा स्ट्रक्चर्लिज्म (संरचना) र फङ्स्न्लिज्म (कार्य) हुन् । संरचनाले भाषाको संरचना÷फर्म देख्छ । फर्डिनान्ड ससुरदेखि नोम चोम्स्कीहरू यही आँखाले भाषा चियाउँछन् । कार्यले संरचना होइन, अर्थ चियाउँछ । सन्दर्भ अनुसार शब्दले

दिएका फरक–फरक अर्थ अथ्र्याउँछ ।
जस्तोः बड्डा त बड्डा भएर खड्डामा खसे ।

संरचनावालले ‘बड्डा खड्डामा खसेको’ देख्छ, कार्यवालले ‘बड्डा मरेको’ । कार्यवालले ‘शब्दले सन्दर्भ अनुसार फरक–फरक अर्थ’ दिएको देख्छ । शब्दले लाक्षणिक अर्थ दिएको देख्छ ।

यही सन्दर्भ साँघुरिंदै जाँदा पोलिसेमी (बहुअर्थी) बन्छ । अर्थात् एउटा शब्दको बहुअर्थ । बड्डाका पनि सन्दर्भ अनुसार बहुअर्थ छन् ।

बहुरंगी बड्डा

बड्डा अर्थात् बूढा

‘तम् बड्डा त बड्डा भइगिछौ ! हेर त कपाल पनि सेत्तै !’
यो वाक्यको दोस्रो बड्डाले बूढो जनाउँछ । अघिल्लो बड्डाको व्याख्या तल छ ।
‘तमी तरुनन्नरी बगाल अघिअघि हर्, हामी बड्डाबड्डी बगाल पछिपछि आन्छम् ।’
बूढाबूढीले यस्तो भनेको तपाईंले सुन्नुभएको भए, बुझ्नुहोला, ‘हामी बूढाबूढी सुस्तरी आउँदै गर्छौं, तिमी युवायुवती अघिअघि हिंड’ भनेको हो ।

यो वाक्यमा बड्डाबड्डी भनेको बूढाबूढी हो । तर यही कुरा कुनै एक महिला र एक पुरुषले ‘हामी बड्डाबड्डी’ भनेपछि बुझ्नुपर्छ, ती पति–पत्नी हुन् । ‘ख्यालख्यालैमा हामी त बड्डाबड्डी भइम् नि बरै’ भनेर कुनै पुरुष या महिलाले भने भनेचाहिं ठम्याउन गाह्रो हुन्छ– ‘पति–पत्नी’ भनेको हो कि ‘उमेर ढल्क्यो’ भनेको । सन्दर्भले मात्र जान्न सकिन्छ ।
‘ओक्खो तम् ता बड्डा भइगेछौ ?’

यो वाक्यमा प्रयोग भएको बड्डाले ‘तिमी त बूढो भएछौ’ भन्छ । त्यस्तै महिलालाई कसैले ‘बड्डी भएछौ’ भने, बूढी भएछौ भनेको हो।
‘ओक्खो, यो भारी त मस्तै घुर्को छ, तम् अलि बड्डा छौ, बोक्न सक्तैनौ ।’

यहाँ बड्डा भनेको उमेरले बूढो भएर बोक्न नसक्ने भएको जनाउँछ । बूढो भएकाले गह्रौं भारी बोक्न सक्तैनौ भनिएको हो ।
रोल्पा, रुकुमका गाउँघरमा बूढापाकाले भनेको सुन्नुभएको होला, ‘बड्डा भएर खड्डामा जाने बेला भैगो, के सुइना देख्ने र ?’
यहाँ बड्डा भनेको बूढो हो, खड्डा भनेको खाडल । हिन्दूकरण हुनुअघि रोल्पा, रुकुमका सुदूर गाउँका खसआर्यले पनि शव गाड्थे । जलाउने चलन सुदूर बस्तीमा धेरै पछि पुग्यो । खड्डामा जाने भनेको खाडलमा पुरिने हो । अब मर्ने बेला भएकाले सपना के देख्नु भनिएको हो ।

‘तम् बड्डाको गफ्फाको हब्बा छैन ।’

यो वाक्यमा साथीलाई भनेको हो कि बूढो मानिसलाई ? मानिस नदेखेर, सन्दर्भ नदेखेर भन्न सकिन्न । साथीलाई भनेको हुन सक्छ, बूढो मानिसलाई भनेको नि हुन सक्छ । बूढो मानिसले लगाएको गफ हो, अहिले मेल खाँदैन भनेर नपत्याउन भनिएको पनि बुझ्न सकिन्छ या कुनै साथीको गफ भरपर्दो छैन भनेर पनि ।

नेपाली बृहत् शब्दकोश र आरडी प्रभास चटौतकृत डोट्याली बृहत् शब्दकोश र रामविक्रम सिजापतिकृत प्रज्ञा जुम्ली–नेपाली शब्दकोशले बूढा मानिसलाई आदरपूर्वक भनिने एक शब्द बड्डा भनेका छन् (पृ.५३३, डोट्याली बृहत् शब्दकोश (२०५८) आरडी प्रभास चटौत, (पृ. २५३ प्रज्ञा जुम्ली–नेपाली शब्दकोश, रामविक्रम सिजापति) ।

सिजापतिको शब्दकोशमा बड्डा फ्वाजु भनेको बाबुको फुपाजु, बड्डा बोब भनेको बुढा बाजे, बड्डी भनेको बुढी, बड्डी फुज्यु भनेको बाबुकी फुपू र बड्डी बज्यु भनेको बुढी बज्यै भनिएको छ (पृ. २५३ प्रज्ञा जुम्ली–नेपाली शब्दकोश) । चटौतकृत शब्दकोशमा बड्डाको स्त्री बड्डी, बड्डी भनेको वृद्धा, धेरै उमेर पुगेकी, पाकी, स्वास्नी, पत्नी भनिएको छ ।

बड्डा अर्थात् जान्ने र जेठो

‘तम् मभन्दा कति वर्षले बड्डा हौ र ? उही दुईचार वर्ष त हो नि !’
यो वाक्यमा प्रयोग भएको बड्डाले उमेरमा जेठो जनाएको छ । ‘हिन्दी शब्दकोश’ले बड्डालाई ‘बडा’ भनेको छ । बड़ा–बड़ा, ज्येष्ठ, नाप से बड़ा या लम्बा, भले आदमी भनेको छ ।
‘बड्डा भएर पनि के केटाटी जस्तो कुरा गर्छस् हँ, तैंले ?’

यो वाक्यमा कोही उमेर र सुझबुझले परिपक्व हुँदा पनि आलोकाँचो कुरा गरिरहेको छ भन्ने बुझाउँछ । यो वाक्यमा बड्डा भनेर सुझबुझ भएको, उमेरले केटाकेटी नभएको भनिएको छ । जान्ने–बुझ्ने उमेरकाले पनि किन केटाकेटीले कुरा गरेजस्तो गरेको भनेर सोधिएको छ ।

बड्डा अर्थात् पति

एउटी महिलाले एउटा पुरुषलाई सोधिन्, ‘ए बड्डा, आज के तिहुन खाम् हँ ?’

पुरुषले जवाफको बदला सोधे, ‘बड्डीलाई के खान मन छ त ?’

माथिको संवादमा सहभागी महिला र पुरुष पति–पत्नी हुन् भन्ने बुझाउँछ । पत्नीले पतिलाई बड्डा भनेर सम्बोधन गरेकी छन्, पतिले पत्नीलाई बड्डी ।

गाउँघरमा अहिले सुनिने एउटा वाक्यले अझ स्पष्ट पार्ला । गाउँघरमा तन्नेरी छैनन् । घरमा त बच्चा, बूढाबूढी र महिला मात्र छन् ।

‘के जुनी छ र हामी नेपाली गरिबको त– बड्डा एकानु, बड्डी एकानु । सुखदुःख सँगै साट्न पाए पो बड्डाबड्डी !’
यो वाक्य गाउँघरमा अहिले पोखिएका उमेरमा पति–पत्नी सँगै बस्न नपाएका दुःखेसा हुन् ।

माथिको वाक्यमा महिला गाउँमा पति विना एक्लै छिन् । पति विदेशमा छन् । बड्डा भनेर उनले पतिलाई भनेकी छन् । बड्डी भनेर आफूलाई ।

रोल्पा रुकुमतिर बड्डाबड्डी भनेको बूढाबूढी हो । बूढाबूढी भनेको पनि हो, पति–पत्नी भनेको पनि हो । आजदेखि फलानो र फलानी बड्डाबड्डी भए भनेको पति–पत्नी भए भनेको हो।

कुनै महिलाले उनी मेरो बड्डा हुन् भनिन् भने, पति हुन् भनेको हो । कुनै पुरुषले कुनै महिलालाई उनी मेरी बड्डी भने भनें, पत्नी भनेर चिनाएको हो ।

एउटै उमेरका र जोडी मिलेका कोही सँगसँगै हिंडिरहेका छन् भने गाउँघरतिर जिस्क्याउँछन्, ‘बड्डाबड्डी भया पो खुबै स्वान्छ, तम्दुइटाले भे गर । बड्डाबड्डीको जुरी खुब्बै जम्छ !’

यो वाक्यमा बड्डाबड्डी भनेको पनि पति–पत्नी हो । जोडी सुहाउँछ, बिहे गर भनेर भनिएको हो ।

‘तम् मेर् बड्डा बन्छौ तो ?’

कुनै युवतीले कुनै युवकलाई यस्तो प्रश्न सोधे बुझ्नुपर्छ, जीवनसाथी अर्थात् पति बन्ने कि भनेर सोधेकी हुन् । केटाले केटीलाई तिम्लाई मैले बड्डी बनाउँछु भने, पत्नी बनाउँछु भनेको बुझाउँछ । केटाले जीवनसाथी बनाउँछु भनेको हो ।

बड्डा, बड्डौ, बड्डी, बड्डियौमध्ये सबभन्दा बढी प्रयोग हुने बड्डा हो ।

सुर्खेतमा बड्डीचौर नामक ठाउँ छ, बंगलादेशको राजधानी ढाकामा बड्डा भन्ने ठाउँ । बंगलादेशी प्रधानमन्त्रीलाई देशबाट लखेटिने आन्दोलनको बेला २०८१ साउन २२ राति बड्डाको पुलिसचौकी लुटिएको थियो ।

बड्डा अर्थात् यार

सुदूरपश्चिमका सेती, महाकाली, भेरी, कर्णालीमा बड्डा पति, बूढो मानिस, आदरणीय मानिसलाई सम्बोधनमा सीमित बड्डा शब्द कर्णालीको डोल्पाहुँदै रापतीमा बड्डाले दिने अर्थ थपिएको छ– साथी, यार । रापतीमा सबभन्दा बढी बड्डाको प्रयोग साथी, यार बुझाउन प्रयोग हुन्छ । साथी, आफ्नै उमेरको दौंतरी, यारलाई सम्बोधन गर्दा प्रयोग हुन्छ ।

रोल्पा, रुकुमतिर महिला र पुरुष दुवैले आफ्ना मिल्ने साथी, हिमचिम भएका साथीलाई बड्डा भनी बोलाउँछन् । त्यसैले बड्डा साधारण अर्थमा मिल्ने साथी हो । हिमचिम भएको साथी । यति हुँदाहुँदै उस्तै उमेरको साथी बढ्ता हो । पुरुषले पुरुष यारलाई बड्डा भनी बोलाउँछन् । महिलाले महिला यारलाई बड्डा भनी बोलाउँछन् । कति महिलाले एकअर्कालाई बड्डाको बदला बड्डी पनि भन्छन् ।

यही बड्डा शब्द बड्डौ पनि प्रयोग हुन्छ । सुजल खनाल र डिल्लीराज ढकालले साथीत्वको साक्षीस्वरुप दाङ घोराही भिंग्रेलीचोकमा ‘बड्डाज’ नामक रेस्टुरेन्ट नै खोलेका छन् ।

‘बड्डा पिओर दंगाली शब्द हो । हामी दुई घनिष्ट साथी मिलेर खोलेकाले रेस्टुरेन्टको नाम बड्डाज राखेका छौं’ खनालले भने । पत्रकार उदय जीएम जयनेपाल च्यानलमा कुरा थाल्थे, ‘हेलो बड्डा हो, के छ खबर ?’ बड्डा भनेर महिलालाई नसमेटिएको गुनासो गुञ्जिएपछि जीएमले बड्डा भनी सम्बोधन गर्न छाडेका छन् ।

महिला वा पुरुष आफ्नै लिंगकोलाई बड्डा सम्बोधन गर्दा बड्डा भनेको साथी हो । यार हो । महिलाले पुरुषलाई बड्डा भनेर सम्बोधन गरे यसको अर्थ साथी वा यार मात्र हुँदैन । महिलाले पुरुषलाई बड्डा भने साथी मात्र होइन, जीवनसाथी हुन्छ ।

आलेख आरम्भमा चिर्को बजाङ्ङो परेको यहींनेर हो । लैंगिक कुरा आएपछि समलिंगमा प्रयोग हुने बड्डाले साथीको अर्थ दिन्छ भने विपरीत लिंगमा प्रयोग हुने बड्डाले जीवनसाथीको । जुन कुरा जानकारी नभएका रापतीपूर्वका महिला साथीहरूले पनि मलाई बड्डा भनेर बोलाएका हुन् । तिनलाई लागेको होला कि, महिलाले पुरुषलाई बड्डा भनेको पनि साथी नै होला । होइन, जीवनसाथी पो हुन्छ भन्ने थाहा नहुँदाको परिणति हो ।

बड्डा स्रोत

मध्य तथा सुदूरपश्चिम र कर्णालीमा प्रयोग गर्ने र बुझ्ने शब्द हो, बड्डा । सुदूरपश्चिममा अछामी, बैतडेली, डोट्याली, कर्णालीमा खस, रापतीमा मगर खाम भाषा र मानकवाला खस नेपाली बोल्छन् । बड्डाको स्रोत तिनै भाषा हुन् ? ‘हिन्दी शब्दकोश’ले बड्डाको स्रोत संस्कृत भनेको छ भने बृहत् नेपाली शब्दकोशले नेपाली ।

मूलधारमा बड्डा मजाक

‘मेरी बास्सै’ नामक हास्य सिरियलमा सीताराम कट्टेल (धुर्मुस) बैतडी ज्वाइँ पात्र छन् । उनको थेगो छ, हाँ बड्डा हाँ हाँ । बड्डालाई मजाक गर्दै उडाउनु उडाइएको छ ।

बड्डा भनेर हियाएर हैरान पार्छन् कि भन्ने भयले, खिज्याउने हुन् कि भनेर नयाँ पुस्ता शहर पसेपछि बड्डा भनी बोलाउन छाडेका छन् । जसको मूल कारण त मूलधारे भनिनेबाट मजाक बनाइनु हो । जसरी वलीको पोइल जान पाम्लाई मूलधारेले अहिलेसम्म पनि मजाक बनाइरहेका छन् ।

अंग्रेजी हेजेमोनीले मानक मानिएको खस नेपाली सकिंदैछ, त्यसैगरी, मानक संस्कृतिवाल भाषा हेजेमोनीले बड्डा नयाँ पुस्तामा सर्न शर्माउन थालेको छ ।

‘शहरबजार केन्द्रमा राखेर नेपाली भाषाको प्रभावमा परेका नयाँ युवाले बड्डा कमै प्रयोग गर्छन्’ भाषा आयोग सदस्य (सुदूरपश्चिमवासी) डा.पुष्करराज भट्ट भन्छन् ।

बड्डा मध्य तथा सुदूरपश्चिममा प्रचलित एउटा शब्द हो । जो रंगीन छ । रंग–रंगमा अर्थ बदल्छ । रंग अनुसार बड्डाले अर्थ दिन्छ । यति रंगीन बड्डालाई तपार्इंले मूलधारमा मेरी बास्सैमा जसरी मजाकमा मारिदिए त सक्किएन ? सक्कियो ।

‘केछ बड्डा ?’

भन्न त हामीले पनि भन्ने त्यही बड्डा हो । साथीहरूले बड्डा भनी बोलाउँदा बड्डालाई मजाक बनाएका त होइनन् ? मूलधारे भनिने ठाउँकै मेरा साथीहरूले पनि मजाक बनाउँदै बड्डा भनेर बोलाएका त होइनन् ? पहाडीले मधेशीलाई भैया भन्दाखेरि हियाएको ठानेर नमज्जा माने जसरी बड्डा भनी बोलाउँदाखेरि झस्कन्छु । मधेशतिरका साथीहरूलाई भैया भन्दाखेरि हियाए जस्तो मान्छन् ।

भन्न त तिनले पनि एकापसमा भैया नै भन्छन् । तर, पहाडीले भैया भन्दा हियाए जस्तो मान्छन् । हो, त्यसरी नै बड्डा चल्तीइतरकाले बड्डा भन्दा भैयालाई भैया भन्दाखेरि खिजाए जस्तो माने जसरी बड्डा भन्दा कतै भैया भनेका त होइनन् ? मन चस्स चस्कन्छ ।

खड्डामा जाने बड्डा हुन त समयले आफंै लान्छ । बाँकी एकथान बड्डा हुन भने गाह्रो छ । यारवाला बड्डा हुन गाह्रो छ, असल मानिस हुनजत्तिकै गाह्रो । असलमा बड्डा हुन गाह्रो छ । चाहे, यारवाला वा साथीवाला बड्डा कि जीवनसाथीवाला बड्डा होस् । असल र आदरणीय बड्डा हुन गाह्रो छ । बड्डा हुनु बडा बात हो । मूलधारमा मजाक भएर होइन, बड्डा जे हो, बड्डा त्यही रूपमा आए न बड्डा हुन्छ । बड्डा बड्डा भएर मूलधारमा मौलाए न बड्डा बड्डा हुन्छ । नेपालका रङहरूमा यो बहुरंगी बड्डा पनि एक रंग हो । नेपालमा फुल्ने सयौं फूलमा एक फूल बड्डा । बड्डा पनि व्यापक नबनी बहुरंगी नेपाल कसरी सुन्दर होला ?

लेखक
नवीन विभास

नवीन विभास लेखक तथा पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?