
News Summary
Generated by OK AI. Editorially reviewed.- प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंमा आयोजित पर्यटन गोष्ठीमा नेपालको प्राचीन इतिहास र युग गणनाबारे आफ्नो दृष्टिकोण प्रस्तुत गर्नुभयो।
- ओलीले पशुपतिमा सुनको जलहरी चढाउनुको उद्देश्य स्वर्ग जान होइन, पशुपतिनाथको गरिमा बढाउनु भएको बताउनुभयो।
- ओलीका धर्म र इतिहास सम्बन्धी अभिव्यक्तिले पदीय मर्यादा र वैज्ञानिक दृष्टिकोणमा विवाद उत्पन्न गरेको छ।
‘शिवजी चाम्लिङ हुन् कि क्या हो जस्तो लाग्छ कहिलेकाहीं । हलेसी भनेको चाम्लिङको थलो हो । विश्वामित्र पनि यहींका हुन् । दशरथ पनि यहींका हुन् । राम–लक्ष्मण पनि यहींका हुन् ।…. इतिहास जान्न खोज्ने हो भने यी ठाउँ घुम्न जरूरी छ ।’
काठमाडौंमा केही दिनअघि आयोजित एक ‘पर्यटन गोष्ठी’ मा प्रधानमन्त्री केपी शर्मा ओलीका अभिव्यक्ति हुन् । कार्यक्रममा ओलीले लामै भाषण गरेका थिए । उनले युग गणनाको प्राचीन गणित पनि सुनाउन भ्याए । ‘त्रेतायुग भनेको चार हजार वर्ष भन्दा अगाडिको समय हो । चार हजारभन्दा उता सत्य युग भनिन्छ । पैंतीस सय वर्षभन्दा यताको तीन हजार वर्षसम्मको युगलाई द्वापर भनिन्छ । तीन हजारभन्दा यताकोलाई प्रायः कलियुग भनिन्छ । युगहरू बुझ्नुपर्छ भने यहाँ (नेपालमा) आउनुपर्छ । यो त एउटा ज्ञानको भण्डार, इतिहासको भण्डार, सभ्यताको भण्डार र ज्ञानको ज्योति पहिले बलेको ठाउँ हो ।
प्रधानमन्त्री ओलीले विज्ञान, पर्यटन र धर्मका बीचको सम्बन्ध र आफ्नो दृष्टिकोण पनि सुनाए । ‘म विज्ञानमा विश्वास गर्ने मान्छे हुँ । विज्ञानका मात्रै कुरा गर्यो भने पर्यटन विज्ञान छुटिहाल्छ । त्यसकारण टुरिजम साइन्सलाई पनि ध्यान दिनुपर्यो । मैले पशुपतिमा सुनको जलहरी चढाउनु भनेको, स्वर्ग जानका लागि होइन, पशुपतिनाथको गरिमा बढाउनका लागि हो, जसले गर्दा राम्रो होस्, अरू धेरै नभनौं ।’ यसरी उनले पर्यटन विकासमा जोड गरेका थिए ।
प्रधानमन्त्रीको हैसियतमा ओलीका यस खालका अभिव्यक्ति केही वर्षअघि पनि सुनिएको थियो । त्यो बेला उनले ‘राम जन्मभूमि, नेपाल (ठोरी)मा पर्छ’ भनेका थिए । तर नेपालको परराष्ट्र मन्त्रालयले भारतसँगको सम्बन्धमा असर गर्ने थाहा पाएपछि तत्काल प्रधानमन्त्रीको ‘यो टिप्पणी राजनीतिक होइन’ भनेर स्पष्टीकरण वक्तव्य जारी गर्नुपरेको थियो ।
यसपालि यो पंक्ति तयार पार्दासम्म प्रधानमन्त्रीको अभिव्यक्तिका सम्बन्धमा परराष्ट्र मन्त्रालयको स्पष्टीकरण सार्वजनिक भएको छैन । तैपनि प्रधानमन्त्रीका हैसियतमा उनले दिएका अभिव्यक्ति विवादास्पद छन् । यसले एकातिर पदीय मर्यादाको खिल्ली उडाएको छ । अर्कोतिर धर्म र सभ्यताका सम्बन्धमा उनका बुझाइ कति हावादारी रहेछन् भन्ने देखाएको छ ।
दृष्टिकोणको संकट
‘सबैभन्दा पहिले ज्ञानको ज्योति बलेको ठाउँ नेपाल हो’ भन्ने ओली अभिव्यक्तिलाई यस प्रकरणमा सकारात्मक लिन सकिन्छ । राज्यको शिक्षादेखि राजनीतिक प्रणालीसम्म पराधीन भाष्यले थिचेको ठाउँमा देशको प्रधानमन्त्रीले इतिहासप्रति गौरवबोध गर्न जोड गर्नु राम्रो कुरा हो । तर यसका लागि पनि सही दृष्टिकोण जरूरी हुन्छ । यस मामिलामा भने उनी गम्भीर दिग्भ्रमको शिकार भएका छन् ।
निःसन्देह, हाम्रा प्रधानमन्त्री अध्ययनशील हुन् । तर, धर्मका मामिलामा उनी अत्यन्तै आधारहीन र कमसल सन्दर्भ सामग्रीमा भर परिरहेका छन् । हिमालय पर्वतीय सभ्यतामा पुजिने भगवान शिव व्यक्ति होइन, बिम्ब हुन् । यस सभ्यतामा पैदा भएका धर्म (वैदिक, बौद्ध, जैन, बोन, ताओ, मुन्धुम, मस्ट) मा आउने पुराण कथाहरू इतिहास होइन काव्य (कहानी) हुन् । यसकारण शिवको थर र रामको जन्मभूमि खोजेर भेटिने चिज नै होइन ।
यसको अर्थ हाम्रा धर्मशास्त्रका पुराण र बिम्बहरू महत्वहीन चिज हुन् भन्ने होइन । प्राचीनकालका ऋषिहरूले तपस्चर्याका माध्यमबाट जीवन र जगतका स्वभावका विषयमा जुन गहिरो तथ्य बोध गरे, त्यो साधारण बोलीचालीको भाषामा अभिव्यक्त गर्न र त्यतिबेलाको लोकलाई बुझाउन सम्भव भएन । त्यसैले अनेकन् बिम्ब, प्रतीक, काव्य तथा महाकाव्य रचना गरियो ।
यस्ता बिम्ब र कहानीको वैज्ञानिक महत्व छ । तिनीहरूले भौतिकशास्त्र, जीवशास्त्र, मनोविज्ञान र समाजशास्त्रका नियम बोल्छन् । जुन आजको आधुनिक विज्ञानको निष्कर्षसँग निकट छन् । धर्म र प्राचीन साहित्यबारे टिप्पणी गर्नुअघि यति कुरा बुझ्न जरूरी हुन्छ ।
तर प्रधानमन्त्री ओलीलाई गलत सन्दर्भ सामग्रीले नराम्रो गरी दिग्भ्रमित पारेका छन् । परिणामतः उनी एकातिर पुराण कथालाई ‘देवताका पालाका वास्तविक घटना’ मान्ने आस्तिक ‘साधु–सन्त’ को पनि समर्थन गर्दछन् । ती कथालाई ‘इतिहासको वर्गसंघर्ष’ र ‘शोषणको जाल’ मान्ने नास्तिक ‘साधु–सन्त’को पनि प्रशंसा गर्छन् ।
आस्तिक र नास्तिक दुवैखाले ‘साधु–सन्त’ को कमजोरी प्रकारान्तरले एउटै हो । यिनीहरूले बिम्बलाई व्यक्ति र कहानीलाई इतिहास मान्दछन् । प्रधानमन्त्री ओली यही भुलभुलैयामा छन् । यसकारण उनी कहिले रामको जन्मभूमि खोज्छन् त कहिले शिवको थर । जो कहिल्यै भेटिने चिज नै होइन ।
विगतमा भारतको अयोध्यामा उत्खननका प्रयास भए । तर राम जन्मभूमिको अवशेष फेला परेन । यहाँ ठोरी वा हलेसीमा प्रयास गरे पनि भेटिने छैन । कारण, पुराण साहित्यमा उल्लिखित विषयको भौतिक प्रमाण खोज्नु नै गलत हो ।
युगको भ्रम
चार युग (सत्य त्रेता, द्वापर, कलि) को धारणा हिमाली सभ्यताका सबै धर्मपन्थको साझा धारणा हो । वैदिक होस् वा बौद्ध, जैन होस् वा मुन्धुम, सबैले इतिहासलाई चार युगको चक्रमा हेर्दछन् । जसको आधिकारिक स्रोत ‘सूर्य सिद्धान्त’ नामक प्राचीन ग्रन्थ हो । जसले युग परिवर्तनबारे स्पष्ट गणितीय दृष्टिकोण दिएको छ ।
सूर्य सिद्धान्तको श्लोक १० देखि २० सम्म युग गणना र सृष्टि प्रलय चक्रको गणित दिइएको छ । जसअनुसार १२ महिनाको १ वर्ष हुन्छ जसलाई दिव्य दिन अर्थात् देवताहरूको १ दिन भनिन्छ । १२,००० दिव्य वर्षको एक चतुर्युग हुन्छ । (जसको संख्या वर्षमा ४३,२०,००० हुन्छ) । चतुर्युगको दशौं भागको चार गुणा सत्य युग, तीन गुणा त्रेतायुग, दुई गुणा द्वापर युग र एक गुणा कलियुग हुन्छ । अर्थात्, सत्य युग १७,२८,००० वर्ष, त्रेतायुग १२,९६,००० वर्ष, द्वापर युग ८,६४,००० र कलियुग ४,३२,००० वर्ष हुन्छ ।
सूर्य सिद्धान्तले स्पष्ट भनेको छ, एक हजार महायुग (चतुर्युग) को १ कल्प हुन्छ जो ब्रह्माको १ दिन बराबर हो । यति नै समय बराबर ब्रह्माको रात हुन्छ । जसमा सृष्टि विनाश हुन्छ । (श्लोक २०)
सूर्य सिद्धान्तको माथिको धारणाले ब्रह्माण्ड अस्थायी हो, यसमा सृष्टि–प्रलय चक्र चलिरहन्छ भन्ने दृष्टिकोण र गणित दुवै दिएको छ । जुन दृष्टिकोण र गणितलाई नै आधुनिक भौतिक विज्ञानले पनि अनुसरण गरेको छ । यस सम्बन्धमा प्रसिद्ध भौतिकशास्त्री फ्रिटजोफ काप्रा भन्दछन् :
ब्रह्माण्डलाई एक जीवन्त, लयबद्ध गतिशील अन्तरिक्षका रूपमा अनुभव गर्दै हिन्दुहरू (वैदिक)ले ब्रह्माण्ड उत्पत्तिको यस्तो सिद्धान्त विकास गरे, जो हाम्रो आधुनिक वैज्ञानिक सिद्धान्तहरूको नजिक छ । ब्रह्माण्ड उत्पत्तिको एक यस्तै सिद्धान्त हिन्दू मिथक ‘लीला’ मा आधारित छ । ‘लीला’ अर्थात् दिव्य क्रीडा हो, जसमा ब्रह्मा स्वयम्लाई विश्वमा रूपान्तरण गर्दछन् । एकबाट अनेक र अनेकबाट एकमा रूपान्तरणको लीलाको लयात्मक क्रीडा अन्तहीन चक्रहरूमा निरन्तर चलिरहन्छ । …उनीहरूले सृष्टि र विनाशको कालावधिलाई कल्पको संज्ञा दिए ।
यो प्राचीन मिथक कल्पको पैमाना वास्तवमा स्तम्भित गर्ने खालको छ । एक कल्पको कालावधि ८६४ करोड वर्ष हो । जो आधुनिक भौतिक विज्ञानद्वारा आकलन गरिएको एक हजार करोड वर्षको आयुको लगभग बराबर छ । कालावधिको यो अवधारणामा पुनः पुग्न मानव मस्तिष्कलाई हजारौं वर्षको समय लाग्यो । (काप्रा, द ताओ अझ फिजिक्स, २०१४, पृ. २३२)
चार युगको धारणा इतिहास सम्बन्धी चक्रीय दृष्टिकोण हो । यो दृष्टिकोणले इतिहासको गतिमा स्थानीय कारक (प्रविधि र आर्थिक)को भूमिका सहायक मात्र हो, ब्रह्माण्डीय लयको भूमिका निर्णायक हुन्छ भनेर मान्दछ । योगीहरूको भनाइमा हाम्रो सूर्यले महासूर्यलाई एक फन्को लगाउन दुई चतुर्युग समय लाग्दछ । यो परिक्रमाको क्रममा हाम्रो सूर्य र महासूर्यबीच हुने दूरीको अन्तरले पृथ्वीमा फरक–फरक वातावरण सृजना हुन्छ । हाम्रो सूर्य र महासूर्य अति नजिक भएको समय सत्य युग हो । यो दूरी जति बढ्दै जान्छ, सोही अनुसार क्रमशः त्रेता, द्वापर र कलियुग पैदा हुन्छ । हाम्रो सूर्य र महासूर्यबीच सबैभन्दा बढी दूरी भएको समय कलियुग हो ।
न्युटनीय विज्ञानमा ‘संसार सर्वकालिक छ’ भनेर विश्वास गरियो । त्यसकारण इतिहास सम्बन्धी रेखीय दृष्टिकोण (असभ्यता–बर्बरता–सभ्यता) तयार भयो । अबको इतिहास सम्बन्धी वैज्ञानिक धारणा चक्रीय अवधारणा हो । तर आधुनिक समाजशास्त्र÷मानवशास्त्रको क्षेत्रमा हालसम्म इतिहासबारे चक्रीय धारणा देखा परेको छैन । त्यसकारण रेखीय दृष्टिकोण नै प्रचलित छ ।
इतिहास सम्बन्धी रेखीय दृष्टिकोणले इतिहासको गतिमा स्थानीय तत्व (प्रविधि र आर्थिक) ले मूल भूमिका खेल्छ भनेर मान्दछ । प्रधानमन्त्री ओलीले ‘म विज्ञानमा विश्वास गर्ने मान्छे’ भनेर ‘संसार सर्वकालिक छ’ भन्ने न्युटनीय धारणा र रेखीय इतिहासमाथिको विश्वासमा जोड गरेका हुन् । यो धारणा नै अन्धविश्वासमा फेरिइसक्यो भन्ने उनलाई पत्तो छैन । चारयुगको धारणामा उनले गणितमा मात्र गल्ती गरेका होइनन् । यो धारणा कुन दृष्टिकोणमा आधारित छ भन्ने पनि उनलाई पत्तो छैन ।
विज्ञान र पर्यटन
पशुपतिनाथबारे पनि प्रधानमन्त्री ओली भ्रममा छन् । पशुपतिनाथ (शैव धर्म) लगायत, हिमाली सभ्यताका धर्म (वैदिक, बौद्ध, जैन, बोन, ताओ, मुन्धुम, मस्ट) आदिले स्वर्गलाई आदर्श नै मान्दैनन् । स्वर्ग–नर्कलाई आदर्श मान्ने अवधारणा पाश्चात्य धर्म (यहुदी, इसाई र इस्लाम) को हो । हिमाली सभ्यतामा त निर्वाण वा मोक्षको अवधारणा छ । यसकारण पशुपतिनाथसँग स्वर्ग–नर्क नै जोडिंदैन ।
‘पशुपतिमा सुनको जलहरी चढाएर स्वर्ग पुगिंदैन’ भन्ने ओलीको अभिव्यक्ति भ्रमपूर्ण र अपमानजनक दुवै हो । उनले पशुपतिनाथलाई अन्धविश्वासको केन्द्र भन्न खोजेका हुन् । यथार्थ यसको ठिक उल्टो हो । पशुपतिनाथ स्थापना गर्ने शैव दर्शनलाई आजको आधुनिक विज्ञानले अनुसरण गरिरहेको छ । प्रधानमन्त्री ओली चाहिं अन्धविश्वासले ग्रस्त छन्।
भगवान शिव हलेसीका मात्र होइनन्, विश्वभरका हुन् । भगवान राम ठोरीका होइनन्, विश्वभरकै हुन् । शिव, राम र पशुपतिनाथबारे प्रधानमन्त्रीको टिप्पणीले मुलुकको गरिमा बढाउँदैन । यस्ता टिप्पणी अन्ततः पर्यटन विकासमा पनि बाधक छन् । सर्वसाधारणले यस्तो गल्ती बोल्दा आपत्ति हुँदैन । तर प्रधानमन्त्रीको हैसियतमा बोल्ने मान्छेले यस्ता हावादारी कुरा गर्दा मुलुककै बेइज्जती हुन्छ । प्रधानमन्त्री ओलीले यस विषयमा ख्याल गर्न र आफ्ना सल्लाहकारको चयनमा ध्यान दिन जरूरी देखिन्छ ।
प्रतिक्रिया 4