+
+
Shares
पौरखी प्रवासी :

३२ वर्ष मलेसियामै, बने हजारौंका उद्धारक

संघर्षका धुलाम्मे बाटाहरू पार गर्दै केशुले व्यवसाय पनि गरे, असफलताबाट सिके, अनि अन्ततः नेपाली समुदायकै लागि समर्पित ‘जनउद्धार केन्द्र मलेसिया’ स्थापना गरेर हजारौंको जीवनमा स्पर्श पुर्‍याए।

कृष्णसिंह धामी कृष्णसिंह धामी
२०८२ असोज २० गते २०:५२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • केशु थापाले ३२ वर्ष मलेसियामा बिताउँदै क्लिनिङ सर्भिस व्यवसाय सञ्चालन गर्दै नेपालीहरूका लागि जनउद्धार केन्द्र स्थापना गरे।
  • जनउद्धार केन्द्रले २०१७ देखि करिब ४ सय नेपालीलाई उद्धार गरी नेपाल फर्काएको छ।
  • केशुले जेलमा भेट्दा भोगेको पीडाले समाज सेवा सुरु गर्न प्रेरित गरेको र फन्ड र रुचि आवश्यक भएको उनले बताए।

 

भूमण्डलीकरणको यो युगमा संसार साँघुरिएको छ र मानिसको यात्रा अब भौगोलिक सीमाभित्र कैद छैन। अवसरको खोजीमा होस् वा ज्ञान र सीपको यात्रामा, नेपालीहरू पनि यही विश्वव्यापी लहरको एउटा अभिन्न अंग बनेका छन्। पृथ्वीका विभिन्न भूभागमा पुगेर उनीहरूले आफ्नो श्रम, बुद्धि र साहस ले नयाँ समाजमा अटल परिचय स्थापित गरेका छन्। तर, जतिसुकै टाढा पुगे पनि, उनीहरूको नाभी अझै पनि मातृभूमिमै गाँसिएको छ- भाषा, संस्कृति र भावनाको अटुट धागोमार्फत्।

अनलाइनखबरले सुरु गरेको ‘पौरखी प्रवासी’ शृङ्खला त्यही गौरवमय यात्राको गाथा हो। यो केवल व्यक्तिगत संघर्ष र पसिनाको कथा मात्र होइन, बरू विश्व मञ्चमा नेपालको सामूहिक पहिचानलाई उचाइ दिने प्रयासको दस्तावेज हो। हरेक प्रवासी नेपाली आफ्नो गन्तव्यमा नेपालको ‘ग्लोबल एम्बेसडर’ बनेर उभिएका छन्। उनीहरूले विश्वलाई देखाइरहेका छन्, ‘नेपालीहरू मेहनती, सहिष्णु र प्रतिभावान हुन्छन्।’

प्रवासी नेपालीहरूको महत्व केवल आर्थिक पक्षमा मात्र सीमित छैन, यद्यपि रेमिटेन्सले नेपालको अर्थतन्त्रको मेरुदण्डलाई सजीव राखेको छ। विदेशको तातो घाममा पसिना बगाउने श्रमिकदेखि अन्तर्राष्ट्रिय मञ्चमा उदाएका विज्ञ, उद्यमी र कलाकारहरूसम्म, उनीहरू सबैले नेपाललाई विश्वको नक्सामा चिनाएका छन्। उनीहरूको ज्ञान, सीप र नेतृत्व क्षमतालाई नेपालको समृद्धिको यात्रासँग जोड्नु अनिवार्य छ ।

सामाजिक र सांस्कृतिक दृष्टिले, प्रवासीहरू नेपालकै बहुरंगी स्वरूपलाई नयाँ ठाउँमा पुनः फूलाइरहेका छन्। चाहे नयाँ पुस्तामा नेपालीपनको बीउ रोप्ने कुरा होस् वा परदेशमा दशैँ–तिहार र तीजको उल्लास भर्ने कुरा, यी सबै अभ्यासले नेपालीपनलाई भौगोलिक सीमाभन्दा बाहिर फैलिएको ‘विश्व-चेतना’ बनाइदिएको छ।

जब कोही आफ्नो जन्मभूमिबाट टाढा जान्छ, उसले आत्मपहिचानलाई पुनःपरिभाषित गर्नुपर्छ। नयाँ समाज र संस्कृतिमा घुलमिल हुँदै उसले आत्मान्वेषणको यात्रा गर्छ। यही प्रक्रियामा नेपालीहरू केवल आर्थिक योगदानकर्ता मात्र नभई विश्व-संस्कृतिको सक्रिय अंग बनेका छन्, जसले भूमण्डलीय संस्कृतिमा नेपाली रङ घोलिरहेका छन्।

‘पौरखी प्रवासी’ संसारभर छरिएका ती अब्बल नेपालीहरूको प्रतिनिधिमूलक जीवनगाथा हो। उनीहरूको कथा सुन्नु भनेको श्रम, सीप, आशा, साहस र गौरव मिसिएको हाम्रो समयको सांस्कृतिक इतिहास पढ्नु जस्तै हो।

आउनुहोस्, हामी संसारभर छरिएका ती ‘पौरखी प्रवासी’हरूको कथा सुनौं, जसले आफ्नो मेहनतले नेपालको शिर उँचो बनाएका छन्ः

बाग्लुङ गल्कोटको सामान्य किसान परिवार । कमजोर आर्थिक अवस्थाको सोही परिवारमा जन्मिए केशु थापा ।

परिवारलाई भरथेग गर्ने उद्देश्यले रहरैरहरमा मलेसियाको वैदेशिक रोजगार यात्रा थालेको केशुले जीवनका अमूल्य ३२ वर्ष मलेसियामै बिताइसके । उनका लागि जन्मघर नेपाल भए पनि कर्मघर भने मलेसिया बनिरहेको छ ।

३२ वर्षअघि जीवनमा केही गर्ने अभिलाषा, परिवारलाई आर्थिक टेवा दिने चाहना र आफ्नै भविष्य सुरक्षित गर्ने लक्ष्यसहित उनले मलेसियाको बाटो समातेका थिए ।

तर, उनको यात्रा केवल ‘कमाइ खाने’ मा सीमित भएन । संघर्षका धुलाम्मे बाटाहरू पार गर्दै उनले व्यवसाय पनि गरे, असफलताबाट सिके, अनि अन्ततः नेपाली समुदायकै लागि समर्पित ‘जनउद्धार केन्द्र मलेसिया’ स्थापना गरेर हजारौंको जीवनमा स्पर्श पु¥याए ।

गाउँको बाल्यकाल र अधुरो पढाइ

केशुको बाल्यकाल अतिसामान्य थियो । खेतबारी, साथीहरूसँग खेलकुद र गाउँको साधारण विद्यालयमा अध्ययन । उनले २०४७ सालमा एसएलसी पास गरे । आईए पढ्नगि बाग्लुङबाट बुटवल झरे । पढ्दापढ्दै आईएमा एउटा विषयमा ‘ब्याक’ ल्याग्यो । त्यसपछि उनको ध्यान पढाइतिर गएन ।

‘२०४८ देखि २०५० सम्म बुटवलमा अध्ययन गरेँ । तर, आईएमा एउटा विषय लाग्यो । त्यो क्लियर गर्न सकिन, त्यत्तिकै रह्यो,’ उनी सम्झिन्छन् ।

पढाइ पुरा गर्न नसकेपछि विदेश जान मन लाग्यो । जबकि, त्यो बेला विदेश भनेपछि सबैजना अचम्मित हुन्थे । युवावस्थामा परिवारको आर्थिक अवस्थाले पनि ठूलो चुनौती खडा गरिरहेको थियो । त्यसैले उनले पढाइभन्दा रोजगारीलाई प्राथमिकता दिए र विदेशिने निर्णय गरे ।

पहिलो यात्रा मलेसिया

सन् १९९३/९४ तिर जब धेरै नेपालीका लागि मलेसिया अझै खुला बजारजस्तो थिएन, त्यतिबेला केशु केही साथीहरूसँगै सिंगापुर हुँदै मलेसिया पुगे ।

मलेसिया जानुअघि उनी बुटवलमै एउटा स्कुलमा पढाउँथे । तर थोरै तलब, दुःख धेरै हुन्थ्यो । जसले गर्दा उनलाई नेपालको विकल्पबारे सोच्न बाध्य बनाएको थियो ।

थोरै तलबमा काम गर्नुपर्ने अवस्था भएपछि उनले आफ्नो भविष्य नेपाल र शिक्षण पेसाबाट हुन नसक्ने देखेपछि उनले विदेश जाने सोच बनाए ।

विदेश जाँदा सबैभन्दा सजिलो देश भनेको मलेसिया नै थियो । र, उनको रोजाइमा पनि मलेसिया नै प¥यो ।

दुई/तीन जना साथी मिलेर मलेसिया जाने भनेर नेपालबाट हिँडे । सिंगापुरमा एक साता बसेपछि उनीहरू त्यहाँबाट मलेसियातिर लागे ।

‘त्यो बेला अन–अराइभल भिसा पाइन्थ्यो । सिंगापुरमा एक हप्ता बस्यौं र त्यहीँबाट मलेसिया आयौं,’ उनी भन्छन् ।

पहिलो पटक मलेसिया आउँदा भाषा नबुझ्ने, संस्कृतिबाट अपरिचित हुने र कामको कठिनाइले उनीहरूलाई सहज भएन । तर, त्यस समय नेपालीहरूप्रति रहेको ‘गोरखा’ को छवि र सम्मानले कतै–कतै काम खोज्न सजिलो बनाइदियो ।

‘त्यतिबेला नेपाली भनेर कसैले पनि चिन्थेनन्, त्यो बेला त गोरखा भनेर नै नेपालीलाई चिन्थे,’ उनी अहिले सम्झिन्छन्, ‘थोरै नेपाली थिए, उनीहरूले पाउने सम्मान छुट्टै खालको थियो, गोरखा भनेपछि प्रायः सबै ठाउँमा काम दिन्थे ।’

लेबरदेखि सुपरभाइजरसम्म

सुरुमा उनले फर्निचर कम्पनीमा सामान्य लेबर (श्रमिक) का रूपमा काम थाले । आठ घण्टाको कामको ज्याला त्यतिबेला १७.३० मेलसियन रिंगिटमात्र थियो ।

‘दैनिक त्यस्तै ४ सय ८० देखि ५ सय नेपाली रुपैयाँ जति पथ्र्यो, घण्टाको हिसाबले दिइन्थ्यो, मासिक होइन,’ उनी भन्छन् ।

तर, मिहिनेत र प्रतिबद्धताले उनलाई चार वर्षभित्रै सुपरभाइजर तहसम्म पुर्‍यायो । दुर्भाग्यवश, सन् १९९७ को विश्वव्यापी आर्थिक मन्दीले उनको रोजगारी संकटमा परेपछि नेपाल फर्किन बाध्य भए ।

व्यवसायमा हाले हात, भए असफल

आर्थिक मन्दीपछि नेपाल फर्किएका उनी कपडा व्यवसायमा लागे । मलेसियाबाट कपडा ल्याउने अनि नेपालमा बेच्ने काम थाले । पाँच वर्षसम्म कपडा व्यापारमा हात हाले ।

तर, सानोतिनो व्यवसायीका लागि नेपालको ‘सिस्टम’ अप्ठ्यारो ठहरियो । भन्सार, कर, उधारोमा सामान बिक्री र लगानी नफर्किने समस्याले उनलाई थिच्यो ।

नेपालमा एक त कम्पनी खोल्नै गाह्रो । कम्पनी खोलिसकेपछि यहाँबाट सामान लगेर त्यहाँ बिक्री गर्दा झन गाह्रो । भन्सारदेखि विभिन्न खालका समस्या नै समस्या थियो । त्यसमाथि पैसा तिरेर लगेको सामान नेपालमा उधारोमा जाने । त्यो पैंसा कहिले आउने भन्ने टुंगो नहुने ।

मलेसिया आइसकेपछि लगभग २०–२२ वर्षदेखि अहिले क्लिनिङ सर्भिस खोलेर काम गरिरहेको छु।

‘हामीजस्ता साना व्यापारीका लागि नेपालमा व्यवसाय टिकाउन गाह्रो छ, नगद लगेर उधारोमा बेच्दा पैसा नफर्कने, कर तिर्नुपर्ने, यी सबैले टिक्न दिँदैन,’ उनी सुनाउँछन्, ‘त्यसपछि केही नलागरे फेरि मलेसिया नै फर्किएँ ।

लेडिज (महिला) कपडाको व्यापार गर्ने क्रममा उनी मलेसिया २/३ महिनामा एक पटक गइरहन्थे । जसले गर्दा मलेसियासँगको सम्बन्ध नजिक बन्न पुगेको थियो । व्यापार–व्यवसाय राम्रोसँग अगाडि बढ्न नसकेपछि पुनः आफ्नो कर्मथलो फर्किने योजना सहित सन् २००३ मा मलेसियातिर लागे ।

क्लिनिङ सेवा व्यवसाय

सन् २००३ बाट उनले क्वालालम्पुरमा क्लिनिङ सर्भिस कम्पनी सञ्चालन गर्न थाले, जुन अहिले पनि निरन्तर चलिरहेको छ । यस व्यवसायले उनलाई स्थायित्व त दियो नै, समाज सेवामा लाग्ने आधार पनि बनाइदियो ।

‘मलेसिया आइसकेपछि लगभग २०–२२ वर्षदेखि अहिले क्लिनिङ सर्भिस खोलेर काम गरिरहेको छु,’ उनी भन्छन् ।

जनउद्धार केन्द्र स्थापना

मलेसियामा बस्दै गर्दा उनले धेरै नेपाली जेलमा परेको, अवैधानिक बस्दा समस्यामा परेको र उपचार नपाएर कठिनाइ भोगिरहेको देखे । एक पटक जेलमा भेट्न गएको अनुभव उनले कहिल्यै बिर्सन सकेनन् ।

‘जेल सहरभन्दा टाढा थियो, फर्कंदा ट्याक्सी वा बस केही पाइएन, बाध्य भएर म भुइँमै सुतेँ,’ केशु सम्झिन्छन्, ‘त्यतिबेला सोचेँ, मलाई त यस्तो भयो भने अरूलाई कति गाह्रो हुन्छ होला ?’

यही पीडाबाट २१ अगस्ट २०१७ मा उनले साथीहरूसँगै ‘जनउद्धार केन्द्र मलेसिया’ स्थापना गरे । केही महिना भित्रै पाँच नेपालीलाई टिकट काटेर नेपाल पठाए । त्यसपछि त कामको दायरा बढ्दै गयो ।

उद्धारका कथा

सन् २०१७ पछि अहिलेसम्म उनीहरूले करिब ४ सय नेपालीलाई उद्धार गरेर नेपाल पठाइसकेका छन् ।

केशुले मानसिक रूपमा अस्वस्थ, प्यारालाइसिस (पक्षघात) भएका वा अवैधानिक अवस्थामा अलपत्र परेका नेपालीलाई घर फर्काउन दूतावाससँग सहकार्य गर्दै आएका छन् ।

उनले चार नेपालीको शव मलेसियामै दाहसंस्कार समेत गरेका छन् । परिवार वा परिस्थितिले शव नेपाल पठाउन नसकिएकाहरूको मलेसियामै दाहसंकार गरेर अस्तु समेत विर्सजन गर्दै आएका छन् ।

कसैले दाहसंस्कार त्यहीँ गर्नुस् भन्छन्, त्यसबेला हामी दूतावास र गाउँपालिकाको अनुमति लिएर हिन्दु वा बौद्ध संस्कार अनुसार अन्त्येष्टि गर्छौं

‘कसैले दाहसंस्कार त्यहीँ गर्नुस् भन्छन्, त्यसबेला हामी दूतावास र गाउँपालिकाको अनुमति लिएर हिन्दु वा बौद्ध संस्कार अनुसार अन्त्येष्टि गर्छौं,’ उनी भन्छन् ।

२०१९ मा यो संस्था मलेसिया सरकारमा दर्ता भयो । आज मलेसियामा रहेका सयाँै नेपाली संघसंस्थामध्ये यो नै एकमात्र कानुनी रूपमा दर्ता भएको सामाजिक संस्था हो ।

यसले उद्धारमात्र होइन, रोगी नेपालीको उपचारमा सहयोग, मृतकको शव व्यवस्थापन, अस्तु विसर्जन र कहिलेकाहीँ आर्थिक सहयोग समेत गर्दै आएको छ ।

व्यक्तिगत प्रेरणा

केशु मलेसियामा एक व्यवसायीमात्र नभई समाजसेवीका रूपमा समेत बढी परिचित छन् । आफ्नै खर्चमा समाज सेवा गर्दै आएका उनी त्यसका पछाडि थुप्रै कारण रहेको सुनाउँछन् ।

‘म आफैंले दुःख भोगेको थिएँ, जेलमा भेट्न गएका बेला भुइँमै सुत्नुपरेको अनुभवले मलाई झक्झक्यायो,’ उनी भन्छ्न, ‘अरूले त्यो दुःख नपाओस् भन्ने चाहनाले समाज सेवा सुरु गरेँ ।’

उनको बुझाइमा समाज सेवा गर्न दुई कुरा अपरिहार्य छन् । त्यसमा फन्ड (पैसा) र रुचि अनिवार्य चाहिन्छ । ‘फन्डविना समाज सेवा टिक्दैन र रुचिविना पनि टिक्दैन,’ उनी स्पष्ट पार्छन् ।

जनउद्धार केन्द्र चलाउन उनीहरू दातामाथि निर्भर छैनन् । बरु, नेपाली मजदुरहरूले आफ्नै सहयोगबाट फन्ड जम्मा गर्छन्, ढाकाटोपी बेचेर वा साना योगदान मार्फत ।

३२ वर्षे यात्राको सिकाइ

केशुको जीवनका ३२ वर्षको परदेश यात्राले एउटा ठूलो कथा बोकेको छ । अधुरो पढाइपछि आर्थिक संकटले उनलाई विदेश पु¥याएको थियो । जीवनमा भोगेका अनेक दुःखकष्ट नै उनको जीवनको पढाइ भयो ।

लेबरदेखि सुपरभाइजरसम्मको मिहिनेत, व्यवसायमा असफलता र फेरि स्थिरताबाट पाठ सिकेर उनले आफूलाई सक्षम बनाउँदै लगे । अन्ततः हजारौं नेपालीको जीवनमा उज्यालो ल्याउने सामाजिक अभियन्ताका रूपमा स्थापित हुन पुगे ।

विदेशिनु पैसाका लागिमात्र होइन, अनुभव, संघर्ष र समाजलाई फर्काउन सकिने प्रेरणाका लागि पनि हुन सक्छ ।

उनको कथाले देखाउँछ– विदेशिनु पैसाका लागिमात्र होइन, अनुभव, संघर्ष र समाजलाई फर्काउन सकिने प्रेरणाका लागि पनि हुन सक्छ ।

केशु आज पनि मलेसियामा बस्छन्, क्लिनिङ कम्पनी चलाउँछन् र जनउद्धार केन्द्रका अध्यक्षका रूपमा नेपालीहरूको आफन्त बनेर सेवा पु¥याइरहेका छन् ।

‘मलाई व्यक्तिगत रूपमा ठूलो उपलब्धि भनेको हजारौं नेपालीलाई उद्धार गर्न पाउनु हो,’ उनी खुसीसाथ भन्छन्, ‘पैसा कमाउने कुरा त व्यक्तिगत जीवनका लागि हो, तर अरूका लागि केही गर्न पाउनु, त्यो नै असली सम्पत्ति हो।’

लेखक
कृष्णसिंह धामी

धामी अनलाइनखबरको बिजनेश ब्युरोका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?