+
+
Shares

कांग्रेस बैठक : चौतर्फी चेपुवामा खड्का, पछ्याउलान् देउवाको शैली ?

कार्यवाहक सभापति खड्का एकातर्फ संस्थापन समूहमा रहेका नेताहरूको कुरा सुन्नुपर्ने बाध्यतामा छन् भने, १४औं महाधिवेशनका झन्डै ५४ प्रतिशत प्रतिनिधिको सामूहिक मागको उचित सम्बोधन गर्नुपर्ने जिम्मेवारीले थिचिएका छन् ।

केशव सावद केशव सावद
२०८२ कात्तिक २५ गते ९:००
फाइल तस्वीर

२५ कात्तिक, काठमाडौं । जेनजी आन्दोलनपछि सिर्जित राजनीतिक परिस्थितिका बीच सुरु भएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी छ । बैठकमा पार्टीको आगामी कार्यदिशा तय गर्न छलफल चलिरहेको छ ।

कांग्रेस बैठकप्रति धेरैको चासो छ । कांग्रेसले लिने राजनीतिक निर्णय अन्य दलहरूका लागि पनि प्रतीक्षाको विषय बनेको छ ।

जेनजी आन्दोलका क्रममा २४ भदौमा भएको सांघातिक आक्रमणपछि कांग्रेस सभापति शेरबहादुर देउवा उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी सुम्पिएर उपचारका लागि भन्दै सिंगापुर पुगेका छन् ।

कार्यवाहक सभापति खड्काको अध्यक्षतामा बस्दै आएको केन्द्रीय कार्यसमिति बैठकमा अन्य विषयभन्दा पनि महाधिवेशनको एजेन्डामा नेताहरू विभक्त छन् । कतिपय नेताहरू २१ फागुनमा हुने भनिएको चुनावपछि महाधिवेशन गर्नुपर्ने पक्षमा उभिएका छन् भने एकथरी नेताहरू नयाँ नेतृत्व चयन गरेर संसदीय चुनावमा जानुपर्ने पक्षमा मुखरित देखिन्छन् ।

अर्कातिर, १४औँ महाधिवेशनका झन्डै ५४ प्रतिशत प्रतिनिधिले गरेको मागअनुसार आगामी पुस मसान्तभित्रै विशेष महाधिवशेन गरेर नयाँ नेतृत्व चयन गर्नुपर्ने आवाज पनि बैठकमा सुनिँदै आएको छ ।

बैठकमा महामन्त्री गगनकुमार थापाले चुनावअगावै महाधिवेशन गर्नुपर्ने भन्दै आगामी पुस १६–१९ मा सम्पन्न हुने गरी कार्यतालिका प्रस्ताव गरिसकेका छन् । उनलाई ‘काउन्टर’ दिँदै सोही दिन (१८ कात्तिक) सहमहामन्त्री महेन्द्र यादवले चुनाव सम्पन्न गरिसकेपछि मात्रै महाधिवेशन गर्नुपर्ने प्रस्ताव बैठकमा गरेका छन् ।

त्यसअघि २९ असोजमा २ हजार ४८८ महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षरसहित विशेष महाधिवेशनको माग गर्दै विशेष महाधिवेशन पक्षधर समूहले कार्यवाहक सभापति खड्कालाई लिखित निवेदन बुझाएको थियो ।

खड्का सामु यतिबेला चारतिरका कुरा सुनेर एक ठाउँमा पुग्नुपर्ने र कांग्रेसलाई एकढिक्का बनाएर अगाडि बढाउनुपर्ने महत्वपूर्ण चुनौती छ । यही चुनौतीको सफल अवतरणले कार्यवाहक सभापति खड्काको सफलता र असफलताको मापन हुने एक पदाधिकारी बताउँछन् ।

४० प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षरसहित माग गरे तीन महिनाभित्र विशेष महाधिवेशन बोलाउनुपर्ने बाध्यकारी व्यवस्था कांग्रेस विधानमा छ । यतिबेला कांग्रेसले महाधिवेशनबारे कस्तो निर्णय गर्छ र कुन बाटो तय गर्छ, स्वयं कांग्रेसकै नेताहरू नै भन्न सक्ने अवस्थामा देखिँदैनन् ।

नेताहरूले आफूआबद्ध समूहको भावनासँग मेल खाने गरी महाधिवेशनबारे फरक–फरक धारणा राखिरहेका बेला कार्यवाहक सभापति खड्का भने चौतर्फी चेपुवामा छन् । उनका सामु सभापति देउवाले पार्टी सञ्चालनका लागि दिएको जिम्मेवारी कुशलतापूर्वक बहन गर्नुपर्नेदेखि महामन्त्रीहरू गगनकुमार थापा र विश्वप्रकाश शर्माको सल्लाह–सुझावअनुसार अघि बढ्नुपर्ने दायित्व छ ।

कार्यवाहक सभापति खड्कासामु संस्थापन समूहमा रहेका नेताहरूको कुरा सुन्नुपर्ने बाध्यता एकातर्फ छ भने, १४औं महाधिवेशनका झन्डै ५४ प्रतिशत प्रतिनिधिको सामूहिक मागको उचित सम्बोधन गर्नुपर्ने जिम्मेवारीको बोझले थिचिएका छन् ।

खड्का सामु यतिबेला चारतिरका कुरा सुनेर एक ठाउँमा पुग्नुपर्ने र कांग्रेसलाई एकढिक्का बनाएर अगाडि बढाउनुपर्ने महत्वपूर्ण चुनौती छ । यही चुनौतीको सफल अवतरणले कार्यवाहक सभापति खड्काको सफलता र असफलताको मापन हुने एक पदाधिकारी बताउँछन् ।

‘सभापतिले दिएको जिम्मेवारी पूरा गर्नुपर्ने अभिभारा छ । महामन्त्रीको कुरा सुन्नुपर्ने छ । आफ्नो गुटको कुरा पनि मान्नुपर्ने छ, अनि ५४ प्रतशित महाधिवेशन प्रतिनिधिहरूको माग पनि सुनुवाइ गर्नुपर्ने छ,’ ती पदाधिकारीको भनाइ छ, ‘उहाँले चारतिरका कुरा सुन्नु छ । तर एक ठाउँमा पुग्नु छ । कांग्रेसको सफलता–असफलतासँगै पूर्णबहादुरको सफलता–असफलताले पूर्णता पाउने अवस्था छ ।’

पछिल्लो समय चर्किएको महाधिवेशनसम्बन्धी विवादको मिलनविन्दु के होला भन्ने कौतुहलता कांग्रेसका नेता–कार्यकर्तामा देखिन्छ । कतिपय नेताहरूमा महाधिवेशनसम्बन्धी विवादको सफल अवतरण नहुँदा पार्टी नै विभाजन हुने हो कि भन्ने चिन्ता पनि देखिन्छ ।

तर, चुनावअघि महाधिवेशन गर्न नहुने अडानमा रहेका सहमहामन्त्री महेन्द्र यादव भन्छन्, ‘निकास निस्किन्छ । नेपाली कांग्रेस चुनावमा सर्वसम्मत रूपले भाग लिन्छ । चुनावको तयारी गर्छ । चुनाव पनि लड्छ । जित पनि हासिल गर्छ । संविधान बचाउँछ अनि व्यवस्था सुरक्षित गर्छ ।’

अर्का सहमहामन्त्री फरमुल्लाह मन्सुर पनि केन्द्रीय कार्यसमिति बैठकमा उठेका धारणालाई एकीकृत गरेर समयअनुकूल पार्टीले निर्णय गर्ने बताउँछन् । ‘सबै धरणालाई एकीकृत गरेर उठेका कुराहरूलाई वर्तमान परिप्रेक्ष्यमा के उपयुक्त हुन्छ, त्यो निर्णय नेपाली कांग्रेसले गर्छ,’ उनले भने ।

केन्द्रीय सदस्य भरतकुमार शाह जेनजी आन्दोलनपछि सिर्जना भएको नयाँ परिस्थितिमा कांग्रेसले नयाँ नेतृत्व चयन गरे उत्साह थपिने आशा धेरैको भएका कारण चुनावअघि नै महाधिवेशनको निर्णय दिनुपर्ने पक्षमा देखिन्छन् ।

‘जेनजी आन्दोलन भइसकेपछि नयाँ परिस्थितिमा कांग्रेसले केही परिवर्तन गरेर नयाँ नेतृत्व चयन गरे गए उत्साह–उमंग हुन्छ कि भन्ने सबैको आशा छ,’ उनले भने, ‘सबै जिल्लाहरूमा त्यस्तो कुरा भएको हुनाले यथास्थितिमा अघि जान सकिँदैन । सकभर पहिले नै महाधिवशेन गर्ने निर्णय लिन आवश्यक छ ।’

केन्द्रीय कार्यसमिति बैठक लम्ब्याउने, छलफल बहस गर्ने र अन्तिममा सर्वसम्मत गर्ने परम्परा कांग्रेसमा छ । यसपालि पनि पुरानै शैलीअनुसार सर्वसम्मत निर्णय गरिनुपर्ने पक्षमा नेताहरू देखिन्छन् ।

संस्थापनइतर समूहमा रहेका एक पदाधिकारीले पनि पूर्णबहादुरले पूर्णतामा पुर्‍याउँछन् कि पुर्‍याउँदैनन् भन्ने चासो चौतर्फी भए पनि कार्यवाहक सभापति खड्का सन्तुलनको प्रयासमा देखिएको बताए ।

‘सभापति देउवाको ठाउँमा यतिबेला पूर्णबहादुर हुुनुहुन्छ । अन्तिममा पूर्णबहादुरले पूर्णतामा पुर्‍याउनुहुन्छ कि के गर्नुहुन्छ त भन्ने चासो चौतर्फी छ,’ उनले भने, ‘तर उहाँ सन्तुलनको प्रयासमै हुनुहुन्छ । उहाँले विशेष महाधिवेशन हुँदैन भनेर पनि भन्नुभएको छैन । पुसमै गरौँ पनि भनिसकेको अवस्था होइन, वैशाखमा गर्ने पक्षमा पनि खुल्नुभएको छैन ।’

कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महत पार्टी एकता नै संकट समाधानको उपाय भएको बताउँछन् । महाधिवेशनबाट को सभापति बन्छ, को नेतृत्वमा आउँछ भन्ने बहसभन्दा माथि उठ्नुपर्नेमा उनको जोड छ ।

‘संकटमा पार्टी फुटाउने होइन, जोड्ने हो । विवाद सहज समयमा गर्न सकिन्छ, संकटमा होइन । कांग्रेस एक भयो भने देशलाई पनि जोगाउन सक्छ, लोकतन्त्रलाई पनि बलियो बनाउन सक्छ,’ प्रवक्ता महतले भने, ‘अहिले देश संकटमा भएको बेला बीपी कोइरालाले त्यो बेला भनेको राष्ट्रिय मेलमिलापको सन्दर्भ अहिले फेरि सान्दर्भिक भएको छ ।’

सानेपामा बसेको कांग्रेस केन्द्रीय समिति बैठक/फाइल तस्वीर

केन्द्रीय कार्यसमिति बैठक लम्ब्याउने, छलफल बहस गर्ने र अन्तिममा सर्वसम्मत गर्ने परम्परा कांग्रेसमा छ । यसपालि पनि पुरानै शैलीअनुसार सर्वसम्मत निर्णय गरिनुपर्ने पक्षमा नेताहरू देखिन्छन् ।

विगतमा सभापति देउवा पार्टीको बैठकमा सबै नेताहरूका कुरा ध्यानपूर्वक सुन्ने गर्थे । बैठकका एजेन्डालाई अन्तिम रूप दिने अघिल्लो दिन जारी केन्द्रीय कार्यसमिति बैठक स्थगित गरेर पदाधिकारीहरूसँग छुट्टा–छुट्टै र सामूहिक छलफल गर्ने देउवाको बानी थियो ।

छलफलपछि सभापति देउवाले पार्टी बैठकमा सम्भावित निर्णय महामन्त्रीमार्फत सुनाउने र निर्णय गराउने गरेको पदाधिकारीहरू बताउने गर्छन् ।

‘उहाँ (देउवा) सभापति हुँदा सबैको कुरा सुनिसकेपछि एक दिन ‘ग्याप’ राखेर पदाधिकारी– महामन्त्रीसँग सल्लाह गर्नुहुन्थ्यो,’ एक पदाधिकारीले अनलाइनखबरसँग भने, ‘एक दिनको ‘ग्याप’ पछाडि सबै मिलेर आएका हुन्थ्यौँ । अन्तिममा महामन्त्रीले निर्णय भन्ने र निर्णय गराउने बानी थियो ।’

ती पदाधिकारीले कार्यवाहक सभापति खड्काले पनि निर्णय लिँदा सभापति देउवाको पदचाप पछ्याउनुपर्ने सुझाव दिए ।

३० असोजदेखि एजेन्डासहित छलफल सुरु भएको केन्द्रीय कार्यसमिति बैठकमा शुक्रबारसम्म १२० जना नेताहरूले आ-आफ्ना धारणा राखिसकेका छन् ।

लेखक
केशव सावद

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?