News Summary
Generated by OK AI. Editorially reviewed.- सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग २०२५ को लिग चरण सकिएको छ र प्लेअफका लागि सुदूरपश्चिम रोयल्स, विराटनगर किङ्स, काठमान्डु गोर्खाज र लुम्बिनी लायन्स छनोट भएका छन्।
- सुदूरपश्चिम रोयल्सले लिग चरणमा ६ जित र १ हारसहित शीर्ष स्थान हासिल गरेको छ र कप्तान दीपेन्द्रसिंह ऐरीले ब्याटिङ, बलिङ र फिल्डिङमा योगदान दिएका छन्।
- विराटनगर किङ्सले फाफ डुप्लेसी र सन्दीप लामिछानेको नेतृत्वमा दोस्रो स्थान हासिल गरेको छ भने काठमान्डु गोर्खाज र लुम्बिनी लायन्सले क्रमशः तेस्रो र चौथो स्थानमा प्लेअफमा पुगेका छन्।
२२ मंसिर, काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट २०२५ मा लिग चरणका खेलहरू सकिइसकेका छन् । आइतबार अन्तिम लिग खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई ३ रनले पराजित गरेसँगै लिग चरणको अंकतालिकाले पनि पूर्णता पायो ।
यस खेलअघि नै प्लेअफ खेल्ने चार टोलीको टुंगो भने लागिसकेको थियो । साविक विजेता जनकपुर बोल्ट्स यसपटक सबैभन्दा खराब प्रदर्शनसहित आठौं स्थानमा रहेर प्रतियोगिता सकायो ।
यस्तै गत संस्करण प्लेअफमा पुगेका कर्णाली याक्स र चितवन राइनोज यसपटक प्लेअफमा पुग्न सकेनन् । गत संस्करण पनि लिग चरणबाटै बाहिरिएको पोखरा एभेन्जर्सको यात्रा यसपटक पनि लिग चरणसम्म मात्र रह्यो ।
गत संस्करणको उपविजेता सुदूरपश्चिम रोयल्स यसपटक पनि प्लेअफमा पुग्न सफल भयो । लिग चरणमा लगातार ६ खेल जितेर अन्तिम खेलमा पराजित भएको सुदूरपश्चिम अंकतालिकामा १२ अंकका साथ शीर्षस्थानमा रह्यो ।
सुदूरपश्चिमबाहेक अन्य तीन टोली भने पहिलोपटक प्लेअफमा पुगे । विराटनगर किङ्स दोस्रो स्थान, काठमान्डु गोर्खाज तेस्रो तथा लुम्बिनी लायन्स चौथो स्थानमा रहेर प्लेअफका लागि छनोट भएका छन् । यस्तोमा एनपीएलले नयाँ विजेता पाउने पनि पक्का छ ।
अब प्लेअफअन्तर्गत पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्स खेल्ने छन् । विजेता टोली सिधै फाइनलमा पुग्नेछ भने पराजित हुने टोलीले अर्को एक मौका पाउनेछ ।
एलिमिनेटरमा काठमान्डु गोर्खाज र लुम्बिनी लायन्स खेल्ने छन् । विजेता टोलीले पहिलो क्वालिफायरमा पराजित हुने टोलीसँग दोस्रो क्वालिफायरमा खेल्नेछ । त्यहाँबाट विजेता टोली फाइनलमा पुग्नेछ ।
प्लेअफमा पुगेका चारवटै टोलीको हालसम्मको प्रदर्शन कस्तो छ त ? आज यसबारेमा चर्चा गर्नेछौं ।
सुदूरपश्चिम रोयल्स
गत संस्करण पनि अंकतालिकामा सबैभन्दा शीर्षस्थानमा रहेर प्लेअफ खेलेको सुदूरपश्चिम रोयल्सले यस संस्करण पनि टेबल टपरका रूपमा प्लेअफ खेल्दै छ ।
सुदूरपश्चिमले सुरुवाती ६ खेलमा लगातार जित निकालेर शीर्षस्थानमै आसीन रहने पक्का गरेको थियो । लिग चरणको अन्तिम खेलमा भने विराटनगर किङ्ससँग पराजित भयो । पहिलो क्वालिफायरमा सुदूरले फेरि विराटनगरसँगै खेल्दै छ ।
सुदूरपश्चिम ब्याटिङ, बलिङ र फिल्डिङ तीनवटै पक्षमा अब्बल देखिएको छ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान एवम् अलराउन्डर दीपेन्द्रसिंह ऐरी कप्तान रहेको सुदूरले अन्तिम खेल मात्र एकपक्षीय रूपमा गुमाउँदा बाँकी खेलमा प्रभावशाली प्रदर्शन गरेको छ।
टप अर्डर ब्याटिङमा विनोद भण्डारी, क्रिस लिन र जोश ब्राउनले राम्रो गरेका छन् भने मध्यक्रम र तल्लोक्रममा कप्तान दीपेन्द्रसँगै इशान पाण्डे, आरिफ शेख र हर्मीत सिंहले योगदान दिएका छन् ।
कप्तान दीपेन्द्र आफैंले तीनवटै पक्षमा योगदान दिएका छन् । ब्याटिङमा १४६ रन बनाएका दीपेन्द्रले बलिङमा ७ विकेट लिएका छन् । डाइरेक्ट हिटमा रनआउट गर्दा क्याच पनि लिएका छन् ।

सुदूरपश्चिमका लागि विदेशी खेलाडीले मात्र नभएर नेपाली खेलाडीले पनि राम्रो प्रदर्शन गरेका छन् । सर्वाधिक रन बनाउने र विकेट लिनेमा नेपाली खेलाडी नै अग्रस्थानमा छन् ।
सबैभन्दा धेरै रन विनोद भण्डारीले बनाएका छन् । उनले ७ खेलमा १ अर्धशतकसहित २०१ रन बनाएका छन् । सबैभन्दा धेरै विकेट अविनाश बोहराको नाममा छ । उनले ७ खेलमा १४ विकेट लिएका छन् ।
अब प्लेअफका लागि लिन र ब्राउन भने उपलब्ध छैनन् । उनीहरूको स्थानमा अमेरिकी ब्याटर मुख्तार अहमद र भारतीय ब्याटर शेल्डन ज्याकसन अनुबन्ध भइसकेका छन् । उनीहरूबाट पनि राम्रो प्रदर्शनको अपेक्षा रहनेछ ।
टोलीका प्रशिक्षक जगत टमाटाले ब्याटिङ बलिङ सबैमा टिमले राम्रो गरिरहेको र टिम म्यानेजमेन्टले पनि सपोर्ट गरेको बताएका छन् । ‘हाम्रो ब्याटिङ युनिट र बलिङ युनिटमा खेलाडीले जिम्मेवारी लिएको छ । त्यसमा टिम म्यानेजमेन्ट र सपोर्ट स्टाफलाई पनि धन्यवाद दिन्छु’ उनले भने, ‘अवस्था अनुसार अहिले पनि हाम्रो बलियो पक्ष बलिङ देखिएको छ । हाम्रो ब्याटिङ र बलिङ दुवै बलियो छ जस्तो मलाई लागिरहेको छ।’
सुदूरपश्चिम रोयल्सको लय : ६ जित, १ हार
सर्वाधिक रन : विनोद भण्डारी (२०१), आरिफ शेख (१६०), दीपेन्द्रसिंह ऐरी (१४६), क्रिस लिन (१४३), इशान पाण्डे (११४)
सर्वाधिक विकेट : अविनाश बोहरा (१४), हर्मीत सिंह (१०), स्कट कुग्लेइन (८), दीपेन्द्रसिंह ऐरी (७), हेमन्त धामी (६)
विराटनगर किङ्स
पहिलो संस्करण प्लेअफमा पुग्न नसकेको विराटनगरले दोस्रो संस्करणका लागि दक्षिण अफ्रिकी स्टार ब्याटर फाफ डुप्लेसीलाई अनुबन्ध गरेर प्रतियोगिताअघि नै चर्चा कमाइसकेको थियो ।
त्यसमाथि पनि न्युजिल्यान्डका मार्टिन गप्टिललाई निरन्तरता दिएर दक्षिण अफ्रिकी पेस बलर मर्चेन्ट डे लाङ अनि अस्ट्रेलियाका बीबीएल स्टार साम हिजलेट अनुबन्ध गरेपछि विराटनगर बलियो देखिएको थियो ।
मैदानमा पनि बलियो प्रदर्शन गर्दै विराटनगरले सुरुवाती ३ खेलमा लगातार जित निकालेर प्लेअफको बलियो सम्भावना देखाएको थियो । चौथो खेलमा विराटनगरलाई चितवन राइनोजले झट्का दियो । त्यसपछि पाँचौं खेलमा बसिर अहमद चम्किँदा कर्णाली याक्सलाई हराएको विराटनगर छैटौं खेलमा लुम्बिनीसँग पराजित भयो ।
प्रतियोगिताको बीचमा केही धर्मराएपनि विराटनगर प्लेअफ पुग्ने पक्का भइसकेको थियो । यद्यपी विराटनगर शीर्ष २ मा पर्नका लागि भने एउटा ठूलो अन्तरको जित आवश्यक थियो, त्यो पनि अपराजित टोली सुदूरपश्चिमविरुद्ध । ‘हाइ भोल्टेज’ खेलमा विराटनगरले त्यही सुदूरपश्चिमको त्यो अपराजित यात्रामा ब्रेक लगाउँदै शानदार जित हासिल गरेर शीर्ष २ मै फिनिस गर्न सफल भयो ।
फाफ डुप्लेसी लिगका अन्तिम २ खेलअघि मात्र आइपुगेका थिए । उनले पहिलो खेलमा १२ अनि दोस्रो खेलमा कीर्तिमानी अर्धशतक बनाए । टप अर्डर ब्याटिङमा गप्टिल, जर्ज मन्सेबाट योगदान हुँदा मध्यक्रममा बसिर अहमदको भूमिका महत्वपूर्ण देखिएको छ । उनले सबैभन्दा धेरै रन बनाएका छन् ।

मध्यक्रमबाट पनि राम्रो प्रदर्शन हुन सकेको अवस्थामा विराटनगर पनि सन्तुलित देखिएको छ । बलिङमा भने कप्तान सन्दीप लामिछाने उत्कृष्ट लयमा छन् । ७ खेलमा १५ विकेट लिएका उनी प्रतियोगिताकै सर्वाधिक विकेट लिने बलर समेत हुन् । मर्चेन्ट डे लाङले ८ विकेट लिएका छन् । उनीबाट अझै राम्रो प्रदर्शनको अपेक्षा रहनेछ ।
विराटनगरको हरेक जितमा कहीँ न कहीँ सन्दीपको प्रभाव पनि परेको छ । ब्याटिङमा पनि उनले एक-दुई ठूला शट प्रहार गरेर टिमका लागि क्यामिओ रन पनि बनाएका छन् ।
शुभम रन्जाने र मन्से फर्किसकेको अवस्थामा विराटनगरका लागि गप्टिल, डुप्लेसी र हिजलेटको टप अर्डर ब्याटिङ सबैभन्दा महत्वपूर्ण हुनेछ । मध्यक्रममा बसिरलाई साथ दिन लोकेशले अझै राम्रो गर्नुपर्ने हुन्छ ।
विराटनगरका कप्तान सन्दीप लामिछानेले सुदूरपश्चिमले धेरै राम्रो क्रिकेट खेलिरहेको बताउँदै अघिल्लो खेलबाट सकारात्मक पक्षहरू अर्को खेलमा पनि लिएर जाने बताएका थिए । ‘सुदूरपश्चिमले धेरै राम्रो ब्रान्ड अफ क्रिकेट खेलिरहेको छ, त्यसको क्रेडिट दीपेन्द्र (कप्तान)लाई पनि जान्छ’ सन्दीपले भने, ‘आजको दिनमा जसरी खेलेका छौं, सकारात्मक कुराहरूलाई अगाडिको खेलमा पनि लिएर जानेछौं।’
विराटनगर किङ्सको लय : ५ जित, २ हार
सर्वाधिक रन : बसिर अहमद (१७६), लोकेश बम (१७५), मार्टिन गप्टिल (१२१), साम हिजलेट (११६), शुभम रन्जाने (८७)
सर्वाधिक विकेट : सन्दीप लामिछाने (१५), मर्चेन्ट डे लाङ (८), शुभम रन्जाने (५), सूर्य तामाङ (४), प्रतिश जीसी (४)
काठमान्डु गोर्खाज
गत संस्करण नेट रनरेटमा पछाडि परेर प्लेअफमा पुग्न नसकेको काठमान्डु गोर्खाज यसपटक भने पर्याप्त अंक नै लिएर प्लेअफमा पुगेको छ । तर यो यात्रा भने लेखेजस्तो सजिलो थिएन ।
सुरुवाती खेलमा साविक विजेता जनकपुर बोल्ट्सलाई हराएपछि दुई हार बेहोरेर लय गुमाएको काठमान्डुले त्यसपछि लगातार ४ खेल जितेर प्लेअफको उडान भरेको थियो । विराटनगर किङ्ससँग समान अंक भएपनि नेट रनरेटमा पछि परेपछि तेस्रो स्थानमा रहन पुग्यो ।
काठमान्डुलाई प्लेअफमा पुर्याउन विदेशी खेलाडीको भूमिका महत्वपूर्ण देखिएको छ । विशेषगरी ब्याटिङमा दुई इंग्लिस खेलाडी बेन चार्ल्सवर्थ र जोन सिम्पसनको प्रदर्शन महत्वपूर्ण देखिएको छ । जेरार्ड एरासमसले पनि मध्यम प्रदर्शन गरेका छन् । उनी प्लेअफमा भने उपलब्ध छैनन् ।
काठमान्डुका लागि जारी प्रतियोगितामा सर्वाधिक रन बनाउने शीर्ष ५ खेलाडीमध्ये ३ खेलाडी विदेशी नै छन् । जोन सिम्पसन, बेन चार्ल्सवर्थ र मिलिन्द कुमारसँगै आकाश त्रिपाठी र भीम सार्की त्यो सूचीमा छन् ।

बलिङमा भने कप्तान करण केसीसँगै शाहब आलम, राशिद खान र मिलिन्द कुमारबाट योगदान भएको छ । शाहबले त लिगको अन्तिम खेलमा कीर्तिमानी बलिङ गरेका थिए ।
काठमान्डुको जितमा विदेशी खेलाडीकै भूमिका बढी देखिएको छ । काठमान्डुका लागि नेपाली खेलाडीले पनि कन्सिस्टेन्ट प्रदर्शन गर्न सकेमा टिम ब्यालेन्स बन्नेछ । ब्याटिङमा राशिद खान, सन्तोष यादव र आदिल आलमले राम्रो गर्न सकेका छैनन् । त्यहाँ सुधार आवश्यक छ ।
विदेशी बलरहरू अनुबन्ध नगरेको काठमान्डुलाई बलिङमा नेपाली खेलाडीकै भर छ । पार्ट टाइम स्पीनर मिलिन्द कुमार मात्र विदेशी बलर हुन् । यसबाहेक नेपाली बलरले नै बलिङ गर्नुपर्नेछ र प्लेअफबाट फाइनलमा पुग्न उनीहरूले राम्रो बढी मेहेनत गर्नुपर्ने हुन्छ ।
काठमान्डु गोर्खाजको लय : ५ जित, २ हार
सर्वाधिक रन : बेन चार्ल्सवर्थ (१९७), जोन सिम्पसन (१५४), आकाश त्रिपाठी (११७), मिलिन्द कुमार (११३), भीम सार्की (७६)
सर्वाधिक विकेट : शाहब आलम (१२), करण केसी (१२), मिलिन्द कुमार (१०), राशिद खान (८), सन्तोष यादव (५)
लुम्बिनी लायन्स
गत संस्करण लिग चरण पार गर्न नसकेको लुम्बिनी लायन्सले दोस्रो संस्करणमा लोगोदेखि जर्सी अनि खेलाडीदेखि प्रशिक्षकसम्म परिवर्तन गरेको थियो ।
सुरुवाती खेलमै जित हासिल गरेको लुम्बिनीले त्यसपछि भने लगातार तीन हार बेहोर्यो, जसले टोलीलाई प्लेअफमा पुग्न चुनौतीपूर्ण अवस्थामा पुर्याएको थियो ।
४ खेलमा २ अंक मात्र जोड्न सकेपछि लुम्बिनीका लागि हरेक खेल ‘गर या मर’जस्तै थिए । चुनौतीका बीच लुम्बिनीले त्यसपछि शानदार पुनरागमन गर्दै बाँकी तीनवटै खेल जितेर प्लेअफमा स्थान बनाउन सफल भयो ।
प्रतियोगिताकै बीचमा पनि विदेशी खेलाडीदेखि ब्याटिङ अर्डरमा पनि परिवर्तन गर्दा त्यसले सकारात्मक नतिजा टोलीलाई दिएको छ । सुरुवाती खेलमा ओपनिङमा पठाइएका सन्दीप जोरा आफ्नै मिडल अर्डर/फिनिसरको पोजिसनमा पठाइए भने श्रीलंकन ब्याटर निरोशन डिक्वेलाको आगमनपछि मिडल अर्डर सन्तुलित देखिएको छ ।
लुम्बिनीका लागि ब्याटिङ र बलिङ दुवैमा नेपाली खेलाडी शीर्षमा छन् । सबैभन्दा धेरै रन कप्तान रोहित पौडेलले बनाएका छन् भने सबैभन्दा धेरै विकेट शेर मल्लले लिएका छन् । ब्याटिङमा अस्ट्रेलियन डार्शी शर्ट पनि पछिल्ला खेलमा लयमा देखिएका छन् ।

कप्तान रोहितले ७ खेलमा २०८ रन बनाएका छन् । यद्यपी उनले स्ट्राइक रेट भने सुधार्नुपर्ने हुन्छ । रोहितपछि डार्शी शर्टले १६४ रन बनाएका छन् । बलिङमा शेर मल्लले सबैभन्दा धेरै १२ विकेट लिएका छन् भने नामिबियन बलर रुबेन ट्रम्पलमनले ८ विकेट लिएका छन् ।
मिडल ओभरमा केही ठुला शट खेल्ने र विकेट पनि निकाल्न सक्ने अलराउन्डर गुल्बादिन नाइब फर्किसकेका छन् । उनको काम अहिले भने नामिबियन जेजे स्मिथले पूरा गरिरहेका छन् ।
ब्याटिङ र बलिङमा आवश्यक सुधार गरेर अझै राम्रो बनाउन सकेमा लुम्बिनी पनि उपाधि जित्न दाबेदारका रूपमा छ । कप्तान रोहितले पनि त्यही कुरा गरेका छन् ।
‘लुम्बिनी सबैभन्दा राम्रो शेपमा देखिएको छ, तीनवटै टिम राम्रो छन् । तर लुम्बिनी एकदम बलियो देखिइरहेको छ’ उनले प्लेअफमा पुगेपछि भनेका थिए, ‘हामीले पछिल्लो ३ खेलमा राम्रो खेलेका छौं । यो कुराले क्यारिड अवे त हुनुहुँदैन तर ३ वटै टिम राम्रो छन् लुम्बिनी अझै बेटर छ।’
लुम्बिनी लायन्सको लय : ४ जित, ३ हार
सर्वाधिक रन : रोहित पौडेल (२०८), डार्शी शर्ट (१६४), दिलिप नाथ (११३), सन्दीप जोरा (९२), गुल्बादिन नाइब (९०)
सर्वाधिक विकेट : शेर मल्ल (१२), रुबेन ट्रम्पलमन (८), गुल्बादिन नाइब (५), रोहित पौडेल (४), अभिशेष गौतम (४)
प्रतिक्रिया 4