+
एनपीएल २०२५ :

यस्तो छ सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सको फाइनल यात्रा

२०८२ मंसिर  २६ गते १५:०३ २०८२ मंसिर २६ गते १५:०३

दुवै टोलीको फाइनल यात्रा भने विपरित किसिमको छ । सुदूरपश्चिमले लिग चरणमा शानदार प्रदर्शन गरेको थियो भने लुम्बिनीले उतारचढावका बीच शानदार पुनरागन गरेर उपाधिको नजिक पुगेको छ ।

यस्तो छ सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सको फाइनल यात्रा

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग क्रिकेटको फाइनल खेल सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सबीच शनिबार दिउँसो साढे ३ बजे हुँदैछ।
  • सुदूरपश्चिम रोयल्सले लिग चरणमा १२ अंकसहित शीर्षस्थानमा रहँदै पहिलो क्वालिफायरमा विराटनगर किङ्सलाई हराएर फाइनलमा स्थान बनाएको छ।
  • लुम्बिनी लायन्सले उतारचढावका बीच इलिमिनेटर र दोस्रो क्वालिफायरमा जित हासिल गरी फाइनलमा पुगेको छ र कप्तान रोहित पौडेलले ९ खेलमा २६० रन बनाएका छन्।

२६ मंसिर, काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा ३१ खेल सकिइसकेका छन् भने अब अन्तिम अनि सबैभन्दा महत्वपूर्ण खेल बाँकी छ ।

लिग चरणका २८ खेलहरू अनि प्लेअफका ३ खेलहरू सकिँदा अब उपाधि भिडन्तमा सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स आमनेसामने हुँदैछन् । फाइनल खेल शनिबार दिउँसो साढे ३ बजेदेखि सुरु हुनेछ ।

सुदूरपश्चिम रोयल्सले पहिलो क्‍वालिफायरमा विराटनगर किङ्सलाई हराएर सिधै फाइनलमा स्थान बनाएको थियो भने लुम्बिनीले इलिमिनेटरमा काठमान्डु गोर्खाज अनि दोस्रो क्‍वालिफायरमा विराटनगर किङ्सलाई नै पराजित गरेर फाइनलको यात्रा तय गरेको छ ।

यी दुवै टोलीको फाइनल यात्रा भने विपरित किसिमको छ । सुदूरपश्चिमले लिग चरणमा शानदार प्रदर्शन गरेको थियो भने लुम्बिनीले उतारचढावका बीच शानदार पुनरागन गरेर उपाधिको नजिक पुगेको छ ।

दुवै टोलीको फाइनल यात्राबारे आज चर्चा गर्नेछौं ।

सुदूरपश्चिम रोयल्स

लिग चरणमा लगातार ५ खेल जितेर प्लेअफ पक्का गरेको सुदूरपश्चिमले त्यसपछिको खेल पनि जितेर शीर्षस्थानमा फिनिस गर्ने पक्का गरेको थियो । अंकतालिकामा १२ अंकका साथ शीर्षस्थानमा रहेको सुदूरपश्चिमले पहिलो क्‍वालिफायरमा विराटनगरलाई हरायो ।

लिग चरणमा यस संस्करण पनि सुदूरपश्चिमले शानदार सुरुवात गरेको थियो । पहिलो खेलमा सुदूरले काठमान्डुविरुद्ध १४७ रन डिफेन्ड गर्दै २९ रनको जित हासिल गरेको थियो । दोस्रो खेलमा पोखरा एभेन्जर्ससँगको हाइ स्कोरिङ खेलमा पनि १८ रनको जित हासिल गर्‍यो ।

त्यस्तै तेस्रो खेलमा कर्णाली याक्सविरुद्ध १३९ रन डिफेन्ड गरेर ९४ रनमै अलआउट गरेर प्रभावशाली जित हासिल गरेको थियो । चौथो खेलमा लुम्बिनी लायन्सविरुद्ध १४४ रनको लक्ष्य पूरा गर्दै जित हासिल गर्‍यो ।

पाँचौं खेलमा सुदूरले साविक विजेता जनकपुर बोल्ट्सलाई पनि ६ विकेटले पराजित गरेर प्लेअफमा स्थान पक्का गरेको थियो । छैटौं खेलमा चितवन राइनोजलाई ४९ रनले पराजित गरेर लगातार छैटौं जितसहित अंकतालिकामा शीर्षस्थानमै रहने पक्का गर्दै पहिलो क्‍वालिफायरमा स्थान बनायो।

लिग चरणको अन्तिम खेलमा सुदूरपश्चिम विराटनगरसँग भने पराजित भयो । १४४ रनको योगफल बनाएको सुदूरपश्चिमविरुद्ध फाफ डुप्लेसी चम्किँदा विराटनगरले १२औं ओभरमै लक्ष्य पूरा गरेको थियो । त्यसपछि सुदूरको भेट पहिलो क्‍वालिफायरमा विराटनगरसँगै भएको थियो ।

पहिलो क्‍वालिफायरमा भने सुदूरले बदला लियो । १५५ रनको योगफल बनाएको सुदूरले विराटनगरलाई ७८ रनमै अलआउट गरिदियो र सिधै फाइनलमा स्थान बनायो ।

यहाँसम्म आइपुग्दा सुदूरपश्चिम ब्याटिङ, बलिङ र फिल्डिङ तीनवटै पक्षमा अब्बल देखिएको छ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान एवम् अलराउन्डर दीपेन्द्रसिंह ऐरी कप्तान रहेको सुदूरले अन्तिम खेल मात्र एकपक्षीय रूपमा गुमाउँदा बाँकी खेलमा प्रभावशाली प्रदर्शन गरेको छ र अब फाइनलमा पनि त्यही लयलाई निरन्तरता दिने लक्ष्यमा हुनेछ ।

सुदूरपश्चिमको फाइनल यात्रा : 
काठमान्डु गोर्खाजसँग २९ रनले विजयी
पोखरा एभेन्जर्ससँग १८ रनले विजयी
कर्णाली याक्ससँग ४५ रनले विजयी
लुम्बिनी लायन्सविरुद्ध ७ विकेटले विजयी
जनकपुर बोल्ट्सविरुद्ध ६ विकेटले विजयी
चितवन राइनोजविरुद्ध ४९ रनले विजयी
विराटनगर किङ्सविरुद्ध ६ विकेटले पराजित
पहिलो क्वालिफायरमा विराटनगर किङ्सविरुद्ध ७७ रनले विजयी

लुम्बिनी लायन्स

सुदूरपश्चिमभन्दा ठीक विपरित लुम्बिनीको भने लिग चरणमा उतारचढाव देखिएको थियो । सुरुवाती खेल जितेर त्यसपछि लगातार तीन हार बेहोरेको लुम्बिनीले अन्तिमका तीन खेल फेरि जितेर प्लेअफमा स्थान बनाएको थियो । त्यसपछि इलिमिनेटरमा काठमान्डु गोर्खाजलाई हरायो ।

लुम्बिनी लायन्सले पहिलो खेलमा चितवन राइनोजलाई ६ विकेटले हराएको थियो । त्यसपछि कर्णाली याक्ससँग भने ९ विकेटको एकपक्षीय हार बेहोरेको थियो । त्यस खेलमा मार्क वाटले शानदार शतक बनाएका थिए ।

तेस्रो खेलमा लुम्बिनी काठमान्डु गोर्खाजसँग २२ रनले पराजित भयो । चौथो खेलमा सुदूरपश्चिम रोयल्ससँग ७ विकेटले पराजित भयो ।

त्यसपछि भने लुम्बिनीले शानदार पुनरागमन गर्‍यो । पाँचौं खेलमा पोखरा एभेन्जर्समाथि ३ विकेटको जित निकाल्न सफल भयो । छैटौं खेलमा विराटनगर किङ्सलाई ५ विकेटले अनि सातौं खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले हराउँदै प्लेअफमा स्थान बनायो ।

यसरी कुनै समय एक हारले पनि प्रतियोगिताबाट बाहिरिने अवस्थामा रहेको लुम्बिनीले शानदार पुनरागमन गर्दै इलिमिनेटरमा काठमान्डुलाई ४ विकेटले अनि २४ घण्टाभित्रै भएको दोस्रो क्‍वालिफायरमा विराटनगरलाई ४० रनले हराउँदै फाइनलमा पुग्यो ।

लुम्बिनीले प्रतियोगिताको बीचमा विदेशी खेलाडीदेखि टिम कम्बिनेसनसम्म परिवर्तन गरेको थियो । त्यसले पनि लुम्बिनीको टोलीमा सकारात्मक परिवर्तन ल्याएको छ ।

मध्यक्रमको ब्याटिङमा अझै सुधारको अपेक्षा राख्न सकिन्छ । यस्तो भएमा लुम्बिनीको ब्याटिङ अझ बलियो देखिनेछ ।

लुम्बिनीको फाइनल यात्रा : 
चितवन राइनोजविरुद्ध ६ विकेटले विजयी
कर्णाली याक्सविरुद्ध ९ विकेटले पराजित
काठमान्डु गोर्खाजविरुद्ध २२ रनले पराजित
सुदूरपश्चिम रोयल्सविरुद्ध ७ विकेटले पराजित
पोखरा एभेन्जर्सविरुद्ध ३ विकेटले विजयी
विराटनगर किङ्सविरुद्ध ५ विकेटले विजयी
जनकपुर बोल्ट्सविरुद्ध ४ विकेटले विजयी
इलिमिनेटरमा काठमान्डु गोर्खाजविरुद्ध ४ विकेटको जित
दोस्रो क्वालिफायरमा विराटनगर किङ्सविरुद्ध ४० रनको जित

खेलाडीको प्रदर्शन यस्तो

सुदूरपश्चिमका लागि नेपाली खेलाडीबाट शानदार प्रदर्शन हुँदा विदेशी खेलाडीबाट पनि साथ मिलेको छ । ब्याटिङमा विनोद भण्डारी ८ खेलमा २६४ रन बनाएर टोलीका लागि सर्वाधिक रन बनाउने खेलाडी हुन् । त्यसपछि आरिफ शेखले १८० रन बनाएका छन् । कप्तान दीपेन्द्रसिंह ऐरीले १४९ अनि इशान पाण्डेले १२७ तथा हर्मीत सिंहले १२३ रन बनाएका छन् ।

बलिङमा अविनाश बोहरा १६ विकेटका साथ प्रतियोगिताकै दोस्रो सर्वाधिक विकेटठ लिने खेलाडीका रूपमा छन् । हर्मीत सिंहले १२, स्कट कुग्लेइनले १० अनि दीपेन्द्रसिंह ऐरीले ८ विकेट लिएका छन् ।

कप्तान दीपेन्द्र आफैं ब्याटिङ, बलिङ र फिल्डिङ ३ वटै पक्षमा शानदार देखिँदा सुदूरपश्चिमको टोली नै आत्मविश्वासी देखिएका छन् । उनले १० क्याच लिनुका साथै डाइरेक्ट हिट रनआउट समेत गरेका छन् ।

अर्कोतर्फ लुम्बिनीका लागि पनि नेपाली खेलाडीबाट शानदार प्रदर्शन भएको छ । ब्याटिङमा कप्तान रोहित पौडेल तथा बलिङमा शेर मल्ल गज्जबको लयमा छन् । दुवैलाई विदेशी खेलाडीको साथ मिल्दा लुम्बिनीले मैदानमा गर्जन देखाइरहेको छ ।

रोहितले ९ खेलमा २६० रन बनाएका छन् । उनलाई अस्ट्रेलियन डार्शी शर्टले साथ दिइरहेका छन् जसले २४२ रन बनाएका छन् । निरोशन डिक्‍वेलाले ५ खेलमा १२६ रन बनाएका छन् । लुम्बिनीका लागि ब्याटिङमा सबैबाट केही योगदान भइरहेको छ ।

लुम्बिनीले जितको आधार भने बलिङबाट बनाइरहेको छ । शेर मल्ल ९ खेलमा १४ विकेटका साथ टोलीका लागि सर्वाधिक विकेट लिने बलर हुन् भने प्रतियोगिताकै तेस्रो सर्वाधिक विकेट टेकर हुन् । दोस्रोमा नामिबियन रुबेन ट्रम्पलमन छन् जसले १२ विकेट लिएका छन् । यी दुईले मिलेर विपक्षीलाई सुरुवातदेखि नै समस्यामा पार्दै आएका छन् । कप्तान रोहित पौडेलले पनि ७ विकेट लिएका छन् ।

एनपीएल एनपीएल क्रिकेट एनपीएल २०२५
लेखक
प्रतिक भट्ट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय