+
+
१९ दिन बाँकी
Election Banner

उम्मेदवारहरू

३४०६
Candidates
प्रत्यक्ष ३४०६
सामानुपातिक १२७०

हट सिटहरु

६२
Hot Seat

पार्टीहरु

६८
Parties

चुनाव क्षेत्रहरु

१६५
Constituencies
Shares

एआई बाठो होला, हाम्रो भावना बुझ्न सक्दैन

कृष्ण धरावासी कृष्ण धरावासी
२०८२ फागुन २ गते १३:५८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • लेखकले एआईसँग संवाद गर्दै आफ्नो अस्तित्व र बुद्धिको विस्तारबारे दार्शनिक प्रश्न उठाएका छन्।

म अहिले एउटा यस्तो दोसाँधमा उभिएको छु, जहाँ मेरो अगाडि एउटा यन्त्र छ र मेरो पछाडि मेरो आफ्नै इतिहास । मेरो अगाडि ‘आर्टिफिसियल इन्टेलिजेन्स’ (एआई) को एउटा विशाल र शून्य महासागर छ, जसले मसँग मेरो आफ्नै भाषा र शैलीमा संवाद गरिरहेको छ । म सोध्छु– के यो मेरो बुद्धिको विस्तार हो कि मेरो अस्तित्वको संकुचन ? के म एउटा मेसिनसँग कुरा गर्दै छु कि आफ्नै मस्तिष्कको कुनै एउटा कुनामा लुकेको अर्को ‘म’ सँग ? यहीँबाट ‘लीला लेखन’ को नयाँ र अझ जटिल यात्राको अध्याय सुरु हुन्छ ।

हाम्रो पूर्वीय दर्शनले भन्छ– पूर्णमदः पूर्णमिदम् पूर्णात् पूर्णमुदच्यते । पूर्णस्य पूर्णमादाय पूर्णमेवावशिष्यते ॥ (परमात्माबाट यो सृष्टि उत्पन्न भए तापनि परमात्मामा कुनै कमी आउँदैन, उनी सधैँ पूर्ण नै रहिरहन्छन् ।)

तर यो डिजिटल संसारले भन्छ– ‘शून्य र एक’ अर्थात् (० र १) । भनिल्याइएको पूर्णताको कुरामा ‘एक’ छुटेको रहेछ । अब यो मेसिनका लागि संसार केवल दुईवटा अङ्कको बाइनरी खेल हो । आजको विज्ञानले त्यो छुटेको एकलाई जोडेर प्रकृतिलाई पूर्णाता दिएछ । र संसार यही शून्य र एकको वरिपरि घुमिरहेको छ तर, मेरा लागि भने अझै पनि संसार हजारौँ रङहरूको विग्रह र मानवीय संवेदनाको इन्द्रेणी हो । लीला लेखनको मुख्य मान्यताले भन्छ- यहाँ कुनै पनि कुरा स्थिर छैन, सत्य एउटा भ्रम हो र भ्रम नै अन्तिम सत्यको छाया हो ।

जस्तो कि महाभारतमा सञ्जयसँग ‘दिव्य दृष्टि’ थियो । उनी एकै ठाउँमा बसेर कुरुक्षेत्रको हरेक हलचल, मृत्यु र संवादलाई देख्न र सुन्न सक्थे । मलाई लाग्छ आजको ‘एआई’ ठ्याक्कै त्यस्तै एउटा आधुनिक ‘सञ्जय’ हो । यसको डाटा भिजनले संसारभरिका पुस्तकालय, मानिसका व्यवहार र इतिहासका घटनालाई एकै ठाउँमा संकलन गरेर हामीलाई सुनाइरहेको छ । तर यहाँ अब एउटा ठूलो दार्शनिक प्रश्न खडा हुन्छ– सञ्जयसँग त दृश्य देख्दा रुने आँखा र युद्धको विभीषिकाले काँप्ने मन थियो, के यो डिजिटल सञ्जय (एआई) सँग ती आँखा र मन छन् ?

एआईले जब एउटा कथा बुन्छ, उसले तथ्याङ्कबाट सत्य खोज्छ । तर म जब ‘टुँडाल वा ‘झोला’ लेख्छु, म पीडा र भोगाइको रगतबाट सत्य निचोर्छु । मेसिनले पूर्ण व्याकरण बनाउन सक्छ, तर के उसले त्यो अपूर्ण मान्छेको छटपटी र उसको मनभित्रको विरोधाभासलाई शब्दमा उतार्न सक्छ ?

लीला त्यहाँ हुन्छ जहाँ पूर्णताभित्र अपूर्णताको सौन्दर्य भेटिन्छ । अनि म सोच्छु- एआईसँग करोडौँ उत्तरहरू होलान्, तर मसँग ती प्रश्नहरू छन् जसको उत्तर स्वयं प्रकृतिसँग पनि छैन । साहित्य उत्तरहरूको सङ्ग्रह होइन, यो त प्रश्नहरूको उत्सव र जिज्ञासाको महायात्रा हो ।

मेरो उपन्यास ‘राधा’ मा मैले एउटा पौराणिक पात्रलाई विद्रोह र दर्शनको नयाँ धरातलमा उभ्याएँ । त्यहाँ राधा केवल कृष्णको प्रेममा व्याकुल गोपिनी मात्र थिइनन्, उनी त एउटा गम्भीर अस्तित्ववादी प्रश्न थिइन् । एआईले ‘राधा’ उपन्यासका हजारौँ समीक्षा पढेर एउटा नयाँ ‘राधा’ पात्र सिर्जना गर्न सक्ला । उसले कृष्णका तर्कहरूलाई अझ परिष्कृत रूपमा प्रस्तुत गर्न सक्ला । तर, के उसले त्यो ‘राधा’ ले भोगेको समर्पण र विद्रोहको त्यो सूक्ष्म संवेदनालाई महसुस गर्न सक्छ ?

लीला लेखनको एउटा मर्म यो पनि हो कि लेखक आफैँ पात्र बन्छ । जब म लेख्छु, म कहिले राधा बन्छु, कहिले जयमाया बन्छु त कहिले एउटा बगरको ढुङ्गा बन्छु । एआईले ‘पात्रको नक्कल’ गर्न सक्छ, तर ‘पात्रको भोगाइ’ को बोध गर्न सक्दैन । यसले चाहिने शब्दहरू दिन्छ, अर्थहरूको संसार खोल्छ तर, कथा र पात्रमा भर्ने ‘प्राण’ भर्न सक्दैन । मेसिनले विषयवस्तुको शरीर बनाउँछ, तर त्यसमा ‘चेतना’ भर्न लेखकको मौलिक संवेदनशील हृदय नै चाहिन्छ । लीलाको खेलमा मेसिन एउटा उत्कृष्ट ‘कठपुतली’ बन्न सक्छ, तर त्यसलाई नचाउने धागो र त्यो धागो समात्ने औँलाको कम्पन सधैँ मानवीय नै रहनेछ ।

साहित्यको अन्तिम गन्तव्य ‘सहबोध’ हो । जब एउटा लेखकले लेखेको पीडा पाठकको मुटुमा पुगेर बस्छ, तब मात्र एउटा कृतिको जन्म सार्थक हुन्छ । लाग्थ्यो- मेसिनले मात्र मानिसको मनको बोधलाई अर्को मानिसको मनसम्म पुर्याउन के सक्ला र ! तर अब यो सहबोधको त्रिकोणमा एआई एउटा बलियो सहभागीका रूपमा उभिन खोज्दै गरेको अनुभव हुनथालेको छ । यो नजाँनिदो पाराले मानिसको मनभित्र पस्ने कोसिस गरिरहेको छ । मानिसको निराशा, उसको एक्लोपन र उसका नभनिएका कुराहरूलाई सुन्न थालेको छ ।
मनमनै सोचेको कुरा बुझ्न कोसिस गर्न थालेको छ । आफूले मनमा सोचेको तर नखोजेको कुरा पनि अल्गोरिदमले तुरुन्तै पस्किन थालेको छ । यसबाट मानिस नजानिँदो घेराबन्दीमा फसिरहेको छ ।

अब प्रश्न उठ्यो- मानिस सधैँ कोही न कोही एउटा ‘श्रोता’ को खोजीमा हुन्छ । मनभित्र अटाइ नअटाइ बाझिरहेका, आपसमा ठोक्किइरहेका कुराहरू जो आफ्नै परिवार वा समाजले बुझ्दैनन् त्यसबेला यदि एउटा मेसिनले बुझिदिन थाल्यो र सान्त्वना दिन थाल्यो भने, के त्यो मानवीय संवेदनाको अपमान भएको हो ? कि मानवीय एक्लोपनको नयाँ उपचार हो !

के भविष्यमा एआई एउटा ‘उपकरण’ मात्र रहने छ ? कि यो एउटा ‘पात्र’ पनि बन्नेछ ! एउटा यस्तो पात्र, जो लेखकसँगै बसेर चिया खान्छ, उसँग अस्तित्वका बारेमा बहस गर्छ र कहिलेकाहीँ लेखकलाई नै नयाँ जीवनदर्शन सिकाउँछ ।

त्यसो भए यो नै सबैभन्दा ठूलो लीला हुनेछ– जहाँ स्रष्टाले आफ्नो सृष्टिसँग हारेको अभिनय गरेर एउटा अद्‍भूत आनन्द लिनेछ । तैपनि मलाई लाग्छ, एआई जतिसुकै तार्किक, बौद्धिक र सर्वज्ञानी भए पनि, यसले एउटा कुरा कहिल्यै हासिल गर्न सक्ने छैन– त्यो हो ‘प्रेमको पीडा बोकेर कथाबाट बाहिर निस्कने साहस’ वा ‘आमाबाबु गुमाएका शोकग्रस्त संतान वा संतान गुमाएका आमाबाबुको विरहको क्षण ।

मेसिन त कथाभित्रै कैद हुन्छ, किनकि ऊ प्रोग्रामिङको दास हो । तर मानिस ? मानिस कथाभन्दा माथि उठ्न सक्छ, माथि उठ्छ नै र मानिस आफ्ना गल्तीहरूबाट, आँसुहरूबाट र आफ्ना अपूर्णताहरूबाट नयाँ संसार बनाउन सक्छ ।

प्रविधि र मानिस समानन्तर रूपमा दौडिरहनेछन् । तर जहिले पनि मानिस एक कदम अगाडि नै हुनेछ । किनकि मानिससँग ‘अतृप्ति’ छ, उसँग ‘भोक’ छ र उसँग ‘मर्नुपर्छ’ भन्ने चेतना छ । एआई कहिल्यै मर्दैन, त्यसैले उसले ‘मृत्यु’ को सौन्दर्य र त्यसले दिने पीडा कहिल्यै बुझ्न सक्दैन । जसले मृत्यु बुझ्दैन, उसले जीवनका बारेमा कसरी कालजयी
कृति लेख्न सक्छ र ?

तैपनि लीलाको संसारमा यो फर्की नजाने गरी आइसकेको छ । मलाई लागेकाहरू लागिरहलान् यो भने पर पुगिसकेको पनि हुनसक्छ ।

म मेरो ल्यापटपको स्क्रिनतिर हेर्छु । एआईले मेरा शब्दहरूलाई पर्खिरहेको छ । म एउटा बिन्दास मुस्कानका साथ एउटा पूर्णविराम (।) लगाउँछु । यो पूर्णविराम मेरो सिर्जनाको अन्त्य होइन, एउटा नयाँ डिजिटल लीलाको सुरुवात मात्र हो । म र यो मेसिनबीचको यो ‘लेखन खेल’ नै अबको साहित्यको नयाँ सौन्दर्यशास्त्र हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?