२४ फागुन, बुटवल । लुम्बिनी प्रदेशका २६ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले २१ क्षेत्रमा जितेर वर्चस्व कायम गरेकोे छ ।
यसअघिका ठूला दलमध्ये नेपाली कांग्रेस र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले २–२ क्षेत्र जित्दा नेकपा एमालेले एउटा क्षेत्रमा मात्र मात्र जित निकालेको छ ।
प्रदेशका १२ जिल्लामध्ये रास्वपाले नवलपरासी पश्चिमका दुवैै क्षेत्र, रुपन्देहीका ५ वटै क्षेत्र, गुल्मीका दुवै क्षेत्र, दाङका तीनवटै क्षेत्र, अर्घाखाँची, पाल्पाको एक, कपिलवस्तुका दुई, बाँकेका दुई, प्युठान र बर्दियाका दुवै क्षेत्र जितेको छ ।
नेपाली कांग्रेसले कपिलवस्तु–३ र पाल्पा–१ मा जितेको छ ।
नेकपाले जनयुद्धको आधारभूमि रोल्पा र रुकुममा आफ्नो विरासत जोगाउँदै दुई सिट जितेको छ । यस्तै नेकपा एमालेले बाँके–२ मा मात्र जितेको छ ।
रास्वपाले एकभन्दा बढी निर्वाचन क्षेत्र भएका रुपन्देही, दाङ, नवलपरासी, गुल्मी र बर्दियामा क्लिन स्विप गरेको छ ।
प्रदेशका हेभिवेट नेताहरू एमाले उपाध्यक्ष विष्णु पौडेल, अर्का उपाध्यक्ष गोकर्ण विष्ट, महासचिव शंकर पोखरेल, नेता प्रदीप ज्ञवाली, नेकपाका नेता पूर्वमन्त्री सोमप्रसाद पाण्डे, नेपाली कांग्रेसका पूर्वसहमहामन्त्री किशोरसिंह राठौर, कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन, एमाले केन्द्रीय सदस्य सूर्य थापा, कांग्रेसका डा. गोविन्द पोखरेल, जसपा नेपालका वरिष्ठ नेता सर्वेन्द्रनाथ शुक्लालगायत पराजित भएका छन् ।
कहाँ कसले जिते ?
रुकुम पूर्व
एक मात्र निर्वाचन क्षेत्र रहेको रुकुम पूर्वबाट नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड निर्वाचित भएका छन् । प्रचण्ड १० हजार २४० मतसहित निर्वाचित हुँदा उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका लिलामणि गौतमले ३ हजार ४६२ मत पाएका छन् ।
यो क्षेत्रमा नेपाली कांग्रेसकी उम्मेदवार कुसुमदेवी थापाले ३ हजार ८१ मत पाइन् । प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार सन्दीप पुनले २०३, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का उम्मेदवार जुद्धबहादुर बुढा मगरले १९१ मत ल्याएका छन् ।
रोल्पा
एक मात्र निर्वाचन क्षेत्र रहेको रोल्पामा नेपाली कम्युनिस्ट पार्टीका वर्षमान पुन विजयी भएका छन् । पुन २७ हजार ४६० मतसहित विजयी भएका हुन् ।
पुनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका सुदनकुमार वलीले १२ हजार ८ मत प्राप्त गरेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार बालराम थापाले १० हजार ८९४ मत प्राप्त गरि तेस्रो भएका छन् ।
नेकपा एमालेका उम्मेदवार गोकुलप्रसाद घर्तीले ९ हजार ९३३ मत प्राप्त गरेका छन् । विगतको निर्वाचनमा जिल्लामा तेस्रो हुँदै आएको एमालेलाई यसपटक रास्वपाले उछिनेको छ ।
नवलपरासी
नवलपरासी पश्चिम १ मा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका विक्रम खनाल निर्वाचित भएका छन् । नेपाली कांग्रेसका विनोद चौधरीलाई करिब ३५ हजार मतान्तरले पराजित गर्दै खनाल निर्वाचित भएका हुन् ।

खनालले ४५ हजार २४१ र चौधरी ९ हजार ५०२ मत पाए । खनाल कांग्रेसका प्रदेश महामन्त्री थिए । चुनावको मुखमा उनी रास्वपा प्रवेश गरेका हुन् ।
एमालेका रामप्रसाद पाण्डेयले ७ हजार ९५६, जनता समाजवादी पार्टी नेपालका हृययेश त्रिपाठीले ७ हजार ८३२ र राप्रपाका नवनितकुमार मिश्रले एक हजार ५९३ मत प्राप्त गरे ।
क्षेत्र नम्बर २ मा रास्वपाकै नगेन्द्र गुप्ता ४४ हजार १३८ मत ल्याएर निर्वाचित भएका छन् । उनका निकटतम प्रतिस्पर्धी भीमबहादुर थापा क्षेत्रीले १५ हजार ९४५ मत ल्याए ।

त्यस्तै जसपा, नेपालका देवेन्द्र यादवले ७ हार २१२ मत ल्याउँदा राप्रपाका ध्रुवबहादुर प्रधानले ४६९१ मत ल्याए । एमालेका लेखनाथ खरेलले ४३११ मत ल्याउँदा राष्ट्रिय मुक्ति पार्टी नेपालका गोविन्दप्रसाद चौधरीले २०२९ मत ल्याए ।
रुपन्देही
रुपन्देही–१ मा रास्वपा उम्मेदवार सुनिल लम्साल विजयी भएका छन् । उनी पार्टीका महामन्त्री समेत हुन् । लम्साल ५४ हजार ८४५ मत पाएर फराकिलो मतान्तरले विजयी भएका हुन् ।

दोस्रो स्थानमा नेपाली कांग्रेसका हिरा केसीले १२ हजार ४४७, राप्रपाका प्रज्वल बोहोराले ८ हजार ६४१ र नेकपा एमालेका दधिराम न्यौपानेले ८ हजार १७३ मत पाएका छन् ।
क्षेत्र नम्बर २ मा रास्वपाका सुलभ खरेल भारी मतान्तरसहित निर्वाचित भएका छन् । ५६ हजार ५५० मत ल्याएर विजयी खरेलले नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई ४४ हजार ४८९ मतान्तरले पराजित गरेका छन् ।

पौडेलले १२ हजार ८६१ मत पाएका छन् । नेपाली कांग्रेसका चुन्नप्रसाद पौडेलले ९ हजार ३९२ र नेकपाका विश्वदीप पाण्डेले १४०९ मत पाएका छन् ।
रुपन्देही–३ मा रास्वपाका उम्मेदवार डा. लेखजंग थापा निकटतम उम्मेदवारभन्दा ५० हजार बढी मतसहित विजयी भए । थापा ५८ हजार ८१४ मत ल्याई विजयी भएका हुन् । थापा प्रतिस्पर्धी उम्मेदवारभन्दा ५० हजार ३८९ मतान्तरले विजयी भए ।

उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका सुशील गुरुङले ८ हजार ४३५ मत ल्याएका छन् भने तेस्रो स्थानमा रहेका नेकपा एमालेका बासुदेव घिमिरेले ८ हजार २७५ मत ल्याएको निर्वाचन अधिकृत अशोककुमार बस्नेतले जानकारी दिए ।
क्षेत्र नम्बर ४ मा रास्वपाका उम्मेदवार कन्हैया बनियाँ निर्वाचित भए । उनले २८ हजार ६६ मत ल्याए । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका प्रमोदकुमार यादवले २० हजार २६२ मत ल्याउँदा कांग्रेसका आशुतोष मिश्रले १५ हजार ६१३ मत पाए ।
रुपन्देही–५ मा रास्वपाका तौफिक अहमद खान ३८ हजार ८०६ मत ल्याएर विजयी भए । उनले नेकपा एमालेका उम्मेदवार खिमलाल भट्टराईलाई २५ हजार ७०० भन्दा बढी मतान्तरले पराजित गरेका हुन् । भट्टराईले १३ हजार एकसय मत पाएका छन् ।
यो क्षेत्रमा नेपाली कांग्रेसका भरतकुमार शाहले १२ हजार ६२४, नेपाली कम्युनिस्ट पार्टीका मुहम्मद वकील मुसलमानले ६ हजार १७६ र जनमत पार्टीका ओम प्रकाश यादवले ३ हजार १०९ मत ल्याएका छन् ।
कपिलवस्तु
कपिलवस्तु–१ मा रास्वपाका मोहन आचार्य विजयी भएका छन् । आचार्यले ३४ हजार १४८ मत प्राप्त गरे । उनका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार आशिष शर्माले १५ हजार ५६० मत प्राप्त गरेका छन् ।
यस क्षेत्रमा नेपाली कांग्रेसका अतहर कमाल मुसलमानले १४ हजार ५८२ मत प्राप्त गरे भने नेकपा एमालेका विश्राम चौधरीले ७ हजार ९८० र नेकपाका कृष्ण कुँवरले ४ हजार ६१६ मत प्राप्त गरेका छन् ।

क्षेत्र नम्बर-२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार विक्रमसिंह थापा विजयी भएका छन् । उनले २७ हजार ६३५ मत ल्याए ।
निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार सुरेन्द्र आचार्यले २१ हजार ५२७ मत प्राप्त गरेका छन् ।
कपिलवस्तु–३ मा नेपाली कांग्रेसका अभिषेकप्रताप शाह विजयी भए । उनी २३ हजार ५३५ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रकाश रजौरियाले १८ हजार ८९० प्राप्त गरे ।

त्यस्तै नेकपा एमालेका नेता वीरेन्द्र कनोडियाले १४ हजार ७६३ ल्याए ।
पाल्पा
पाल्पा–१ मा नेपाली कांग्रेसका सन्दीप राना निर्वाचित भएका छन् । पाल्पामा ३१ वर्षपछि कांग्रेसले जितेको हो । लामो समयसम्म नेकपा एमालेको गढको रूपमा रहेको यस क्षेत्रमा यसपटक कांग्रेसका राना १८ हजार ३३६ मत ल्याएर विजयी भए ।

उनले एमालेका नारायणप्रसाद आचार्यलाई १ हजार ५१७ मतान्तरले पराजित गरे । आचार्यले १६ हजार ८१९ मत पाए । यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका विमल पन्तले १४ हजार ३३३ मत पाए ।
क्षेत्र नम्बर-२ मा रास्वपाका माधवबहादुर थापा निर्वाचित भए । उनले २६ हजार ७३६ मत प्राप्त गरे । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका हिमालदत्त श्रेष्ठले १२ हजार ९९२ मत प्राप्त गरे ।

त्यस्तै, नेकपा (एमाले)का ठाकुरप्रसाद गैरेले १० हजार ५०३, नेपाली कम्युनिस्ट पार्टी सोमप्रसाद पाण्डेयले ५ हजार २८८ र नेसनल रिपब्लिक नेपालका देवप्रसाद श्रेष्ठले ६९३ मत प्राप्त गरेका छन् ।
गुल्मी
गुल्मी–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सागर ढकाल विजयी भएका छन् । ढकाल २९ हजार ६४२ मत प्राप्त गरेका छन् ।

उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका प्रदीप ज्ञवालीले १५ हजार १८१ मत ल्याए भने कांग्रेसका डा. चन्द्र भण्डारीले १३ हजार ५०५ मत प्राप्त गरे ।
क्षेत्र नम्बर २ मा पनि रास्वपाका उम्मेदवार गोविन्द पन्थी विजयी भएका छन् । पन्थीले नेकपा एमालेका उम्मेदवार गोकर्ण विष्टलाई ५६१ मतान्तरले पराजित गरेका हुन् ।
पन्थीले १६ हजार ९६७ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी विष्टले १६ हजार ४०६ मत ल्याए । कांग्रेसका भुवनप्रसाद श्रेष्ठले १४ हजार ४३४ मतमा चित्त बुझाए ।
अर्घाखाँची
अर्घाखाँचीमा पनि रास्वपाका हरिप्रसाद भुसालले जित निकालेका छन् । उनले ३५ हजार २३ मत प्राप्त गरे ।
एमालेका पिताम्बर भुसालले २२ हजार ६४९, नेपाली कांग्रेसका विष्णुप्रसाद खनाल मुस्कानले १८ हजार ९८३, नेपाली कम्युनिस्ट पार्टीका रामबहादुर चौहानले तीन हजार ८४७ मत प्राप्त गरे ।
बाँके
बाँके–१ मा रास्वपाका सुरेशकुमार चौधरी निर्वाचित भए । उनले ३२ हजार ७९२ मत प्राप्त गर्दा कांग्रेसका नारायण गौडेलले १५ हजार ३०१ मत, एमालेका सूर्य ढकालले ११ हजार १५ मत प्राप्त गरेका छन् ।

क्षेत्र नम्बर २ मा नेकपा एमालेका मोहम्मद इश्तियाक राई निर्वाचित भएका छन् । उनले २४ हजार ६२६ मत ल्याएर विजयी भएका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का विवेककुमार श्रेष्ठले १८ हजार ५८१ मत ल्याएका छन् । ६ हजारको मतान्तरमा जितेका हुन् । इश्तियाक मनोनयन दर्ताको अघिल्लो दिन ५ माघमा एमाले प्रवेश गरेका थिए ।
क्षेत्र नम्बर ३ मा रास्वपाकै खगेन्द्र सुनार विजयी भएका छन् । यहाँ नेपाली कांग्रेसका प्रदेश सभापति अमरसिंह पुन पराजित भए ।
दाङ
दाङ–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका देवराज पाठक फराकिलो मतान्तरसहित विजयी भएका छन् ।
पाठक ४२ हजार ६०२ मत प्राप्त गरी निर्वाचित भएका हुन् । उनले नेपाली कांग्रेसका सह–महामन्त्री योगेन्द्र चौधरीलाई २७ हजार ३२२ मतान्तरले पछि पारे ।

चौधरीले १५ हजार २८० मत प्राप्त गरे भने नेकपा एमालेका रेवतीरमण शर्मा घिमिरेले ६ हजार ८२५ मत ल्याए ।
क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सहमहामन्त्री विपिनकुमार आचार्य विजयी भए । नेकपा एमालेका महासचिव शंकर पोखरेललाई २८ हजार २७५ मतान्तरले हराउँदै आचार्य विजयी भएका हुन् ।

विपिनले ४३ हजार ५५७ मत प्राप्त गरेका छन् । उनका उनका निकटतम प्रतिद्वन्द्वी पोखरेलले १५ हजार २८२ मत ल्याए भने कांग्रेसका किरणकिशोर घिमिरेले ११ हजार २७७ र नेपाली कम्युनिस्ट पार्टीका निर्मलकुमार आचार्यले ७ हजार ८१ मत प्राप्त गरेका छन् ।
क्षेत्र नम्बर ३ मा पनि रास्वपाका कमल सुवेदी विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी कांग्रेसका दीपक गिरीलाई २७ हजार ७९४ मतान्तरले हराउँदै सुवेदीले जित निकालेका हुन् ।
उनले ४४ हजार २४८ मत प्राप्त गर्दा गिरीले १६ हजार ४५३ मत प्राप्त गरेका छन् । नेकपा एमालेका घनश्याम पाण्डेले १२ हजार १९५ मत प्राप्त गरेका छन् भने नेकपाका धनबहादुर मास्कीले ९ हजार ३२८ मत प्राप्त गरे ।
बर्दिया
बर्दिया–१ मा रास्वपाका ठाकुरसिंह थारु निर्वाचित भएका छन् । उनले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार शालिकराम अधिकारीलाई ३४ हजार ९८८ मतान्तरले हराए ।

थारुले ४९ हजार ६३१ मत पाएर निर्वाचित हुँदा एमाले उम्मेदवार अधिकारीले १४ हजार ६४३ मत पाएका छन् ।
यसैगरी, नेपाली कांग्रेसका उम्मेदवार सञ्जयकुमार गौतमले १२ हजार ७२२ र नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार विष्णुप्रसाद चौधरीले ९ हजार २८५ मत पाएका छन् ।
क्षेत्र नम्बर २ मा पनि रास्वपाकै श्रीधर पोखरेलले फराकिलो मतान्तरका साथ जितेका छन् ।
प्युठान
प्युठानमा रास्वपाका सुशान्त वैदिक विजयी भएका छन् । उनले २७ हजार ४६९ मत प्राप्त गर्दै जित हासिल गरेका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका गोविन्दराज पोखरेलले १८ हजार ३३८ मत ल्याएका छन् । एमालेका सूर्य थापाले १६ हजार ७१० मतसहित तेस्रो स्थान हासिल गर्दा नेपाल कम्युनिस्ट पार्टीका कृष्णध्वज खड्काले ९ हजार ७४ मत पाए ।
राष्ट्रिय जनमोर्चाका तिलकबहादुर जीसी ७ हजार ६५४ मत ल्याएर पाँचौं स्थानमा रहे ।
प्रतिक्रिया 4