News Summary
Generated by OK AI. Editorially reviewed.- साफ महिला च्याम्पियनसिप २०२६ को पहिलो सेमिफाइनलमा बुधबार नेपालले साविक विजेता बंगलादेशको सामना गर्ने भएको छ ।
- नेपाली मुख्य प्रशिक्षक नवीन न्यौपानेले मिडफिल्डर प्रीति राई टोलीमा आबद्ध भएसँगै खेलाडीहरूको मनोबल उच्च रहेको बताउनुभयो ।
- नेपाल र बंगलादेशबीच भएका १३ खेलमध्ये नेपालले ६ खेल जितेको छ भने बंगलादेशले २ खेल मात्र जितेको छ ।
२० जेठ, काठमाडौं । साफ महिला च्याम्पियनसिप २०२६ को सेमिफाइनलमा साविक विजेता बंगलादेश विरुद्ध खेल्न गोवाको मैदानमा उत्रँदा नेपालको लक्ष्य स्पष्ट हुनेछ । एकातर्फ बंगलादेश विरुद्ध यसअघि दुई संस्करणको फाइनलमा बेहोरेको हारको बदला लिने अर्कोतर्फ फाइनलमा स्थान बनाउने ।
समूह ए को विजेता बनेको नेपाल र समूह बी को उपविजेता बंगलादेशबीच पहिलो सेमिफाइनलमा बुधबार दिउँसो सवा ४ बजे गोवास्थित जवाहरलाल नेहरु स्टेडियममा हुनेछ ।
तुलनात्मक रूपमा सहज समूहमा रहेको नेपालले भुटानलाई १-० र श्रीलंकालाई २-० ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको थियो । नेपालले समूह चरणमा जम्मा ३ गोल मात्र गरेपनि क्लिनसिट भने राख्न सफल भएको छ ।
उता दुईपटकको साविक विजेता बंगलादेशको लागि भने यस पटक सेमिफाइनल पुग्दा पुरानो प्रदर्शन देखिएन । पहिलो खेलमै माल्दिभ्सलाई पराजित गरेपनि बंगलादेशको स्कोरलाइन ४-२ थियो ।
यस्तै दोस्रो खेलमा घरेलु टोली भारतसँग ३-० ले पराजित भएपछि साविक विजेता बंगलादेश समूह बी को उपविजेताको रुपमा सेमिफाइनल पुगेको हो । बंगलादेशले यस पटक दुवै खेलमा गोल बेहोरेको छ ।
अर्को सेमिफाइनल घरेलु टोली भारत र भुटानबीच हुनेछ । भारतका लागि भुटान सहज प्रतिद्वन्दी देखिएपनि अहिले सबैको नजर र नेपाल र बंगलादेशबीचकै पहिलो सेमिफाइनलमा हुनेछ ।
बंगलादेश यस साफ महिला च्याम्पियनसिपमा स्वभाविक लयमा देखिएको छैन । नेपालका मुख्य प्रशिक्षक नविन न्यौपानेले पनि बंगलादेशको पुरानो लय नदेखिएको तर टिम भने राम्रो रहेको बताए ।
प्रशिक्षक न्यौपानेले सेमिफाइनल जितेर फाइनल पुग्ने लक्ष्य रहेको बताएका छन् ।

‘बंगलादेशलाई टफ फाइट दिन हामी तयार छौँ । प्रीति आएपछि टिमको मोरल उच्च छ । कम्बोडियाको र यहाको मौसम उस्तै भएकोले उसलाई खासै फरक पर्दैन, न्यौपानेले मंगलबार प्रशिक्षकपछि पत्रकारहरूसँग भनेका थिए, ‘एउटा योजना बनाएको छौं र त्यो अनुसार खेल्छौं ।’
नेपालले अहिलेसम्म साफ महिला च्याम्पियनसिपमा ७ मध्ये ६ पटक फाइनल पुगेर पनि उपाधि जित्न सकेको छैन । नेपाललाई सधैं उपविजेताको ट्याग लागिरहन्छ । सुरुवाती पाँच संस्करणमध्ये एक मात्र फाइनल पुगे पनि उपविजेतामै सीमित भएको बंगलादेशले त्यसपछि पछिल्लो दुई संस्करणमा लगातार फाइनल खेल्दै उपाधि जित्यो । त्यो पनि नेपाललाई काठमाडौंमै हराएर ।
नेपालले पछिल्लो समय बंगलादेशलाई हराउन सकेको छैन र साफ महिला च्याम्पियनसिपको उपाधिमा पनि बंगलादेश नै बाधक बनेको थियो । त्यसैले यसपटक नेपाल त्यो दुवै फाइनल हारको बदला लिँदै फाइनल पुग्ने लक्ष्यमा छ । तर नियमित कप्तान तथा गोलमेसिन सावित्रा भण्डारी साम्बा र सविता राना मगर विनै गोवा पुगेको नेपालको लागि यो खेल असली परिक्षा हुनेछ ।
समूह चरणका दुई खेलमा भुटान र श्रीलंकालाई हराएर स्वभाविक रूपमा सेमिफाइनलमा स्थान बनाएको नेपालको लागि उपाधि होड कायमै राख्न पनि बंगलादेशको चुनौती पार गर्नुपर्ने हुन्छ ।
कम्बोडियाको लिग खेलिरहेकी मिडफिल्डर प्रीति राईको आगमन भने नेपालका लागि राहत बन्न सक्छ । समूहको सुरुवाती दुई खेल गुमाएकी उनी दुई दिन अघि मात्रै गोवा पुगेकी थिइन् ।
‘प्रीति क्षमतावान् खेलाडी हो । उसले बल सप्लाइ गर्छ त्यो राम्रो छ । हामीले चान्स बनाएर त्यसलाई सदुपयोग गर्नुपर्छ । अर्गनाइज डिफेन्स भएर अट्याकमा जाँदा पाएको अवसर ग्र्याब गर्नुपर्छ’ प्रशिक्षक न्यौपानेले भने ।
नेपाल बंगलादेश हेड टु हेड

नेपाल र बंगलादेशबीच अहिलेसम्म १३ खेल भएकोमा नेपालले ६ खेल जितेको छ भने ५ खेल बराबरीमा सकिएको थियो । यस्तै दुई खेल मात्र बंगलादेशले जितेको छ र ती दुवै जित साफ महिला च्याम्पियनसिप फाइनल (२०२२, २०२४) मा थियो ।
नेपालले सन् २०२१ यता बंगलादेशलाई नियमित समयमा हराउन पनि सकेको छैन । २०२१ सेप्टेम्बरमा दशरथ रंगशालमा भएको मैत्रीपूर्ण खेलमा नेपालले बंगलादेशलाई २-१ ले पराजित गरेको थियो भने अर्को मैत्रीपूर्ण खेल गोलरहित बराबरीमा सकिएको थियो । त्यसपछि २०२२ को साफ महिला च्याम्पियनसिप फाइनलमा नेपाल बंगलादेशसँग ३-१ ले पराजित भयो ।
सन् २०२३ जुलाईमा ढाकामा भएको दुई मैत्रीपूर्ण खेल बराबरीमा सकिएको थियो । तर विजेताको टुङ्गो लगाउन दोस्रो मैत्रीपूर्ण खेलपछि भएको पेनाल्टी सुटआउटमा भने नेपाल विजयी भएको थियो ।
त्यसपछि नेपालले २०२३ सेप्टेम्बरमा चीनको हान्झाउमा भएको १९औं एसियन गेम्समा बंगलादेशसँग १-१ को बराबरी खेलेको थियो । त्यसपछि २०२४ अक्टोरमा काठमाडौंमै भएको साफ महिला च्याम्पियनसिपमा नेपाल फेरि फाइनलमा बंगलादेशसँग २-१ ले पराजित भयो ।
प्रतिक्रिया 4