+

विश्वकपमा पहिलोपटक सबै २६ खेलाडी राष्ट्रिय गान समारोहमा सहभागी हुने

२०८३ जेठ  २२ गते १८:०२ २०८३ जेठ २२ गते १८:०२
विश्वकपमा पहिलोपटक सबै २६ खेलाडी राष्ट्रिय गान समारोहमा सहभागी हुने

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिफाले सन् २०२६ को विश्वकपका लागि खेलअघि राष्ट्रिय गान बज्दा टोलीका सबै २६ खेलाडी मैदानमा उपस्थित हुनुपर्ने नियम बनाएको छ ।
  • नयाँ व्यवस्थाअनुसार खेलाडी र म्याच अफिसियलहरू दर्शकतर्फ नफर्की सेन्टर सर्कल वरिपरि एकअर्कातर्फ फर्किएर उभिनेछन् ।
  • फिफा अध्यक्ष जियानी इन्फान्टिनोले यो परिवर्तनले खेलाडी र समर्थक दुवैका लागि विशेष क्षण सिर्जना गर्ने बताउनुभयो ।

२२ जेठ, काठमाडौं । फिफाले सन् २०२६ को विश्वकपका लागि खेलअघिको औपचारिक कार्यक्रममा ठूलो परिवर्तन गरेको छ । अब प्रत्येक खेलको टोलीमा रहेका सबै २६ खेलाडी राष्ट्रिय गान बज्ने क्रममा मैदानमा उपस्थित हुनेछन् ।

यसअघि राष्ट्रिय गानका बेला केवल सुरुआती ११ खेलाडी मात्र मैदानमा उभिन्थे भने बेन्चमा रहेका खेलाडीहरू प्रशिक्षक र अफिसियलसँग डगआउट नजिकै बस्ने गर्थे । तर अमेरिका, क्यानडा र मेक्सिकोमा हुने २०२६ विश्वकपदेखि भने टोलीमा रहेका सबै खेलाडी मैदानमा रहनेछन् ।

नयाँ व्यवस्थाअनुसार खेलअघि सबै खेलाडी सेन्टर सर्कल वरिपरि भेला हुनेछन् । सुरुआती ११ सँगै वैकल्पिक खेलाडीहरू पनि राष्ट्रिय गान समारोहमा सहभागी हुनेछन् ।

फिफाले टोलीहरूको उभिने शैलीमा पनि परिवर्तन गरेको छ। अब खेलाडी र म्याच अफिसियलहरू दर्शकतर्फ फर्किने छैनन् । उनीहरू सेन्टर सर्कल वरिपरि एकअर्कातर्फ फर्किएर उभिनेछन्, जसले खेलअघि थप एकता, भावनात्मकता र विशेष माहोल सिर्जना गर्ने विश्वास फिफाको छ ।

फिफा अध्यक्ष जियानी इन्फाटपनोले यो परिवर्तन खेलाडी र समर्थक दुवैको अनुभवलाई अझ विशेष बनाउने प्रयासको हिस्सा भएको बताए ।

उनले भने, ‘विश्वकप विस्तार हुँदै जाँदा हामी प्रतियोगिता अनुभव गर्ने तरिकामा पनि नयाँपन ल्याइरहेका छौं । राष्ट्रिय गानका बेला सबै खेलाडी र रेफ्रीहरू सेन्टर सर्कलमा एकअर्कातर्फ फर्किएर उभिँदा एकता, गर्व र भावनाको विशेष क्षण सिर्जना हुनेछ ।’

इन्फान्टिनोका अनुसार विश्वकप प्रत्येक खेलाडी र समर्थकको प्रतियोगिता भएकाले नयाँ समारोहले त्यसैको प्रतिबिम्ब प्रस्तुत गर्नेछ ।

फिफा विश्वकप फिफा विश्वकप २०२६
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय