News Summary
Generated by OK AI. Editorially reviewed.- वायु प्रदूषणका कारण हावा \'मन्द विष\' बनेको छ, जसले मानव मुटु, फोक्सो र समग्र स्वास्थ्यमा गम्भीर असर पुर्याइरहेको छ।
‘वात आ वातु भेषजं शम्भु मयोभु नो हृदे।
प्र ण आयूंषि तारिषत्॥’
अर्थात हाम्रो वायुमण्डलबाट बहने हावा हाम्रा लागि ‘भेषजं’ अर्थात् औषधि बनोस् । यसले हाम्रो हृदयलाई आनन्द प्रदान गरोस् र यसले हाम्रो आयुलाई लामो (प्र ण आयूंषि तारिषत्) बनाओस्। ऋषिमुनिहरूले हावालाई ‘औषधि’ र ‘आयु बढाउने तत्व’ का रूपमा पुजेका थिए, तर आज प्रदूषणका कारण त्यही हावा हाम्रो आयु घटाउने ‘मन्द विष’ बनेको छ ।
हामी जन्मिनेबित्तिकै संसारसँग हाम्रो पहिलो नाता ‘श्वास’ सँग जोडिन्छ । रुँदै-रुँदै फेरेको त्यो पहिलो पहरा नै जिन्दगीको पहिलो प्रमाण बन्छ । तर सोचौँ त, जुन श्वासमा हाम्रो जीवन अडिएको छ, कतै त्यही श्वासले हामीलाई बिस्तारै मृत्युको मुखमा त धकेलिरहेको छैन ?
आज हामीले फेर्ने हावा केवल हावा रहेन । विकास, आधुनिकता र व्यस्तताको दौडमा हामीले आफ्नै आकाशलाई विषालु धुवाँको तन्नाले छोपिदिएका छौँ । विशेष गरी काठमाडौँ जस्ता हाम्रा सुन्दर उपत्यकाहरू आज त्यो विषालु वायुलाई भित्रै गुम्स्याएर राख्न विवश छन् ।
इँटाभट्टाबाट निस्कने कालो मुस्लो, गाडीहरूले ओकल्ने धुवाँ र वन-जङ्गलमा लागेको डढेलोले हाम्रो हावालाई कुरुप मात्र बनाएको छैन, हाम्रो आयुको पाना पनि च्यातिरहेको छ ।
फोक्सोको रोदन र मुटुको छटपटि
धेरैलाई लाग्छ, वायु प्रदूषण र चुरोटको धुवाँले केवल खोकी लाग्छ वा फोक्सो बिगार्छ । तर कथा यतिमा मात्र रोकिँदैन । यो धुवाँमा खाली आँखाले देख्न नसकिने, कपालको रौं भन्दा कयौँ गुणा साना र अति सूक्ष्म कसिङ्गरहरू (पिएम २.५) लुकेका हुन्छन् । जब हामी श्वास फेर्छौँ, यी कसिङ्गरहरू फोक्सोको अन्तिम कुनासम्म पुग्छन् । र त्यहाँबाट सुटुक्क हाम्रो रगतको नदीमा मिसिन्छन्।
त्यसपछि सुरु हुन्छ एउटा मौन विनाश । रगतमा मिसिएका यी विषालु कणहरूले हाम्रा रक्तनलीहरूलाई क्रुरतापूर्वक साँघुरो बनाइदिन्छन् । त्यसले गर्दा मुटुको चाल बिग्रिन्छ, रक्तचाप बढ्छ र अचानक हृदयघात वा मस्तिष्काघात जस्ता प्राणघातक समस्याहरू निम्तिन्छन् । यो प्रदूषित हावाले हाम्रो फोक्सोलाई मात्र होइन, हाम्रो मुटु र मस्तिष्कलाई समेत भित्रभित्रै गलाउँदै लैजान्छ ।
निर्दोष आँखाहरू र आधा अधुरो सपना
सबैभन्दा मन रुवाउने कुरा के छ भने, यो प्रदूषणको मारमा निर्दोष बालबालिका र आमाको गर्भमा हुर्किँदै गरेका नयाँ शिशु पनि परिरहेका छन् । गर्भवतीले फेरेको प्रदूषित श्वास रगतको माध्यमबाट सिधै गर्भको बच्चासम्म पुग्छ । जसका कारण कतिपय शिशुहरू संसार हेर्नुअगावै कमजोर बन्छन्, समय नपुगी जन्मिन्छन् वा कम तौल लिएर जन्मन्छन् ।
घरबाहिर गाडीको धुवाँ त छँदैछ । घरभित्र हामीले बाल्ने दाउरा-गुइँठाको चुल्हो र चुरोटको धुवाँ पनि कम घातक छैनन् । चुरोट पिउने मान्छे त रोगको भागीदार बन्छ नै, उनका छेउमा बसेर त्यो धुवाँ सुँघ्न बाध्य आमाबुबा श्रीमती र छोराछोरीहरू समेत पीडित बन्छन् । एक जनाको एउटा कुलतले पूरै परिवारको स्वास्थ्य प्रभावित बनिरहेको हुन्छ ।
अब जागौँ, आफ्नो र भोलिको पुस्ताका लागि
प्रकृतिले सृष्टिको सुरुवाती उपहारस्वरूप हामीलाई सित्तैमा कञ्चन र स्वच्छ हावा सुम्पिएको थियो । तर, आधुनिकताको अन्धो दौड र हाम्रै चरम लापरबाहीका कारण आज हामीले त्यही जीवनदायिनी वायुलाई एउटा मन्द विषमा परिणत गरिदिएका छौँ ।
हिजोका दिनमा हाम्रा पुर्खाहरूले फेरेको त्यो सुगन्धित र चिसो हावा आज एकादेशको कथा जस्तै बन्न पुगेको छ । अचम्म त के छ भने, हामी आफैँले फैलाएको यो विषालु वायुको चक्रव्यूहमा आज हाम्रै परिवार, हाम्रै सन्तान र हाम्रो आफ्नै भविष्य छटपटाइरहेको छ ।
अब पनि हामी मूकदर्शक बनेर बसिरहने हो भने हाम्रा भोलिका सन्ततिले कुन आकाशमुनि श्वास फेर्लान् ? तिनीहरूलाई अस्पतालका शय्या र अक्सिजनका सिलिन्डर उपहार दिएर जाने कि एउटा सफा र बस्नयोग्य पृथ्वी ? यो गम्भीर प्रश्नको उत्तर खोज्ने बेला आइसकेको छ ।
विनाशको यो बाटोलाई मोडेर विषलाई पुनः अमृत बनाउने जिम्मा र चुनौती दुवै अब हाम्रै काँधमा आएको छ। निराशाका बीचमा पनि आशाहरू बाँकी नै छन्; केवल थोरै सावधानी, अलिकति चेतना र स-साना बानीमा परिवर्तन ल्याउन सके हामी यो भयावह संकटबाट आफ्नो र आफ्नो परिवारको अमूल्य जीवन जोगाउन सक्छौँ ।
यसका लागि सबैभन्दा पहिलो र सजिलो कदम भनेको मास्कलाई आफ्नो साँचो साथी बनाउनु हो। हावा बढी प्रदूषित भएका हिउँद वा प्रि-मनसुनका दिनहरूमा, अथवा सडकको धुलो र धुवाँको बीचमा निस्कँदा यसलाई फेसन वा बाध्यताका रूपमा मात्र हेर्नु हुँदैन। हुनत् पिएम २.५ कणलाई रोक्न विशेष (एन ९५) मास्क चाहिन्छ । तर बजारमा पाइने सामान्य मास्कले पनि हावामा रहेका केही अदृश्य र खतरनाक सुक्ष्म कणहरूलाई रोक्न सक्छन् । र केही फाइदा पुग्छ ।
त्यस्तै, हाम्रो सुरक्षाको सुरुवात हाम्रै घरको जगबाट हुनुपर्छ, त्यसैले आफ्नो भान्छालाई सधैँ उज्यालो र खुला राख्ने प्रयास गरौँ । घरको चार पर्खालभित्र गरिने धूम्रपानएउटा कुलत मात्र नभएर सिङ्गो परिवारमाथि गरिएको अपराध बनिरहेको हुन्छ ।
घरभित्र कतै पनि चुरोटको धुवाँलाई ठाउँ नदिऔँ । ग्रामीण क्षेत्र होस् या शहर, भान्छामा खाना पकाउँदा हावा सजिलै ओहोरदोहोर हुने गरी झ्यालहरू खुला राखौँ वा ‘एग्जस्ट फ्यान’ को प्रयोग गरौँ । सकेसम्म दाउरा, गुइँठा वा कोइला जस्ता घरभित्रै विष ओकल्ने परम्परागत इन्धनलाई त्यागेर सफा ग्याँस वा आधुनिक बिजुली चुल्होतर्फ पाइला चालौँ । नभए दाउराको प्रयोग गर्दा पनि धुवाँरहित चुल्हो बनाउनुपर्छ । यसले हाम्रा आमा-दिदीबहिनीहरूले भान्छाको कालो धुवाँसँग आफ्नो स्वास्थ्य साट्नु नपर्ने हुन्छ ।
हामी परापूर्वकालदेखि ‘बिहानको स्वच्छ हावा’ भन्दै सूर्योदय अगाडि नै मर्निङ वाक निस्कने गर्छौँ । शास्त्रमा पनि ब्रह्ममुहूर्तलाई सर्वोत्तम भनिएको छ । तर आजका प्रदूषित शहरहरूमा विज्ञानले अर्कै तितो सत्य ओकल्छ ।
वायुप्रदूषण बढेका शहरहरूमा जाडो र सुक्खा मौसममा रातभरिको चिसोका कारण शहरको धुलो र धुवाँ माथि आकाशमा उडेर जान पाउँदैन र बिहानपख जमिनको सतह नजिकै, अर्थात् हाम्रै नाक अगाडि जमेर बस्छ। घाम लागेर धर्ती नतातिएसम्म बिहानको हावा वास्तवमा दिउँसोको भन्दा बढी विषालु र भारी हुन्छ । त्यसैले, वायुप्रदूषण बढेका दिनहरूमा बिहानै बाहिर निस्केर गहिरो सास फेर्दै दौडिनु फाइदाजनक होइन, बरू फोक्सोमा सिधै विष हुल्नु जस्तै हो । यस्तो बेला घाम झुल्किएपछि वा दिउँसो मात्र बाहिर निस्कनु बुद्धिमानी हुन्छ ।
अन्त्यमा, ‘आफ्नो सवारी, सफा सवारी’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै सामाजिक उत्तरदायित्व बहन गरौँ । बाटोमा गुड्दै गर्दा हाम्रा निजी वा सार्वजनिक गाडीहरूले कालो र निसासिँदो धुवाँ ओकलिरहेका त छैनन् ? आफ्ना सवारी साधनहरूको समयमै मर्मतसम्भार र प्रदूषण जाँच गराउनु प्रत्येक नागरिकको कर्तव्य हो ।
सम्भव भएसम्म र पहुँच पुगेसम्म अबका दिनमा पेट्रोलियम पदार्थबाट चल्ने सवारीको विकल्पमा विद्युतीय सवारी साधनहरू अँगालौँ । छोटो दुरीका लागि हिँड्ने, साइकल चलाउने र सार्वजनिक यातायातको प्रयोगलाई बढावा दिऔँ ।
याद राखौँ, संसारका सबैभन्दा महँगा अस्पताल र औषधिले पनि त्यो स्वास्थ्य र आयु फर्काउन सक्दैनन् । र त्यो स्वच्छ हावाले दिन सक्छ। आउनुहोस्, आजै र यही क्षणबाट एउटा दृढ प्रण गरौँ । आफू पनि स्वच्छ सास फेरौँ, अरूलाई पनि फेर्न दिऔँ। किनकि जिन्दगी सुन्दर रह्यो भने मात्र हाम्रा सारा सपनाहरू जीवन्त रहन्छन् ।
प्रतिक्रिया 4