News Summary
Generated by OK AI. Editorially reviewed.- रसुवास्थित भोटेकोशी नदीको विनाशकारी बाढीमा बुधबार साँझसम्म १५७ जनाको शव निकालिएको छ।
- सरकारले उद्धार कार्य बिहीबार बिहानैदेखि सुरु गरेको छ।
- बाढीमा सयौँ नागरिक बेपत्ता भएका छन् र हजारौँ मानिस घरबारविहीन बनेका छन्।
११ भदौ, काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी बुधबार साँझसम्म १५७ जनाको शव निकालिएको छ।
बाढी प्रभावितलाई राहत सहायताका लागि स्वदेशी-विदेशी संघ संस्थाहरूले प्रतिबद्धता व्यक्त गर्न थालेका छन् । सरकारले उद्धार कार्य विहीबार बिहानैदेखि सुरु गरेको छ ।
यस प्राकृतिक विपद्मा परेर सयौँ नागरिक बेपत्ता भएका छन् भने हजारौँ मानिसहरू घरबारविहीन बनेका छन्। प्रभावित क्षेत्रमा सुरक्षाकर्मी तथा स्थानीयद्वारा खोजी तथा उद्धार कार्य तीव्र रूपमा अगाडि बढाइएको छ। थप अपडेटहरू onlinekhabar.com मार्फत प्राप्त गर्न सकिनेछ।
Live Updates
एक–एक नागरिकको जीवनरक्षा पहिलो प्राथमिकता : प्रधानमन्त्री बालेन

प्रधानमन्त्री बालेन शाहले बाढीबाट प्रभावित नागरिक, जनप्रतिनिधि, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी तथा उद्धार टोलीसँग प्रत्यक्ष रूपमा अवस्थाबारे जानकारी लिएका छन् ।
सरकारको पहिलो प्राथमिकता एक–एक नागरिकको जीवनरक्षा, बेपत्ताको खोजी तथा उद्धार, घाइतेको उपचार र प्रभावित परिवारलाई तत्काल राहत पुर्याउनु रहेको प्रधानमन्त्री बालेनको भनाइ छ ।
पूरा पोस्ट यहाँ :
टिमुरेमा बाढीबाट बाँचेकाहरूको २५ घण्टे त्रासदी
भित्तामा चढ्ने क्रममा उनी पटक–पटक लडे । सिस्नु र काँडाको झाडी समाउँदै माथि जान खोजे । तल बाढीको छाल थियो । वरिपरि भागिरहेका मानिसहरू थिए ।
स्थलगत रिपोर्ट...

बाढीपीडितका लागि इप्पानको ५ करोड सहयोग
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) र सम्बद्ध जलविद्युत् कम्पनीहरूले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ करोड ५ लाख ५० हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेका छन् ।
इप्पानले बाढीमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै क्षतिग्रस्त जलविद्युत् आयोजनाको पुनर्निर्माण तथा पुनर्स्थापनामा सरकारसँग समन्वय गरी आवश्यक सहयोग गर्ने प्रतिबद्धता पनि जनाएको छ ।
बाढीपीडितका लागि विराटनगर किङ्सको १५ लाख सहयोग

नेपाल प्रिमियर लिग (एनपीएल) टोली विराटनगर किङ्सले रसुवा बाढीपीडितको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १५ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।
क्लबले राष्ट्रिय विपद्को कठिन घडीमा खेल र खेलाडी पनि नागरिकको साथमा उभिनुपर्ने विश्वास व्यक्त गर्दै सबैलाई बाढी प्रभावितको सहयोगमा एकजुट हुन अपिल गरेको छ ।
विपद्प्रति फ्रान्सको ऐक्यबद्धता, बेपत्ता फ्रान्सेलीको खोजी जारी
फ्रान्सले नेपाल र चीनमा आएको भीषण बाढी तथा पहिरोप्रति गहिरो दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना र प्रभावितप्रति ऐक्यबद्धता जनाएको छ ।
फ्रान्सको युरोप तथा परराष्ट्र मन्त्रालयका अनुसार नेपालस्थित फ्रान्सेली दूतावास स्थानीय निकायसँग समन्वयमा छ ।
केही फ्रान्सेली नागरिकको अझै सम्पर्क हुन नसकेकाले उनीहरूको अवस्थाबारे परिवारसँग समन्वय गर्दै खोजी जारी रहेको मन्त्रालयले जनाएको छ।
रसुवामा ४० किलोमिटर सडक पूर्ण क्षतिग्रस्त, ४१ पुल बगे

भोटेकोशी बाढीले वेत्रावती–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडकखण्डको करिब ४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त भएको पूर्वाधार विकास मन्त्रालयले जनाएको छ । गल्छीदेखि त्रिशूलीसम्मको थप १० किलोमिटर सडक पनि बन्द छ ।
बाढीले ४१ वटा पुलमा क्षति पुगेको छ । सडक खुलाउन सरकारी र निजी क्षेत्रका २० वटा उपकरण परिचालन गरिएका छन् भने पृथ्वीराजमार्ग सञ्चालन र रसुवालाई सडक सञ्जालमा जोड्न बेलिब्रिज जडानको तयारी अघि बढाइएको छ ।
बाढीपीडितका लागि राष्ट्रपतिले एक महिनाको पारिश्रमिक दिने
राष्ट्रपति रामचन्द्र पौडेलले रसुवा बाढीपीडितको उद्धार तथा राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आफ्नो एक महिनाको पारिश्रमिक प्रदान गर्ने भएका छन् ।
राष्ट्रपति कार्यालयले बिहीबार विज्ञप्ति जारी गर्दै बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारमा सहयोग पुर्याउने उद्देश्यले पारिश्रमिक उपलब्ध गराउन लागेको जनाएको छ ।
थप पढ्नुहोस३३ देशका ६४४ जना सम्पर्कविहीन
रसुवा बाढीपछि नेपाली र विदेशी नागरिक गरी ३३ देशका ६४४ जना सम्पर्कविहीन भएको नेपाल प्रहरीले जनाएको छ ।
सम्पर्कविहीनमध्ये सबैभन्दा धेरै भारतीय नागरिक १७८ जना र नेपाली नागरिक १२७ जना छन् ।
यस्तै अमेरिकी ६५, युक्रेनी ५३, मलेसियन ५१, अस्ट्रेलियन ३५ र बेलायती ३३ जना सम्पर्कविहीन रहेको प्रहरीको विवरणमा उल्लेख छ ।
बाँकी विभिन्न देशका नागरिक छन् ।
थप पढ्नुहोस'रसुवागढीबाट १८ किलोमिटर माथि ल्हेन्दे खोलामा ताल'

प्लानेट ल्याब्स र ल्यान्डसाटका स्याटेलाइट तस्बिरको प्रारम्भिक विश्लेषणअनुसार रसुवागढी नाकाबाट करिब १८ किलोमिटर माथि ल्हेन्दे खोलाको बहाव थुनिएर करिब ०.११ वर्गकिलोमिटर क्षेत्रफलको ताल बनेको छ ।
प्राकृतिक बाँध फुटेमा पुनः ठूलो बाढी आउन सक्ने जोखिम कायम रहेकाले तल्लो तटीय क्षेत्रका बासिन्दा तथा सम्बन्धित सबैलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।
विपद्मा खटिने सुरक्षाकर्मीको भत्ता र खाजा खर्च बढाइने

सरकारले बाढी, पहिरो र आगलागीजस्ता विपद्मा जोखिम मोलेर उद्धार तथा राहतमा खटिने सुरक्षाकर्मीको भत्ता र दैनिक खाजा खर्च बढाउने निर्णय गरेको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी समितिले नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका जनशक्तिको सेवा सुविधा परिमार्जन गर्ने निर्णय गरेको हो ।
सम्बन्धित सुरक्षा निकायले प्रस्ताव पठाएपछि तालुकदार मन्त्रालयले आवश्यक निर्णय गर्नेछ ।
प्रधानमन्त्री उद्दार कोषमा भुलवश एक लाखको सट्टा १० लाख जम्मा भएपछि फिर्ता गर्न आग्रह
रसुवा बाढीपीडितको राहत तथा उद्धारका लागि १ लाख १ हजार रुपैयाँ सहयोग गर्ने क्रममा एक सहकारीको खाताबाट भुलवश १० लाख १ हजार रुपैयाँ ट्रान्सफर भएको छ ।
उक्त सहकारीले भुलवश ट्रान्सफर भएको अतिरिक्त रकम फिर्ता गरिदिन आग्रह गर्दै आफूले घोषणा गरेको १ लाख १ हजार रुपैयाँ भने छुट्टै पठाउने जनाएको छ ।
शवबाट गहना तान्ने दुई जना पक्राउ
चितवनमा बाढीले बगाएर ल्याएको शवबाट गहना निकालिरहेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
भिडियो सार्वजनिक भएपछि घटनाको अनुसन्धान अघि बढाउँदै प्रहरीले संलग्न रहेको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
बाढीबाट उद्धार भएकी वृद्धा वीर अस्पतालमा, पहिचान खुलेन
रसुवाको विनाशकारी बाढीबाट उद्धार गरिएकी अन्दाजी ७५ वर्षीया वृद्धाको वीर अस्पतालमा उपचार भइरहेको छ । देवघाटस्थित वृद्धाश्रमबाट उद्धार गरी काठमाडौं ल्याइएकी उनको पहिचान अझै खुल्न सकेको छैन ।
अस्पतालका अनुसार वृद्धाको स्वास्थ्य अवस्था सामान्य छ । बोलचाल गर्न नसक्ने भएकाले परिवार, घरठेगाना र आफन्तबारे जानकारी लिन नसकिएको र उनलाई ज्येष्ठ नागरिक वार्डमा राख्ने तयारी भइरहेको छ ।

पहिचान हुन नसकेका शवको सूची सार्वजनिक
रसुवाको भोटेकोशी बाढीमा परी ज्यान गुमाएका तर सनाखत हुन नसकेका शवको विवरण नेपाल प्रहरीले सार्वजनिक गरेको छ ।
प्रहरीले शवको अनुहार र हुलिया देखिने तस्बिरसहित सूची तयार पारेको हो ।
परिवार तथा आफन्तलाई पहिचान गर्न सहज होस् भनेर प्रहरीले आफ्नो फेसबुक पेजमार्फत क्यूआर कोडसमेत सार्वजनिक गरेको छ ।
क्यूआर स्क्यान गरेपछि पहिचान हुन नसकेका शवको विवरण हेर्न सकिनेछ ।
आज मात्रै ६०२ जनाको हवाई उद्धार
नेपाली सेनाले बिहीबार दिउँसो साढे ३ बजेसम्म भोटेकोशी बाढी प्रभावित क्षेत्रबाट ५० विदेशीसहित ६०२ जनाको हवाई उद्धार गरेको छ ।
यसबाहेक २०० जनाको स्थलमार्गबाट उद्धार गरिएको छ ।
त्रिशूलीमा नेपाली सेनाको मेडिकल टोलीले ३३८ जनाको उपचार गरिरहेको छ ।
खोज तथा उद्धारका लागि ड्रोन र तालिमप्राप्त कुकुरसहित ४ हजार २ सयभन्दा बढी सैनिक परिचालन गरिएको छ।
'भोटेकोशीमा फेरि बाढीको जोखिम'
चीनतर्फबाट प्राप्त भू–उपग्रह तस्बिर तथा प्रारम्भिक विश्लेषणअनुसार भोटेकोशी नदीमा हिजो बाढी आएको स्थानमा नदी थुनिएर ताल बनेको छ । तालको आकार बढ्दै गएकाले फुट्ने जोखिमसमेत रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
ताल फुटेमा भोटेकोशीको तल्लो तटीय क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने जोखिम छ । अर्को सूचना जारी नभएसम्म नदी किनार र जोखिमयुक्त क्षेत्रबाट सुरक्षित स्थानमा रहन तथा विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ ।
बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमले थप ३ दिन निःशुल्क सेवा दिने
नेपाल टेलिकमले बाढीप्रभावित क्षेत्र र आसपासका सेवाग्राहीलाई थप ३ दिन निःशुल्क भ्वाइस कल, डाटा तथा एसएमएस सुविधा उपलब्ध गराउने भएको छ । नेपाल टेलिकमले यसअघि दुई दिन भ्वाइस कल निःशुल्क र प्रतिदिन २ जीबी डाटा तथा ५० एसएमएस निःशुल्क गर्ने निर्णय गरेको थियो । अब भदौ १२, १३ र १४ गतेसम्म सो सुविधा उपलब्ध गराउने भएको छ ।
हेलिसँगै ब्युँतिन्छ आफन्त फर्कने आश
श्री नं. १ सैन्य तालिम केन्द्रको सडकका दुवै किनारमा मानिसहरूको निकै ठूलो भिड छ । सैन्य तालिम केन्द्रतर्फ लम्किरहेका आखाँले बाढीमा बेपत्ता आफन्त खोजिरहेको बुझ्न गार्हो छैन ।
जसै माथि रसुवातर्फबाट उद्दार गरेर ल्याएको हेलिकप्टर आउँछ, भिड सैन्य तालिम केन्द्रतिर सोहोरिन्छ । आफन्त आएको कुनै छनक नपाए पछि पुन: उनीहरू सडक किनारमा छरिन्छन् । बिहीबार बिहानदेखि नुवाकोटको बट्टार बजारमा रहेको सैन्य तालिम वरपरको दृश्य यस्तै छ ।
नुवाकोटबाट कौशल काफ्लेको रिपोर्टः
थप पढ्नुहोसबाढीपछि खोटाङका ८ जना सम्पर्कविहीन
रसुवाको भोटेकोशीमा आएको बाढीपछि खोटाङका ८ जना सम्पर्कविहीन भएका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका ३ जना र ऐसेलुखर्क गाउँपालिकाका ४ जना सम्पर्कविहीन भएको जानकारी आएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी प्रकाश बुढाथोकीले बताए ।
थप पढ्नुहोसगोसाइँकुण्ड गएका धादिङका आठ शिक्षक सम्पर्कविहीन
धादिङबाट गोसाइँकुण्ड गएका आठ जना शिक्षक बुधबारदेखि सम्पर्कविहीन भएका छन् । धादिङका शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख कृष्णकुमार श्रेष्ठका अनुसार हाल कार्यरत रहेका तीन र पूर्वशिक्षक पाँच गरी आठ जना सम्पर्कविहिन भएका छन् ।
थप पढ्नुहोस८७ टावरले अझै काम गरेनन्
भोटेकोशीमा बुधबार आएको बाढीका कारण रसुवा, नुवाकोट र धादिङ जिल्लाका विभिन्न स्थानमा फोन र इन्टरनेट सेवा अवरुद्ध भएको छ । नेपाल टेलिकम र एनसेलका कुल ८७ वटा टावरले काम नगर्दा सेवा प्रभावित भएको हो । ती जिल्लामा नेपाल टेलिकमका ६० वटा टावरले काम गरेका छैनन् । त्यसैगरी एनसेलका २७ वटा टावर बाढीका कारण प्रभावित भएका छन् ।
थप पढ्नुहोसबाढी प्रभावित क्षेत्रमा ६ एसएसपीको नेतृत्वको थप प्रहरी टोली परिचालन
रसुवा बाढीका कारण रसुवाको तल्लो तटीय क्षेत्र हुँदै नुवाकोट, धादिङ र चितवनलगायतका प्रभावित क्षेत्रमा ६ एसएसपीको नेतृत्वमा थप प्रहरी जनशक्ति परिचालन गरिएको छ ।
बाढी प्रभावित क्षेत्रमा आवश्यक उद्धार, खोजी, राहत वितरण, शव व्यवस्थापनलगायतका कामका लागि प्रहरी वरिष्ठ उपरीक्षक(एसएसपी)हरूको कमान्डमा थप जनशक्ति परिचालन गरिएको छ ।
थप पढ्नुहोसअन्तर्राष्ट्रिय दाताका लागि सहयोग गर्न गेटवे खुल्यो

विपद् प्रभावितका लागि सहयोग गर्न चाहने अन्तर्राष्ट्रिय दातालाई लक्षित गर्दै नयाँ अनलाइन गेटवे सञ्चालनमा ल्याइएको छ ।
उक्त गेटवेबाट कार्ड र क्यूआरमार्फत सहयोग रकम पठाउन सकिने व्यवस्था गरिएको छ ।
यो लिंकमा जानुहोस्
भुटानका राजा–रानीद्वारा दुःख व्यक्त

भुटानका राजा जिग्मे खेसर नाम्ग्याल वाङ्चुक र रानी जेत्सुन पेमाले नेपाल र चीनमा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।
उनीहरूले बाढीमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै बेपत्ता आफन्तको पर्खाइमा रहेका परिवार र प्रभावित समुदायप्रति समवेदना व्यक्त गरेका छन् ।
साथै, कठिन परिस्थितिको सामना गरिरहेका सबैलाई धैर्य र शक्ति मिलोस् भन्ने कामना गरेका छन् ।
बट्टार र त्रिशूली बजारमा विद्युत् सेवा पुनः सुरु
भोटेकोशी नदीको बाढीले नियमित विद्युत् आपूर्ति प्रणालीमा क्षति पुगेपछि नुवाकोटका बट्टार र त्रिशूली बजार क्षेत्रमा वैकल्पिक व्यवस्थामार्फत विद्युत् सेवा पुनः सुरु गरिएको छ ।
नेपाल विद्युत् प्राधिकरणले बालाजु–त्रिशूली र चपली–देवीघाट ६६ केभी प्रसारण लाइनलाई ११ केभीमा चार्ज गरी विद्युत् आपूर्ति सञ्चालनमा ल्याएको हो ।
क्षतिग्रस्त संरचनाको मर्मत तथा पुनर्स्थापनालाई पनि तीव्रता दिइएको छ ।
रसुवा बाढीपीडितका लागि विक्रम पाण्डेको १ करोड सहयोग
राप्रपाका नेता तथा कालिका कन्स्ट्रक्सनका अध्यक्ष विक्रम पाण्डेले रसुवा बाढीपछि राहत र उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड रुपैयाँ सहयोग गरेका छन् ।
पाण्डेले बाढीमा परी ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।
बाढीले रसुवा, नुवाकोट, धादिङ र गोरखालगायत जिल्लामा ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएको छ ।
थप पढ्नुहोसनिरीक्षणमा प्रधानमन्त्री बालेन
प्रधानमन्त्री वालेन्द्र शाहले बाढीबाट अत्यधिक प्रभावित नुवाकोटको विदुर तथा आसपासका क्षेत्रको स्थलगत निरीक्षण गरेका छन् ।
उनले प्रभावित बस्तीको भौतिक अवस्था र क्षतिको अवलोकन गर्दै स्थानीय प्रशासन, सुरक्षा निकाय तथा जनप्रतिनिधिसँग छलफल गरेका छन्।


नेपालमा करिब १०० चिनियाँ नागरिक बेपत्ता
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले बुधबारको बाढीपहिरोपछि नेपालतर्फ करिब १०० चिनियाँ नागरिक सम्पर्कविहीन रहेको बताएका छन् ।
चिनियाँ दूतावासले नेपाली पक्षसँग समन्वय गर्दै बेपत्ता चिनियाँ नागरिकको विवरण थप पुष्टि गरिरहेको उनले नियमित पत्रकार सम्मेलनमा जानकारी दिएका छन् ।
नेपाल-चीन सीमापारि ठूलो ताल बनेको चीनको जलस्रोत मन्त्रालयको भनाइ
चीनको जलस्रोत मन्त्रालयले नेपाल नजिक छोचेन खोला र पुरेपु त्साङ्पो नदीको संगम क्षेत्रमा ठूलो ताल बनेको जनाएको छ ।
यी दुवै नदी नेपाल प्रवेशपछि भोटेकोशी–त्रिशूली नदी प्रणालीका प्रमुख सहायकका रूपमा मिसिन्छन् ।
चिनियाँ पक्षका अनुसार बिहीबार बिहानसम्म तालमा करिब २० लाख घनमिटर पानी जम्मा भएको थियो भने पानी तालबाट बाहिरिन थालिसकेको छ ।

शव भेटिएकाको संख्या २७० पुग्यो
भोटेकोशी–त्रिशूलीलगायत नदीमा आएको बाढीपछि हालसम्म २७० जनाको शव फेला परेको विवरण सार्वजनिक गरिएको छ ।
प्रभावित क्षेत्रमा नेपाल प्रहरीले ८ हजार ५० जना जनशक्ति परिचालन गरेको छ । घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
त्रिवि शिक्षण अस्पतालमा २६, ट्रमा सेन्टरमा २०, वीर अस्पतालमा २ र अन्य अस्पतालमा समेत घाइतेको उपचार भइरहेको छ । १४ जना उपचारपछि डिस्चार्ज भएका छन्।
काठमाडौं फर्किए प्रधानमन्त्री बालेन
प्रधानमन्त्री बालेनले नुवाकोट सदरमुकाम विदुर र आसपासका बाढी प्रभावित क्षेत्रको निरीक्षण गरेर काठमाडौं फर्किएका छन् ।
उनले प्रभावित स्थानीय, बाढीपीडित तथा घाइतेसँग भेटेर अवस्थाबारे जानकारी लिएका छन् ।
प्रधानमन्त्री फर्किए पनि भौतिकमन्त्री सुनील लम्साल नुवाकोटमै छन् ।
उनले नेपाली सेनासँग उद्धार तथा खोजी कार्यको प्रगतिबारे जानकारी लिँदै शीघ्र उद्धार र प्रतिकार्यका लागि थप प्रयास गर्न निर्देशन दिएका छन् ।
ग्लोबल आइएमईको ५ करोड सहयोग
ग्लोबल आइएमई बैंकले भोटेकोशी नदीको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।
बैंकले बेपत्ताको खोजी, घाइतेको उपचार, प्रभावितलाई खाद्यान्न तथा बासको व्यवस्था र क्षतिग्रस्त संरचनाको पुनर्निर्माणमा सहयोग पुग्ने उद्देश्यले रकम उपलब्ध गराउन लागेको जनाएको छ ।
थप पढ्नुहोसकुमारी बैंकको ३ करोड ३९ लाख सहयोग
कुमारी बैंकले बाढी तथा प्राकृतिक प्रकोप प्रभावितको राहत, उद्धार र पुनर्स्थापनाका लागि ३ करोड ३९ लाख रुपैयाँ बराबरको सहयोग गरेको छ ।
बैंकले ३ करोड रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको जनाएको छ ।
यस्तै, खोज, उद्धार र अनुगमनका लागि एआईयुक्त पाँच ड्रोन, तीन पोर्टेबल जेनेरेटर र १०० पावर बैंक नेपाली सेनालाई उपलब्ध गराइएको छ ।
थप पढ्नुहोसनुवाकोटमा बस्ती र पूर्वाधार ध्वस्त (फोटो फिचर)

भोटेकोशीमा आएको विनाशकारी बाढीले नुवाकोटका नदी किनारका बस्ती, बजार र महत्वपूर्ण भौतिक संरचनामा ठूलो क्षति पुर्याएको छ ।
त्रिशूली, ढुंगेबजार र देवीघाटका किनार भग्नावशेष र बालुवाको थुप्रोमा परिणत भएका छन् ।
बाढीको कटानले घरका जगसमेत खोतलेपछि उभिएका संरचना पनि जोखिममा छन् ।
जलविद्युत् आयोजनाका संरचना बगाउँदा विद्युत् सेवा अवरुद्ध भएको छ भने प्रभावितको जनजीवन थप कष्टकर बनेको छ ।
थप पढ्नुहोसराज्यसँग हातेमालो गर्न महासंघको अपिल
नेपाल उद्योग वाणिज्य महासंघले बाढीपहिरोबाट उत्पन्न विपद्को अवस्थामा मानवीय संवेदनशीलता र सामाजिक उत्तरदायित्वलाई ध्यानमा राख्दै राज्यको उद्धार तथा राहत प्रयासमा हातेमालो गर्न निजी क्षेत्रलाई आह्वान गरेको छ ।
महासंघले खाद्यान्न, पानी, औषधि, लत्ताकपडालगायत अत्यावश्यक सामग्री प्रभावितसम्म पुर्याउन तथा वस्तु तथा सेवाको आपूर्ति सहज र मूल्य स्थिर राख्न आग्रह गरेको छ ।
उद्धार, राहत र पुनर्स्थापनामा स्थानीय प्रशासन तथा सुरक्षा निकायसँग समन्वय गर्नसमेत उद्योगी–व्यवसायीलाई अपिल गरिएको छ ।
थप पढ्नुहोससल्यानका ४९ जनाको विवरण सार्वजनिक, धेरै सम्पर्कविहीन
रसुवाको भोटेकोशीमा आएको बाढीपछि रोजगारीका लागि रसुवा पुगेका सल्यानका ४९ जनाको विवरण सार्वजनिक भएको छ ।
विवरणअनुसार केही घाइते र केही परिवारको सम्पर्कमा आए पनि ठूलो संख्या अझै सम्पर्कविहीन छ ।
सल्यानका स्थानीय तहले रसुवामा रहेका नागरिकको अवस्था पहिचान गर्न विवरण संकलन गरिरहेका छन् ।
उपलब्ध विवरणअनुसार बनगाड कुपिण्डेका २ जना घाइते छन् भने कुमाख, त्रिवेणी र कपुरकोट क्षेत्रका धेरै श्रमिक सम्पर्कविहीन रहेको जनाइएको छ।
थप पढ्नुहोसबैतडीका ८ प्रहरी सम्पर्कविहीन
रसुवामा आएको भीषण बाढीपछि बैतडीका नेपाल प्रहरी र सशस्त्र प्रहरीका गरी ८ जना सम्पर्कविहीन भएका छन् ।
उनीहरू बाढी प्रभावित क्षेत्रमा कार्यरत रहेको र घटनापछि सम्पर्कमा नआएको जनाइएको छ ।
रसुवा, नुवाकोट र धादिङका बाढीपीडितका लागि काठमाडौंमा राहत संकलन
जिल्ला प्रशासन कार्यालय काठमाडौंले रसुवा, नुवाकोट र धादिङका बाढीपीडितका लागि खाद्यान्न, लत्ताकपडा, भाँडाकुँडा तथा अन्य घरायसी सामग्री संकलन गर्ने भएको छ । संकलित राहत सामग्री एकद्वार प्रणालीमार्फत सम्बन्धित प्रभावितसम्म पुर्याइनेछ।
राहत सामग्री उपलब्ध गराउन चाहने व्यक्ति, संस्था वा कम्पनीले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा सम्पर्क गर्न सक्नेछन् ।
नगद सहयोग गर्न चाहनेले भने प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको खातामार्फत मात्र रकम जम्मा गर्न प्रशासनले अनुरोध गरेको छ।

रोल्पाका एकै परिवारका ४ जना बेपत्ता
रसुवाको टिमुरे बजारमा व्यवसाय गर्दै आएका रोल्पाका एकै परिवारका चार जना बाढीपछि सम्पर्कविहीन भएका छन् ।
परिवर्तन गाउँपालिका–६ का कुलप्रसाद बुढामगर, उनकी श्रीमती मीना घर्ती, छोरा डीप बुढा र चार वर्षीया छोरी खुसी बुढा बेपत्ता भएका हुन्।
यस्तै, रसुवा बाढीपछि रोल्पाका ३० जनाभन्दा बढी सम्पर्कविहीन भएको प्रारम्भिक आकलन गरिएको छ ।
रसुवा बाढीपछि हुम्लाका १२ जना सम्पर्कविहीन
रोजगारीका लागि रसुवा पुगेका हुम्लाका १२ व्यक्ति बाढीपछि सम्पर्कविहीन भएका छन् । रसुवाको उत्तरी सीमामा बुधबार बिहान भोटेकोशी नदीमा आएको बाढीपछि हुम्लाका ८ जना पुरुष र दुई महिला सम्पर्कविहीन भएका हुन ।
जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसार सम्पर्कविहीन हुनेमा खार्पुनाथ गाउँपालिका –१ का ३० वर्षका जनक बुढा, उनकी श्रीमती अनिता रावत, खार्पुनाथ गाउँपालिका–१ का उमेश बोहरा, उनकी श्रीमती र बच्चाको नाम खुलेको छैन ।
जनैपूर्णिमा विशेष मौसम : गोसाईंकुण्डसहितका क्षेत्रमा मध्यमदेखि भारी वर्षाको सम्भावना
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनैपूर्णिमा पर्वलाई लक्षित गर्दै देशका प्रमुख धार्मिक तथा पर्यटकीय क्षेत्रहरूको विशेष मौसम पूर्वानुमान बुलेटिन जारी गरेको छ ।
महाशाखाले २०८३ साल भदौ ११ गते मध्याह्न १२ बजे जारी गरेको सूचनामा शुक्रबार र शनिबार देशका विभिन्न धार्मिक क्षेत्रहरूमा मध्यमदेखि भारी वर्षाको सम्भावना औंल्याइएको छ ।
बैंकहरूले बाढी क्षेत्रमा वैकल्पिक व्यवस्था सहित सेवा निरन्तर राख्ने
नेपाल बैंकर्स संघले भोटेकोशी बढीले क्षति पुर्याएको क्षेत्रमा बैंकिङ सेवा निरन्तर दिने जनाएको छ ।
संघले बाढी तथा प्राकृतिक विपद्का कारण भएको मानवीय, जनधन तथा भौतिक संरचनामा पुगेको क्षतिप्रति दु:ख व्यक्त गर्दै प्रभावित सेवाग्रहीलाई सहयोग उपलब्ध गराउने जनाएको हो ।
थप पढ्नुहोसपूर्वप्रधानमन्त्री सुशीलाको सन्देश- गाँस काटेर पनि सहयोग गरौं
पूर्वप्रधानमन्त्री सुशीला कार्कीले बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दु:ख व्यक्त गरेकी छन्।
भदौ १० गते रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनसहितका जिल्लामा ठूलो जनधनको क्षतिप्रति उनले दु:ख व्यक्त गरेकी हुन्।
थप पढ्नुहोसअलपत्र यात्रुलाई गजुरीमा निःशुल्क खाना
रसुवा बाढीका कारण पृथ्वी राजमार्गमा अलपत्र यात्रुलाई नि:शुल्क खाना वितरण गरिएको छ । स्थानीयहरूको अगुवाईमा यात्रुलाई निशुल्क खाना खुवाइएको हो ।
पृथ्वी राजमार्गमा अलपत्र यात्रुलाई निःशुल्क खाना
बाढीका कारण पृथ्वी राजमार्गमा अलपत्र परेका यात्रुलाई निःशुल्क खाना वितरण गरिएको छ ।
लामो समयदेखि बाटोमै रोकिएका यात्रुलाई राहतस्वरूप खाना उपलब्ध गराइएको हो ।
हुम्लाका १२ जना सम्पर्कविहीन
रोजगारीका लागि रसुवा पुगेका हुम्लाका १२ जना बुधबार बिहान भोटेकोशी नदीमा आएको भीषण बाढीपछि सम्पर्कविहीन भएका छन् ।
सम्पर्कविहीन हुनेमा ८ पुरुष, दुई महिला र बालबालिका रहेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।
उनीहरूका परिवारले तत्काल खोजी तथा उद्धार गर्न माग गरेका छन्। प्रहरीले सम्पर्कविहीनको अवस्थाबारे खोजी तथा समन्वय गरिरहेको जनाएको छ ।
थप पढ्नुहोसज्यान गुमाएकाप्रति सुशीला कार्कीको श्रद्धाञ्जली
पूर्व प्रधानमन्त्री सुशीला कार्कीले रसुवा बाढीमा ज्यान गुमाएकाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरेकी छन् ।
सम्पर्कविहीन सबैको सकुशल उद्धारको कामना गर्दै उनले घाइते तथा प्रभावित नागरिकको शीघ्र स्वास्थ्यलाभ र सुरक्षित जीवनको कामना गरेकी छन् ।

बाढीको क्षति स्थानीय तहमार्फत संकलन गरिने
रसुवा बाढीपछिको मानवीय तथा भौतिक क्षतिको विवरण सम्बन्धित स्थानीय तहमार्फत संकलन र अद्यावधिक गरिने भएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको उच्च व्यवस्थापन समूहले यस्तो निर्णय गरेको हो ।
यस्तै, स्थानीय तहले विपद् व्यवस्थापन कोषबाट राहत तथा उद्धारका लागि आवश्यक बजेट परिचालन गर्नेछन् भने नापी विभागले प्रभावित क्षेत्रको जग्गा क्षति विवरण र विपद् नक्सांकन गर्नेछ ।
थप पढ्नुहोस४५ विदेशीसहित ३३६ जनाको हवाई उद्धार
रसुवा बाढी प्रभावित टिमुरे, धुन्चे र मैलुङ क्षेत्रबाट नेपाली सेनाले हालसम्म ४५ विदेशीसहित ३३६ जनाको हेलिकोप्टरमार्फत उद्धार गरेको छ ।
उद्धार, घाइतेको खोजी, आपत्कालीन उपचार र राहत वितरणका लागि नेपाली सेनाका करिब ४ हजार सैनिक विभिन्न क्षेत्रमा समन्वयात्मक रूपमा परिचालित छन् ।
'प्रधानमन्त्री राहत कोष' को नाममा ठगी, सतर्क रहन प्रहरीको आग्रह
विपद्को अवस्थाको फाइदा उठाउँदै 'प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष' र 'प्रधानमन्त्री राहत कोष' को नाममा ठगी भइरहेको भन्दै नेपाल प्रहरीले सर्वसाधारणलाई सचेत गराएको छ।
केही व्यक्तिहरूले सामाजिक सञ्जालमार्फत उक्त कोषहरूको नाम प्रयोग गरी आफ्नो व्यक्तिगत बैंक खाता र ई-वालेटमा रकम माग्ने तथा फर्जी राहतको माग गर्ने कार्य गरिरहेको पाइएको प्रहरीले जनाएको छ। प्रहरीले एक 'स्क्याम अलर्ट' जारी गर्दै यस्ता भ्रामक अपिलहरूको पछि नलाग्न आग्रह गरेको हो।

भारतबाट ३७.५ टन राहत सामग्रीसहितको दोस्रो विमान नेपालतर्फ
भारतका विदेशमन्त्री डा. एस. जयशंकरले नेपालका लागि थप राहत सामग्रीसहितको दोस्रो विमान प्रस्थान गरेको जानकारी दिएका छन्।
सामाजिक सञ्जालमार्फत जानकारी दिँदै उनले उक्त विमानमा ३७.५ टन मानवीय सहायता तथा विपद् राहत सामग्री, औषधि र खानाका प्याकेटहरू रहेको बताएका हुन्।
नेपालमा भइरहेको राहत तथा उद्धार कार्यमा भारतको साथ रहने प्रतिबद्धता जनाउँदै विदेशमन्त्री जयशंकरले भनेका छन्, 'भारत नेपाली अधिकारीहरूसँग नजिकको र निरन्तर सम्पर्कमा छ। हामी यहाँ जारी राहत प्रयासहरूलाई दृढतापूर्वक सहयोग गरिरहनेछौँ।'
६ देशका ४५ विदेशीसहित ३३६ जनाको उद्धार
रसुवामा आएको बाढीका कारण प्रभावितहरूको उद्धारका क्रममा नेपाली सेनाका हेलिकप्टरद्वारा भाद्र ११ गतेको बिहानदेखि अहिलेसम्म टिमुरे, धुन्चे तथा मैलुङ इलाकाबाट विभिन्न ६ देशका ४५ विदेशी सहित ३३६ जनाको हवाई उद्धार गरिएको छ।
साथै, नेपाली सेनाको करिब ४ हजार फौजद्वारा समन्वयात्मक रूपमा घाइतेहरूको खोज तथा उद्धार कार्य, आपत्कालीन उपचार तथा राहत सामग्री वितरण कार्य गरिरहेको छ।
गोरखामा अहिलेसम्म भेटियो २३ शव
रसुवा बाढीमा परेकाहरुमध्ये २३ जनाको शव गोरखामा भेटिएको छ । गण्डकी गाउँपालिका र शहिद लखन गाउँपालिकाको बिभिन्न स्थानमा उनीहरुको शव फेला परेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
त्रिशुली नदीको किनारमा फेला परेका शवहरु स्थानीय र प्रहरीको सहयोगमा निकाल्ने काम भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताए ।
‘केहीको खुट्टा मात्र फेला परेको छ, केहीको टाउको मात्र,’ उनले भने, ‘अझै थप शव भेटिन सक्ने सम्भावना छ ।’ उनीहरुको पहिचान भने खुल्न नसकेको उनले जानकारी दिए ।
बाढीपीडितलाई सघाउन सम्पर्क गर्न सकिने ठाउँहरू
सरकारले भोटेकोशी बाढीपीडितलाई सघाउन राहत सामग्री सङ्कलन गर्न तीन स्थान तोकेको छ।
राहत सामग्री जम्मा हुने स्थानहरू:
- विदेशबाट हवाईमार्ग हुँदै आउने राहत सामग्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित राष्ट्रिय आपत्कालीन गोदामघरमा जम्मा गरिने, त्यसपछि सरकारले आवश्यकताअनुसार प्रभावित क्षेत्रमा वितरण गर्ने।
- नुवाकोटको बट्टारस्थित नेपाली सेनाको मैथिली ब्यारेकमा पनि राहत सामग्री सङ्कलन हुने।
- धादिङको बैरेनीस्थित नेपाली सेनाको ब्यारेकमा पनि राहत सामग्री सङ्कलन हुने।
- सङ्कलित सामग्री आवश्यकताअनुसार प्रभावित क्षेत्रमा वितरण गरिने।
सम्पर्क व्यक्तिहरू:
- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गोदामघर: डब्लुएफपीका प्रतिनिधि श्रद्धा भट्ट — ९८४१८७९२२२
- नुवाकोट (बट्टार) ब्यारेक: नेपाली सेनाका आविष्कार — ९८५१२३४३२४
- धादिङ (बैरेनी) ब्यारेक: दिलीप घले — ९८५११५४२२६
- सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीमार्फत पनि राहत सहयोग गर्न सकिने।
आर्थिक सहयोगका लागि:
- आर्थिक सहयोग गर्न चाहनेले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्न सक्ने।
- रकम जम्मा गर्न सकिने बैंकहरू: हिमालयन बैंकको डलर खाता, स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल, राष्ट्रिय वाणिज्य बैंक, एभरेस्ट बैंक, नेपाल बैंक लिमिटेड, ग्लोबल आइएमई बैंक, नबिल बैंक र कृषि विकास बैंक।
- राष्ट्रिय वाणिज्य बैंकको क्यूआर कोडमार्फत पनि रकम जम्मा गर्न सकिने।
रसुवा बाढीमा सम्पर्कविहीन गोरखावासीको तथ्याङ्क संकलन गर्दै प्रशास
रसुवा बाढीमा परी सम्पर्कविहीन बनेका जिल्लावासीहरुको तथ्याङ्क संकलन थालिएको छ । स्थानीय तहसँगको समन्वयजिल्लावासीहरूकोलनको काम भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताए ।
उनका अनुसार हालसम्म पालुङटार नगरपालिकाका ३० जना भन्दा बढी सम्पर्कविहीन भएको सूचना प्राप्त भएको छ । शहिद लखन र बारपाक सुलिकोट गाउँपालिकाका ६÷६ जना सम्पर्कविहीन भएको तथ्याङ्क सम्बन्धित स्थानीय तहबाट प्राप्त भएको उनले जानकारी दिए ।
‘धार्चे र आरुघाट गाउँपालिकाका ३÷३ जना सम्पर्कविहीन छन्,’ सहायक प्रजिअ शर्माले भने, ‘अजिरकोट गाउँपालिकाका एक जना पनि सम्पर्कमा नरहेको भन्ने छ ।’
सरकारले भन्यो– बाढी प्रभावित क्षेत्रका कर्मचारीले कार्यस्थल नछोड्नू
सरकारले बाढी प्रभावित जिल्ला तथा स्थानीय तहका कर्मचारीलाई कार्यस्थल नछोड्न आग्रह गरेको छ । भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको उच्च व्यवस्थापन समूहको बैठकले यस्तो आग्रह गरेको हो ।
मन्त्रालयले निर्णयमा भनिएको छ, ‘अर्को व्यवस्था नभएसम्म बाढी प्रभावित जिल्ला तथा स्थानीय तहका कर्मचारीले आफ्नो कार्यस्थल नछोड्ने र कार्यस्थल बाहिर रहेका सबै कर्मचारीलाई अविलम्ब कार्यस्थलमा फर्कन सूचित गर्ने ।’
थप पढ्नुहोसमहजोडी भन्छन्- पक्ष विपक्ष नभनी सहयोग गरौं
जनधनको क्षति हुने गरि रसुवाको भोटेकोशीमा बाढी गएपछि अहिले देशभर असहज परिस्थिती छ । डेढसय भन्दा धेरैले ज्यान गएका छन् भने सयौं घाइतेको उपचार भैरहेको छ ।
सरकार उद्धार र राहतमा जुटिरहेको छ । अझै ८ सयभन्दा धेरै सम्पर्कविहिन भएको विवरण आइरहेका छन् । सरकारले विभिन्न बैंक खाताको क्यूआर सेयर गर्दै सघाउन नागरिकहरूलाई अपिल गरिरहेको छ ।
थप पढ्नुहोसत्रिशुली डाक्टर भन्छन्– ‘हुम्लाभन्दा विकट भयौं, हेलिकोप्टरबाहेक बिरामी ल्याउने विकल्प भएन’
रसुवामा आएको विनाशकारी बाढीपछि उद्धार तथा उपचारका लागि त्रिशुली अस्पताल पुगेका घाइतेको उपचार जारी छ। तर बाढीले सडक र पुलमा क्षति पुर्याएपछि घाइतेलाई अस्पतालसम्म ल्याउन नसकिएको चिकित्सकले बताएका छन् ।
त्रिशुली अस्पतालका निर्देशक डा. राजेन्द्र लामाका अनुसार बुधबार १६ जना घाइते उपचारका लागि आएका थिए। तीमध्ये तीन जनाको अवस्था गम्भीर रहेकाले अस्पतालमै भर्ना गरेर उपचार भइरहेको छ।
बिहिबार थप एक जना २१ वर्षीय पुरुषलाई उद्धार गरी अस्पताल ल्याइएको छ। उनको पनि अवस्था गम्भीर रहेकाले सिटी स्क्यानसहित आवश्यक उपचार भइरहेको लामाले बताए ।
बाढी प्रभावित विदूरमा प्रधानमन्त्री, घाइतेहरू भेट्दै
प्रधानमन्त्री बालेन शाह आज बाढी प्रभावित क्षेत्र नुवाकोटको विदुर पुगेका छन् । विदूर पुगेका प्रधानमन्त्री शाहले स्थलगत निरीक्षणका साथै घाइतेहरु भेटेका छन् ।
प्रधानमन्त्री शाहसँगै पूर्वाधार विकास मन्त्री सुनिल लम्साल समेत सहभागी छन् । उनीहरू आज बिहान स्थलमार्ग हुँदै विदूर पुगेका हुन् ।

चीनसँग तत्काल उच्चस्तरीय कूटनीतिक पहल गर्न सरकारको ध्यानाकर्षण
जनीतिक दलहरूले हिमतालहरूको जोखिम आकलन र न्यूनीकरणका लागि चीनसँग तत्काल उच्चस्तरीय कूटनीतिक पहल गर्न सरकारको ध्यानाकर्षण गरेका छन् ।
बिहीबार बसेको सर्वदलीय बैठकले यस सम्बन्धमा संकल्प नै गरेको छ ।
थप पढ्नुहोस
बाढीका कारण सम्पर्कविहीन पर्यटक संख्या ६४४ पुग्यो
भोटेकोशी नदीमा आएको बाढीका कारण सम्पर्कविहीन हुने पर्यटक संख्या ६४४ पुगेको छ । नेपाल पर्यटन बोर्डले पछिल्लो अपडेट सार्वजनिक गर्दै सो जानकारी दिएको हो ।
बोर्डका अनुसार सबैभन्दा धेरै भारतीय पर्यटक १७८ सम्पर्कविहीन छन् । नेपाली पर्यटक १२७ जना रहेका छन् । अमेरिकी पर्यटक ६५ र युक्रेनका ५३ पर्यटक सम्पर्कविहिन रहेको तथ्यांक छ ।
थप पढ्नुहोससीमा क्षेत्रमा अलपत्र यात्रुले कहाँ सम्पर्क गर्ने ?

हालसम्म १७७ जनाको शव फेला
रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण हालसम्म १७७ जनाको मृत्यु भएको छ । नेपाल प्रहरीले दिएको जानकारीअनुसार हालसम्म ४१ महिला, ६९ पुरुष, १० जना बालिका, ७ जना बालक र ५० जनाको पहिचान खुल्न सकेको छैन ।
प्रहरीका अनुसार रसुवामा २ जना पुरुषको शव भेटिएको छ । साथै नुवाकोटमा ४ महिला र ६ पुरुष र पहिचान नखुलेका २ जना, धादिङमा ९ महिला, ११ पुरुष, एक बालिका तथा पहिचान नखुलेको ६ जनाको शव भेटिएको छ ।
गोरखामा दुई महिला, १० पुरुष, एक बालक र पहिचान नखुलेका ७ जनाको शव भेटिएको छ ।
प्रहरीका अनुसार चितवनमा १५ महिला, १९ पुरुष, २ जना बालिका, चार बालक र पहिचान नखुलेका २९ जनाको शव भेटिएको छ ।
त्यसैगरी तनहुँमा एक महिला, ६ पुरुष, एक बालिका, एक बालकको शव भेटिएको छ । नवलपरासी पूर्वमा ६ महिला, १५ पुरुष, ४ बालिका, एक बालक र पहिचान नखुलेका ६ जनाको शव भेटिएको छ । रासस
रसुवागढी र तातोपानीको विकल्पमा कोरला नाका प्रयोग गर्न आग्रह
रसुवागढी र तातोपानी नाका प्रभावित भएपछि भन्सार विभागले नेपालतर्फ आउन लागेका मालबाहक सवारीसाधन, चालक र व्यवसायीलाई मुस्ताङस्थित कोरला नाका प्रयोग गर्न अनुरोध गरेको छ ।
वैकल्पिक मार्ग, भन्सार प्रक्रिया र आवश्यक सहजीकरणका लागि विभागले समन्वय गरिरहेको जनाएको छ। साथै, बेपत्ता भन्सार कर्मचारीमध्ये सगुन मोक्तान आज सम्पर्कमा आएका छन् ।
उद्धार र सर्भेक्षणका लागि ड्रोन पाइलटलाई एक ठाउँमा आउन आह्वान
रसुवा भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यलाई तीव्र पार्न ड्रोन पाइलटहरूलाई एक ठाउँमा आउन आह्वान गरिएको छ । रोबोटिक्स एसोसियसन अफ नेपाल (र्यान) ले ड्रोन र्यापिड रेस्पोन्स टिम (डीआरआरटी) बनाउन आह्वान गरिएको हो।
रसुवा बाढीका २६ घाइते टिचिङ अस्पतालमा, २५ वर्षीय पुरुषको मृत्यु
त्रिवि शिक्षण अस्पताल (टिचिङ) मा तिब्बतबाट रसुवातर्फ आएको विनाशकारी बाढीमा परी घाइते भएका बिहिबार बिहानसम्म २६ जनालाई उपचारका लागि ल्याइएको छ। उनीहरूमध्ये २५ वर्षीय एक पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ ।
अस्पतालमा ल्याइएका घाइतेमध्ये ६ जनाको आईसीयूमा उपचार भइरहेको छ। बाढी प्रभावित क्षेत्रबाट थप ५० देखि ६० जना घाइते उपचारका लागि शिक्षण अस्पताल आउन सक्ने सूचना प्राप्त भएको अस्पताल प्रशासनले जनाएको छ ।
विपत् संकट सामना गर्न १० बुँदे सर्वदलीय संकल्प : उच्चस्तरीय सर्वदलीय संयन्त्र गठन
रास्वपाले बोलाएको सर्वदलीय बैठकले विपद् सामना गर्न १० बुँदे साझा संकल्प गरेको छ ।
घाइतेको उपचार, हेरचाह तथा मनोसामाजिक परामर्शको जिम्मेवारी राज्यले लिनुपर्नेमा दलहरू एकमत भएका छन्।
सर्वदलीय बैठकले अघि सारेका १० बुँदा यस्ता छन्:
१. राहत कार्यको गैरराजनीतीकरण
२. आर्थिक सहयोगमा एकद्वार प्रणाली
३. सामाजिक सञ्जालको जिम्मेवार प्रयोग
४. हिमतालको वैज्ञानिक अध्ययन
५. विपद् कूटनीति र पूर्वसूचना प्रणाली
६.राष्ट्रिय एकता र समावेशी उद्धार
७. उत्थानशील पुनर्निर्माण र शून्य सहनशीलता
८.जलवायु न्यायको मुद्दा उठाउने
९. अन्तर्राष्ट्रिय सहयोगको अपिल
१०.उच्चस्तरीय सर्वदलीय संयन्त्र गठन

तीन घण्टाभित्र विद्युत आपूर्ति सुरु हुने
नुवाकोटको बिदुरमा अबको ३ घण्टाभित्र विद्युत आपूर्ति सुचारु हुने भएको छ ।
विद्युत प्राधिकरणले काम गरिरहेको र बढीमा ३ घण्टासम्ममा विद्युत सुचारु हुने बताइएको छ ।
बिदुरबाट सडक मर्मत सुरु हुने
बाढीले क्षति पुर्याएको नुवाकोटको विदुर क्षेत्रमा अस्थायी सडक निर्माणको काम सुरु हुने प्रधानमन्त्री कार्यालयले जनाएको छ ।
टिमुरे क्षेत्रबाट १२५ जनाको हेलिकप्टरबा उद्धार
रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित १२५ जनालाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ ।
नेपाली सेनाका अनुसार बिहीबार बिहान साढे १० बजेसम्म १२५ जनाको उद्धार गरिएको हो ।
थप पढ्नुहोसएकै ठाउँका २७ तीर्थयात्री बेपत्ता हुँदा गाउँमा सन्नाटा
‘बाढीले गाडी बगायो, हामी छतमा छौं’ भन्दै आएको थियो अन्तिम फोन
सम्पर्क टुट्नुअघि केही परिवारले पाएको अन्तिम खबरले अहिले आशा र पीडाबीचको अवस्था सिर्जना गरेको छ।
स्थानीय प्रकाश खनालका अनुसार बिहान करिब साढे ९ बजेतिर यात्रामा रहेका प्रकाश लम्सालले फोन गरेर ‘बाढीले गाडी बगायो, हामी घरको छतमा छौं’ भनेका थिए। तर, त्यसको केही समयपछि फोन सम्पर्क पूर्ण रूपमा विच्छेद भयो।
त्यसपछि परिवारका सदस्यले पटकपटक फोन गरे। फोन लागेन। कुनै सन्देश आएन। न त उनीहरू कहाँ छन् भन्ने भरपर्दो सूचना नै आयो।
थप पढ्नुहोससर्वदलीय बैठकको १० बुँदे साझा संकल्प
नेपाल–चीन सीमावर्ती क्षेत्रबाट आएको भीषण बाढीले रसुवा, नुवाकोट, धादिङ, गोरखालगायत जिल्लामा पुर्याएको क्षतिप्रति सर्वदलीय बैठकले गहिरो दुःख व्यक्त गर्दै १० बुँदे साझा संकल्प गरेको छ।
बैठकले ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेको उपचार, हेरचाह र मनोसामाजिक परामर्शको सम्पूर्ण जिम्मेवारी राज्यले लिनुपर्नेमा सबै दल एकमत भएका छन् ।
थप पढ्नुहोसचिनियाँ राजदूत भन्छन्- नेपालतर्फ गएको भूकम्पका कारण पहिरो गयो
नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले रसुवामा आएको भीषण बाढी र पहिरो नेपालतर्फ गएको भूकम्पका कारण सिर्जना भएको प्रारम्भिक जानकारी प्राप्त भएको बताएका छन्।
थप पढ्नुहोससरकारी समन्वयमा मात्र हेलिकप्टर उडाउन निजी कम्पनीलाई निर्देशन
रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रभावित क्षेत्रमा जारी खोज तथा उद्धार कार्यमा प्रयोग भइरहेका निजी हेलिकप्टरलाई सरकारी समन्वयमा मात्रै सञ्चालन गर्न पत्राचार गरिएको छ ।
थप पढ्नुहोसहवाई भाडा बढी उठाइएको छैन : वायुसेवा सञ्चालक संघ
वायुसेवा संचालक संघले अत्यधिक चापका कारण सस्तो दरका हवाई टिकट सकिए पनि कम्पनीहरूले साविककै भाडादरमा हवाई टिकट बिक्री भइरहेको बताएको छ ।
कम्पनीहरूले सरकारले तोकेको भन्दा बढी भाडा नलिएको स्पष्ट पार्दै संघले मानवीय तथा सामाजिक उत्तरदायित्व भित्र रही साविककै भाडादर कायम गरि टिकट बिक्री भइरहेको बताएको छ ।
पश्चिम नवलपरासीमा ५ शव
रसुवाको भोटेकोशी नदीमा आएको बाढीले नारायणी नदीमा बगाएर ल्याएको पाँच वटा शव पश्चिम नवलपरासीमा फेला परेको छ ।
जिल्लाको सुस्ता गाउँपालिका–४ नारायणी नदीमा बढीले बगाएर ल्याएका ती शव फेला परेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायब उपरीक्षक मदन थापाले बताएका छन् ।
थापाले महिला बिहान ८ः०० बजेसम्म नारायणी नदीको बी.गैप बाँध ठोकर नं १४ मा तीन वटा, ठोकर नं ७ मा एक वटा र बीचमा एक वटा गरी कुल पाँच वटा शव फेला परेको जानकारी दिए । रासस
तनहुँमा भेटिएका नौ शव पोखरा ल्याइयो
रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीले बगाएर तनहुँको त्रिशुली नदी किनारमा भेटिएका नौ शवलाई पोखरा ल्याइएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएका शवको व्यवस्थापन तथा परीक्षणको काम सुरू भएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए ।
पाँच पुरूष, एक महिला, एक बालक, एक बालिका र एउटा पहिचान खुल्न नसकेको शवलाई पोखरा ल्याइएको हो ।
आँबुखैरेनीदेखि देवघाटसम्मको नदी क्षेत्रलाई प्राथमिकतामा राखेर खोजी तथा निगरानी बढाइएको तनहुँ प्रहरीले जनाएको छ ।
विपद् व्यवस्थापनमा प्रधानमन्त्रीले अग्रसरता लिनुपर्छ : एमाले
रसुवा बाढीपछि बसेको सर्वदलीय बैठकमा नेकपा एमालेका महासचिव शंकर पोखरेलले खोज, उद्धार, राहत र पुनर्स्थापनामा प्रधानमन्त्रीले नेतृत्वदायी भूमिका खेल्नुपर्ने बताएका छन्।
उनले बेपत्ता खोजी, शव पहिचान र प्रभावितलाई राहत उपलब्ध गराउने काममा सबै राजनीतिक दल एकजुट भएर प्रभावकारी समन्वय गर्नुपर्नेमा जोड दिएका छन्।
खोज तथा उद्धारमा सात हजारभन्दा बढी सुरक्षाकर्मी
भोटेकोशी बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत व्यवस्थापनका लागि सात हजार चार सय १५ जना सुरक्षाकर्मी परिचालन भएका छन् ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव रामबहादुर केसीले बाढी प्रभावित क्षेत्रमा नेपाल प्रहरीका तीन हजार तीन सय १८, नेपाली सेनाका दुई हजार तीन सय ५५ र सशस्त्र प्रहरी बल नेपालका एक हजार सात सय ४२ जना सुरक्षाकर्मी परिचालन भएको जानकारी दिए ।
बाढी प्रभावित क्षेत्रमा हालसम्म दुई सय ३९ वटा हेलिकोप्टर उडानमार्फत खोज तथा उद्धार कार्य गरिएको पधिकरणले जनाएको छ । त्यसमध्ये नेपाली सेनामार्फत दुई सय ११ वटा र निजी क्षेत्रका हेलिकोप्टरबाट २८ जानाको उद्धार भएको छ । रासस
एनसेलको १ करोड सहयोग
रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावितको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनसेलले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ।
रसुवा, नुवाकोट, धादिङ र गोरखालगायतका प्रभावित जिल्लाका पीडितलाई राहत तथा पुनर्स्थापनामा सहयोग पुग्ने उद्देश्यले यो आर्थिक सहयोग प्रदान गरिएको हो ।
थप पढ्नुहोसविपद् व्यवस्थापनका लागि स्रोतको अभाव हुँदैन : अर्थमन्त्री
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकमा आइपरेको प्राकृतिक विपद्को सामना गर्न सरकारसँग स्रोत र साधनको कुनै अभाव नहुने प्रतिबद्धता व्यक्त गरेका छन्।
बिहीबार सिंहदरबारमा प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूसँगको बैठकपछि जानकारी दिँदै उनले तत्कालको उद्धार, राहत तथा दीर्घकालीन पुनर्निर्माणका लागि आन्तरिक र बाह्य दुवैतर्फबाट बजेटको सुनिश्चितता भइसकेको बताए।
अर्थमन्त्री वाग्लेले २०७२ सालको भूकम्पपछिको सफल पुनर्निर्माणको अनुभवलाई मध्यनजर गर्दै अहिले पनि वैज्ञानिक तथ्य र अध्ययनका आधारमा पुनर्निर्माणको महाअभियान सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।
बाढीबाट एनआईएमबी बैंकका ७ कर्मचारी सम्पर्कविहीन
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमा कार्यरत सात कर्मचारी बुधबार आएको बाढीबाट सम्पर्कविहीन भएका छन् । रसुवास्थित स्याफ्रुवेसी शाखाका पाँच, टिमुरे शाखका १ र मैलुङ एक्स्टेन्सन काउन्टरमा एक जना गरी सात कर्मचारी सम्पर्कविहिन भएका छन् ।
थप पढ्नुहोस‘अपर त्रिशूली-ए’ आयोजनाका कर्मचारीको उद्धार गर्न पुग्यो सेनाको टोली
भोटेकोशी नदीमा आएको बाढीबाट क्षतिग्रस्त अपर त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनामा रोकिएका कर्मचारीको उद्धारका लागि नेपाली सेनाको टोली हेलिकप्टरमार्फत घटनास्थल पुगेको छ ।
प्रतिकूल मौसमका कारण बुधबार दुई पटक अवतरणको प्रयास असफल भए पनि बिहीबार हेलिकप्टर आयोजनास्थलमा अवतरण गरेको हो ।

बाढी प्रभावित क्षेत्रमा बत्तीको जोहो गर्दै ऊर्जा मन्त्रालय, ५०० वटा सोलार पावर बैंक पठाउँदै
विद्युत पूर्वाधार संरचनामा भएको क्षतिले विद्युत् अवरुद्ध भएको रसुवा बाढी प्रभावित क्षेत्रमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले वैकल्पिक ऊर्जाको व्यवस्था गरेको छ ।
बाढीबाट १२ वटा जलविद्युत् आयोजनाहरुमा क्षति पुगी ४३१।१ मेगावाट विद्युत उत्पादन बन्द भएपछि ऊर्जामन्त्री विराज भक्त श्रेष्ठले मन्त्रालय मातहतको संयन्त्र परिचालन गरी रसुवा, नुवाकोट र धादिङमा वैकल्पिक ऊर्जाको व्यवस्थापन गरेका हुन् ।

नुवाकोटमा विद्युत् आपूर्ति सुरु
भोटेकोशी नदीमा आएको बाढीका कारण विद्युत् आपूर्ति अवरुद्ध भएका नुवाकोटका विभिन्न क्षेत्रमा नेपाल विद्युत् प्राधिकरणले वैकल्पिक प्रसारण व्यवस्थामार्फत विद्युत् सेवा पुन:सुचारु गरेको छ ।
राहत, उद्धारदेखि पुनर्स्थापनासम्म सर्वदलीय समिति बनाउने प्रस्ताव
सर्वदलीय बैठकमा राहत, उद्धारदेखि पुनर्स्थापनासम्म सर्वदलीय समिति बनाउने प्रस्ताव प्रस्तुत भएको छ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सभापति रवि लामिछानेले नै यस्तो प्रस्ताव राखेका हुन् ।
सिंहदरबारमा सर्वदलीय बैठक जारी छ । उक्त बैठकमा सभापति लामिछानेले भनेका छन्, ‘राहत, उद्धारदेखि पुनर्स्थापनासम्म सर्वदलीय समिति वा संसदीय वा सर्वपक्षीय समिति गठन गरौं । जसले सरकारलाई निर्णय गर्न सहज होस् ।’
थप पढ्नुहोसनुवाकोटको बाढी प्रभावित क्षेत्रको अवलोकनमा निस्किए प्रधानमन्त्री बालेन शाह
प्रधानमन्त्री बालेन शाह आज बिहानै बाढी प्रभावित क्षेत्र नुवाकोटको विदुरतर्फ स्थलगत निरीक्षणका लागि प्रस्थान गरेका छन् ।
प्रधानमन्त्री शाहसँगै पूर्वाधार विकास मन्त्री सुनिल लम्साल समेत सहभागी छन् ।
थप पढ्नुहोसदलगत पहिचान निषेध गरेर राहत, उद्धार र पुनर्निर्माणमा जुट्न रवि लामिछानेको आह्वान
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सभापति रवि लामिछानेले दलगत पहिचान निषेध गरेर राहत, उद्धार र पुर्ननिर्माणमा जुट्न आह्वान गरेका छन् ।
सिंहदरवारमा जारी सर्वदलीय बैठकमा उनले यस्तो आह्वान गरेका छन् । सभापति लामिछानेको आह्वानमा सर्वदलीय बैठक जारी छ ।
थप पढ्नुहोसचीनले बेलैमा सूचना दिएन भन्ने आरोपप्रति चिनियाँ दूतावासको आपत्ति
नेपाल–चीन सीमास्थित रसुवागढी–केरुङ क्षेत्रमा आएको विनाशकारी बाढी तथा पहिरोबारे चीनले बेलैमा पूर्वसूचना नदिएको भन्ने आरोपलाई चिनियाँ दूतावासले खण्डन गरेको छ। दूतावासले यस्ता भनाइलाई पूर्णतः भ्रामक र असत्य भन्दै आपत्ति जनाएको हो।
प्रधानमन्त्री बालेनको ९ सन्देश
- देशले अकल्पनीय रूपमा भोगिरहेको यस विपत्तिको घडीमा सरकार यथाशीघ्र र यथाशक्य उद्धार तथा राहतको कार्यमा जुटिरहेको छ। सिङ्गो देश, विश्वभरका नेपालीहरू र अन्तर्राष्ट्रिय समुदायसमेतको सहयोग र सहकार्यमा यस विपत्तिको घडीको मिलेर सामना गर्दैछौँ।
- आज बिहानै ६:३० बजेदेखि उद्धारका लागि उडानहरू सुरु भइसकेका छन्। बिहानदेखि यति बेलासम्म १५ भन्दा बढी उडानहरू भइसकेका छन् र थप हेलिकोप्टरहरू उडानका लागि तयारी अवस्थामा राखिएका छन्।
- नेपाली सेनाले आज बिहान सञ्चालन गरेको रेस्क्यु अपरेशनमार्फत रसुवाको टिमुरेबाट ११६ जनालाई सकुशल उद्धार गर्न सफल भएको छ। उद्धार गरिएकामध्ये ९५ जना नेपाली र २१ जना भारतीय नागरिक रहेका छन्। यसै क्रममा टनेलबाट ७ जना नेपाली नागरिकलाई समेत सफलतापूर्वक उद्धार गरिएको छ।
- अत्यावश्यक सहयोग सामग्रीहरू द्रुत रूपमा पुर्याउने काम भइरहेको छ। प्रभावित स्थलहरूमा अत्यावश्यक सहयोग सामग्रीहरूसहित जेनेरेटर, पोर्टेबल मोबाइल टावर, मेडिकल सामग्री, टेन्ट, फलाम–ढुङ्गा काट्ने मेसिन आदि पुर्याइँदैछ।
- छिट्टै विपद् प्रभावित क्षेत्रमा मोबाइल नेटवर्क तथा मोबाइल चार्जिङको अस्थायी व्यवस्था हुनेछ, जसले सम्पर्क स्थापित गर्न सहयोग पुर्याउनेछ।
- नुवाकोटमा अस्थायी शिविर तयार गरिसकिएको छ। खाना तथा पानीको व्यवस्था गरिएको छ।
- ड्रोन सर्वेबाट सबै ठाउँको जानकारी सङ्कलन अन्तिम चरणमा छ। यसले चुस्तदुरुस्त उद्धार तथा राहतका लागि सहयोग पुग्नेछ।
- उद्धारको क्रममा हेलिकोप्टरमा सुरुमा सिकिस्त, वृद्ध, महिला र बालबालिकाहरूलाई प्राथमिकता दिइनेछ। सम्पूर्णमा धैर्य तथा संयम राखी उद्धार तथा राहतको प्रतीक्षा गर्नुहुन र यो विपद्को सामना गर्न अनुरोध गर्दछौँ। यथाशीघ्र उद्धारका लागि राज्यको सम्पूर्ण संयन्त्र परिचालित छन्।
- आशा र विश्वासका साथ हामी सबै एक भएर यो विपद्को डटेर सामना गर्नुपर्नेछ। यस क्रममा हातेमालो गर्नुहुने सम्पूर्णमा हार्दिक धन्यवाद व्यक्त गर्दछु।

बाढी प्रभावित क्षेत्रमा पीडितहरूका लागि अस्थायी बसोबास र खानपान
प्रभावित क्षेत्रका बाढी पीडितहरूका लागि नेपाली सेनाको नजिकैको ब्यारेकमा तत्कालका लागि अस्थायी बसोबास, खानेकुरा, सफा खानेपानी र औषधिकोको प्रबन्ध गरिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बिहीबार बिहान सवा ९ बजे सार्वजनिक गरेको विवरणअनुसार, बाढी प्रभावित क्षेत्रमा कार्यरत ४४ जना नेपाली सेना, विभिन्न प्रहरी चौकीमा कार्यरत २८ प्रहरी र सशस्त्र प्रहरी बल नेपालमा १३ जना सुरक्षाकर्मी सम्पर्कविहीन छन् ।
५७९ यात्रु सम्पर्कविहीन
नेपाल पर्यटन बोर्डका अनुसार भोटेकोशी बाढीपछि ४४६ जना विदेशी र ११३ जना नेपाली गरी ५७९ जना यात्रु सम्पर्कविहीन छन् ।
रसुवाको टिमुरेबाट १२३ जनालाई उद्धार गरिएको छ । उद्धार गरिएकोमा ९४ जना नेपाली र २९ जना विदेशी नागरिक रहेका राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
भोटेकोशी बाढी प्रभावितलाई आईएफआरसीको १९ करोड सहयोग
रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तरराष्ट्रिय महासङ्घ (आईएफआरसी)ले तिब्बतबाट आएको बाढीसँगै भोटेकोशी नदीसहित त्रिशूली नदीमा आएको भीषण बाढी प्रभावितको खोज, उद्धार, पुनःस्थापनाका लागि तत्काल रु १८ करोड ९६ लाख २२ हजार (१२ लाख अमेरिकी डलर) सहयोग गर्ने भएको छ ।
रेडक्रसको स्वयंसेवक आपत्कालीन प्रतिकार्य टोलीमार्फत सक्रिय भएर प्रभावित क्षेत्रमा तत्काल खोज, उद्धार र राहत वितरण कार्यमा जुटिसकेका जनाउँदै आइएफआरसीले विपद् प्रतिकार्यमा निरन्तर जुट्न आग्रहसमेत गरेको छ ।


मकवानपुरका ४० जनाको अवस्था अज्ञान
मकवानपुरका स्थानीयवासीले बाढी प्रभावित जिल्लामा गएका ४० जनाको अवस्था बुझिदिन जिल्ला प्रशासन कार्यालयमा आग्रह गरेका छन् ।
जिल्लाका विभिन्न स्थानबाट उक्त क्षेत्रमा गएका तर सम्पर्क हुन नसकेका आफ्ना आफन्तहरूबारे बुझिदिन स्थानीयवासीले प्रशासनसँग अनुरोध गर्नुभएको प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले जानकारी दिए ।
'उक्त क्षेत्रमा मकवानपुर स्थायी बसोबास भई गोसाइँकुण्डलगायत स्थानमा दर्शन गर्न तथा घुम्न गएका, उक्त क्षेत्रमा सवारीसाधन चलाउँदै आएका तथा अन्य विभिन्न पेसामा आबद्ध ४० जना व्यक्तिका सम्बन्धमा आफन्तहरूले सम्पर्क हुन नसकेको जनाउँदै प्रशासनमा बुझिदिन अनुरोध गर्नुभएको छ', उनले भने, 'उक्त क्षेत्रमा सहज सञ्चार सम्पर्क नभएका कारण कतिपयको अवस्था जानकारी नभएको पनि हुनसक्छ, हामीले अनुरोध भएअनुसार सम्बन्धित निकायसँग बुझ्ने प्रयास गरिरहेका छौँ ।'
हेटौँडा प्रदेशको राजधानीसमेत भएका कारण विपद्को उद्धार, सहयोगलगायतका काममा आवश्यकता अनुसार तत्तत् युनिटहरू परिचालनसमेत भइरहेको उनले बताए । रासस
बाढीका घाइतेलाई बागमतीका प्रादेशिक अस्पतालमा निःशुल्क उपचार
बागमती प्रदेश सरकारले भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित तथा घाइते नागरिकलाई प्रदेशअन्तर्गतका प्रादेशिक अस्पतालमा निःशुल्क उपचारको व्यवस्था गरेको छ । प्रदेशको स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालयले विज्ञप्तिमार्फत रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा बाढीबाट प्रभावित तथा घाइते भएका नागरिकलाई शीघ्र स्वास्थ्य लाभको कामना गर्दै नजिकको प्रादेशिक अस्पतालमा सम्पर्क गरी निःशुल्क उपचार सेवा लिन आग्रह गरेको हो ।
काठमाडौं आइपुग्यो भारतीय सहायता
भारतबाट नेपाल पठाइएको बाढी प्रभावितहरूका लागि सहायता सामग्री काठमाडौं आइपुगेको छ । पर्यटनमन्त्री खड्कराज पौडेललाई नेपालस्थित भारतीय राजदूत नवीन श्रीवास्तवले हस्तान्तरण गरेका छन् ।
भारतका विदेशमन्त्री एस. जय शंकरले सामाजिक सञ्जालमार्फत् यसबारे जानकारी दिएका छन् ।


उद्धारमा सक्रिय सेना र निजी क्षेत्रका हेलिकप्टर
नुवाकोटबाट अनलाइनखबरकर्मी कृष्णसिंह धामीले दिएको जानकारीअनुसार, नुवाकोट र रसुवाका आकाशमा अहिले नेपाली सेना र निजी क्षेत्रका हेलिहरू उडिरहेका छन् । अहिले उद्धारको पर्खाइमा रहेका नागरिकहरूको उद्धार भइरहेको उनले जानकारी दिए ।

भोटेकोशी बाढीपछि मधेशका ३० जना सम्पर्कविहीन
रसुवा जिल्लामा आएको बाढीमा मधेश प्रदेशका ३० जना सम्पर्क विहीन भएका छन् । परिवार तथा आफन्तले दिएको जानकारी अनुसार मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार ३० जना रसुवाका विभिन्न स्थानमा कार्यरत वा बसोबास गर्दै आएका थिए । उनीहरु सम्पर्कमा छैनन् ।
प्रहरीका अनुसार पर्साबाट १६ जना, बाराबाट ३ जना, रौतहटबाट २ जना, सर्लाहीबाट ६ जना र सप्तरीबाट २ जना सम्पर्कविहीन छन्।
पोर्टएबल मोबाइल टावर पठाउँदैछौं : शिक्षा मन्त्रालय
बाढीमा चीनतिर ३ जनाको मृत्यु, ५५८ बेपत्ता, उद्धारमा चिनियाँ सेना परिचालन
चीनको दक्षिण-पश्चिमी क्षेत्र तिब्बत स्वायत्त क्षेत्रस्थित केरुङ काउन्टीमा बुधबार गएको भीषण बाढीमा परी ३ जनाको मृत्यु भएको छ भने ५५८ जना बेपत्ता भएका छन्।
चिनियाँ सञ्चारमाध्यम पिपल्स डेलीका अनुसार, बाढीग्रस्त क्षेत्रमा खोजी तथा उद्धार कार्यलाई तीव्र बनाउन चिनियाँ जनमुक्ति सेना (पीएलए) परिचालन गरिएको छ।

उद्धारका लागि २० हेलिकप्टर तयारी अवस्थामा

भोटेकोशी-त्रिशुली बाढीपछि धादिङका ३ शिक्षक र ५ पूर्वशिक्षक बेपत्ता भएका शिक्षा विकास तथा समन्वय एकाइ, धादिङले जानकारी दिएको छ । हालसम्म धादिङको राजमार्ग क्षेत्रका ४ विद्यालयहरूमा क्षति पुगेको एकाइले जानकारी दिएको छ । थप क्षति यकिन हुन बाँकी रहेको छ ।

त्रिशुली अस्पतालमा उपचार गराइरहेका १६ जना
नुवाकोटको त्रिशुली अस्पतालमा १६ जना घाइतेहरू उपचार गराइरहेका छन् । अस्पतालका अनुसार उनीहरू बुधबार बिहान गएको बाढीमा परी घाइते भएका हुन् ।

कृषि तथा वन विज्ञान विश्वविद्यालयका पनि परीक्षा स्थगित
कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरले पनि आजबाट सञ्चालन हुने भनिएको सबै परीक्षाहरू स्थगित गरेको छ ।

सुदूरपश्चिम विश्वविद्यालयले पनि रोक्यो परीक्षा
सुदूरपश्चिम विश्वविद्यालयले पनि भोटेकोशी बाढीलाई कारण देखाउँदै यस विश्वविद्यालयले सञ्चालन गरेका सबै परीक्षा स्थगित गरेको छ ।

पूर्वाञ्चल विश्वविद्यालयको परीक्षा स्थगित
भोटेकोशी बाढी र यसले पुर्याएको क्षतिलाई मध्यनजर गर्दै पूर्वाञ्चल विश्वविद्यालयले अर्को सूचना जारी नभएसम्मका लागि यस विश्वविद्यालयबाट सञ्चालित सबै परीक्षा स्थगित गरेको छ ।

१६२ जनाको शव फेला, २८ प्रहरी अझै सम्पर्कविहीन
रसुवामा आएको विनाशकारी बाढीको अद्यावधिक विवरण सार्वजनिक भएको छ। नेपाल प्रहरीका अनुसार बिहीबार बिहानसम्म विभिन्न जिल्लाबाट १६२ जनाको शव फेला परेको छ भने ४१ जना घाइतेहरूको उपचार भइरहेको छ।
कुन जिल्लामा कति शव फेला परे?
विभिन्न तटीय क्षेत्र तथा जिल्लाहरूबाट निकालिएका १६२ शवको विवरण यसप्रकार छ:
-
चितवनबाट सबैभन्दा धेरै ६४ जनाको शव फेला परेको छ।
-
धादिङबाट २७ जनाको शव प्राप्त भएको छ।
-
नवलपरासी पूर्व (न.प.पूर्व) बाट २६ जनाको शव निकालिएको छ।
-
गोरखाबाट २० जनाको शव फेला परेको छ।
-
नुवाकोटबाट १२ जनाको शव फेला परेको छ।
-
तनहुँबाट ९ जनाको शव फेला परेको छ।
-
रसुवा र नवलपरासी पश्चिम (न.प.पश्चिम) बाट क्रमशः २/२ जनाको शव फेला परेको छ।

रसुवा र नुवाकोटका विद्यालयहरूमा व्यापक क्षति, २ वटा बोर्डिङ स्कुल बगे
भोटेकोशी नदीमा आएको बाढीले रसुवा र नुवाकोटका शैक्षिक संस्थाहरूमा ठूलो क्षति पुर्याएको प्रारम्भिक विवरण सार्वजनिक भएको छ। सार्वजनिक सूचीअनुसार बाढीका कारण निम्न विद्यालयहरू प्रभावित भएका छन्:
रसुवाका विद्यालयहरूमा क्षति:
-
-
तिमुरे क्षेत्र: प्रारम्भिक विवरणअनुसार यस क्षेत्रका २ वटा बोर्डिङ विद्यालयहरू बाढीले बगाएको छ। गोसाइँकुण्ड गाउँपालिकास्थित तिमुरे सामुदायिक विद्यालयको भवन तथा संरचनामा ठूलो क्षति पुगेको छ भने केही विवरणमा उक्त भवन नै बगेको उल्लेख छ। यसका साथै तिमुरे आसपासका अन्य २ वटा सामुदायिक विद्यालय पनि क्षतिग्रस्त भएको प्रारम्भिक जानकारी छ।
-
उत्तरगया गाउँपालिका (बेत्रावती/आँगुटार): यहाँ रहेको उत्तरगया स्कुलमा बाढीको प्रत्यक्ष प्रभाव परेको छ। यद्यपि, विद्यार्थीहरू विद्यालयबाट भागेर सुरक्षित स्थानमा पुग्न सफल भएका छन्।
-
-
नुवाकोटमा क्षति:
-
विदुर नगरपालिका-५ स्थित त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयको परिसर तथा भौतिक संरचनामा व्यापक क्षति पुगेको छ। विद्यालय क्षेत्र हिलो, लेदो तथा बाढीजन्य सामग्रीले भरिएको छ।
-
रसुवा बाढीमा मुगुका २ नागरिक सम्पर्कविहीन
रसुवामा भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि मुगुको छायाँनाथ रारा नगरपालिकाका दुई जना नागरिक सम्पर्कविहीन भएका छन्। विभिन्न कामको सिलसिलामा रसुवा पुगेका छायाँनाथ रारा नगरपालिका–१० का लालबहादुर सेजुवाल र शिव सेजुवाल बाढीपछि सम्पर्कविहीन भएका हुन्।
पृथ्वीराजमार्गको बैरेनी-गलौदीसम्म सडक अवरुद्ध

पृथ्वी राजमार्गको बैरेनीदेखि गलौदीसम्म १३ किलोमिटर सडक बाढीको लेदो जमेको कारण अवरुद्ध छ । बिहीबार बिहानैदेखि लेदो हटाउने काम सुरु गरिएको छ । दिउँसोसम्म सडक सुचारू हुने सडक विभागले जानकारी दिएको छ ।
थप पढ्नुहोसत्रिशूली र नारायणी नदी किनारमा ६४ शव भेटिए
चीनको स्वशासित क्षेत्र तिब्बतबाट आएको बाढीले बगाएका ६४ जनाको शव त्रिशूली र नारायणी नदीमा भेटिएको छ ।
भेटिएका शव सग्लो र शरीरका अङ्गहरु मात्रै पनि छन् । भेटिएका शवलाई भरतपुर अस्पतालको शवगृहमा राखिएको जिल्ला प्रहरी कार्यालयमा चितवन प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलले जानकारी दिए ।
थप पढ्नुहोसभोटेकोशी बाढी प्राविधिक प्रतिवेदनमा के छ ?
जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्र अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले बुधबार बिहान भोटेकोशी, त्रिशूली र नारायणी नदीमा आएको विनाशकारी बाढीसम्बन्धी विस्तृत प्राविधिक प्रतिवेदन सार्वजनिक गरेको छ।
थप पढ्नुहोसबाढीमा ५ जापानी नागरिक बेपत्ताको खबरले चिन्तित छु : जापानी प्रधानमन्त्री
जापानी प्रधानमन्त्री सानाए ताकाइचीले नेपालमा आएको भीषण बाढी र त्यसले पुर्याएको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेकी छन्। बाढीमा परी ५ जना जापानी नागरिक बेपत्ता भएको खबरले आफूलाई अत्यन्तै चिन्तित बनाएको उनले बताएकी छन्।
थप पढ्नुहोसरसुवामा रहेका सल्यान कपुरकोटका १३ जना श्रमिक सम्पर्कविहीन
रसुवामा आएको बाढीपछि सल्यानको कपुरकोट गाउँपालिकाका १३ जना नागरिक सम्पर्कविहीन भएका छन्। कपुरकोट गाउँपालिकाले सूचना जारी गर्दै उनीहरूको खोजी तथा उद्धार कार्यमा सहयोग गरिदिन सबै सरोकारवालासँग अपिल गरेको छ।
थप पढ्नुहोसअमेरिकी विदेशमन्त्रीले भने- बाढीको घटनामा दुःख, मानवीय सहायता गर्न तयार
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले नेपालमा आएको विनाशकारी बाढी र डुबानको घटनाप्रति दुःख व्यक्त गर्दै नेपाली जनताप्रति ऐक्यबद्धता जनाएका छन्।
सामाजिक सञ्जाल एक्समार्फत एक सन्देश जारी गर्दै विदेशमन्त्री रुबियोले यस विपद्को घडीमा अमेरिका नेपालको साथमा रहेको बताएका हुन्।
थप पढ्नुहोसनुवाकोटमा रेस्क्यू अपरेसन सुरु भयोः सञ्चारमन्त्री
सूचना तथा प्रविधिमन्त्री डा. विक्रम तिमल्सिनाले हेलिकप्टरबाट नुवाकोटमा रेस्क्यू अपरेसन शुरु भएको जानकारी दिएका छन् ।
राहत उद्धारमा एनआरएनको ५ करोड सहयो
गैरआवासीय नेपाली संघ (एनआरएनए) ले भोटेकोशी बाढीबाट प्रभावित परिवारका लागि बिहीबारदेखि राहत वितरण गर्ने बताएको छ ।
संघका अध्यक्ष डा. हेमराज शर्माको नेतृत्वमा आज पहिलो चरणमा नुवाकोटमा प्रभावित ५ सय परिवारका लागि टेन्ट, खाद्यान्न, लत्ताकपडा, औषधिलगायतका राहत सामग्री वितरण गरिनेछ। स्थानीय तहसंग समन्वय गरेर संघले राहत वितरण गर्नेछ ।
यसअघि बुधबार बसेको संघको आकस्मिक बैठकले राहत तथा उद्धारका लागि ५ करोड रुपैयाँ सहयोग गर्ने र प्रभावित क्षेत्रमा चिकित्सकहरूको टोली पठाउने निर्णय गरेको थियो।
प्रतिक्रिया 4