Comments Add Comment

नेपालीको राष्ट्रवादमाथि राकेश सुदको व्यंग्य

Rakesh-Sud

१२ असोज, काठमाडौं । नेपालमा विवादित कार्यकाल बिताएका भारतीय पूर्वराजदूत राकेश सुदले नेपालको राष्ट्रियताप्रति व्यंग्य गर्दै लेख लेखेका छन् । भारतीय अखबार दि हिन्दूमा गत शनिबार प्रकाशित उनको लेखमा नेपालको राष्ट्रवाद भारतको विरोधमा सीमित हुन पुगेको आरोप लगाइएको छ । सूदले नेपालसम्बन्धी केही तथ्यहरुलाई पनि तोडमोड गरेका छन् ।

सुदले आफ्नो लेखमा भनेका छन्- ‘सधैंजस्तो नेपालको आन्तरिक राजनीति ध्रुवीकृत भएर युद्धस्थलमा परिणत भएका बेला भारतलाई मुड्की ठोक्ने ठाउँ बनाइएको छ र नेपालको राष्ट्रवाद खुम्चिएर भारतको विरोधमा सीमित भएको छ ।’

भारतले नेपालमाथि लगाएको नाकाबन्दीको एक शब्द चर्चा नगरिएको लेखमा सुदले एस जयशंकरको नेपाल भ्रमण धेरै ढीलो भएको भन्दै थकथकी मानेका छन् ।

‘संविधानसभाले औपचारिक मतदान सिध्याएको अवस्थामा भ्रमण धेरै ढीला भयो र यसले कुनै अनुकुल परिणाम ल्याउने सम्भावना न्यून थियो,’ उनले लेखेका छन्, ‘बरु उल्टो यसले नेपालीहरुमा राष्ट्रवादको भूत जगाइदियो, जुन सधैंजस्तो भारतविरोधी भावनामा रुपान्तरण हुन पुग्यो ।’

नेपालमाथि सुदको टिप्पणी छ,-‘भारतले औपचारिक रुपमा संविधान जारी भएकोप्रति चिन्ता व्यक्त गर्दै निकालेको विज्ञप्तिले उनीहरुको आँखा खोलेन, किनकि अरु राजधानीहरुले संविधानको स्वागत गरिरहेका थिए, यसले काठमाडौंमा सले भारतविरोधी भावना थप मजबुत बनायो र इन्डियाले सन् १९९० मा जस्तै गर्न सक्ने आशंका व्याप्त भयो ।’

‘वर्षको पूवार्द्धमा नै शीर्षदलका नेताहरुलाई भावी संकटका बारेमा झक्झक्याउनुपर्ने थियो । त्यसको साटो हामीले आफू अनुकुलका नेताहरुको मात्र कुरा सुन्यौं र जो हामीलाई त्यहि कुरा सुनाउँथे जो हामी सुन्न चाहन्थ्यौं, सुदले भनेका छन् ।’

पूर्वराजदूत सुदले लेखमा नयाँ संविधानलाई बाहुनहरुले बनाएको भन्दै मधेसी-जनजातिलाई भड्काउने प्रयास गरेका छन् । संविधानसभाका १० प्रतिशत सदस्यहरुले बहिस्कार गरेको भन्दै उनले लेखेका छन्-‘नेपालको राजनीतिमा सँधै बाहुन-क्षेत्रीको हालिमुहाली छ, जनजाति, दलित, थारु र मधेसीहरुलाई परम्परादेखि नै दमनमा पारिएको छ ।’

नेपालका मधेसीहरुको भारतको उत्तर प्रदेश र बिहारका नागरिकसित रोटीबेटीको सम्वन्ध रहेको उल्लेख गर्दै उनले उनीहरुलाई नागरिकताको समस्या रहेको उल्लेख गरेका छन् । लेखभित्र अप्रासंगिकरुपमा ‘एमाओवादी अध्यक्ष प्रचण्डसित अरबौं डलर सम्पत्ति रहेको चर्चा सुनेको’ समेत उनले उल्लेख गरेका छन् ।

भावी प्रधानमन्त्रीमा केपी ओलीको चर्चा रहेको उल्लेख गर्दै सुदले अन्य महत्वपूर्ण पदका लागि चर्चामा रहेका व्यक्तिहरु पनि बाहुन-क्षेत्री नै भएको भन्दै चित्त दुखाएका छन् ।

एमाओवादी पार्टी दोस्रो संविधानसभामा कमजोर बन्नुमा भ्रष्टाचारसमेत कारण रहेको र मधेसी दलहरु साह, यादव लगायतको जातीय अन्तरविरोधका कारण फुटेर कमजोर बनेको सुदले उल्लेख गरेका छन् । ‘माओवादीले भ्रष्टाचारको प्रचार, कमजोर सरकार र विभाजनका रुपमा आफ्नो धरातल गुमायो, सुदले लेखेका छन्, ‘मधेसीले मपाईत्वको झगडाका साथै बाहुन, ठाकुर, यादव, कुर्मी आदिवीचको जातीय भिन्नतालगायतको पक्षहरुले आफ्नो आधार गुमाए ।’

झूठको खेती

पूर्वराजदूत सुदले सन् १९५० सम्म मधेसीहरुले काठमाडौं आउँदा विशेष अनुमति लिने गरिएको झूठो विवरणसमेत उल्लेख गरेका छन् । त्यसबेला भारतीय व्यापारीलाई भिसा लाग्ने गरेको भए पनि नेपाली नागरिकलाई कुनै बञ्देज थिएन ।

त्यस्तै उनले तराईमा सन् १९५२ मा ६ प्रतिशतमात्रै पहाडी समुदाय रहेको र २०११ मा ३६ प्रतिशत पुगेको भन्दे नेपाली नागरिकको बसाइ सराइलाई साम्प्रदायिक रुप दिने जमर्कोसमेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment