६ वैशाख, काठमाडौं । ‘मलाई त अहिले पो नर्भस फिल भो’ नामिबियाविरुद्धको म्याचमा नेपाललाई जीतसम्म पुर्याएका शरद भेषावाकर पत्रकारबाट घेरिएपछि भन्दै थिए ।
उनले आज आफ्नो जीवनकै सबैभन्दा उत्कृष्ट इनिङ खेलेको प्रतिक्रिया दिए ।
‘यस्तो सिचुयसनमा पहिले पनि खेलेको हो, तर होम ग्राउण्डमा घरेलु दर्शकको बीचमा बेग्लै खालको दबाव हुन्छ र जीतको बेग्लै मज्जा हुन्छ,’ शरदले भने ।
अन्तिम ओभर सुरु हुँदा तपाईंको मनमा के चलिरहेको थियो ? पत्रकारको प्रश्नमा उनले भने, ‘मैले विश्वकप सम्झिरहेको थिएँ । टी-२० विश्वकपमा हङकङविरुद्धको खेलमा अन्तिम ओभरमा यस्तै सिचुयसन थियो ।’
अन्तिम दुई बलमा १ रन चाहिएका बेला शरदले मिडविकेटतर्फ चौका हान्दै नेपाललाई जिताएका थिए । उनले यो सट हान्ने आफूले पहिले नै सोचेको बताए ।
‘मैले त्यो बल खेल्नुअघि भगवानको प्रार्थना गरेँ । त्यही सट हान्छु भन्ने पनि पहिल्यै निर्णय गरेँ । भाग्यवस मैले सट खेल्ने ठाउँमा नै बल आयो,’ शरदले भने ।
शरदले आफ्ना कप्तान पारसको खुलेर तारिफ गरे । उनले भने, ‘पारसले आज वास्तवमै एक्सेप्सनल इनिङ खेल्यो, ऊ क्रिजमा हुँदासम्म मलाई कुनै दबाव थिएन ।’
‘पारस आउट भएपछि कति दबाव महसुस गर्नुभयो ?’ पत्रकारको अर्को प्रश्नमा शरदले भने, ‘मैले सोचिरहेको थिएँ, पारस र मैले नै खेल सिध्याउनेछौं । पारस आउट हुँदा हामी राम्रो स्थितिमा पुगिसकेका थियौं । रनरेट नियन्त्रणमा थियो र विकेट पनि प्रशस्त बाँकी थियो । त्यसैले म धेरै नर्भस भइनँ ।’
नेपालले सहजरुपमा जित्न लागेको म्याच अन्तिम ओभरको पाचौं बलसम्म पुग्यो । शरदले भने, ‘क्रिकेटमा यस्तो हुन्छ, म हरेक ओभरमा रन क्याल्कुलेट गर्दै खेलिरहेको थिएँ । हार्छु भन्ने लागेको थिएन ।’
हेर्नुस् भिडियो
यो पनि पढ्नुस्
प्रतिक्रिया 4