![](https://www.onlinekhabar.com/wp-content/uploads/2017/02/Samsur-Hoda.jpg)
२५ माघ, काठमाडौं । अण्डरवर्ल्ड डन दाउद इब्राहिमका एक सदस्य काठमाडौंबाट पक्राउ परेका छन् । नेपाल प्रहरीको विशेष ब्यूरोले सूचनाको आधारमा पक्राउ गरेका दाउदका नेपाली एजेण्ट सम्सुर होदा बारा जिल्ला निवासी हुन् ।
विशेष ब्युरो स्रोतका अनुसार, होदा दुबईमा बसेर दाउदका लागि काम गर्दै आएका थिए । करिब एक वर्षदेखि दुबईमै बस्दै आएका होदा २० दिनअघि मात्र काठमाडौं ओर्लिएका थिए ।
लगतै प्रहरीको निगरानीमा परे । केही दिन निगरानीपछि उनलाई पक्राउ गरिएको प्रहरीको विशेष ब्यूरोका प्रमुख डीआईजी बमबहादुर भण्डारीले अनलाइनखबरलाई बताए ।
को हुन् होदा ?
होदाको ठेगाना बारा जिल्लाको कलैया हो । ४८ वर्षीय उनी सन् २००१ मा रोजगारीको लागि मलेसिया पुगेका थिए ।
त्यहाँ करिब एक वर्ष काम गरेपछि उनी नेपाल फर्किएका थिए । यहाँ आएपछि राष्ट्रिय मधेस समाजवादी पार्टीमार्फत राजनीति पनि थालेको विशेष ब्यूरो स्रोतले जनाएको छ ।
शरतसिंह भण्डारी नेतृत्वको रामसपाबाट उनी ०७० सालको संविधानसभा चुनावमा उम्मेवार पनि बनेका थिए । तर, राजनीतिमा पार नलागेपछि उनले जग्गाको कारोबार सुरु गरेका थिए । त्यही बीचमा उनको सम्पर्क दुबईमा रहेका एक पाकिस्तानी नागरिकसँग सम्पर्क भएको अनुसन्धानको क्रममा देखिएको छ ।
सफी नाम गरेका पाकिस्तानी मार्फत होदा एक वर्षअघि पहिलो पटक दुबई पुगेको देखिएको छ ।
विशेष ब्यूरो प्रमुख भण्डारीका अनुसार, होदा नक्कली भारुको काम गर्न दुबई गएका थिए । ‘नक्कली भारुको कामका लागि पहिले उनी मलेसिया पुगेको देखिन्छ’, उनले अनलाइनखबरसँग भने, ‘त्यहाँ काम नभएपछि नेपाल फर्किएर दुबई गएको खुलेको छ ।’
मलेसियाबाट फर्केको २० दिनपछि नै २०१६ को सुरुवातमै होदा दुबई पुगेका थिए, जहाँ उनले नक्कली भारुको धन्दा गर्ने जिम्मेवारी पाए ।
उनले २०१६ को मार्चतिर ५० लाख नक्कली भारु नेपालकै बाटो भएर भारत पठाएका थिए । ब्युरोको स्रोत भन्छ, ‘होदाले त्यो रकम अरुलाई बोकाएर पठाएका थिए । त्यसैले उनी दुबई गएपछि दाउदको ग्याङमा फसेको हुन सक्छ ।’
भारतमा बम विष्फोटको योजना तुहिएपछि काठमाडौंमा
![](https://www.onlinekhabar.com/wp-content/uploads/2015/12/Daud-Ibrahim.jpg)
पैसा कमाउने मोहमा पाकिस्तानी नागरिक मार्फत दुवई पुगेका होदा एक वर्षमै दाउदको ग्याङमा संलग्न भए । नक्कली भारु पास गराउन सफल भएपछि उनलाई भारतको रेल स्टेशनमा बम विष्फोट गराउने जिम्मेवारी दिइएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
होदाले गत पुसमा भारतको केही रेल स्टेशनमा बम विष्फोट गराउने जिम्मेवारी पाएका थिए । तर, त्यो काम पूरा गर्न नसकेपछि उनले दुबईमा आफूलाई असुरक्षित महसुस गरेका थिए ।
बम विष्फोट गराउने कामका लागि होदाले नेपालमा अरुलाई नै खटाएका थिए । त्यसका लागि उनले नेपाली एजेन्टलाई नौ लाख रुपैयाँ समेत पठाएको देखिन्छ ।
ब्यूरोका डीआईजी भण्डारी भन्छन्, ‘होदाकै नामबाट गिरीबाबा भन्ने वृजकिशोर गिरीको नाममा तीन महिनाअघि चार लाख रुपैयाँ हिमाल रेमिटको वीरगञ्ज शाखामा पठाएको खुलिसकेको छ । त्यस बाहेक कति पठाइएको थियो, खोज्दै छौं ।’
तर, नेपालबाट जिम्मा लिने वृजकिशोरले विष्फोटको काम पूरा गर्न नसकेपछि दुबईमा होदा असुरक्षित भएका थिए ।
यसरी खुल्यो अण्डरवर्ल्डसँगको कनेक्सन
गत पुस १३ गते बाराको सहजनाथ सामुदायिक वनमा दुई भारतीय नागरिकको हत्या भएको थियो । घटना शंकास्पद देखिएपछि काठमाडौंबाट प्रहरीको विशेष ब्युरोको टोली बारा पुग्यो ।
![](https://www.onlinekhabar.com/wp-content/uploads/2017/01/Baba-Giri.jpg)
हत्या गरेको आरोप लागेका बाराकै बृजकिशोर गिरी (गिरीबाबा)लाई पक्राउ गर्न प्रहरीले गोली चलाएको थियो । खुट्टामा गोली हानेर पक्राउ गरिएको गिरीले नै सबै पोल खोले ।
गिरीले नै होदा मार्फत भारतमा बम विष्फोट गराउनका लागि ‘सुपारी’ लिएको खुलासा गरेको विशेष ब्यूरोका एक अधिकृतले बताए ।
गिरीसँगै अन्य दुई जना पनि पक्राउ परकेा थिए । गिरीको समूहले हत्या गरेको भनिएका दुई भारतीय रेल स्टेशनमा बम विष्फोट गराउने जिम्मेवारी दिइएका व्यक्तिहरु भएको ब्यूरोको दाबी छ ।
उता भारतमा पनि यही समूहसँग जोडिएका तीन जना भारतीय पक्राउ परे । नेपाल र भारतमा एउटै घटनासँग जोडिएको व्यक्तिहरु पक्राउ परेपछि घटना थप गम्भीर बन्दै गएको थियो । त्यसपछि होदा ब्युरोको निगरानीमा परे ।
उता यही समयमा दुबईमा असुरक्षित महसुस गरेका होदा परिवारको सम्पर्कमा आए । तर, दुबईबाट भागेर काठमाडौं ओर्लिएका उनी धेरै दिन प्रहरीबाट बच्न सकेनन् र, पक्राउ परे ।
भारतीय प्रहरीले भने गत वर्ष कानपुरमा १४० जनाको मृत्यु हुने भएको ‘दुर्घटना’मा होदाको संलग्नता रहेको र उनी पाकिस्तानी गप्तचर सस्था आईएसआई एजेन्ट भएको हुनसक्ने आशंका गरेको छ ।
प्रतिक्रिया 4