Comments Add Comment

पुरानो आर्थिक राजधानी विराटनगरः पहिले गुल्जार, अहिले गुमनाम

प्रदेश-१ को राजधानी घोषणासँगै पलायो आशा


५ माघ, विराटनगर । खासमा मुलुककै पुरानो शहर मानिन्छ, विराटनगर । वास्तविकता भने फरक छ । भौतिक पूर्वाधारका हिसाबबाट यो भरखरै स्थापना भएको शहरको अवस्थामा छ । तर, भरखरै प्रदेश-१ को राजधानी तोकिएको कुराले स्थानीय बासिन्दामा पुरानो परिचय ब्युँतिने आशा पलाएको छ ।

विसं २००३ सालको मजदूर आन्दोलनबाट राणा शासनविरुद्धको क्रान्तिको नेतृत्व गरेको थियो, विराटनगरले । तर, अहिलेको दुर्गति देख्दा लाग्दैन, यो कुनै समय गुल्जार थियो भन्ने ।

टाढा जानै पर्दैन, नजिकका इटहरी र धरानले नै विकासमा पछाडि पारिसकेका छन्, विराटनगरलाई । धेरैपछि बसोवास शुरु भएका भरतपुर र पोखराभन्दा पनि पछाडि छ यो ।

एक समय भन्ने गरिन्थ्यो- विराटनगरले आज जे सोच्छ, भोलि नेपालमा त्यही हुन्छ । त्यस हिसाबबाट मुलुकको ‘ब्रेन’ मानिएको विराटगरको रंग भने फुङ्ग उडेको छ ।

‘विराटनगरको राप ताप सेलाउँदै गएको छ,’ ८२  वर्षीय तोरेन्द्रमानसिंह प्रधान भन्छन्, ‘हिजो जुन धरातलमा थियो, आज पनि उस्तै छ । विराटनगरले सधैं अधोगति बेहोर्दै आएको छ ।

विराटनगरले मुलुकलाई ६ जना प्रधानमन्त्री दिइसकेको छ, बीपी कोइराला, मात्रिकाप्रसाद कोइराला, नगेन्द्रप्रसाद रिजाल, सूर्यबहादुर थापा, मनमोहन अधिकारी र गिरिजाप्रसाद कोइराला । उनीहरु सबैको राजनीति विराटनगरबाटै उठेको थियो ।

विराटनगरस्थित कोइराला निवासले मात्र तीन प्रधानमन्त्री दियो, मुलुकलाई । स्वर्गीय कृष्णप्रसाद कोइरालाका पुत्रहरु हुन्, मात्रिकाप्रसाद, बीपी र गिरिजाप्रसाद । उनीहरु जीवित छँदा नै जनजिब्रोमा झुण्डिएको थियो, आज विराटनगरले जे सोच्छ, भोलि नेपालमा त्यही हुन्छ ।

तर, आज ती दिन बाँकी छैनन् । विकासको गति धिमा हुँदा विराटनगरलाई हेर्ने दृष्टिकोण नकारात्मक बनेको छ ।

यस्तो छ स्वर्णीम इतिहास


शिखरनाथ भाष्यको यात्रा वर्णनअनुसार विसं १९७१ मा बडाहाकिम जीतबहादुर खत्रीले आधुनिक विराटनगरको जग बसाएका थिए ।

कर्णेल खत्रीले नै रंगेलीबाट यहाँ सारेका थिए, गोश्वारा, मालपोत, अमिन, वनजाँच, हुलाक, अडिटर, जेल र अस्पताल ।

विराटनगर नामाकरण भने विसं १९७६ मा शिकार खेल्न मोरङ आएका केशरशमशेर राणाले गरेको इतिहास छ । त्यसबेलासम्म विराटनगरलाई गोग्राहा भनिन्थ्यो । त्यसयताको ९९ वर्षमा विराटनगरले मुलुकको राजनीतिमा ठूला उतारचढाव ल्यायो । आफू भने सधैं उस्ताको उस्तै रह्यो ।

खत्रीपछिका कर्णेल शिवप्रताप शमशेर थापाले पनि विराटनगर निर्माणमा मनग्य योगदान दिए । स्वर्गीय कृष्णप्रसाद कोइरालाले भारतीय मारवाडीहरु बोलाएर व्यापारिक वातावरण तयार पारे ।

बस्ती विस्तारसँगै उनको सक्रियतामा विसं १९९६ मा नेपालकै दोस्रो शिक्षालयका रुपमा आदर्श विद्यालय स्थापना भयो । जानकारहरुका अनुसार विसं १९९५ सालसम्म विराटनगरस्थित आदर्श विद्यालय भवन मात्र पक्की थियो ।

राणाशासनविरुद्धको क्रान्तिको नेतृत्व विराटनगरले नै गरेको थियो, मुलुकको औद्योगिक विकासको जग पनि यहीँबाट बसेको हो

राजधानी काठमाडौंनजिक फर्पिङ जलविद्युत आयोजना निर्माण भयो । र, मोरङका वारंगी र सिंहदेवी गाविसबीचको चिसाङ खोलामा विद्युतगृह निर्माण भएर मुलुककै दोस्रो जलविद्युत आयोजना तयार भयो । मोरङ हाइड्रो इलेक्टि्रक कम्पनीको नामबाट चिनिने उक्त आयोजनाको विद्युतगृह ०२३ सालको बाढीले बगाइदियो ।

फेरि त्यहाँबाट विद्युत उत्पादन गर्न सकिने सम्भाव्यता अध्ययन पनि गरेको छैन, कसैले ।

र, २००९ सालमा त्रिभुवन स्मारक अस्पताल खुल्यो, विराटनगरमा । त्यसलगत्तै रत्न राज्यलक्ष्मी मातृ सेवा सदन सञ्चालनमा आयो । सरकारीस्तरको कोशी अञ्चल अस्पताललगायत निजी क्षेत्रका केही स्वास्थ्य संस्थाले भने यसको पहिचान कायम राखेका छन् ।

पहिलो औद्योगिक शहर


मुलुकको औद्योगिकरणको जग विराटनगरबाटै बसेको हो । लामो समय यसले मुलुकको आर्थिक राजधानीको उपमा पनि नपाएको होइन । अहिले वीरगञ्जले त्यो उपमा खोसिसकेको छ ।

विराटनगरले १९९० देखि ०२० सालसम्मका ३० वर्षमा राजनीतिक, शैक्षिक र औद्योगिक क्रान्ति गरेको ९३ वषर्ीय रमाप्रसाद रिजाल बताउँछन् । भन्छन्, ‘त्यसपछिका दिनमा विराटनगरको विकासको रापताप सेलाउँदै गएको हो ।’

मुलुककै पहिलो उद्योग हो, विराटनगर जुट मिल । असार १९९३ मा स्थापित उक्त जुट मिलमा २००४ सालमा शुरु भएको मजदूर आन्दोलनले २००७ सालको परिवर्तन ल्यायो ।

भारतको अलाहावाद एक्सप्रेस रेल सेवामार्फत् विसं २००० सालमा जोगवनी जोडिएको हो, जुन विराटनगरका लागि वरदान सावित भएको थियो ।

स्वर्गीय मात्रिकाप्रसाद कोइराला प्रधानमन्त्री भएपछि विराटनगर सारिएको जोगवनीको हिमालय टाँकिज अहिले पनि चालु अवस्थामा छ । कुनै समय जोगवनीस्थित उक्त हलमा मात्रिकाप्रसाद टिकट जाँचकी र उनका भाइ तारिणीप्रसाद गेटकिपर थिए ।

मलेरिया नियन्त्रण भएपछि ०१९ सालदेखि विराटनगरलाई बस्नयोग्य शहर मानियो । र, पूर्वी पहाडी भेगका मानिसको ओइरो नै लाग्यो ।

मात्रिकाप्रसाद, गिरिजाप्रसाद, मनमोहन अधिकारी आदि नेताहरु जुट मिलका मजदूर थिए, कुनै समयमा । भारत कोलकाताका सेठ राधाकृष्ण चमरियाले भारु १६ लाखमा उक्त जुट मिल खोलेका थिए ।

त्यसपछि नै हो, कटन मिल, मोरङ सुगर मिल, जुद्ध म्याच फ्याक्ट्री र रघुपति जुट मिल खुलेको पनि । तीमध्ये रघुपति जुट मिल मात्र अहिलेसम्म निरन्तर सञ्चालनमा छ ।

लामो समयको बन्दपछि हालै विराटनगर जुट मिल सञ्चालनमा आएको छ । नेपालको निकासी व्यापारको शुरुवात यही जुट मिलबाट भएको हो, जसबाट उत्पादित तयारी वस्तु तेस्रो मुलुकसम्म निर्यात हुन्थे ।

बीपी कोइराला प्रधानमन्त्री भएको समयमा विराटनगर आसपासका क्षेत्रमा उद्योगहरु धमाधम खुलेका थिए ।

विस्तारै व्यापारिक कारोबार काठमाडौं केन्द्रित हुँदै गयो । एक समयमा विराटनगरलाई नै कर्मथलो बनाएका गोल्छा, दुगडजस्ता व्यापारिक घराना पनि काठमाडौंतिरै केन्द्रित हुन थाले ।

अहिले ती घरानाको रोजाइ विराटनगरभन्दा वीरगञ्ज, हेटौंडा, सिमरा, भैरहवा, बुटवलतिर सरेको पाइन्छ ।

ठूला आयोजनामा ढिलाइ

भरखरै महानगर बनेको विराटनगरको आर्थिक सामथ्र्य विस्तारका लागि महत्वपूर्ण मानिएका ठूला आयोजनाको गति सुस्त छ । ती आयोजना समयमै सम्पन्न नहुँदा पनि महानगरले आत्मविश्वास गुमाउँदै गएको देखिन्छ ।

जस्तो- लामो समयदेखि चर्चाको विषय बनेको नयाँ बसपार्कको निर्माण धेरैपछि शुरु भएको छ ।

फिनल्यान्डको सहयोगमा शुरु भएको फोहोर व्यवस्थापन परियोजनामा विवाद उत्पन्न भएपछि ६० करोड रुपैयाँ फिर्ता भएको छ । ४२ किलोमिटरको चक्रपथ निर्माण पनि २० वर्ष पुग्न लाग्दासमेत अलपत्र छ ।

भारतीय सहयोगमा निर्माणाधीन संयुक्त भन्सार जाँचचौकी पारिपट्टि तयार हुँदा पनि वारिपट्टि कामको गति सुस्त छ । हालसम्म ३० प्रतिशत काम मात्र पूरा भएको छ ।

संयुक्त जाँचचौकी बनाएर विराटनगरसँग जोडिएको कटहरी गाउँपालिकासम्म मालवाहक रेल ल्याउने योजना अलपत्र छ । रेलमार्गमा माटो भर्नेबाहेक काम भएको छैन ।

एसियाली विकास बैंक, नेपाल सरकार र महानगरको संयुक्त प्रयासमा नगर क्षेत्रमा ढल निर्माणाधीन छ ।

ती आयोजनालाई समयमै सम्पन्न गर्न आफूहरु लागिपरेको महानगरका मेयर भीम पराजुलीको दाबी छ ।

भारत-नेपाल-चीन जोड्ने जोगवनी-किमाथांका सडक, अरुण तेस्रो जलविद्युत परियोजना, भूटान र बंगलादेशसम्म व्यापार विस्तार, पूर्वाञ्चल एकीकृत पर्यटन विकास, रेल्वे लाइन विस्तारजस्ता परियोजनाले मूर्तरुप पाउँदा विराटनगरको मुहार फेरिने स्थानीय बासिन्दाको आशा देखिन्छ ।

भारतको कोलकाताबाट वीरगञ्जभन्दा दुई सय २५ किमि नजिक पर्छ, विराटनगर । कोलकाता-वीरगञ्ज सात सय ७७ र विराटनगर-कोलकाता पाँच सय ५२ किमि दूरीमा पर्छन् । तर, त्यसबाट विराटनगरले फाइदा लिन सकेको छैन ।

स्थानीय उद्योगीहरु काठमाडौं-निजगढ फास्ट ट्रयाकको पर्खाइमा रहेको नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश-१ का उपाध्यक्ष राजेन्द्र राउत बताउँछन् । उक्त फास्ट ट्रयाकमार्फत् विराटनगरको स्थानीय उत्पादन अहिलेभन्दा कम ढुवानी खर्चमै काठमाडौं पुग्ने उनको भनाइ छ ।

जोगवनी-किमाथांका सडक निर्माण भए चीनको तिब्बत स्वायत्त क्षेत्रको राजधानी ल्हासा सिन्धुपाल्चोकको तातोपानी नाकाभन्दा नजिक पर्नेछ । स्थानीय उद्योगी-व्यवसायीहरु उक्त सडकप्रति धेरै आशावादी रहेको महासंघका केन्द्रीय सदस्य अविनाश बोहरा बताउँछन् ।

विराटनगर ०४६ सालमा उपमहानगरपालिका बनेको थियो । र, परिवर्तित व्यवस्थाअनुसार हालै महानगरमा स्तरोन्नती भएको हो । मोरङको कुल जनसंख्यामध्ये १९.७७ प्रतिशतको बसोबास यहीं छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment