Comments Add Comment

शिक्षा ऐनको विरोधमा तिलोत्तमाका शिक्षक आन्दोलित

१८ माघ, बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले प्रस्तुत गरेको शिक्षा ऐन र नियमावलीमा आपत्ति जनाउँदै नगरका शिक्षक संगठनले आन्दोलन थालेका छन् ।  शिक्षकहरुले बुधबारबाट हातमा कालोपट्टि बाँधेर अध्यापन गरेका हुन् ।

गत माघ १५ गते तिलोत्तमा नगरभित्रका सम्पूर्ण पेशागत शिक्षक संगठनहरुले नगरपालिकामा ज्ञापनपत्र पेश गरी निर्णय सच्चाउन माग गरे पनि नगरपालिकाको तर्फबाट कुनै सम्वोधन नभएपछि बाध्य भई आन्दोलनमा उत्रनु परेको शिक्षकहरुको भनाइ छ ।

आगामी माघ २५ गतेसम्म हातमा कालोपट्टि बाँधेर काम गर्ने र माग पुरा नभए माघ २६ गते स्रोतकेन्द्र शान्ति मावि मणिग्राममा पुनः बैठक बसी आन्दोलनका थप कार्यक्रमहरु सार्वजनिक गर्ने नेपाल शिक्षक संघ, रुपन्देहीका अध्यक्ष खेमराज पाण्डेले जानकारी दिए ।

नगरपालिकाको सो कदमको विरोधमा तिलोत्तमा नगरभित्रका सम्पूर्ण पेशागत शिक्षक संगठनहरुले समर्थन जनाएका छन् । नेपाल शिक्षक संघ, रुपन्देहीका अध्यक्ष कुलप्रसाद लामिछाने, नेपाल शिक्षक संघ तिलोत्तमाका अध्यक्ष खेमराज पाण्डे, नेपाल राष्ट्रिय शिक्षक संगठन रुपन्देहीका सचिव चण्डीप्रसाद पाण्डे, एकीकृत अखिल नेपाल शिक्षक संगठन तिलोत्तमाका अध्यक्ष नेत्रलाल पाण्डे, उपाध्यक्ष लक्ष्मी प्रसाद भुर्तेल, अखिल नेपाल शिक्षक संगठन तिलोत्तमाका इन्चार्ज रामप्रसाद न्यौपाने, नेपाल राष्ट्रिय शिक्षक परिषदका केन्द्रीय अध्यक्ष भीमलाल पाण्डेलगायतले हस्ताक्षर गरेको विज्ञप्तिमा संघर्षका कडा कार्यक्रम गर्ने चेतावनी दिइएको छ ।

शिक्षकहरुले माघ १४ गते नगरपालिकाले स्थानीय ऐन तथा नियमावलीहरु बनाउने क्रममा शिक्षा क्षेत्रमा दीर्घकालीन असर पार्ने गरी हतारमा पारित गरेको शिक्षा ऐन सच्याउनु पर्ने माग राखेका छन् ।

यता तिलोत्तमा नगर प्रमुख वासुदेव घिमिरेले भने ऐनको विरोध गर्नुको कुनै तुक नभएको भन्दै शिक्षकलार्इ राजनीति नगर्न आग्रह गरे । उनले शिक्षकले राजनीति गर्नु कत्तिको जायज हो भनि प्रतिप्रश्न गरे । निर्णय नसच्चिने भन्दै घिमिरेले केही शिक्षक संगठनले ऐनलाई लिएर राजनीति गर्न खोजिरहेको आरोप समेत लगाएका छन् ।

तिलोत्तमाको हिउँदे अधिवेशनले स्थानीय सरकारका ११ कानुन प्रस्तुत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment