+
+

मनोज निकट सुजु मल्ल सार्वजनिक, थप ७ जना अनुसन्धानको घेरामा

टोपराज शर्मा टोपराज शर्मा
२०७५ वैशाख ७ गते ११:४५

७ वैशाख, बुटवल । गुण्डा नाइके मनोज पुनलाई अपराध कर्ममा सघाएका थप ७ जनाको पहिचान प्रहरीले गरेको छ । उनीहरुमाथि अनुसन्धान जारी छ ।

बिहीबार काठमाडौंबाट पक्राउ परेका सुजु मल्ललाई शुक्रबार बिहान बुटवलमा सार्वजनिक गर्दै रुपन्देही प्रहरी प्रमुख श्याम ज्ञवालीले मनोजको अपराध कर्मलाई सहयोग गर्ने अझै सात जनाको खोजी भइरहेको बताए ।

इलाका प्रहरी कार्यालय बुटवलमा भएको पत्रकार सम्मेलनमा ज्ञवालीले पहिचान भइसकेका ती सात जना पनि छिट्टै पक्राउ पर्ने दावी गरे । ‘हामीले व्यक्ति पहिचान गरिसकेका छौं, धेरै नजिक पुगेका छौं, चाँडै सार्वजनिक गर्छौं,’ उनले भने ।

युवा संघको केन्द्रीय बैठकमा सहभागी हुन गएका बेला काठमाडौंबाट पक्राउ परेका मल्ल मनोज पुनसँग इन्काउन्टर हुने बेलासम्म निरन्तर सम्पर्कमा रहेको खुलेको ज्ञवालीले बताए । ‘निज मल्ल दुर्गा तिवारीको हत्या हुनुअघि नै मनोजसँग जोडिएको पनि खुलेको छ,’ प्रहरी उपरीक्षक ज्ञवालीले भने ।

कन्स्ट्रक्सन कम्पनीका ठेकेदारसमेत रहेका मल्ल मल्ल दुर्गा तिवारीको हत्या भएपछि बुटवलमा भएको एक साता लामो आन्दोलनको अग्रमोर्चामा देखिन्थे । दिउँसोमा आन्दोलनमा उत्रिएर चर्का भाषण गर्ने उनी आन्दोलन टुंग्याउनका लागि दल र प्रहरी प्रशासनसँग हुने बैठकहरुमा पनि सहभागी हुने र त्यहाँका सूचना मनोजलाई जानकारी गराउने गरेको प्रमाण फेला परेको प्रहरी प्रमुख ज्ञवालीले बताए । त्यसपछि पनि मनोजको अपराध कर्मलाई सघाउन उनको भूमिका रहेको पाइएको जिल्ला प्रहरी प्रमुख ज्ञवालीले बताए ।

यसअघि प्रहरीले पुनका विशेष सहयोगीहरु माओवादी केन्द्रका केन्द्रीय सदस्य, पूर्व विद्यार्थी नेता लेखनाथ न्यौपाने र युवा संघका जिल्ला नेता उत्तम आचार्य, देवदह-५ का तुलसी न्यौपाने, देवदह-६ का रोशन खड्का र बुटवल-४ बस्ने हरिप्रसाद श्रेष्ठलाई पक्राउ गरेको थियो ।

उनीहरूमाथि संगठित अपराध ऐनअन्तर्गत मुद्दा चलाएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । मनोज पुन र उनका विशेष सहयोगी सोम आले प्रहरीको इन्काउन्टरमा गएको फागुन ९ गते रूपन्देहीको देवदहमा मारिएका थिए ।

तिवारीको हत्यामा संलग्न श्यामबहादुर गोङबे, शालिकराम चापागाई, पारस भट्टराई लगायत १८ जना जेल चलान भइसकेका छन् । पुनको आपराधिक यात्रामा एक भारतीय नागरिक बिट्टु सिंहसहित केही व्यक्तिहरु अझै फरार रहेको र उनीहरुको खोजतलास भैरहेको प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुस् 

मनोज पुनको अपराध यात्राः वाईसीएल, युथफोर्सदेखि अन्डरवर्ल्डसम्म

गुण्डा नाइके मनोज पुनको भारतीय अन्डरवर्ल्डसँग ‘कनेक्सन’

मनोज पुनका सुराकी माओवादी र युथफोर्सका नेता !

लेखकको बारेमा
टोपराज शर्मा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?