Comments Add Comment

‘चित्र त बोल्छ, त्यसको आवाज सुनिदिनुस्’

१६ वर्षे चित्रकार भन्छिन् : चित्रले मान्छे चिन्ने मौका पाएँ

२६ वैशाख, काठमाडौं । ‘यो मलाई मन नपर्ने चित्र हो’ आफैले बनाएको एउटा चित्रलाई देखाएर चित्रकारले भनेको यो वाक्य सजिलो छैन । आफ्नै चित्र मन नपराउनु कलाकार ज्वाला ढकालको विशेषता नै होला । अनि आफैलाई मन नपरेको चित्रसमेत प्रदर्शनीमा राख्न सक्नु ठूलो हिम्मत ।

उनलाई त्यो चित्र नराम्रै भएर मन नपरेको भने होइन । मनपर्ने कुरामा आफूले गर्न सक्ने ठाउँ हुँदाहुँदै बीचैमा छाडेकाले त्यो चित्र मन परेन । ‘यसमा आउट लाइन गर्न मन थियो । तर, यत्तिकै छाडिदिएँ । भ्याइएन पनि’ ज्वालाले भनिन्, ‘यसमा देखाउन खोजेको कुरा त बुझिएको छ, तर ‘फाइन’ भएको छैन ।’

उनलाई आफैले बनाएको मध्ये धेरै मनपर्ने एउटा चित्र पनि छ । त्यसमा मानवीय जीवनका आरोह अवरोहलाई उतारेकी छिन् । कालो र सेतो रंगमा देखिएको त्यो चित्रमा जीवनको श्यामश्वेत पक्ष प्रष्ट हुन्छ ।

‘पहिले मलाई धेरैखाले रंग मनपर्थ्यो, अहिले धेरै रंगमा खेल्दिन । कालो र सेतो रंग नै धेरै मन पर्छ’ उनी भन्छिन् । धेरै रंगहरु त आउँछन् जान्छन् । आखिरमा देखिने भनेको श्यामश्वेत नै हो । सानो उमेरमै चित्रमार्फत दर्शन बुझाउन सक्षम ज्वालाको बुझाइ पनि उनको चित्र जस्तै सुन्दर लाग्छ ।

उनी प्रकृतिलाई चित्रमा जोड्छिन् । समाजमा चित्र देख्छिन् । चित्रमा समाज देख्छिन् । त्यसैको तालमेल रंगमा मिलाउँछिन् । बालबालिकाको दुःख, महिलाको अवस्थासँगै समग्र मानवीय संवेदनामा जीवनका रंगहरु भर्छिन् ।

नेपाल कला परिषद, बबरमहलमा प्रदर्शनीमा राखिएका १०५ चित्रमा कलाका पारखीले फरक फरक स्वाद पाउँछन् ।

हेर्नेहरु १६ वर्षकी ज्वालाको कामको प्रशंसा गर्छन् । हौसला र शुभकामना दिन्छन् । धेरैले फुरुक्क पारिदिन्छन् र फर्किन्छन् । केहीले उनको चित्र किनेर त्यसमै लागिरहन हिम्मत र प्रेरणा दिन्छन् । ज्वालाले फुक्र्याउनु र हौसला दिनुको फरक बुझेकी छिन् ।

समाजसेवाका लागि प्रदर्शनी

अहिले एसईई परीक्षा सकेर बसेको समयमा बनाएका धेरैजसो चित्र उनले प्रदर्शनीमा राखेकी छिन् । अरु समय चित्रमा लाग्न धेरै समय उनलाई मिलेन । यसैले फुर्सदको समयमा आफ्नो रुचीको काम गरिन् । उनले बिदाको २२ दिनमा ७० वटा चित्र बनाएको बताइन् ।

भुइँमा बसेर पेपरमा बनाउने हुँदा उनलाई लगातार चित्र बनाउन सजिलो भने थिएन । ‘क्यानभासमा गरेको भए उभिएर गरिन्थ्यो । पेपरमा गरेको हो । भुइँमा बसेर लगातार ४/५ घण्टा चित्र बनाउँदा गोडा सुन्निएको थियो । केही उद्देश्यका लागि काम गर्दै छु भन्ने लागेपछि भित्रबाटै शक्ति मिल्थ्यो’ उनी भन्छिन् ।

चित्रकला प्रदर्शनीबाट संकलन हुने सबै रकम बालुवाटारमा रहेको अनाथ बालबालिका राखिएको गृह प्रवास नेपाललाई सहयोग गर्ने उनको उद्देश्य रहेको छ ।

आमाबुवा नभएका ती बालबालिकालाई नयाँ युगबारे जानकारी गराउन सकियोस् र उनीहरुको पढाइमा सहयोग मिलोस भनेर ज्वालाले प्रवास नेपालका लागि कम्प्युटर किनेदिने योजना बनाएकी हुन् ।

वैशाख २२ गतेदेखि सुरु भएको प्रदर्शनीमा अहिलेसम्म ८० हजार रुपैयाँ जतिको चित्र बिक्री भएको छ । प्रदर्शनीमा पाँच हजारदेखि दुई लाख रुपैयाँसम्मका चित्र राखिएका छन् । यी सबै चित्र बनाउनका लागि तीन लाख ५० हजार खर्च भएको उनले बताइन् ।

आमालाई मन पर्दैनथ्यो चित्र बनाएको

ज्वालालाई चित्र मन पर्न थालेको कक्षा एकमा पढ्दादेखि नै हो । यसैले पेपरमा कोर्न थालिन् । त्यही कोरकारमा आकृति देखियो । चित्र बन्दै गयो । उनले चित्र बनाएको आमालाई भने मन पर्दैन थियो । कतिपय बेला आमाले ती चित्र बनेका कागजहरु च्यातिदिन्थिन् ।

‘मलाई सानैदेखि चित्र बनाउन मन पर्थ्यो । मैले सानोमा बनाएको चित्र आमाले च्यातिदिनु हुन्थ्यो …’ एउटा कार्यक्रममै ज्वालाले भनेको यो वाक्यले आमा होमकुमारी ढकालको मन छोयो । यसैले चित्रकला मन नपरे पनि छोरीको सपनामा साथ दिन थालिन् ।

अहिले प्रदर्शनीका लागि पनि होमकुमारीले निकै दौडधुप गरेकी छिन् । छोरीसँगै प्रदर्शनी स्थलमा आउनेहरुको स्वागतमा खटिएकी छिन् ।

‘सानो हुँदादेखि नै पुरस्कारहरु पाइन् । पढाइमा पनि राम्रो छिन् । कक्षा ७ मा पुगेपछि फेरि चित्र नबनाउ भनेको थिएँ । उसले पढाइमा मात्र ध्यान देओस् भन्ने लाग्थ्यो’ होमकुमारी भन्छिन्, ‘९ र १० कक्षामा त मैले चित्र बनाउन रोकें । तर, त्यही बेला प्रयास नेपालका बालबालिकालाई चित्रकला सिकाउने काम नै गरिन् ।’

उनले एकजना मान्छेले एकैपटक धेरै काम गर्न सक्छ भन्ने विश्वास छोरीको मेहनतले विस्तारै बुझ्दै गइन् । चित्रकला नगर्दा झनै छोरीको पढाइ नराम्रो भएको बुझिन् । मान्छेले खुशी हुने, राम्रो काम गर्न पायो भने अरु कुरामा पनि ध्यान पुर्‍याउन सक्छ भन्ने उनलाई एकीन भयो ।

‘छुट्टीको बेलामा पुस्तकालय लैजाँदा किताब पढ्थी तर त्यसमा भन्दा धेरै उसको ध्यान चित्रमा हुन्थ्यो । मलाई उसको चित्र त्यस्तो धेरै त अहिलेसम्म पनि मन पर्दैन । बच्चाले गरेको काममा हौसला त दिनै पर्‍यो’ होमकुमारी भन्छिन् ।

‘यसपटक अरुलाई मद्दत गर्ने कुरा भएर आमा पनि दयावान मान्छे मान्नुभयो । तर आमाले मेरो चित्र राम्रो मान्नुहुन्न’ ज्वालाले भनिन्, ‘बाबा कतारमा हुनुहुन्छ । उहाँ आउँदै जाँदै गर्नुहुन्छ । मेरो दिदी पनि चित्र बनाउनु हुन्छ । उहाँले बनाएको देखेर पनि मैले धेरै सिकेको हो ।’

पहिले रहर अहिले उद्देश्य

ज्वालाका लागि चित्रकला पहिले रहर मात्रै थियो । त्यही रहर अहिले उद्देश्य बनेको छ । एमबीबीएस डाक्टर बनेर मानिसको सेवा गर्ने प्रमुख उद्देश्य बनाएकी उनले चित्रकलाई पनि सँगसँगै लाने सोचेकी छिन् ।

‘पहिले त इच्छा मात्र थियो । विद्यालयमा सिकिने चित्रकला भनेको त किताबमा भएको चित्रमा रंग लगाउने मात्र हो । चित्र बनाउन सिक्ने कुरा अलि भिन्न नै छ’ उनी भन्छिन्, ‘अहिले बुझ्दै छु । समाजमा केही कुरा दिने राम्रो माध्यम पनि चित्रकला हो । अरु कुरा नबुझ्ने मान्छेले पनि चित्र बुझिरहेको हुन्छ ।’

कला व्यवसायकै रुपमा हुन सक्छ भन्ने उनलाई लाग्दैन । यसैले अर्को काममा लागेर यसलाई अघि बढाउने उनको सोच बनेको हो । ज्वालाले चित्रकला पढेर गरेको भने होइन । एकपटक १५ दिनको तालिम भने लिएकी थिइन् । त्यसले रंगको प्रयोग बारे केही कुरा सिक्न सजिलो भएको उनको बुझाइ छ ।

‘चित्रकलाको लागि जसरी पनि समय निकाल्छु’ उनको अठोट छ ।

उनी कहिलेकाहीँ केही विषय दिमागमा आएपछि चित्र बनाउन बस्छिन् । कहिले बनाउन बसेपछि कसरी बनाउने भनेर विषय सोच्छिन् ।

कहिले गल्तीले पनि नयाँ चित्र बनेको अनुभव उनीसँग छ । ‘बनाइसकेपछि पेपर खेर जान दिन मन लाग्दैन । बिगि्रयो भने त्यसबाट नयाँ कुरा बनाइदिन्छु । एउटा थोप्लो बाटै त हो नि फूल बन्ने हैन र ?’ ज्वालाले भन्छिन् ।

यति नै चित्र बनाएँ भन्ने उनलाई हेक्का छैन । ‘विद्यालयमा हुँदा पनि धेरै बनाउँथे । साथीहरुलाई दिन्थें । यति नै बनाएँ भन्ने त याद छैन । धेरै नै भयो होला’ उनले भनिन् ।

मान्छे चिन्ने मौका

आफ्नो चित्रकलाको माध्यमबाट मान्छेलाई समाज बुझाउने मौका पाएजस्तै उनले त्यही चित्रबाट मान्छे बुझ्ने मौका पनि पाएकी छिन् ।

‘यो प्रदर्शनीपछि साथ दिने मान्छे को रहेछ भन्ने थाहा पाएँ । आवश्यक पर्दा साथ दिने आफन्त थाहा पाएँ । मान्छेले मान्छे चिन्ने मौका कमै पाउँछन् । यो बेला मैले मान्छे चिन्न पाएँ’ उनी भन्छिन् ।

‘यही प्रदर्शनीकै लागि मन्त्रालयसम्म पुगें । पहिले मन्त्रालय गएको थिइनँ । मन्त्रालय गएर मन्त्री पनि चिन्न पाएँ । समय लिएर भेट्न जाँदा पनि ढोकामा घटौं पर्खिएको अनुभव लिन पाएँ । ढोकामा हुनेहरुले ‘यसले मन्त्रीलाई भेटेर के गर्छे र !’ जस्तो सोचेको बुझ्न पाएँ’ उनले भनिन् ।

केही काम गरेपछि समाजलाई धेरै बुझिने रहेछ भन्ने उनको अनुभव ठूलो छ । सानो उमेरमा धेरै कुराको अनुभव लिन पाएकाले पनि उनलाई अप्ठेरा कुरामा पनि खुशी नै मिलेको छ ।

मान्छेले भन्ने र गर्ने कुरामा हुने भिन्नता उनले थाहा पाएकी छिन् । उनले मन्त्रालयमा जाँदा भोगेको कुरा सुनाइन्,
‘त्यहाँ ढोकामा तपाईंको नागरिकता देखाउनुस् भन्दै माग्ने रहेछ । म १६ वर्ष बल्ल पुग्दै छु अब कसरी नागरिकता देखाउने भनेको उनीहरु मिल्दैन भन्छन् । विद्यालयको परिचय पत्रको पनि मिति सकिएको थियो । उनीहरुलाई मैले आफूलाई चिनाउने कुनै कुरा थिएन । भित्रबाट मलाई पठाइदिन फोन आएको थियो । त्यही पनि निकै अप्ठेरो भयो । रुनै लागेपछि बल्ल जान पाएँ ।’

यसैले बालबालिकाहरुलाई विश्वास नगर्ने कुरा उनलाई राम्रो लाग्दैन । ‘खै किन मानिसहरु मद्दत गर्न तयार नै हुँदैनन् । एक अर्काको मद्दतमा नै चल्छ नि समाज त हैन र ? मेरो भाञ्जी ! राम्रो भयो भनेर मन्त्रीले धाप मार्नुभयो तर त्यो भन्नका लागि मात्र भन्नुभएको रहेछ । मैले त्यो बुझेको छु । मैले त्यो बुझेको छु’ ज्वालाले मन्त्रीसँगको भेट सम्झिन् ।

कुनै कुरा वास्तविकतामा रहेरै निस्कने हो । चित्रकला पनि त्यो भन्दा बाहिर गएर हुँदैन । केही न केही समाजकै कुराले चित्रको ‘कन्सेप्ट’ बनाइदिन्छ । समाजमा भेटिने हरेक नयाँ कुरामा उनको चित्रकै विषय लुकेको हुन्छ । यसैले अगाडि आउने हरेक परिस्थितिलाई उनी हाँसेर स्वागत गर्छिन् ।

‘यो कामको उद्देश्य भनेको यहाँ आएका मान्छेलाई मनोरञ्जन दिनु र फोटो खिच्नु मात्र त होइन नि । चित्र त बोल्छ … त्यसको आवाज सुनिदिनुस् भन्न चाहन्छु । राम्रो कुरा भनेर फुर्क्याउने मात्र होइन त्यसमा भएका कमजोरी भनिदिनु भयो भने धेरै खुशी लाग्छ’ उनले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment