Comments Add Comment

सारांशमा आर्थिक सर्वेक्षण : सुखद र चुनौतीपूर्ण १० सूचक

१३ जेठ, काठमाडौं । चालु आर्थिक वर्ष २०७४/७५ आर्थिक परिसूचकका दृष्टिकोणमा सन्तोषजनक हुने देखिएको छ ।

सरकारले बजेट ल्याउनु पूर्व संसदमा पेश गरेको आर्थिक सर्वेक्षणका केही परिसूचकले अर्थ व्यवस्थाका सकारात्मक पक्षलाई उजागर गरेको छ । केही यस्ता चुनौतीपूर्ण सूचकहरु पनि देखिएका छन् जसले सरकारलाई नीतिगत सुधारसहित अघि बढ्न मार्गनिर्देश गर्नेछ ।

आर्थिक सर्वेक्षणमा भनिएको छ, ‘संविधान जारी भएपश्चात निर्वाचनपछि राजनीतिक स्थिरता आएको र त्यसको परिणामस्वरुप लगानीको वातावरण अनुकल हुँदै गएकाले अर्थतन्त्रमा सकारात्मक प्रभाव देखिन थालेको छ ।’

विगत एक दशकदेखि आर्थिक वृद्धि औसत ४.३ प्रतिशत रहेकोमा आर्थिक वर्ष २०७४/७५ मा ५.९ प्रतिशत पुग्ने प्रारम्भिक अनुमान छ । तर, यो गत वर्षको भन्दा कम हुनेछ । गत वर्ष ७ प्रतिशतको आर्थिक वृद्धि हात लागेको थियो ।

यो वर्ष आर्थिक वृद्धिदर घटे पनि समग्रमा आर्थिक सूचकहरु भने धेरै नकारात्मक छैनन् । केही आर्थिक सूचकांकले भने देशको अर्थतन्त्रमा रहेका गम्भीर समस्याहरु झल्काएका छन् ।

ऋणात्मक बनेको शोधनान्तर बचत, बढ्दो ब्यापार घाटा, बजेट घाटा, रेमिट्यान्सको वृद्धिदरमा आएको कमी लगायतका सूचकांकले देशको अर्थ व्यवस्थामा प्रष्ट चुनौती देखाउँछ । तर, केही सूचकहरुले आशावादी हुने ठाउँ पनि दिएका छन् ।

कुल गार्हस्थ उत्पादन

कुल गार्हस्थ उत्पादन यो आर्थिक वर्षमा ५.९ प्रतिशतले बढ्ने अनुमान छ । गत आर्थिक वर्षमा जीडीपीको वृद्धिदर ७.४ प्रतिशत थियो । अहिले जीडीपी ३० खर्ब ७ अर्ब बराबरको छ ।

जीडीपीमा कृषिको योगदान भने खुम्चिँदै गएको देखिन्छ । सरकारले कृषि क्षेत्रलाई माथि उठाउन भन्दै विभिन्न कार्यक्रम सञ्चालन गरिरहँदा कृषि क्षेत्रको योगदान २७.६ प्रतिशतमा खुम्चिएको छ । गत वर्ष यस्तो योगदान २९.३७ प्रतिशत थियो ।

गैरकृषि क्षेत्रको योगदान भने बढ्दै गएको देखिन्छ । यो वर्ष आर्थिक सर्वेक्षण प्रतिवेदनअनुसार कुल गार्हस्थ उत्पादनमा गैरकृषि क्षेत्रको योगदान ७२.४ प्रतिशत छ ।

गत वर्ष यसको योगदान ७०.६३ प्रतिशत मात्रै थियो । यसरी पछिल्ला वर्षमा गैरकृषि क्षेत्रले जीडीपीमा आफ्नो हिस्सा बढाउँदै लगेको छ । निर्माण क्षेत्रको ७, उद्योगको ५ र थोक तथा खुद्रा ब्यापारको १३, रियलस्टेट क्षेत्रको ११ प्रतिशत, यातायात तथा सञ्चारको ७ प्रतिशत योगदान रहेको देखिन्छ ।

राजस्व असुली

आर्थिक सर्वेक्षणअनुसार चालू आर्थिक वर्षमा राजस्व असुलीमा सुधार देखिएको छ । यस वर्षको साउनदेखि फागुनसम्मको आठ महिनामा राजश्व वृद्धिदर २१ दशमलव ७ प्रतिशत पुगेको छ ।

फागुनसम्ममा सरकारले ४ खर्ब ३० अर्ब ५८ करोड रुपैयाँ राजस्व असुली गरेको छ । चालू आवमा सरकारले ७ खर्ब ३० अर्ब रुपैयाँ राजस्व संकलनको लक्ष्य लिएको छ ।

गत आवको सोही अवधिमा कुल राजस्व संकलन तीन खर्ब ५३ अर्ब रुपैयाँमात्र थियो ।

अर्थ मन्त्रालयका अनुसार पछिल्लो दशकमा राजस्वको वाषिर्क औसत वृद्धिदर २१ प्रतिशत छ । चालू आवमा सरकारले औसत वृद्धिदरभन्दा बढी राजश्व संकलन गर्न सफल भएको छ । राजस्व संरचनामा मूल्य अभिवृद्धि कर (भ्याट) को अंश सबैभन्दा बढी छ भने त्यसपछि आयकर र भन्सार महसुल छ ।

वैदेशिक व्यापार

वैदेशिक व्यापार लगातार ओरालो लागेको छ । पछिल्ला वर्षहरूमा व्यापार घाटा अत्यधिक बढ्न थालेको छ ।

आर्थिक सर्वेक्षणका अनुसार चालू आर्थिक वर्षको पहिलो आठ महिनामा नै नेपालले सात खर्ब १३ अर्ब बराबरको वैदेशिक व्यापार घाटा व्यहोरेको छ । चालू आवको फागुनसम्ममा नेपालले ५३ अर्ब ४२ करोड रुपैयाँ मूल्य बराबरका वस्तु निर्यात गरेको छ भने आयात ७ खर्ब ६७ अर्ब रुपैयाँ मूल्य बराबरको छ । चालू आवमा नेपालको आयात गत आवको तुलनामा २२ दशमलव १ प्रतिशतले बढेको छ भने निर्यात वृद्धिदर १० दशमलव ८ प्रतिशतमा सीमित छ ।

चालू आवमा नेपालको वैदेशिक व्यापार गत वर्षको तुलनामा २१ दशमलव ३ प्रतिशतले बढेको छ ।

जुन आठ खर्ब २० अर्ब रुपैयाँ मूल्य बराबर हो । आपूर्ति व्यवस्थामा आएको सहजता, अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि सरकारी खर्चमा भएको वृद्धि लगायतका कारण व्यापार घाटा बढेको निश्कर्ष अर्थ मन्त्रालयको छ ।

शोधनान्तर घाटा

यो वर्ष सरकारी ढुकुटीमा रकमको अभाव छ । सरकारी ढुकुटी ऋणात्मक भएपछि यसले अर्थतन्त्रमा विभिन्न किसिमका समस्या पनि सिर्जना गर्ने जोखिम बढेको छ । शोधनान्तर घाटा बढेर फागुन महिनामा २४ अर्ब ७३ करोडमा पुगेको छ ।

आर्थिक वर्ष २०६६/०६७ पछि शोधानान्तर घाटा भएको थिएन । यस्तो घाटा ८ महिनामा २५ अर्ब पुगेको छ । गत आर्थिक वर्ष शोधनान्तर बचत ५० अर्ब ६ करोड थियो । यसपटकको शोधनान्तर घाटा अहिलेसम्मकै उच्च पनि हो । शोधनान्तर मुलुक भित्रिने र बाहिरिने रकमबीचको अन्तर पनि हो ।

मुलुक भित्रनेभन्दा बाहिरिने रकम बढी भएपछि यो सोधनान्तर घाटा देखिन्छ । यसले विदेशी विनिमय सञ्चितीमा समेत असर गरिरहेको छ । यो वर्ष रेमिट्यान्सको वृद्धिदर घटेकाले शोधनान्तर बचतमा चाप परेको हो । लगातार शोधनान्तर घाटा बढेमा त्यसले अर्थतन्त्रमा जोखिम ल्याउन सक्छ ।

मूल्यवृद्धि

उपभोक्ता मूल्यमा भएको वृद्धि यो वर्ष सामान्य दरमा रह्यो । अर्थमन्त्री डा. युवराज खतिवडाले यो वर्ष वार्षिक विन्दुगत मूल्यवृद्धिदर ६ प्रतिशतमा कायम रहने बताएका छन् ।

नियमित विद्युत आपूर्तिका कारण आन्तरिक उत्पादन क्षमतामा आएको वृद्धि, आपूर्ति व्यवस्थामा भएको सुधारका कारण चालु आर्थिक वर्षमा मुद्रास्फिति प्रक्षेपित सीमाभन्दा कम विन्दुमै रहने देखियो । तर, अर्थमन्त्री खतिवडाले मूल्यवृद्धिमा चाप पर्न थालेको बताउँदै अब मूल्य वृद्धिदर केही बढ्ने संकेत पनि गरेका छन् ।

चालु आर्थिक वर्षको ९ महिनामा मुद्रास्फिति यसअघि प्रक्षेपण गरेको भन्दा कम थियो । चालु आर्थिक वर्ष २०७४/०७५ को मौऽकि नीतिमा वाषिर्क उपभोक्ता मुद्रास्फिति ७.० कायम राख्ने लक्ष्य लिएकोमा चालु आर्थिक वर्षको ९ महिनामा यस्तो मुद्रास्फिति ४.१ प्रतिशत सीमित छ । आर्थिक वर्षको अन्तिम ३ महिनामा यो दर ६ प्रतिशतसम्म पुग्ने अनुमान सरकारको छ ।

बजेट अवस्था

चालू आवको फागुनसम्मको अवधिलाई हेर्दा चालू आर्थिक वर्षमा बजेट घाटा मुलुकको कुल गार्हस्थ्य उत्पादनको अनुपातमा १० दशमलव ४ प्रतिशत पुग्ने अनुमान छ । गत आवमा यस्तो अनुपात ७ दशमलव २ प्रतिशत थियो ।

चालू आवमा वित्तीय व्यवस्थासहितको कुल सरकारी खर्चलाई आधार मान्दा बजेट घाटा ६४ दशमलव आठ प्रतिशतले वृद्धि हुने अनुमान अर्थ मन्त्रालयको छ । गत आवमा यस्तो घाटा १७२ दशमलव ६ प्रतिशतले वृद्धि भएको थियो ।

चालू आवमा कुल सरकारी आय १९ प्रतिशतले र कुल सरकारी खर्च २९ दशमलव ४ प्रतिशतले वृद्धि हुने अनुमान सरकारको छ ।

बैंकिङ क्षेत्र

बैंकिङ क्षेत्रमा यो वर्ष लगानी योग्य पुँजीको अभाव देखियो । तरलता अभावका कारण बैंकहरुले चालु आर्थिक वर्षमा अपेक्षित कर्जा विस्तार गर्न सकेको देखिएन । चालु आर्थिक वर्षमा निजी क्षेत्र तर्फको कर्जा १५.६ प्रतिशतले वृद्धि भएको छ । जुन अघिल्लो वर्षको सोही अवधिमा १६.२ प्रतिशतले बढेको थियो । यसरी हेर्दा गत आर्थिक वर्षको तुलनामा कर्जा प्रवाह न्युन भएको देखिन्छ ।

बैंक तथा वित्तीय संस्थामा निक्षेपको वृद्धि पनि गत वर्षको तुलनामा कम देखिन्छ । चालु आर्थिक वर्षको ८ महिनामा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ८.१ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप ९.१ प्रतिशतले बढेको थियो ।

चालु आर्थिक वर्षमा बैंकहरुको निष्क्रिय कर्जाको अनुपात भने गत वर्षको तुलनामा घटेको देखिन्छ । गत वर्षको आर्थिक सर्वेक्षण अनुसार निष्क्रिय कर्जाको अनुपात फागुनमा २.१३ प्रतिशत थियो । चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा निष्क्रिय कर्जाको अनुपात २ प्रतिशतमा सिमित रहेको अर्थ मन्त्रालयले जनाएको छ ।

वाणिज्य बैंकहरुको तेस्रो त्रैमासको वित्तीय विवरण पनि सार्वजनिक भइसकेको छ । जसमा औसत निष्त्रिmय कर्जा १.५२ प्रतिशत छ । जुन अघिल्लो आर्थिक वर्षको चैतमा १.६२ प्रतिशत रहेको थियो ।

विप्रेषण आप्रवाह

यो वर्ष विप्रेषण (रेमिट्यान्स) आप्रवाहको वृद्धिदरमा कमी आएको छ । तर, विप्रेषण आउने क्रम भने घटेको छैन ।

चालु आर्थिक वर्षको पहिलो ८ महिनामा विप्रेषण आप्रवाह ४.९ प्रतिशतले बढेर ४ खबै ७१ अर्ब पुगेको थियो । यही तथ्यांकलाई आर्थिक सर्वेक्षणले समेटेको छ ।

तर, नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार चालु आर्थिक वर्षको पहिलो ९ महिनामा रेमिट्यान्समा ५.६ प्रतिशतले वृद्धि भएको छ । चैतसम्म ५ खर्ब ४० अर्ब ३८ करोड रुपैयाँ रेमिट्यान्स आएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ६.३ प्रतिशतले बढेको थियो । यो वर्ष वृद्धिदर प्रभावित भएको छ ।

खुद ट्रान्सफर आय भने ६ खर्ब २१ अर्ब ६६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ९.९ प्रतिशतले बढेको थियो ।

प्रतिव्यक्ति आय

यो वर्ष प्रतिव्यक्ति आयमा उल्लेख्य सुधार भएको छ । नेपालीको प्रतिव्यक्ति आय एकै वर्ष १३८ डलरले बढेर पहिलोपटक १ हजार डलर अर्थात एक लाख नाघेको छ । आर्थिक सर्वेक्षणमा प्रतिव्यक्ति आय यो वर्ष १ हजार ४ डलर पुग्ने अनुमान गरिएको छ ।

डलरको मूल्यअनुसार यो आय १ लाख ५ हजार रुपैयाँभन्दा बढी हुन आउँछ । पहिलो पटक नेपालीको ‘पर क्यापिटा इन्कम’ डलरमा चार अंक पुगेर १ लाख रुपैयाँ माथि पुगेको हो ।

अघिल्लो वर्ष १ सय ५ डलरले बढेर प्रतिव्यक्ति आय ८६२ डलर भएको थियो ।

कृषिजन्य उत्पादन

यो वर्ष समग्र कृषिजन्य उत्पादन २.४ प्रतिशतले वृद्धि भएको छ । उत्पादकत्वमा भने ५.१ प्रतिशतले वृद्धि हुने अनुमान छ ।

यो वर्ष मुख्य खाद्यन्न बालीको उत्पादन १ करोड ९ लाख मेट्रिक टन हुने अनुमान गरिएको छ ।

यो वर्ष धानको उत्पादन १.५ प्रतिशले घटेर ५१ लाख ५२ हजार मेट्रिक टनमा सीमित भएको छ । तर, यो वर्ष फापरको उत्पादन ४.५ र जौको ११ प्रतिशतले घट्यो ।

तर, मकैको ९.४, गहुँको ५ र कोदोको २ प्रतिशतले उत्पादन बढेको तथ्यांक छ ।

यो वर्ष दलहको उत्पादन ४.४ प्रतिशतले बढेर ३ लाख ६९ हजार मेटि्रकटन पुगेको आर्थिक सर्वेक्षणमा उल्लेख छ । तेलहन बालीको उत्पादन १६ प्रतिशतले बढेर २ लाख ४६ हजार मेटि्रकटन उत्पादन भएको छ । उखु र जुटको पनि उत्पादन बढेको छ ।

तर, चिया र कफीको उत्पादन घटेको छ । तर, समग्रमा कृषि उत्पादनमा वृद्धि भएकाले कृषि क्षेत्रमा सन्तोषजनक अवस्था देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment