+
+
निशान हत्या अपडेट :

प्रहरी टोली कसरी पुग्यो अपहरणकारीको डेरामा ?

गौरव पोखरेल गौरव पोखरेल
२०७५ साउन २४ गते १९:३६
इन्काउन्टर स्थल

२४ साउन, काठमाडौं । गोरखा फुजेलकी गंगामाया अधिकारीका छोरा नुरप्रसादलाई प्रहरीले आइतबार सानेपाबाट नियन्त्रणमा लिएको थियो । कानुनी प्रक्रिया पूरा गरेपछि साँझ वीर हस्पिटलमा नुरप्रसादलाई आमाको जिम्मा लगाउने तयारी हुँदै थियो ।

कान्छा छोरा कृष्णप्रसादका हत्यारालाई कारबाहीको माग गरिरहेकी गंगामायाको अनसन तोड्ने क्रममा जेठा छोरा नुरप्रसादको खोजी गरिदिनु भन्ने गंगामायाको आग्रहअनुरुप प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो । र, सोहीअनुरुप महानगरीय प्रहरी आयुक्तको कार्यालयका प्रमुख डीआईजी मनोज नेउपाने, काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी विश्वराज पोखरेल र महानगरीय अपराध अनुसन्धान महाशाखा प्रमुख एसएसपी धिरजप्रताप सिंह लगायतका प्रहरी अधिकारीहरु वीर हस्पिटलमा भेला भएका थिए । त्यहाँ झमक्क रात परिसकेको थियो ।

राति करिव सवा ९ बजेसम्म प्रहरी अधिकारीहरु अस्पतालमै थिए । त्यसैबेला प्रहरी कन्ट्रोल १०० नम्बरमा सूचना आयो, ‘काँडाघारीबाट ११ वर्षीय बालक निशान खड्का अपहरित भए ।’

लगत्तै, डीआईजी नेउपानेले अनुसन्धानमा खटिन दुबै एसएसपी (परिसर र अपराध महाशाखा) लाई निर्देशन दिए । एसएसपीद्वय सिंह र पोखरेल दुबैले घटनाको अनुसन्धान थाले ।

सूचना आएको १० मिनेटमै पेप्सीकोलाको सीआरभी टोली अपहरित बालक निशानकी आमा चमेलीको घरमा पुग्यो । केहीबेरमा काठमाडौंका एसएसपी पोखरेल र महानगरीय प्रहरी वृत्त, बानेश्वरका प्रमुख डीएसपी गोविन्दराज काफ्ले घटनास्थलमा पुगे । महाशाखाले डीएसपीको नेतृत्वमा सादा पोशाकको विभिन्न टोली बनाएर खटाएको थियो ।

चमेलीले घटनाबारे प्रहरीलाई बेलीविस्तार लगाइन् । अपहरणकारीले दुईपटक फोन गरेको बताएकी थिइन् ।

‘तेरो छोरा अपहरणमा परेको छ, ४० लाख लिएर आउनू । पुलिसलाई खबर गरिस् भने…’ भन्दै निशानकी आमा चमेलीलाई फोन आएको थियो ।

उनले प्रहरीलाई सुनाइन्, ‘पहिलोपटक फोन आउँदा बुझिएको थिएन । दोस्रो पटकमा मात्रै कुरा बुझियो ।’

घटनास्थलमा आमा भावविह्ल स्थितिमा थिइन् । उनी एकदमै हतास देखिन्थिन् ।

त्यहाँको वस्तुस्थिति र प्रारम्भिक सोधपुछले घटना गम्भीर भएको संकेत देखिएपछि प्रहरीको थप टोली परिचालित भयो । दंगाबाट समेत प्रहरीको सहयोग मागियो ।

यसरी सुरु भयो अनुसन्धान

निशानकी आमा चमेलीलाई धम्कीपूर्ण कल आएको नम्बर थियो- ९८४३६२०६७० । प्रहरीले आपतकालीन भन्दै टेलिकमबाट यो नम्बर ट्रेस गर्न लगायो ।

स्रोतका अनुसार त्यतिञ्जेल प्रहरीले टोली शंकास्पद व्यक्तिहरुको नामको सूची तयार पारिरहेको थियो । चमेलीलाई नियमितरुपमा पसलमा आउने र शंका लागेका व्यक्तिहरुको नाम सोधियो ।

उनले ४/५ जनाको नाम दिइन् । तर, त्यसबेलासम्म गोपाल तामाङ र अजय तामाङको नाम लिएकी थिइनन्, जो प्रहरी इन्काउन्टरमा मारिए ।

प्रहरीले सोधीखोजी सुरु गर्‍यो । त्यसबेला अपराध महाशाखाका टोलीसमेत घटनास्थलमै थिए ।

त्यतिवेलासम्म काठमाडौं प्रहरी परिसर र अपराध महाशाखाका प्रहरीबीच सूचना आदान-प्रदान भइरहेको अधिकारीहरु बताउँछन् ।

स्रोतका अनुसार महाशाखा प्रमुख सिंहले घटनास्थलमा खटिएका प्रहरी टोलीसँग पनि आवश्यक सूचना लिइरहेका थिए । महाशाखाका डीएसपी रुगम कुँवर लगायतले पनि काठमाडौं प्रहरी मातहतका अधिकारीसँग समन्वय गरिरहेका थिए ।

निशानकी आमा चमेली खड्का

अपहरणकारीले बालककी आमालाई ४० लाख माग गर्ने वित्तिकै मोबाइल स्वीच्ड अफ गरेका थिए । जसले गर्दा उनले बार्गेनिङ गर्ने समय समेत पाइनन् ।

नेपाल टेलिकमद्वारा उपलब्ध कल डिटेल रेकर्डअनुसार अपहरणकारीको नम्बर ८ः५७ मा बन्द भएको छ ।

काठमाडौंका एसएसपी पोखरेलले राति ९ः४६ मिनेट २० सेकेन्डमा चेतावनीसहित सन्देश अपहरणकारीलाई पठाएको कल रेकर्डमा देखियो ।

‘अनप्रोफेसनल’ अपहरणकारी हुँदा त्यो म्यासेज पढेपछि बालकलाई छोड्न सक्ने र अपहरणको घटनामा पहिलो उद्देश्य बालकलाई बचाउनु हुने भएकाले अनुसन्धानका सबै ढोका खोल्ने प्रयास स्वरुप म्यासेज पठाइएको पोखरेल बताउँछन् ।

तर, त्यसअघि अपहरणकारीले मोबाइल स्वीच्ड अफ गरेकाले त्यो म्यासेजको कुनै प्रभाव परेन । किनभने, अपरहणकारीले त्यो म्यासेज नै पढेनन् भन्ने तथ्य कल डिटेलले स्पष्ट भयो ।

किनभने, नेपाल टेलिकमको सीडीआर (कल डिटेल रेकर्ड) अनुसार त्यो म्यासेज सोमबार प्रहरीले सीमकार्ड बरामद गरेपछि मोबाइलमा हालेर हेर्दा मात्रै डेलिभर भएको थियो । त्यो म्यासेज सोमबार ९ बजेर ८ मिनेट ४४ सेकेन्डमा डेलिभर भएको देखिएको छ ।

राति १०ः३५ बजेसम्म बालककी आमालाई धम्क्याउँदै फोन आएको लोकेशन ट्रेस भएको थियो ।

‘त्यसवेला ठिमी एरियमा लोकेशन देखिएको थियो’, अनुसन्धानमा खटिएका एक कनिष्ठ प्रहरी अधिकारीले अनलाइनखबरसँग भने, ‘लगत्तै, बानेश्वर वृत्त, काँडाघारी प्रभागलगायतको टोली महानगरीय प्रहरी वृत्त, ठिमी पुगेका थिए ।’

ठिमीमा लोकेशन देखिएपछि अपराध महाशाखाको टोली पनि त्यसतर्फ खटिएको थियो । त्यो सूचना पाएपछि महानगरी प्रहरी परिसर, भक्तपुरका एसपी हिमालय श्रेष्ठले अपहरणकारी भाग्न सक्ने सम्भावित स्थानहरुमा नाकाबन्दी लगाए ।

राति ११ः ५५ बजे परिसरको टोलीले आमा लगायत आफन्तहरुलाई अपराध महाशाखाको जिम्मा लगायो । स्रोतका अनुसार प्रहरीको टोलीले भक्तपुरमा राति नै स्वीप अपरेशन चलाउन खोजेको थियो तर, घनावस्ती र मध्यरात भएकाले टोली पछि हट्यो ।

बरु, सबै स्थानमा निगरानीका लागि व्यापक प्रहरी परिचालन भएको थियो ।

अनि, प्रहरीको समन्वय टुट्यो…

राति परिसरले पीडितका आफन्तलाई महाशाखाको जिम्मा त लगायो तर, त्यसपछि परिसर र महाशाखाबीच समन्वय अभाव भएको महाशाखाका एक अधिकारी बताउँछन् ।

‘त्यसपछि न परिसरबाट महाशाखाले केही सूचना लियो । न त महाशाखाले परिसरबाट’, ती अधिकारी भन्छन्, ‘बिहान काठमाडौंका एसएसपी सा’बले पीडित महिलासँग सोधपुछ गर्नु छ भनेपछि मात्र आमालाई परिसर लगिएको थियो ।’

समन्वय नभए पनि अनुसन्धान लगभग समानान्तर रुपमा गएको र बिहान दुबै टोलीले लगभग एकै समय बालक अपहरणकारीबारे सूचना पाएको स्रोतको दाबी छ ।

बिहान ७ः२० बजे काठमाडौं प्रहरी प्रमुख पोखरेल, भक्तपुर प्रहरी प्रमुख श्रेष्ठलगायतका प्रहरी अधिकृतहरु प्रहरी वृत्त ठिमी पुगे । र, चमेलीसँग सोधपुछ गरेका गिए ।

यसरी भेटियो गोपाल तामाङको कोठा

प्रहरीले साँझ नै अपहरणकारीको मोबाइल ट्रेस गरेर आईएमईआई नम्बर पत्ता लगाएको थियो । स्रोतका अनुसार आईएमईआई नम्बर फेला परेपछि नै नम्बर ट्रेस गरिएको थियो ।

अपहरणपछि हत्या गरिएका बालक निशान ।

बिहान महाशाखा र परिसर दुबै प्रहरीको टोलीलाई टेलिकम स्रोतबाट सूचना आयो, ‘अपहरणकारीले मोबाइलमा अर्को सीम प्रयोग गरे ।’

महाशाखाका एक अधिकारीका अनुसार अपहरणकारीले बालककी आमालाई धम्क्याउन नयाँ सीमकार्डको प्रयोग गरेका थिए, जुन दोस्रो कललगत्तै अपहरणकारीले झिकेर फ्यालेका थिए ।

सोमबार बिहान अपहरणकारीले मोबाइलमा हालेको अर्को सीमको नम्बर थियो, ९८६१५५५१९९ । जुन गोपाल तामाङको नाममा दर्ता गरिएको भेटिएको थियो ।

लगत्तै, प्रहरी टोलीले आमालाई गोपालबारे सोधे, तबमात्रै उनले गोपालबारे बताउन थालिन् । त्यतिबेलासम्म उनले गोपालमाथि शंका लागेको प्रहरीलाई बताएकी थिइनन् ।

आमा चमेलीले प्रहरीलाई भनिन्, ‘दिउँसो बाबुलाई मोबाइल किनिदिन भनेर पनि उसैले बजार लगेको थियो । ५ वर्षदेखि मेरो पसलमा खाना खाँदै आएको छ ।’

उनले अगाडि भनेकी थिइन्, ‘त्यसले त के त्यस्तो गर्‍यो होला र !’ आमाले उनीप्रति शंकै गर्न सकेकी थिइनन् । किनकि, गोपालप्रति उनको विश्वास थियो ।

प्रहरीले भने गोपाल नै अपहरणकारी समूहसम्म पुग्ने मुख्य माध्यम भएको भन्दै खोजी थाल्यो । चमेलीले उसको घर ठिमीतिर बताइन् तर, ठ्याक्कै लोकेशन बताउन सकिनन् ।

त्यसपछि गोपालले काम गर्ने पेप्सिकोलास्थित एक घरको ठेकेदारसँग प्रहरीले भेट्यो । आफूले नदेखेको तर, आफूसँगै बस्ने टेकबहादुर तामाङले घर देखेको हुन सक्ने बताए ।

लगत्तै, प्रहरीले टेकबहादुरलाई फोन गर्‍यो । उनले आफू अलि टाढा रहेको बताए । त्यसबेला प्रहरी टोली ठिमीमा थियो ।

टेकबहादुर गोठाटार फुटबल ग्राउण्ड नजिककै थिए । ‘त्यहाँबाट टेकबहादुर साइकल चढेर काठमाडौं र भक्तपुर परिसरका प्रहरी भएसमक्ष आइपुगे’, स्रोतले भन्यो, ‘उनैले गोपालको डेरा देखाएका हुन् ।’

अगाडि पुग्यो महाशाखाको टोली

काठमाडौं प्रहरी परिसरको टोली गोपालको डेरामा पुग्नुअगावै आईएमईआई नम्बरकै माध्यमबाट मोबाइल ट्रेस गरेर अपराध महाशाखाको टोली ठिमी-९, बुद्धिवियाङ, नगदेशस्थित श्याम लबटको घरमा पुगिसकेको थियो । जहाँ गोपाल भाडामा बस्दै आएका थिए ।

गोपालको कोठा छेउमा बस्दै आएका प्रशन्न रिमालका अनुसार सादा पोशाकको प्रहरी टोलीले बिहानै आएर गोपालको कोठामा खोजतलास र गोपालसँगै रहेका अजयसँग समेत सोधपुछ गरेको थियो ।

‘बिहान धेरै कुटपिट भएपछि मान्छेहरु पनि भेला भएका थिए । एकजना आन्टीले सादा पोशाकको प्रहरीले धेरै कुटेपछि प्रहरीमा समेत खबर गर्नुभएको थियो’, रिमालले अनलाइनखबरसँग भने, ‘त्यसपछि उनीहरुले पट्टी बाँधेर गाडीमा राखेर दुबैलाई लगे ।’

निशानको शव भेटिएको स्थान

त्यसबेलै सादा पोशाकका एक प्रहरी अधिकारीले ५ सय मिटरको दूरीमा रहेको लबटको निर्माणाधीन घरको जगमा उत्खनन् गर्न थाले, जहाँ बालक निशान खड्काको शव भेटियो ।

सादा पोशाकको टोलीले दुवैलाई लगिसकेपछि काठमाडौं परिसरको टोली तामाङको खाली कोठामा पुग्यो ।

कोठामा ताल्चा लगाइएको थियो । परिसरका प्रहरीले ढोका फोर्न खोजे, तर प्रहरीकै अर्को टोलीले शील गरेको घरबेटीबाट सुनेपछि उनीहरु कोठाभित्र पसेनन् । दुवैलाई सादा पोशाकका प्रहरीले उठाइसकेको थाहा पाएपछि परिसरको टोली ब्याक भयो ।

तर, त्यसको करिब एक घण्टापछि खबर आयो, ‘दुई अपहरणकारीहरु घ्याम्पेडाँडा नजिकै प्रहरी इन्काउन्टरमा मारिए !’

अपराध महाशाखाले भने पक्राउ गरेर लगेर इन्काउन्टर नगरिएको दाबी गर्दै आएको छ । मोबाइल ट्रेस गर्दै जाँदा प्रहरी टोलीले भेट्टाएको र आफूहरुमाथि नै जाइलागेपछि आत्मरक्षाका लागि गोली चलाउँदा दुबै मारिएको महाशाखाको दाबी छ ।

याे पनि पढ्नुहोस् 

निशान अपहरणको नालीबेलीः दिउँसो साइकलमा डुलाएर राति हत्या

सुरक्षाविज्ञ भन्छन्- प्रहरीले निशानलाई जीवितै उद्दार गर्न सकेको भए राम्रो हुन्थ्यो

निशानका ‘हत्यारा’ चमेलीको खाजाघरका नियमित ग्राहक थिए

निशानको परिवारले अपहरणकारीबाट क्षतिपूर्ति पाउने बाटो बन्द

‘इन्काउन्टरका नाममा गैरन्यायिक हत्या गर्ने प्रहरीमाथि कारवाही हुनुपर्छ’

अपहरणकारीले घाँटी थिचेर गरेका थिए निशानको हत्या

भक्तपुर इन्काउन्टरबारे छानबिन गर्ने गृहमन्त्रालयको तयारी  

फुटबल खेलाडी बन्ने निशानको चाहना अधुरै

लेखकको बारेमा
गौरव पोखरेल

सुरक्षा मामिलामा रिर्पोटिङ गर्दै आएका पोखरेल अनलाइनखबरका सम्बाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment