Comments Add Comment

काठमाडौं-निजगढ द्रुतमार्ग निर्माणको काम तत्काल रोक्न खोकनावासीको माग

१० मंसिर, काठमाडौं । ललितपुरस्थित खोकना र बुङमतीवासीले काठमाडौं-निजगढ द्रुतमार्ग निर्माणको काम तत्काल रोक्न संसदीय समितिसँग माग गरेका छन् ।

उचित मुआब्जालगायतका विभिन्न माग राखेर आन्दोलनरत खोकना र बुङमतीवासीले सोमबार सिंहदरबारस्थित राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा द्रुतमार्ग रोक्न माग गरेका हुन् ।

ललितपुर महानगरपालिका-२२ का वडाअध्यक्ष अमृतराज शाक्यले स्थानीय जनताको माग सम्बोधन गरेर मात्रै द्रुतमार्ग अगाडि बढाउने व्यवस्था गरिदिन संसदीय समितिसँग माग गरे ।

नेवारी संस्कृतिको मुल थलोको रुपमा रहेको उक्त क्षेत्रका जनतालाई पेलेर माग सम्बोधन नगरी द्रुतमार्ग निर्माणको काम सुरु गरिएको भन्दै शाक्यले आपत्ति जनाए ।

वडाध्यक्ष शाक्यले दू्रतमार्गको जिरो प्वाइन्ट बुङमतीमा राख्न आफूहरु तयार भएपनि त्यसका लागि गरिएको सहमति कार्यान्वयन गर्न सरकारले नचाहेको आरोप लगाए ।

यता, खोकना क्षेत्रसमेत समेटिएको वडा नम्बर २१ का वडाध्यक्ष रविन्द्र महर्जनले स्थानीय जनतालाई पेलेर मुआब्जा वितरण गरी  द्रुतमार्ग निर्माण सुरु गरिएको भन्दै आपत्ति जनाए ।

उनले स्थानीय जनताको मागको सम्बोधन नभइ द्रुतमार्ग निर्माणको काम अघि बढाउन नहुनेतर्फ पनि समिति र सरकारको ध्यानाकर्षण गराए ।

खोकना र बुङमतीका स्थानीयले उचित मुआब्जाको व्यवस्था गर्न तथा स्थानीय सांस्कृतिक तथा पूरातात्विक महत्वको सम्पदाको संरक्षण हुने व्यवस्था गरेर मात्रै द्रुतमार्ग निर्माणको काम अघि बढाउन माग गर्दै विरोध प्रर्दशन गर्दै आएका छन् ।

स्थानीयवासीको मागको सुनुवाई गर्दै राज्य व्यवस्था तथा सुशासन समितिले उक्त क्षेत्रको स्थलगत अनुगमनसमेत गरेको छ ।

समितिकी सभापति शशी श्रेष्ठले स्थानीयको मागका सम्बन्धमा विस्तुत जानकारी लिएपछि सरकारलाई सो द्रुतमार्गको कामलाई कसरी अघि बढाउने भन्ने विषयमा आवश्यक निर्देशन दिने जानकारी दिइन् ।

नेपाली सेनालाई निर्माणको जिम्मेवारी दिएको द्रुतमार्ग खोकना र बुङमतीका स्थानीय जनताको माग सम्बोधन नगरी अघि बढाएकोमा त्यस क्षेत्रका सांसदहरुको पनि आपत्ति छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment