Comments Add Comment

राजनीतिज्ञलाई श्रीमतीको पत्र

न रहरले, न करले । प्रेम त परिस्थिति र आवश्यकताले अंकुरित हुँदोरहेछ । जीवनसाथी कल्पनाले होइन, विधाताले पहिचान गर्दोरहेछ । विवाह समयले निर्धारण गर्दोरहेछ । वयस्क र परिपक्क प्रेम शान्त र सौम्य हुँदोरहेछ । प्रशान्त महासागरजस्तो ।

न विवाहअघि कुनै डेटिङ, न विवाहपछि कुनै हनिमुन । सामाजिक जीवन बाँचेको मान्छेका अगाडि व्यक्तिगत खुशीहरु ओझेल पर्दा रहेछन् । सामाजिक जिम्मेवारीका चाङहरुमा व्यक्तिगत ईच्छा, आकांक्षा, चाहाना र खुशीहरु प्राथमिकतामा नपर्दा रहेछन् ।

सामाजिक व्यक्तित्वलाई न कुनै सुख र खुशीको लालसा हुँदोरहेछ, न कहिल्यै दुःखको डर । न कसैप्रति रीस, न राग, न कोहीसगँ ईश्र्या न ईख । न कसैको धेरै आलोचना, न धेरै प्रसंशा । कहिल्यै नआत्तिने, नमात्तिने ।

आम महिलाहरु जस्तै म पनि स-साना कुराहरुमा खुशी खोज्छु । ससाना समस्याहरुमा चिन्ता गर्छु । ससाना विषयले मेरा सुख, दुख र खुशीहरु निर्धारित गर्छन् र प्रभावित हुन्छन् ।

म हरेक विशेष दिनहरुको उत्सव मनाउन चाहान्छु । नयाँ वर्ष, जन्मदिन, विवाहोत्सव, प्रणय दिवस र चाडपर्वहरुमा शुभकामना लिन-दिन चाहान्छु । त्यो रमाइलोमा तिमीसगैँ रम्न चाहान्छु ।

कहिलेकाहीँ विदा मनाउनका लागि कतै घुम्न जान चाहान्छु । तर, त्यस्ता उत्सव जसरी आए, त्यसरी नै गए । मेरा रहरहरु रहरमै सीमित भए । सामाजिक दायित्वका अगाडि मेरा रहर र आवश्यकताहरु कहिल्यै प्राथमिकतामा परेनन् ।

उत्सव होस् या सामान्य दिन, सबै उस्तै । सधैं जस्तै । कति नापेँ, कति तौलेँ, बाह्रैमास बाह्रैकाल सधैं उस्तै । जति रिसाए पनि, जति घुक्र्याए पनि न तिमी बदलियौ न म बदलिएँ । न मेरो माया कमी रह्यो, न तिम्रो आफ्नो शैली फेरियो ।

कसैलाई मन पराउनु, प्रेम गर्नु र पाउनु केही हैन । तर, प्रेमको निरन्तरता भइराख्नु चाहिँ अवश्य ठूलो कुरा हो । म त्यही प्रेमलाई निरन्तरता दिनका लागि सम्बन्ध निभाइरहेकी एक पात्र हुँ । तिम्रो पुरुष तर्क र ईगोका अगाडि म समझदारीमा कुरालाई बिट मार्न खोज्छु, तिमीचाहिँ त्यसलाई मैले हारेको भन्ने ठान्छौ । तिम्रो अडानका अगाडि म झुकीदिन्छु, त्यसलाई आफूले जितेको महसुस गर्छौ । मेरो हारमा तिमी रमाउछौ, तिम्रो जितमा म रमाउँछु ।

तिमीले कहिल्यै हार मान्न जानेको छैन । कहिल्यै गल्ती महसुस गर्न जानेको छैन । कहिल्यै कमजोरी देखाउन जानेको छैन । तिमीले गल्ती र हार स्वीकार्न नसकेको देखेर मैले हारेको अभिनय गरेको तिमी थाहा पाउछौ कि नपाएजस्तो गर्छौ, त्यो पनि कहिल्यै देखाउँदैनौ ।

तिमीले हार्दा, गल्ती स्वीकार्दा र कमजोरी देखाउँदा तिमीलाई लज्जाबोध हुन्छ, किनकि तिमी पुरुष हौ । तिम्रा कैयौं कमजोरीहरुलाई मैले नजरअन्दाज गरेकी छु । तिम्रो हरेक गल्तीहरुमा मैले माफी दिएकी छु, किनकी म महिला हुँ । हाम्रो सामाजिक संरचनाले पुरुषलाई त्यही सिकाएको छ, जो तिमी गर्छौ, महिलालाई त्यही सिकाएको छ, जो म गरिरहेछु निरन्तर ।

आम पुरुषहरुलाई जस्तै तिमीलाई मेरो सपनाको भन्दा आफ्नो सपनाको माया छ । आफ्नो बालबच्चाको भन्दा समाज र देशको चिन्ता छ । घरको आर्थिक अवस्थाको भन्दा देशको अर्थव्यवस्था र राजनीतिको चिन्तन गर्छौ तिमी ।

मलाई थाहा छ, तिम्रो सपना समाजको सपना हो । भोकानाङ्गा र गरीब दुःखीहरुको सपना हो । तिम्रो चिन्तन समाज र देश विकासको निम्ति हो । तिम्रो सपना पूरा हुँदा मेरो सपना पनि पूरा होला । देशका सबै बालबालिकाले अधिकार पाउँदा हाम्रा बालबच्चाले पनि पाउलान् । देशमा समृद्धि आउँदा हाम्रो घरमा पनि सुख आउला । सारा देशमा उज्यालो छाउँदा त्यसको प्रकाश हाम्रो घरमा पनि पर्ला भन्ने सोचेरै आफ्ना सपनाहरुको नाम्लो लगाएर घरपरिवारको सारा जिम्मेवारी आफ्नै थाप्लोमा बोकेकी छु ।

तैपनि तिमी न कहिल्यै त्यसको सह्राना प्रसंशा गर्छौ, न कुनै गुनासो गर्छौ । न, केही जिज्ञासा राख्छौ । तर, पनि म सधैं आफ्नो कर्तव्यमा अडिग छु । म भाग्यमा हैन, कर्ममा विश्वास गर्छु । कर्ममा विश्वास गर्ने मान्छेले भोको पेट कहिल्यै मर्नुपर्दैन । नाङ्गो आङ कहिल्यै हिँड्नुपर्दैन । कसैको दयामा बाँच्नुपर्दैन । मैले मेरो अन्तरमन, परिवार र म बाँचेको परिवेशबाट यही सिकेकी छु ।

हिजो तिमीले देखाएका सपना देख्नेहरु, तिमीले हिँडेका पाइला पछ्याउँदै साथ दिनेहरु कति ठक्कर र हन्डर खाएर पनि बाँचिरहेका छन् । आज उनीहरुलाई राज्यको साहारा चाहिएको छ, बाँच्नका लागि । तिम्रो सानो साथ र सहयोग चाहिएको छ, हाँस्नका लागि ।

परिर्वतनको लागि ज्यान दिन तयार योद्धाहरुले आज बाँच्न साहारा मागेका छन् । हाँस्न साथ खोजेका छन् । परिर्वतन कहाँ र कसका लागि भएको छ, उत्तर खोजेका छन् । तर, तिमी नै निरुत्तरित छौ । तिमीले पनि खोजेको परिर्वतन पायौ कि पाएनौ, तथ्याङ्क राखेका छौ होला । तिमीले पनि आजसम्म कति गर्न सक्यौ र अझै कति गर्न सक्छौ त्यो पनि हिसाब गर्दैछौ होला ।

तिमी समाजले भनेजस्तो राजनीति फोहोरी खेल होइन। देश र समाजको विकासका लागि तिमीले कोरेका खाकाहरु र जनताका लागि तिमीले देखेका सपनाहरु निस्वार्थभावले पूरा गरेर देखाऊ

 

मानिसहरुले राजनीतिलाई भन्ने गरेको फोहोरी खेललाई सफा बनाउन सक्छौ कि सक्दैनाै ? समाजमा राजनीति र राजनीतिकर्मीप्रतिको छविलाई उचो बनाउन सक्छौ कि सक्दैनौ ? आम जनताको जीवनस्तर उकासी उनीहरुकोे विश्वास जित्न सक्छौ कि सक्दैनौ ? आफ्नो त्याग र सर्मपणले भोकानाङ्गा र दुःखी गरीबहरुको खुसी खोज्न सक्छौ कि सक्दैनौ ? मलाई थाहा छ, तिमीले खोजेको परिर्वतन, तिमीले देखेको सपना अझै पूरा भएको छैन ।

तिमीलाई पनि एकिन छैन, तिम्रा सपनाहरु पूरा हुन्छन् या हुन्नन् । तर, पनि प्रयासरत छौ सधैं । समाज तिम्रो पक्षमा होस् या विपक्षमा, तिमी भने सधैं आफ्नो कर्तव्यमा अडिग छौ । मलाई थाहा छैन, अरुहरुले पनि मैलेजस्तै तिम्रो सपना पूरा हुदाँ आफ्नो सपना पूरा भएको ठान्छन् कि ठान्दैनन् । तिम्रो सपनामा आफ्ना बालबच्चाको भविश्य देख्छन् कि देख्दैनन् । देशमा समृद्धि आउँदा उनीहरुको घरमा पनि खुशी आउँछ भन्ने मान्छन् कि मान्दैनन् ।

अरुहरु त स्वतन्त्र छन् तिम्रा सपनालाई नअपनाउन । उनीहरु तिमीसँग विमति राख्न सक्छन् । उनीहरु नयाँ सपना देख्न सक्छन् । नयाँ बाटो बनाउन सक्छन् । तर, मलाई त कहाँ छुट छ र त्यस्तो ? मैले त तिमीसँग करारनामा जो गरेकी छु, अप्ठ्यारोमा लड्न लाग्दा हात दिने, जीवनभर साथ दिने ।

हो, यही सम्बन्धले सधैं बाँधेको छ मलाई । तिमीसँगको सम्बन्धले अपार माया र आत्मीयता अनि सम्मान र सहयोग पनि पाएकी छु मैले । आफ्नैहरुबाट अपमान र तिरस्कार पनि सहेकी छु मैले । कहिले त खुशीमा हाँस्न पनि पाउन्न मैले । दुःख पर्दा रुने छुट पनि छैन मलाई । हुँदा मीठो मसिनो खान र नहुँदा भोकै बस्न पनि हुँदैन मैले । राम्रो लाएर हिँडे भड्किलो हुनुहुन्न रे मैले । नराम्रो लाएर हिँडे इज्जत बचाउनुपर्छ रे मैले । काम गरी खाए मेरो क्षमतामाथि अविश्वास गर्छन् । बसेर खाए तिमीमाथि शंका गर्छन् ।

कसैले म गाउँमा नबसेकोमा प्रश्न गर्छन् । कोही बालबच्चाको शिक्षादीक्षाको आलोचना गर्छन् । कसैलाई भोजनमा सितन पुगेन रे । कसैलाई सोमरसको आथित्यता भएन रे । नील गगनमा स्वतन्त्र चराझैं उडिरहेकी म आज प्वाँखहरु काटेर आफ्ना संवेगहरुलाई नियन्त्रण गरिरहेछु तिम्रा लागि । समाजको समृद्धिका लागि । देशको विकासका लागि ।

म पनि तिमीले जस्तै समाजका हरेक समुदायको आर्थिक विकासका बारेमा सोच्न चाहान्छु, समाज उत्थानका लागि छलफल र बहस गर्न चाहान्छु । हरेक क्षेत्रको विकासको योजना बनाउन चाहान्छु । समग्र देश विकासको खाका कोर्न चाहान्छु । तर, चाहेर पनि कहाँ गर्न सक्छु र म ? घरपरिवारको जिम्मेवारी मलाई जो दिएका छौ, समाज र देशको जिम्मेवारी आफूले लिएका छौ ।

कहिलेकाहीँ राति अबेरसम्म तिमीलाई पर्खदाँ देश विकास र समाजको आर्थिक उत्थानका लागि चिन्तन गर्छु । योजना पनि बनाउँछु । तर, बिहान हुन नपाउँदै पारिवारिक जिम्मेवारीले ती योजनाहरु विफल हुन्छन् । योजना तिमी पनि बनाउछौ, म पनि बनाउछु । फरक यति हो, तिमी समाज र देश विकासका योजना बनाउछौ, म पारिवारिक व्यवस्थापनको । तिमी देश विकासका लागि श्रोत संकलन र परिचालन गर्छौ, म परिवारका लागि । तिमीले देश सञ्चालनका रणनीति बनाउँदा म घरपरिवारका मान्यताहरु बनाउँछु ।

मलाई थाहा छ, तिम्रा प्रत्येक जिम्मेवारी र क्रियाकलापहरुले हाम्रा मान्यता र प्रणालीहरुलाई प्रत्यक्ष अप्रत्यक्ष प्रभाव पारिरहेका हुन्छन् । तर, थाहा छैन, मैले बहन गरेको जिम्मेवारीले तिमीलाई प्रभाव पारेको छ कि छैन । देश र समाजका लागि काम गर्न सहयोग गरेको छ कि छैन ।

तिमीलाई आश्चार्य लाग्ला मेरा यी भावनाले । तिमीले ठान्लाऊ यस्ता कुरा मलाई नै भनेको भए राम्रो हुने थियो । तर, आज सारा समाजका अगाडि भन्न चाहान्छु यही आलेखमार्फत । प्रणय दिवसको शुभकामना दिन चाहान्छु

धेरै वैवाहिक सम्बन्धहरु सोध्न अनि भन्न नसकेर टुटेका छन् । धेरै महिलाहरु मजस्तै सोध्न सक्दैनन् । अनि धेरै पुरुषहरु तिमीजस्तै भन्न सक्दैनन् । तिमी कहिल्यै आफैं त केही भन्दैनौ नै, धेरै कुराहरु सोध्दा पनि भन्दैनौ । कहिले नबोलेर टारीदिन्छौ । कहिले हाँसेर उडाइदिन्छौ । कहिले अर्धउत्तरमा पन्छाइदिन्छौ । कहिले मोबाइल रिसिभ गरेर त कहिले फेसबुकको वालमा आँखा डुलाएर तर्किदिन्छौ । अनि कहिलेकाहीँ झर्किएर पुरुषत्वको हतियारले रेटीदिन्छौ । न तिमी केही भन्छौ, न मलाई कहिल्यै केही सोध्छौ नै । लाग्छ, तिम्रो मप्रति कुनै प्रश्न छैन । केही जिज्ञासा छैन । केही भन्नु छैन । केही सुनाउनु छैन ।

डर लाग्छ, लामो दुरीको गन्तव्यको यात्रा तय गर्दा बाटैमा आउने साना महत्वपूर्ण स्थलहरु छुट्ने पो हुन् कि ? ठूला ठूला योजना बनाउँदा स-साना आवश्यकताहरु पन्छिनेे पो हुन् कि ? आफ्नो सपना पूरा गर्ने दौडमा अरुका ससाना चाहानाहरु पूरा नहुने पो हुन् कि ? ठूलाठूला खुशीलाई पछ्याई हिँड्दा स-साना खुशीका पलहरुले साथ छोड्ने पो हुन् कि ? समाज र देशको चिन्तामा पारिवारिक खुशीहरु ओझेलमा पर्ने पो हुन् कि ?

समाजका सबैलाई न्याय गर्ने, सबैलाई खुशी बनाउने चक्करमा कतै आफैं अन्यायमा पर्ने या दुःखी हुने त होइनौ ? सधैं चिन्ता र चिन्तन मात्रै गर्दा कतै हाँस्न-हसाउँन, रम्न-रमाउन बिर्सने त होइनौ ? यो स्वार्थी दुनियाँमा आफ्नो र परिवारको भन्दा समाज र देशप्रतिको तिम्रो सर्मपण कतै अवमूल्यन हुने त हैन ? तिम्रो स्वभिमान यो मतलवी दुनियाँले कतै झुकाइदिने त होइन ? गन्तव्यमा नपुग्दै तिम्रा पाइलाहरु रोकिदिने त होइनन् ? बिहानी नहुँदै तिम्रा सपनाहरु बिथोलिने त होइनन् ?

आज प्रणय दिवस, सायद यस वर्ष पनि सधैंजस्तै तिमीलाई यसले खास अर्थ राख्दैन । म भने सधैंजस्तै शुभकामना दिन चाहान्छु । तर, फरक तरिकाले ।

तिमीलाई आश्चार्य लाग्ला मेरा यी भावनाले । तिमीले ठान्लाऊ यस्ता कुरा मलाई नै भनेको भए राम्रो हुने थियो । तर, आज सारा समाजका अगाडि भन्न चाहान्छु यही आलेखमार्फत । प्रणय दिवसको शुभकामना दिन चाहान्छु ।

तिमी समाजले भनेजस्तो राजनीति फोहोरी खेल होइन, व्यक्ति, परिवार, समाज र देशको खुसीको निर्धारक हो भन्ने कुरा सिद्ध गरेर देखाऊ । देश र समाजको विकासका लागि तिमीले कोरेका खाकाहरु र जनताका लागि तिमीले देखेका सपनाहरु निस्वार्थभावले पूरा गरेर देखाऊ ।

तिम्रो स्वभिमानलाई कसैको झुकाउने सार्मथ्य छैन । तिम्रो लगनशीलतालाई कसैले अपमान गर्ने हिम्मत राख्दैन । विकासका लागि चिन्ता र चिन्तन गर । अघि बढ । जनता तिम्रा साथमा हुनेछन् । सहयोगीहरु तिम्रा हातमा हुनेछन् । सबको आर्शिवाद तिम्रो माथमा हुनेछ ।

म आफ्नो कर्तव्यपथमा डटिरहने छु । बस् कहिलेकाहीँ हाम्रा ससाना खुशीहरुमा सामेल भएर रमाइदेऊ । देश र जनताप्रतिको हाम्रो पनि त्याग र सर्मपणलाई बुझिदेऊ । तिम्रो चिन्तनमा हाम्रो पनि योगदानलाई मनन गरिदेऊ । हामीलाई पनि तिम्रै आदर्श, देशका आदर्श जनता हुन् भन्ने मानेर सबै परिवारजस्तै हाम्रो परिवार पनि खुशी नबनेसम्म देश समृद्ध बन्न सक्दैन भन्ने बुझिदेऊ ।

उही, कर्तव्यपथमा डटिरहने तिम्री जीवनसाथी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment